काँडा हौकि सियो तिमी सधैं खोप्छ्यौ किन ?
अदृश्य भै मुटु भित्रै भाला रोप्छ्यौ किन ?
ढुंगा राखी टेक्दै माथि हिलो बाटो काट्यौ,
त्यै ढुंगालाई देउता मानि ऐले ढोग्छ्यौ किन ?
जुन तलाउमा छि:छि: गर्दै थुकी हिड्यौ पैले,
चोखो बन्न कुशको औठी त्यसमै चोब्छ्यौ किन ?
साथमा छँदा वचनको बाण हान्नसम्म हान्यौ,
‘बाई बाई’ भन्दै पर पुगी गाडी रोक्छ्यौ किन?
सपनामा झस्काई रहने था’छ तिम्रो बानी,
निदाएका मेरा आँखा उल्टै छोप्छ्यौ किन ?
जसको सिन्दुर जिन्दगीमा भारी भयो भन्थ्यौ,
उसकै मंगल-सुत्रसंग मायाँ जोख्छ्यौ किन?
Facebook Comments