मौसम राम्रो छैन । दिन धुम्मिएको छ । घाम देखिएको छैन र चिसो हावा वरिपरिको परिवेशमा फैलिएको छ । २०७५ साल फागुन १५ गते बुधवार अपत्यारिलो दिन । काठमाडौँका मेरा छिमेकी मोहन बिक्रम शाहीकी आमाको निधन भयो । हामी पशुपति आर्यघाटमा थियौं । छिमेकी शालिकराम दाहाल लगायत हामी मलामी राजनीतिक, आर्थिक र सामाजिक छलफलमै थियौं । मौसमका बारेमा पनि कुरा भयो । बुधबार र बिहीबार मौसम खराब हुने भविष्यवाणी गुगलले गरिसकेको छ ।
पशुपति आर्यघाटमा लाशहरू जलिरहेका छन् । मानिसको शरीर खरानी बनेर सकिँदैछ । प्रत्येक चिताबाट धुवाँको मुश्लो बटारिएर आकासिँदै छ । म चितातिर हेरेर टोलाइरहें । अहो ! रवीन्द्र अधिकारी, युवराज दाहाल…। मन भक्कानियो । हिजो मात्र कुरा गरेको, आज यो अपत्यारिलो र मुटुमा कसैले घोचे जस्तो ! किन यस्ता हृदयविदारक घटना सुन्नुपर्छ । फोनको घण्टी बजिरहेको छ । म टोलाइरहेको छु ।
पुलिसको कुटाइले धुस्नो बनेको शरीर बोकेर जेलको पर्खालभित्र बसेको समयमा होस् अथवा मन्त्री भइसकेपछिको भेटमा होस्, रवीन्द्रमा मैले ग्लानिबोध अथवा बडप्पन कहिल्यै देखिनँ । मलाई लाग्छ रवीन्द्रका विरोधी छँदैछैनन् । सबैलाई आफ्नो हितैषी बनाउनसक्ने गुण र क्षमता रवीन्द्रमा थियो । तर के गर्नू, समय बलवान मात्र होइन निष्ठुरी र विवेकहीन पनि बन्यो । रवीन्द्र लगायत सात जनालाई आज (फागुन १५) को दिनले निल्यो । अग्रगामी परिवर्तनका लागि जुनसुकै मोर्चाको नेतृत्व गर्नसक्ने खूवी भएका रवीन्द्रलाई हामीले गुमाएका छौं । हो, जन्मेपछि मर्नुपर्छ, त्यो सबैलाई थाहा छ र शाश्वत सत्य यही नै हो । तर, यो घटना त्यो शाश्वत सत्यभित्र पर्दैन । यो त बज्रपात हो परिवार, समाज र राष्ट्रका लागि ।
एक दिन मैले जेलमा सोधेको थिएँ, रवीन्द्र खाना कस्तो लाग्यो? ’ मुसुक्क हाँसेर उनले जवाफ दिए, उसिना चामलको भात पनि मीठो लाग्यो दाइ ।’ विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा जेलमा पर्दा होस् वा बाहिर हुने आन्दोलनमा अगुवाइ गर्दाको अवस्थामा होस्, रवीन्द्रको अनुहार कहिल्यै निराश बनेन । मन्त्री बनिसकेपछि रवीन्द्र र मेरो भेट पातलो हुनथल्यो । एक दिन लजिम्पाटको एउटा पत्रकार भेटघाटमा उनले मेरो, गोविन्द दाइसँग बाहेक अरुसँग सल्लाह हुन पाएको छैन’ भनेर अरु पत्रकाहरुलाई सुनाए । जब कि मसँग कुनै सल्लाह भएको थिएन । पछि ‘तपाईंको विश्वास लाग्छ अनि मन जितेर भनेको’ भन्ने जवाफ दिए । त्यसपछि पत्रकार रघु मैनाली र मैले भेट्ने कोशिस गरेका थियौं । मन्त्री धेरैजसो बाहिरै भएको खवर पाउँथ्यौं । एक दिन रघुजीले भन्नुभयो – यी त प्रदेश मन्त्री पो भए कि क्या हो? जहिले प्रदेशतिरै हुन्छन् । ९।१० दिनअघि भने मैले एक्लै भेट्ने मौका पाएँ । हामीबीच लामै कुराकानी भयो । वाइड बडी, निजगढ विमानस्थल, पत्रकार, पत्रकारिता, लुम्बिनी साथै पशुपति क्षेत्र विकास कोषका बारेमा छलफल गरेका थियौं । मन्त्रीले आफ्ना भावी योजनाहरू सुनाएका थिए । एकपटक निजगढ सँगै जाने कुरा गरेका थियौं । तर, रविन्द्र दुःखद घटनाको चपेटामा परे । अन्तिममा दाहिने हात मिलाएर देव्रे हातले मिलाएकै हातमा थप थपाउँदै भनेका थिए- दाइ फेरि छिट्टै भेट्छु है ’ तर, अब हाम्रो भेट नहुने भयो ।
मन्त्री रवीन्द्र अधिकारीसँगै हितैषी मित्र युवराज दाहालको पनि दुःखद् निधन भएको छ । विकासप्रेमी दाहालसँग पहिलो पटक संखुवासभाको खाँदबारीमा भेट भएको थियो । त्यसबेला उनी खाँदबारी नगरपालिकाका कार्यकारी अधिकृत थिए । दैनिकजसो फोन गर्ने र विकासका बारेमा कुरा गर्ने दाहाल काठमाडौँ आएका बखत् खोज्दै आइपुग्थे । जिल्लाको समग्र विकासका बारेमा मिहिन पाराले मन्थन गरेर योजना पूरा गर्ने प्रण गर्थे । इलाम नगरपालिका र दमक नागरपालिकाको कार्यकारी अधिकृत हुँदा पनि उनले विकासका कुरा गरिरहे । इलाममा हवाई मैदान निर्माणको योजना बनाउँदा आफू सफल हुने कुरा प्रत्येक दिनजसो सुनाउँथे । हो, उनी साँच्चै असल र कुशल प्रशासक थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिव बनेपछि हाम्रो घेटघाट झन् बाक्लो हुँदैगयो । प्रधानमन्त्रीका विकास योजनाहरूमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने युवराज दाहाल साँच्चै लगनशील व्यक्ति थिए ।
केही भन्न नसके पनि अन्त्यमा मैले केही त भन्नैपर्छ । घर परिवारमा परेको यो बज्रपात, समाज र राष्ट्रले व्यहोर्नुपरेको यो क्षतिको सामना गर्नैपर्छ । यो दुःखद् घडीमा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना र दिवंगत युवा नेता तथा मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल लगायत दुर्घटनामा ज्यान गुमाएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुुव भोछिभोया, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !
अलविदा रवीन्द्र, अलविदा युवराज !