बहकिएका योजना र भद्रगोल शहर

हामी जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा परिसंवाद् गर्छौँ । हरेक प्रश्नका उत्तर हुन्छन् तर सबै उत्तर समाधान हुँदैनन् । त्यसैले हामी प्रश्नको उत्तर होइन, समाधानका लागि परिसंवाद् गर्छौँ । कुनै पनि विषयवस्तुको अति सामान्यीकरणले विषयवस्तुलार्ई बुझ्न र त्यसलार्ई व्यवहारमा उर्तान प्रशस्त अन्योल थप्छ । त्यसैले हामी कुनै पनि विषयवस्तुलार्ई मसिनो गरी पर्गेल्ने जमर्को गर्छौँ। आज हामीले एउटा त्यस्तै विषयलार्ई परिसंवाद्का लागि छानेका छौँ । त्यो विषय हो – सहरी विकासको योजना, खुल्ला क्षेत्र र पानीको निकास । तिब्र गतिमा भइरहेको सहरीकरण र त्यसमा हुनुपर्ने न्यूनतम पूर्वाधार के हुन् ? हामीले सहर बनाइराखेका छौँ कि घर ?  खेतवारीमा घर बनाउने हो कि घडेरीमा घर बनाउने ? भन्नेबारेमा परस्पर विचार मन्थन गर्दैछौँ । यस विषयमा विचार मन्थनका लागि आजको परिसंवाद्मा नेपाल सरकारका पूर्व सचिव तथा सहरी विकासका विज्ञ किशोर थापा, नेपाल सरकार, सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडी जलस्रोतविद् तथा अन्नुसन्धानदाता अजय दीक्षित सहभागी हुनुहुन्छ । यस परिसंवाद्लार्ई सहजीकरण गर्दै हुनुहुन्छ, वातावरणमा अध्ययन र अध्यापन गर्नुहुने डा. सरोज ज्ञावालीले । अब परिसंवाद् सुरु गरौँ ।

 

डा.सरोज ज्ञवाली

आजको परिसंवादको विषय सहरीकरण र यससँग सम्बन्धित विषयहरू रहेका छन् । अब हामीले सहरीकरणलार्ई हेर्दाखेरी आधुनिक तौर तरीकाले पनि हेर्न सकिन्छ । हाम्रो सहरीकरणको इतिहासलार्ई हेर्दा लिच्छविकालीन थियो, मल्लकालीन थियो । त्यो बेलामा पनि राम्रा व्यवस्थित सहरहरू थिए । त्यो बेलाको इतिहासमा सहरीकरण कसरी भएको थियो र त्यसबाट अहिलेको पुस्ताले के पाठ सिक्न सकिन्छ भन्ने विषयमा किशोर सरबाट विषय उठानका लागि अनुरोध गर्दछु।

