परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

‘सुरक्षित रही कोरोना सम्बन्धी सही सूचना सम्प्रेषण गरौं’

पत्रकारहरूका लागि विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका

पत्रकार कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिका योद्धा हुन्, सुरक्षित रही सही सूचना सम्प्रेषण गरौं । कोरोना COVID-19 का बारेमा समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने कुराहरूः
 COVID-19 भन्नाले CO = Corona, Vi = Virus, d = Disease र -19 भन्नाले सन् २०१९ मा उत्पन्न भाइरस हो । यसको नामाकरण
गर्दा नै कसैमाथि लाञ्छना नलाग्ने गरी गरिएको हो । त्यसैले यस भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग मात्र जोडेर लेख्ने, बोल्ने, देखाउने नगरौं ।

 आममानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्य तथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाइ सही बन्ने र त्रास कम हुने वातावरण बन्छ । आधा वा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ । त्यसैले आधिकारिक स्रोत र विषय विज्ञहरुबाट मात्र सूचना लिऔं । सामाजिक सञ्जालमार्फत् पनि यस्ता सूचना प्रवाहित गरौं । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।
 कोरोना भाइरसका बारेमा प्रशस्त चर्चा गरौं, सूचना लिऊँ र दिऊँ । कोरोना भाइरस लागेका वा लागेको हुन सक्ने पर्याप्त सम्भावना भएका मानिसहरुका बारेमा लेखौं । तर, कसैलाई पनि कोरोना भाइरसको शंका भएकै आधारमा शंकास्पद कोरोना संक्रमित जस्ता शब्द प्रयोग नगरौं । संक्रमितको व्यक्तिगत गोपनीयतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगरौं ।
 कसैलाई कोरोना लागेको छ वा कोरोनाको सम्पर्कमा आएका छन् भन्ने स्पष्ट आधार र प्रमाण छ भने लेखौं । तर, कसैलाई पनि उसका कारणले कोरोना सर्न सक्ने वा उसले कोरोना फैलाउन सक्ने भन्ने जस्ता लाञ्छना नलगाऔं । कसैलाई आपराधीकरण गर्ने वा लाञ्छना लगाउने भाषाले त्यो व्यक्ति वा समुदायले आफूले गल्ती गरेको वा आफू अपराधी भएको महसुस गर्न सक्छ । पत्रकारले लाञ्छना लगाउँदा कसैलाई थप मानसिक पीडामा पारिरहेका हुनसक्छ भन्ने कुराको ख्याल गरौं ।
 वैज्ञानिक तथ्य र तथ्याङ्कका आधारमा मात्र कोरोना भाइरसका बारेमा लेख्ने गरौं । कुनै पनि अनाधिकृत सूचना वा हल्लाहरूलाई सञ्चार माध्यममा स्थान नदेऔं र आफ्ना व्यक्तिगत सामाजिक सञ्जालहरूमा पनि शेयर नगरौं । सरकार तथा अन्य आधिकारिक स्वास्थ्य निकायहरूले दिएका सुझावहरूको पालना गरौं र आधिकारिक सूचना मात्रै सम्प्रेषण गरौं ।
 कोरोना भाइरस रोकथाम तथा उपचारका बारेमा सकारात्मक समाचारहरूलाई प्राथमिकता देऔं । साना साना कदमहरुले मात्रै पनि हामी आफू र सबैलाई सुरक्षित राख्न सक्छौं । सकारात्मक समाचारहरूले मानिसको मनोबल बढाउन सक्छ । नकारात्मक सन्देश तथा त्रास फैलाउन सक्ने सूचनाहरू सम्प्रेषण नगरौं ।
 संक्रमणको महामारी (Epidemic)  भन्दा सूचनाको महामारी (Epidemic) चाँडो फैलन्छ । यसले मानिसहरुमा त्रासको वातावरण सृजना गर्छ भने संक्रमित र बढी संक्रमण देखिएका क्षेत्रका मानिसहरुप्रति भेदभावको अवस्था पनि सृजना हुनसक्छ । संक्रमणमा परेका व्यक्ति वा बढी प्रभावित समुदाय वा क्षेत्रलाई हामी सबैको सहयोगको खाँचो छ । सबैभन्दा जोखिममा रहेका समुदाय र व्यक्तिको सुरक्षाका लागि अन्य निकायसँग सहकार्य आवश्यक छ ।
 कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि गर्नुपर्ने प्रभावकारी रोकथामका उपायहरूका बारेमा सूचना सम्प्रेषण गरौं । साथै, सीघ्र स्वास्थ्य जाँच र उपचारले हुने फाइदाका बारेमा पनि प्रकाशन, प्रसारण गरौं ।
 गलत सूचना प्रवाह, बुझाइमा कमजोरी र अतिरञ्जनापूर्ण प्रचारले एकातर्फ विभेद र लाञ्छनाको अवस्था सृजना गरिरहेको हुन्छ भने अर्कातिर संक्रमण रोकथामका लागि हुने कामहरूमा बाधा पु¥याइरहेको छ । यस्तो अवस्थामा मानिसहरू आत्तिनु स्वाभाविक हो तर गलत प्रचारले त्रासलाई झन् बढी फैलाइरहेको छ । त्यसैले संक्रमणबारे सत्यतथ्य बुझ्ने प्रयास गरौं र अरुलाई पनि बुझाऔं । रोकथामका उपायहरूको प्रचार प्रसार गरौं । साथै चाँडो जाँच र उपचार गर्दा जीवन जोगिने कुरा पनि सबैलाई बताऔं ।
 संक्रमणलाई थप फैलिनबाट रोक्न र बढी संक्रमणमा रहेका समुदाय वा क्षेत्रमाथि हुनसक्ने अस्वाभाविक विभेद कम गर्न संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । त्यसैले संक्रमणमा परेका व्यक्ति, समुदाय वा क्षेत्रका बारेमा सकारात्मक सूचना सम्प्रेषण गरौं । उनीहरुका मानवीय पक्ष र विषयहरूलाई समाचारको विषयवस्तु बनाऔं । साथै संक्रमणविरुद्ध अग्रभागमा रहेका (स्वास्थ्यकर्मी, स्वयंसेवी, सुरक्षाकर्मी आदि) प्रति सहयोग पुग्ने र उनीहरूलाई प्रोत्साहन हुने खालका समाचार सम्प्रेषण गरौं ।
 त्रास होइन तथ्यले मात्र संक्रमण रोक्न सहयोग पुग्छ । त्यसैले संक्रमणका बारेमा सत्य तथ्य समाचार मात्र प्रकाशन, प्रसारण गरौं र भ्रामक सामग्रीलाई खण्डन गर्ने खालका सूचना सम्प्रेषण गरौं ।
 शब्द प्रयोगमा ध्यान देऔं । हामीले समाचार दिने तरिकाले अरुको व्यवहारलाई प्रभाव पारिरहेको हुनसक्छ ।
 कोरोना प्रभावित भई निको भइसकेका व्यक्तिहरू, आफूलाई सुरक्षित राख्दै कोरोना प्रभावितहरूको उपचार र हेरचाहमा संलग्नहरूका समाचार र अनुभूति प्रकाशन, प्रसारण गर्दा कोरोनाबाट संक्रमित भइहाले पनि निको हुनसक्छ भन्ने सन्देश जान्छ । कोरोनाको उपचार र रोकथाममा संलग्न स्वास्थ्यकर्मी र अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरू अहिलेका ‘हिरो’ हुन् । उनीहरूलाई सम्मान गरौं र उनीहरूका सकारात्मक समाचार सामग्री सम्प्रेषण गरौं ।
 कोरोनाको महामारी फैलिनबाट रोक्न र यस प्रक्रियामा योगदान गरेका नागरिक, नागरिक संस्था, सरकारले गरेका सकारात्मक कार्यहरूलाई मिडियामा उचित स्थान दिने गरौं ता कि यसले अन्य व्यक्ति र निकायलाई पनि यस प्रक्रियामा लाग्न प्रोत्साहन गर्न सकोस्।
अन्त्यमा, आफू सुरक्षित रही समाचार सम्प्रेषण गरौं:
– कार्यस्थल (कार्यालय वा कार्यस्थल) मा जाँदा रोकथामका आधारभूत उपायहरू अपनाऔं ।
– सकेसम्म इमेलमार्फत् रिपोर्ट फाइल गरौं ।
– सञ्चारगृहहरूले सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं
– अत्यावश्यक बाहेकका भेटघाटहरू नगरौं
– समय समयमा साबुन पानीले हात धुने गरौं ।
– अनावश्यक रूपमा हातले आँखा, नाक-मुख छुने नगरौं ।
– भेटघाटमा हात मिलाउने, अंकमाल गर्नेभन्दा नमस्कार गर्ने गरौं ।
– सकेसम्म भीँडभाड हुने स्थानहरूमा नजाऔं ।
– श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइन माध्यमको प्रयोग गरौं ।
– सरकार वा आधिकारिक निकाय तथा संस्थाहरूले जारी गर्ने सूचना र जानकारीलाई आधार मानौं ।
(विश्व स्वास्थ्य संगठनको निर्देशिकाका आधारमा नेपाल पत्रकार महासंघले तयार पारेको सामग्री)
Facebook Comments