परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अलविदा रवीन्द्र, अलविदा युवराज!

मौसम राम्रो छैन । दिन धुम्मिएको छ । घाम देखिएको छैन र चिसो हावा वरिपरिको परिवेशमा फैलिएको छ । २०७५ साल फागुन १५ गते बुधवार अपत्यारिलो दिन । काठमाडौँका मेरा छिमेकी मोहन बिक्रम शाहीकी आमाको निधन भयो । हामी पशुपति आर्यघाटमा थियौं । छिमेकी शालिकराम दाहाल लगायत हामी मलामी राजनीतिक, आर्थिक र सामाजिक छलफलमै थियौं । मौसमका बारेमा पनि कुरा भयो । बुधबार र बिहीबार मौसम खराब हुने भविष्यवाणी गुगलले गरिसकेको छ ।

यस्तै वेलामा पत्रकार रघु मैनालीले पर्यटन तथा नागरिक उड्डयन मन्त्री चढेको हेलिकप्टर हराएको खबर सुनाउँदै ताप्लेजुङतर्फ बुझ्न र यथार्थ पत्ता लगाउन अनुरोध गर्नुभयो । यो ननिको सूचनाले मेरो मन अत्यायो । मनले भन्यो, हेलिकप्टर कतै थपक्क बसेको होस् र ननिको खबर सुन्न नपरोस् ।’ तर, मेरो मनको कामना विपरीत एकैछिनमा दुखद् खबर फैलियो ।

पशुपति आर्यघाटमा लाशहरू जलिरहेका छन् । मानिसको शरीर खरानी बनेर सकिँदैछ । प्रत्येक चिताबाट धुवाँको मुश्लो बटारिएर आकासिँदै छ । म चितातिर हेरेर टोलाइरहें । अहो ! रवीन्द्र अधिकारी, युवराज दाहाल…। मन भक्कानियो । हिजो मात्र कुरा गरेको, आज यो अपत्यारिलो र मुटुमा कसैले घोचे जस्तो ! किन यस्ता हृदयविदारक घटना सुन्नुपर्छ । फोनको घण्टी बजिरहेको छ । म टोलाइरहेको छु ।

वास्तवमा म अहिले निःशब्द छु । बोल्न, लेख्न र कसैसँग कुरा गर्न पटक्कै मन छैन । दाइ! हाम्रै पुस्ताले समुन्नत नेपाल निर्माण गर्नुपर्छ’ भन्ने नेकपाका युवा नेता पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा दुखद् निधन भएको छ । उहाँसँगै अन्य ६ जना होनहार व्यक्ति राष्ट्रले गुमाएको छ । यस्तो अवस्थामा मन अशान्त हुनु स्वाभाविकै हो । रवीन्द्र अधिकारी र मेरो भेट निरंकूश पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा जेलमा भएको थियो । पुलिसले कुटेर जेलमा कोचे पनि दाइ! यसपालि अलि बढी नै कुट्यो’ भनेर मुसुक्क हाँस्ने रवीन्द्रमा अग्रगामी जोश मात्र थिएन वैचारिक स्पष्टता पनि थियो । भावावेशमा आएर होइन अत्यन्तै मिहिन पाराले सोचेर निर्णय गर्ने रवीन्द्र युवाहरूका नेता त थिए नै, साथै बृद्ध र बालबालिकाहरूले पनि उत्तिकै मन पराइने व्यक्ति थिए । सङ्घर्षबाट उदाएको, जनतामा स्थापित र राष्ट्रले समेत पत्याउँदै विश्वास गर्न सकिने बिरलै व्यक्तिमध्ये रवीन्द्र एक थिए ।

पुलिसको कुटाइले धुस्नो बनेको शरीर बोकेर जेलको पर्खालभित्र बसेको समयमा होस् अथवा मन्त्री भइसकेपछिको भेटमा होस्, रवीन्द्रमा मैले ग्लानिबोध अथवा बडप्पन कहिल्यै देखिनँ । मलाई लाग्छ रवीन्द्रका विरोधी छँदैछैनन् । सबैलाई आफ्नो हितैषी बनाउनसक्ने गुण र क्षमता रवीन्द्रमा थियो । तर के गर्नू, समय बलवान मात्र होइन निष्ठुरी र विवेकहीन पनि बन्यो । रवीन्द्र लगायत सात जनालाई आज (फागुन १५) को दिनले निल्यो । अग्रगामी परिवर्तनका लागि जुनसुकै मोर्चाको नेतृत्व गर्नसक्ने खूवी भएका रवीन्द्रलाई हामीले गुमाएका छौं । हो, जन्मेपछि मर्नुपर्छ, त्यो सबैलाई थाहा छ र शाश्वत सत्य यही नै हो । तर, यो घटना त्यो शाश्वत सत्यभित्र पर्दैन । यो त बज्रपात हो परिवार, समाज र राष्ट्रका लागि ।

