प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज संसद्मा सम्बोधन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि उहाँले पत्रकार सममेलन गरी राष्ट्रसामु सरकारको धारणा राख्नुभएको छ । उहाँले पत्रकार सम्मेलनमा बोल्दै लामो समयदेखि लोकतन्त्रका लागि लडेको नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको हैसियतमा संसद्मा सम्बाेधन गरर्न नदिएको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिनुभयो ।
यस विषयमा प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले भने पहिले आफूले प्रधानमन्त्रीलाई कुरा सुनाउनुपर्ने भएका कारण पहिले प्रधानमन्त्रीलाई बोल्न अवरोध गरेको प्रतिक्रिया दिनुभएको कुरा सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्रीले सम्बाेधनका लागि संसद्मा पहिले नै समय लिइसकेको अवस्थामा पहिले आफूले बोल्न पाउनुपर्छ भन्नु नेपाली कांग्रेसको बाल हठ हो, प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा भन्नुभयाे । प्रधानमन्त्री ओलीलाई सभामुखले बोल्न समय दिएर उहाँ रोष्ट्रममा पु्ग्नुभएपछि नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेरेर प्रधानमन्त्रीलाई बोल्न अवरोध गरेपछि आजको बैठक स्थगित भएको थियो ।
भर्खरै साताव्यापी युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्री ओलीले आज संसद्को प्रतिनिधि सभालाई सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम थियो ।
संसद्लाई गर्न लागेको आफ्नो सम्बोधन प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको केही समयपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र जनता मिलेर लोकतान्त्रिक पद्धति र संघीयता जोगाउन आह्वान गर्नुभयो ।
प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमणको समेत संक्षिप्त विवरण पत्रकारहरूसमक्ष प्रस्तुत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले हिजोको प्रतिगामी शक्ति विभिन्न तरहले लोकतान्त्रिक सङ्घीय गणतन्त्रका विरूद्ध उत्रेको र जनतामा भ्रम फैलाउन उद्यत रहेको भन्दै यसतर्फ नेपाली जनता सचेत रहनुपर्ने धारणा राख्नुभयो । लोकतन्त्रमा सबैखाले समस्याको समाधान संवाद्बाट हुने भएकाले आन्दोलनमा जानु पर्ने कुनै आवश्यकता नरहेको टिप्पणी पनि गर्नुभयो ।
विभिन्न सञ्चारमाध्यमले प्रधानमन्त्रीको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका थिए ।