हिमालको हिउँमा थरथरी जिऊ कामेको काम्यै छ
सिरेटो चिसो हुँइकिन्छ त्यसै डामेको डाम्यै छ ।
यो भेडी गोठ, गोठाले जीवन अत्तो नपत्तो छ
के अोड्ने होला डोल्मा र मैले पाखीको झत्तो छ ।
देवकोटा कवि डिल्लीबजारमा बसेर लेख्थे कि
बाँचेको भए यो मेरो दुःख तिनले देख्थे कि !
यो डोल्मा मुना बनेकी हुन्थी मदन म बन्थेँ
जहाँ भए पनि महा कविजीलाई लौ लेख म भन्थेँ ।
भेडाको बथान बेचेर डोल्मा जौ डाँडा काटेर
भनेको केही नमानी बस्छे ऊन धागो बाटेर ।
घामको झुल्को कहाँ झुल्कोझुल्को झुल्केन यो पाटो
घामले पनि कुन बाटो रोज्यो विर्सियो मूल बाटो ।
काठमाडौंतिर राज्यको खबर के कसो भैरा’ छ ?
बाटो र पुल, मेलम्ची पानी हाँस्छ कि रोइरा’ छ ?
सातोटा प्रदेश अर्थले हाम्रो धान्यो कि धानेन ?
विकास गर्न यो सरकारले जान्यो कि जानेन ?
हिउँचुली देख्छु यै झ्याउरे लेख्छु छन्द न बन्दको
विनाको बास्ना नखोज्नु यहाँ बुकीको गन्ध हो ।
डोल्पाको पाखो यो भेडी गोठ जीवन बचाउने
कालकुट विष पिएको जस्तो कति विष पचाउने ?
Facebook Comments