काठमाडौं । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका तीनजना महानुभावहरूलाई २०७५ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनले दुई लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय श्री हायमनदास राई किरात तथा ८६ वर्षीय डा. लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ । नेपाली वाङमयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा समेत महत्त्वपूर्ण योगदान पुर्याएबापत उहाँहरूलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।
यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति अमेरिकाका श्री गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरू समर्पण गरिने जानकारी प्रकाशनका महासचिव नरेन्द्र प्रसाईले दिनुभयो।