खासमा कहिल्यै सुत्दैनन्
तर पनि सबेरै उठ्छन्
र, बिउझाउँछन् सुनसान सुतेको सिंगो सहर
इस्पातका मान्छेहरू !
कोही रेल चालकको कुर्सीमा छन्
र, कोही रेल गार्ड छन्
सुतेको सहरमा ब्यूूँझेका
आफूजस्तै इस्पातका मान्छेहरूलाई
उनको गन्तब्यमा पुर्याउन
झिसमिसेअघि नै रेल ल्याएर आइपुग्छन् ।
इस्पातका मान्छेहरू !
कोही बस चालकको सिटमा छन्
र , कोही उनका नियमित यात्रु छन्
एउटा इस्पातको मान्छे
अर्को इस्पातको मान्छेको
गन्तब्यको सारथि भएको छ ।
इस्पातका मान्छेहरू !
कसैका लागि मैलाधैलाहरू
सुकिलाहरू सहर नपस्दै
सहर सुग्घर बनाउँछन्,
सहरको सुकिलो सभ्यता
यिनको पसिनाले धोइएको हो,
सहरको रफ्तार गतिशीलता
यिनको मस्तिष्कको रफ्तार हो ।
ओ ! इस्पातका मान्छेहरू !
रेल तिम्रै हाडहरूले बनेको छ
र, पहाड जत्रा भवन भएको
यो सहर तिम्रै मुटुले धड्केको छ
कारखाना तिम्रै रगतमा जीवित छ
ओ ! फलामका मान्छे !
तिमी थाकेका छैनौ र कहिल्यै थाक्दैनौ,
तिम्रै पहरामा यो समाज ढुक्कले निदाएको छ ।
तिम्रा हातहरूलाई नमन
तिम्रो मस्तिष्कलाई नमन
ओ इस्पात !
तिम्रो मुटु र त्योभित्रको मनलाई नमन
असिमित गन्तब्यतर्फ
प्रत्येक बिहान र साँझ
लमकलमक निरन्तर लम्कने
तिम्रा सुन्दर पैतालाहरूलाई चुम्बन ।
(चित्र: पेन्टर कृश्न, सिड्नी)