खुब कहलिएका ‘हुने-खाने’हरु समेत आत्तिन थालेको बेला
‘हुँदा-खानेहरु’ दिनानुदिन अन्योलमा परेका छन् ।
हतार-हतार ‘आ…जे पर्ला’ भन्दै हैसियत अनुसारको
सामल मन-मनमा बोकेर गाउँ-बेसी छरिएका छन्।।
न्वारनको नाम कृषिप्रधान देश भए’नि अगुवाहरु
भागशान्तीमा कुर्सीप्रधान-पथ तर्फ तल्लिन छन् ।
आफ्नो अनुहारको कालो दाग पुछ्ने कष्ट गर्ने भन्दा
मागेको ऐनालाई दोषारोपणतर्फ टाठा-बाठा‘जो डटेकाछन्।।
देश- विदेशमा र सामाजिक संजालमा
भित्र-भित्र मान्छे जति मुर्मुरिए पनि,
ओठे राष्ट्रभक्ति जो-जसले जति कुर्लिए पनि,
देशमा अभाव, हानथाप र भ्रमको राम्रै बजार छ।
अहो, अचेल घाँस बेचेर कुवा खन्नेहरु भन्दा पनि
घाँसी नै बेचेर जुवा खेल्नेहरुले निर्धक्क दोसल्ला ओढेका छन्।
शहरका बग्रेल्ती खानु-भक्त र लानु-भक्तहरुको अगाडि
विचरा भानुभक्तहरु जति छन्– यी सबै अल्पमतमा छन् ।।
Facebook Comments