किशोर थापा

नेपालमा सहरीकरणको विकास त अघि डा. सरोजले नै भनिहाल्नुभो कि लिच्छविकालदेखि नै काठमाण्डौँ उपत्यकामा सहरी वस्तीहरूको स्थापना भएको हो ।  त्यो वस्तीको स्थापना गर्दाखेरि वैदिक विधि जसलार्ई शिल्पशास्त्र पनि भनिन्छ, शिल्पशास्त्र अनुसार ती सहरको आकार र ले आउट भनौँ, त्यो ले आउट र त्यो सहरले ओगट्ने जमिनको स्वरूपको बारेमा शिल्पशास्त्र विधिअनुसार नै गरिएको    हो । सहरहरू चाहिँ कुनै खड्ग आकारका कुनै कमल आकारका भएको पाउँछौँ। अथवा विभिन्न आकारहरू जसलार्ई शुभ संकेतका रूपमा शुभ चिन्हका रूपमा पनि लिएको  पाइन्छ । ती आकार अनुसार गर्ने चलन थियो । त्यसमा जुन बाटाघाटाहरू बने, ती बनाउँदा पनि निश्चित मापदण्ड अपनाइएको थियो । त्यो के त भन्दाखेरि त्यहाँ रथ चलाउनुपर्थ्यो । विभिन्न रथ यात्राहरू हुन्थे त्यसवेला पनि ।  रथहरू चलाउनका लागि दुईटा रथहरू पास हुने अथवा रथ कसरी घुमाउने हो कुन कुन ठाउँहरू, मन्दिर हुँदै, चोक हुँदै घुमाउने त्यो आधारमा सडकको योजना बनाएको पाइन्छ ।  अर्को कुरा चाहिँ के पनि थियो भने त्यो बेलाको धार्मिक, साँस्कृतिक परम्परा अनुसार देउता हिँडाउने बाटो र मानिसको शव यात्रा गर्ने बाटो फरक हुन्थ्यो । त्यसरी केही न केही टाउन प्लानिङ्गका तर्कहरू थिए । त्यो बेलाको धर्म, संस्कृति, परम्परा र आवश्यक्ताका आधारमा त्यो गरिएको थियो । अहिले हामीले अवलम्वन गरेको सहरी विकास भनेको आधुनिक पश्चिमेली शैलीको सहर हो । पश्चिमेली शैलीको सहर भनेको कस्तो हो भन्दाखेरि जब गाडीको आविष्कार भयो र युरोपमा जुन औद्योगिक क्रान्ति भैसकेपछि त्यो औद्योगिक क्रान्तिले जुन किसिमको उपभोगवाद बढायो र जताततै गाडीबाट, यातायातका साधनहरूबाट ओहोरदोहोर गर्नुपर्ने भएपछि  त्यो आधारमा सडकहरूको कति चौडाइ गर्ने, कस्तो बनाउने, सडकको ले आउट कसरी गर्ने त्यो आधारमा अहिलेको मोडर्न टाउन प्लानिङ्ग त्यसरी अगाडि बढेको देखिन्छ । अब नेपालको सहरीकरणको बारेमा भन्नुपर्दा वास्तवमा सहरमै बसेको सहरी संस्कारै बोकेको भनेको चाहिँ नेवार समुदाय मात्र हो, जसलार्ई हामी वास्तविक सहरी समुदाय भन्न सक्छौँ । बाँकी हामीहरू त विभिन्न गाउँबाट कृषि पृष्ठभूमिबाट आएर एउटा पेशा व्यवसाय उद्योग चलाउनका लागि जम्मा भएर जसोतसो एउटा गैरकृषि पेशामा लागेर बसेका सहरीयाहरू हौँ । त्यो हुँदैहुँदै २००७ सालपछि नेपाल बाहिरी विश्वको लागि खुला हुँदै गएपछि के भो त भन्दाखेरि यहाँ पर्यटनको विकास भयो, विकास भएपछि बाहिरी मान्छे पनि आएपछि हाम्रो सहरमा बाहिरी प्रभाव पर्यो । पहिले राणाकालमा पनि हाम्रो साँच्चै भन्ने हो भने राणाहरूले पनि जे जति सहरहरू बसाएका थिए, अलिअलि युरोपका अनुभवहरूबाट नै ल्याएका थिए । तर त्यसवेला यहाँको जुन मौँलिकता थियो, त्यसलार्ई पर्याप्त ध्यान दिइएको थियो । उदाहरणका लागि वि.सं. १९९० सालमा जब भुइँचालो गयो, महाभूकम्पपछि जुन न्यूरोड बन्यो, भूगोल पार्क त्यो बेलाको चाहिँ अहिलेसम्म हामीले देख्ने सक्छौँ  । त्यसवेला पश्चिमेली शैलीको प्रभाव हुँदाहुँदै पनि यहाँको स्थानीय आवश्यकता अनुसारको विचार गरेर काम भएको देखिन्छ । नब्बे सालपछिको पुनर्निर्माणमा कुनै विदेशी संलग्नता थिएनन् । जे जति नेपाली कालिगढहरू थिए, नेपाली प्राविधिकहरू थिए, तिनैबाट पुनर्निर्माण गरेको हो । अब अहिले आएर हामीहरू विदेशमा गएर पढ्न गयौँ, विदेशमा पढेर आयौँ । विदेशमा पढेर आएपछि त्यहीँको ज्ञान ल्यायौँ, त्यसका प्रयोगहरू गर्न थाल्यौँ । मैले पनि यो ‘अर्बन प्लानिङ्ग’  भारतमा पढें, आर्किटेक्चर भारतमा पढें, त्यही शिक्षाबाट म प्रभावित भएँ । मैले सोही अनुसार गरेपछि अहिले विभिन्न पृष्ठभूमि भएका विभिन्न देशबाट पढेर आएका विज्ञहरूले विभिन्न किसिमका प्रयोगहरू गर्दाखेरि धेरै कुराहरू बिग्रेका पनि छन् । त्यो जिम्मेवारी मैले पनि लिनुपर्छ । तर अहिले आएर के छ भने जब नेपालमा पनि टाउन प्लानिङ्गको पढाइ हुनथाल्यो, अर्किटेक्चर, इन्जिनियरिङ्गको पढाइ हुन थालेपछि अहिले हामीले आफूलार्ई फर्केर हेर्न थालेका छौँ । अहिले हामीले प्लानिङ्ग गरेका सहर कत्तिको नेपाली शैलीका छन् ? नेपाली नागरिकका लागि कत्तिको नागरिकमैत्री छन् ? यी सहरहरू अहिलेको वातावरणको हिसाबले, आर्थिक विकासको हिसाबले, सामाजिक हिसाबमा कत्तिको उपयोगी छन् ? भन्ने कुरा अहिले हामीले चिन्तन मनन गर्न थालेका छौँ । वास्तवमा होइन भने विगतमा मलार्ई लाग्छ कि सन् ७० को दशकदेखि  टाउन प्लानिङ्गको कुरा सुरु भएको हो । सन् १९६९ मा काठमाण्डौँको उपत्यका भौतिक विकास योजना एउटा विदेशी टोलीले आएर गरेको हो । त्यो सन् ७० को दशकदेखि लिएर अहिलेको ३०/४० वर्षको अनुभवबाट हामीले धेरै कुराहरू सिकेका छौँ । अहिलेको हाम्रो सहरी विकास हुन त यो पश्चिमेली शैलीको भएता पनि यसलार्ई नेपाली शैलीमा ढाल्ने प्रयास हुँदैन भएको चाहिँ होइन । यसका आफ्ना खालका धेरै समस्याहरू, चुनौँतीहरू छन् तर पनि सहरीकरण व्यापक रूपमा हुँदैछ । दक्षिण एशियामा तुलना गर्नुभयो भने असाध्यै तिव्र गतिमा सहरीकरण भइरहेको छ ।  यसका वावजूद सहरीकरणको चरित्र कस्तो छ भन्दाखेरि अव्यवस्थित, एकदमै खतराजनक, भू–उपयोगको कुनै किसिमको क्षेत्र, भू–उपयोगको नीति अनुसार नगरिकन जसले जहाँ जे गर्न मन लाग्यो, त्यहीँ घर बनाउने काम भइरहेको छ ।  अनि पछि विकास गर्नका लागि लाग्ने एकदमै हाम्रो कमजोरी भइरहेको छ ।  मोडल  र व्यवस्थापनमा भएको कमजोरीका कारण नेपालको सहरीकरण अव्यवस्थित र अनियोजित रूपमा अघि बढेको छ ।