एक दिन मैले जेलमा सोधेको थिएँ, रवीन्द्र खाना कस्तो लाग्यो? ’ मुसुक्क हाँसेर उनले जवाफ दिए, उसिना चामलको भात पनि मीठो लाग्यो दाइ ।’ विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने क्रममा जेलमा पर्दा होस् वा बाहिर हुने आन्दोलनमा अगुवाइ गर्दाको अवस्थामा होस्, रवीन्द्रको अनुहार कहिल्यै निराश बनेन । मन्त्री बनिसकेपछि रवीन्द्र र मेरो भेट पातलो हुनथल्यो । एक दिन लजिम्पाटको एउटा पत्रकार भेटघाटमा उनले मेरो, गोविन्द दाइसँग बाहेक अरुसँग सल्लाह हुन पाएको छैन’ भनेर अरु पत्रकाहरुलाई सुनाए । जब कि मसँग कुनै सल्लाह भएको थिएन । पछि ‘तपाईंको विश्वास लाग्छ अनि मन जितेर भनेको’ भन्ने जवाफ दिए । त्यसपछि पत्रकार रघु मैनाली र मैले भेट्ने कोशिस गरेका थियौं । मन्त्री धेरैजसो बाहिरै भएको खवर पाउँथ्यौं । एक दिन रघुजीले भन्नुभयो – यी त प्रदेश मन्त्री पो भए कि क्या हो? जहिले प्रदेशतिरै हुन्छन् । ९।१० दिनअघि भने मैले एक्लै भेट्ने मौका पाएँ । हामीबीच लामै कुराकानी भयो । वाइड बडी, निजगढ विमानस्थल, पत्रकार, पत्रकारिता, लुम्बिनी साथै पशुपति क्षेत्र विकास कोषका बारेमा छलफल गरेका थियौं । मन्त्रीले आफ्ना भावी योजनाहरू सुनाएका थिए । एकपटक निजगढ सँगै जाने कुरा गरेका थियौं । तर, रविन्द्र दुःखद घटनाको चपेटामा परे । अन्तिममा दाहिने हात मिलाएर देव्रे हातले मिलाएकै हातमा थप थपाउँदै भनेका थिए- दाइ फेरि छिट्टै भेट्छु है ’ तर, अब हाम्रो भेट नहुने भयो ।

मन्त्री रवीन्द्र अधिकारीसँगै हितैषी मित्र युवराज दाहालको पनि दुःखद् निधन भएको छ । विकासप्रेमी दाहालसँग पहिलो पटक संखुवासभाको खाँदबारीमा भेट भएको थियो । त्यसबेला उनी खाँदबारी नगरपालिकाका कार्यकारी अधिकृत थिए । दैनिकजसो फोन गर्ने र विकासका बारेमा कुरा गर्ने दाहाल काठमाडौँ आएका बखत् खोज्दै आइपुग्थे । जिल्लाको समग्र विकासका बारेमा मिहिन पाराले मन्थन गरेर योजना पूरा गर्ने प्रण गर्थे । इलाम नगरपालिका र दमक नागरपालिकाको कार्यकारी अधिकृत हुँदा पनि उनले विकासका कुरा गरिरहे । इलाममा हवाई मैदान निर्माणको योजना बनाउँदा आफू सफल हुने कुरा प्रत्येक दिनजसो सुनाउँथे । हो, उनी साँच्चै असल र कुशल प्रशासक थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिव बनेपछि हाम्रो घेटघाट झन् बाक्लो हुँदैगयो । प्रधानमन्त्रीका विकास योजनाहरूमा आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्छ भन्ने युवराज दाहाल साँच्चै लगनशील व्यक्ति थिए ।

केही भन्न नसके पनि अन्त्यमा मैले केही त भन्नैपर्छ । घर परिवारमा परेको यो बज्रपात, समाज र राष्ट्रले व्यहोर्नुपरेको यो क्षतिको सामना गर्नैपर्छ । यो दुःखद् घडीमा शोक सन्तप्त परिवारमा हार्दिक समवेदना र दिवंगत युवा नेता तथा मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल लगायत दुर्घटनामा ज्यान गुमाएका यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुुव भोछिभोया, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली !
अलविदा रवीन्द्र, अलविदा युवराज !

Facebook Comments