रोगको त्रासदीले

 कविता (छन्द: स्रग्धरा)

उर्जा छोडून् हिमाली शिखरहरू सधैँ भीत धोऊन् नदीले

वास्ना छोडून् सधैँ नै मधुर पवनमा पुष्प शोभावतीले

पुज्छौँ हामी सबै नै अनवरत जुटी राष्ट्र यो आरतीले

यो नेपाली धरामा छुन पनि नसकोस् रोगको त्रासदीले॥१

 

बस्छौँ द्यौता जगाई खुद मनुज सबै एकतामा रमाई

लोभी, पापी र साह्रै असुर मति हुने छैन देखिन्न काहीँ

गर्छौँ खेती र भर्छौँ विपुल धरण यो ओखती ओखतीले

यो नेपाली धरामा छुन पनि नसकोस् रोगको त्रासदीले॥२

 

हुन्छौँ योगी र ध्यानी प्रभु भजनविषे खूब सानन्दकारी

सीता औ बुद्धको नै अनुशरण गरी लोकचिन्ता निखारी

आस्थाका दीप हामी सब परिचित छौँ वीरले सौरभीले

यो नेपाली धरामा छुन पनि नसकोस् रोगको त्रासदीले॥३

 

छर्दै आभाष नौलो रवि शशिहरूले दिव्य सञ्जीवनीको

रोक्छन् है ढाल बन्दै हर तरह यहाँ रोगको दृष्टि तीखो

माटो नै नम्बरी यो पवित प्रकृतिको हेर्छ को तामसीले

यो नेपाली धरामा छुन पनि नसकोस् रोगको त्रासदीले॥४

 

किल्ला साह्रै मिलेको सहजसित कुनै फोर्न सक्दैन खास

लोहाको बार जस्तै अति जबर छ यो गर्न सक्दैन नास

हेर्छन् कैलास फारी अभय नजरले शम्भुले पार्वतीले

यो नेपाली धरामा छुन पनि नसकोस् रोगको त्रासदीले॥५

Facebook Comments
neupane
Comments (0)
Add Comment