न नर हत्याको विभत्स चित्रण गर्नुहुन्छ
न लुटपाट आतङ्कको वर्णन गर्नुहुन्छ
न बलात्कृत बालिकाको चित्कार लेख्नुहुन्छ
न सिंगो देश र जनताको धिक्कार लेख्नुहुन्छ
तपाईं किन यस्तो झूर साहित्य लेख्नुहुन्छ ?
न वाद लेख्नु हुन्छ न विवाद लेख्नुहुन्छ
न सफेद पोषको संवाद लेख्नुहुन्छ
न दाना लेख्नु हुन्छ न पानी लेख्नुहुन्छ
व्यर्थ छ तपाईंको यो लेख्ने बानी
तपाईंं कस्तो झूर साहित्य लेख्नुहुन्छ !
साहित्यकारले सशक्त साहित्यकै रचना गरिसकेपछि
पाठकले रचनाको रस-स्वादन गरिसकेपछि
उसको चिसो रगत पनि तातोस्
दुई-चार जनाको ढाड, गर्दन भाँचोस्
सडक तताओस्, गाउँ-घरमा आगो सल्काओस्
अरुलाई नसके आफ्नै गलामा पासो लगाओस्
हाँसी बसेकालाई रुवाओस्
देश, समाजमा एउटा नयाँ विचार क्रान्तिको लहड लेराओस्
पढ्यो-पढ्यो अनि खिस्स दाँत देखाउने खालका मात्रै रचना गर्नुहुन्छ
अचम्म लाग्छ, तपाईं किन यस्तो झूर साहित्य लेख्नुहुन्छ ?
Facebook Comments