डा.सरोज ज्ञवाली 

अहिले सहरीकरणका विद्यमान समस्याहरू के रहेछन, अहिलेको हाम्रो जुन तीन तहका सरकारको पृष्ठभूमि रहेको छ त्यो पृष्ठभूमिले अहिलेको सहरीकरणका समस्याहरूलाई कसरी व्यवस्थापन गर्ने लक्ष्य राखिरहेको छ त ?

कृष्णप्रसाद दवाडी

खासगरी अहिले हामीले २०७२ मा नयाँ संविधान जारी गरिसकेपछि हामीकहाँ तीन तहको सरकारको अवधारणा विकास भएको छ । त्यो तीन सरकारको अवधारणाको विकास सँगसँगै सहरीकरणका कुराहरू पनि तीनै तहका सरकालार्ई अधिकार दिएका    छौँ । यसरी हेर्दा केन्द्र वा हामी जुन संघीय सरकार भन्छौँ, खासगरी ठूलाठूला सहरहरूको व्यवस्थापन, त्यसको नियमन गर्ने कुरा एउटा भयो भने अर्को देशभरि नै उपयुक्त हुने किसिमका मापदण्डहरू तयार गर्ने कुराहरू अनि अहिले हामीकहाँ एउटा नयाँ अवधारणा पनि आइरहेको छ कस्तो किसिमको सहर बनाउने हो ? कुन भौगोलिक क्षेत्रमा त्यस किसिमका सहरहरू उपयुक्त  हुन्छन् ? भन्ने कुराहरू पनि केन्द्रले निर्देशन अथवा मोटामोटी एउटा फ्रेमवर्क जारी गर्न सक्छ र त्यसभन्दा तल गएर आफ्नो प्रदेश, आफ्नो क्षेत्रभित्र आफ्नो आवश्यक्ता अनुसारका सहरहरूलाई त्यही अनुसार ढाल्न सक्छ । केन्द्रले दिएको निर्देशनमा रहेर सहरीकरण गर्ने अधिकार प्रदेश सरकारलाई दिएको छ भने स्थानीय सरकारलाई पनि आफ्नो भित्रका वस्तीहरूको व्यपस्थापन गर्न सक्ने छ भनेका छौँ । यति धेरै २९३ त नगरपालिका घोषणा गरिसकेका छौँ । ती हिजो वास्तविक गाउँपालिका रहँदाखेरि बाक्लो बस्तीका रूपमा मात्र रहेका थिए, तिनलाई वास्तवमै नगर कसरी बनाउने? भन्ने डिजाइन गर्ने अधिकार पनि हामीले स्थानीय सरकारलाई दिएका छौँ । यसरी हेर्दा अधिकार क्षेत्र र स्वरूप चाहिँ आ–आफ्नै हुनसक्छ तर मापदण्ड चाहिँ केन्द्रले नै बनाउने किसिमले हामीले अधिकार प्रत्यायोजन नै त नभनौँ, अधिकारको व्यवस्था गरेको अवस्था छ ।

डा.सरोज ज्ञवाली

सहरी विकाससँग अरु चिजहरूको पनि भूमिका हुन्छ । त्यसमा पनि उर्जा र जलस्रोत वा पानीको व्यवस्थापन पनि एकदमै महत्वपूर्ण कुरा हो । यसमा सहरी विकासमा जलसोतको कस्तो सम्बन्ध छ, कसरी व्यवस्थापन गर्नुपर्दछ, अजय सर ?

