भत्किन्छ होला घर

छन्द-झ्याउरे

धमिलो छायाॅ देखिन थाल्यो बुध्दको देशमा
सकुनी यही साधना गर्छन् साधुको भेषमा।
बाघको छाला ओडेर बस्छ ब्वाॅसाको बथान
नचिन्दाखेरि धोकामा पर्छन् अबोध अजान।

क्वैलीले फूल पारेको भनी चिनेन कागले
जिन्दगीभरि जाँदैन जाडो एउटै माघले।
बेलुकीपख करायो स्याल पलायो होला सिङ
बाँधेको टालो गन्हायो धेरै सकिँदा पनि हिङ।

बिहानीपख ब्युझिँदाखेरि हाप्सिलो करायो
मलामी जानु पर्ला कि भनी मेरो मन् डरायो।
ङ्यार्र र ङुर्र गरेको सुन्छु बनढाडे कराउँछन्
कुनामा लुकी घरका साना बिराला डराउँछन्।

ती ठूला साॅढे जुधेका किन? भत्किन्छ होला घर
मासिन्छ होला लहरे पिपल, मासिन्छ होला बर।
चतुरेहरू पछाडि लाग्छन् हल्लेको देख्ता फल
झरे ता खान्थे घरमा लान्थे पुग्दैन टिप्ने बल !

Facebook Comments
bannerKaushik
Comments (0)
Add Comment