पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरूः
COVID-19 भन्नाले CO = Corona, Vi = Virus, d = Disease र -19 भन्नाले सन् २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण
गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।
आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाइ सही बन्ने र त्रास कम हुने वातावरण बन्छ । आधा वा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषय विज्ञहरुबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।
कोरोना भाइरसका बारेमा प्रशस्त चर्चा गरौं, सूचना लिऊँ र दिऊँ । कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनीयतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं ।
कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं । तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई आपराधीकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । पत्रकारले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छ भन्ने कुराको ख्याल गरौं ।
वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरूलाई सञ्चार माध्यममा स्थान नदेऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरूमा पनि शेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरूले दिएका सुझावहरूको पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं ।
कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरूलाई प्राथमिकता देऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरूले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरू सम्प्रेषण नगरौं ।
संक्रमणको महामारी (Epidemic) भन्दा सूचनाको महामारी (Epidemic) चाँडो फैलन्छ । यसले मानिसहरुमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरुप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरूका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन, प्रसारण गरौं ।
गलत सूचना प्रवाह, बुझाइमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कातिर संक्रमण रोकथामका लागि हुने कामहरूमा बाधा पु¥याइरहेको छ । यस्तो अवस्थामा मानिसहरू आत्तिनु स्वाभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरूको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं ।
संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरुका मानवीय पक्ष र विषयहरूलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, सुरक्षाकर्मी आदि) प्रति सहयोग पुग्ने र उनीहरूलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।
त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।
शब्द प्रयोगमा ध्यान देऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।
कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरू, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरूको उपचार र हेरचाहमा संलग्नहरूका समाचार र अनुभूति प्रकाशन, प्रसारण गर्दा कोरोनाबाट संक्रमित भइहाले पनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरू अहिलेका ‘हिरो’ हुन् । उनीहरूलाई सम्मान गरौं र उनीहरूका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।
कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरूलाई मिडियामा उचित स्थान दिने गरौं ता कि यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस्।
अन्त्यमा, आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं:
– कार्यस्थल (कार्यालय वा कार्यस्थल) मा जाँदा रोकथामका आधारभूत उपायहरू अपनाऔं ।
– सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
– सञ्चारगृहहरूले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
– अत्यावश्यक बाहेकका भेटघाटहरू नगरौं
– समय समयमा साबुन पानीले हात धुने गरौं ।
– अनावश्यक रूपमा हातले आँखा, नाक-मुख छुने नगरौं ।
– भेटघाटमा हात मिलाउने, अंकमाल गर्नेभन्दा नमस्कार गर्ने गरौं ।
– सकेसम्म भीँडभाड हुने स्थानहरूमा नजाऔं ।
– श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
– सरकार वा आधिकारिक निकाय तथा संस्थाहरूले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।
(विश्व स्वास्थ्य संगठनको निर्देशिकाका आधारमा नेपाल पत्रकार महासंघले तयार पारेको सामग्री)
Facebook Comments