अजय दीक्षित

आज जलसोतमा त म बोल्दिँन । अब मलार्ई बाढीको निकास भनिएको छ । म बाढीको निकासमै केन्द्रित रहन्छु । अहिलेको जुन स्टेजमा म छु मैले आजकल अलिकति ‘संरचना वियोण्ड’ अर्थात् पोष्ट स्ट्रक्चरल हिसाबबाट पानी, अर्वनाइजेसनको बारेमा कुरा  राख्छु ।  हुन त यो मेरो विषय होइन । तै पनि पानीलाई त्यसरी जोडेर हेर्ने गरेको छु ।  प्रस्थान विन्दु के हो ? मलाई चाकुपाटबाट यहाँ (अनामनगर) आउन झण्डै ४५ मिनेट लाग्यो । हिमालय होटल अगाडि एकपल्ट, कानदेवता स्थानमा एकपल्ट, वागमती पुलमा एकपल्ट, माइतीघरमा एकपल्ट अनि त्यसपछि हनुमानस्थानमा २ पल्ट रोकिएर म आइपुगेको अवस्था छं । पानीको कुरा गर्दा अघि हाम्रो किशोरजीले भने झैं ह्याफाजार्ड अर्वनाइजेशन त्यसलाई नै केन्द्रविन्दु बनाएर म अलिकति पानीको कुरा राख्छु ।

किशोरजीले पनि इतिहासबाटै सुरु गर्नुभयो । म पनि इतिहासको सामान्य कुरामा त पुग्नै पर्यो । यद्यपि हामी त्यसमा मात्र बाँधिन सक्दैनौँ । तर पनि इतिहासबाट सिक्नु जरुरी   हुन्छ । त्यसकारण पानीको कुरा गर्दा कहाँबाट सुरु गर्ने जहिले पनि हामी चुनौतीमात्रै  देख्छौँ । त्यसकारण पानीको आधारभूत ज्ञानबाट सुरु गरौँ होला भन्ने लाग्छ । जलविज्ञानबाट सुरु गरौँ । पूर्वीय विज्ञानले के भन्छ पानीलार्ई, कसरी व्याख्या गर्छ ? हामीले ब्राम्हाण्ड पुराणमा हेर्यौँ भने उसले तालको कुरो गर्छ, नदीको कुरो गर्छ, समुद्रको कुरो गर्छ, हिउँको कुरा गर्छ र उसले के भन्छ भने एउटा चक्रगत रूप (साइक्लिक) रूपमा यो सम्बन्धित  कुरा छ। वाफ भएर माथि जान्छ र फेरि फर्केर आउँछ भनेर उसले जलविज्ञानको जुन चक्र छ, त्यसलाई स्वीकार गर्दछ । हामीले आधुनिक विज्ञानमा गएर अमेरिकी एकेडेमी अफ साइन्सले गरेको व्याख्या हेर्यौँ भने पनि उसले पनि त्यही भन्दछ। ‘कन्टिन्युस फ्लो अफ वाटर’ इन्भाइरोमेन्ट, सँगको उसको सम्बन्ध, जीवजन्तुसँगको उसको सम्बन्ध, पानीको ‘प्रपर्टी’ केमिकल र …फिजिकल प्रपर्टी,, सबै प्राणीसँगको उसको सम्बन्ध भनेर उसले व्याख्या  गर्दछ । बुझाइको हिसाबले पूर्वीय र पश्चिमीमा केही फरक छैन । पानीको सर्कललार्ई, पानीको साइकललाई त्यसरि नै हेरौँ – हामी अलिकति आधारभूतमै जाउँ । रघुजीले भन्नुभएको थियो, हामी एउटा ‘डिस्कोर्स’ सुरु गर्दैछौँ भनेर । अनि पानीको हकमा हामी कतिपय बुझाइ लिएर बसेका छौँ । हामी सामान्य जलचक्रको परिभाषाबाट जाऊँ । समुद्रबाट बाफ भयो, त्यसपछि त्यसलाई हावाले जमिनमाथि ल्यायो । जमिनमाथि ल्याएपछि त्यो चिसो भयो, त्यसपछि वर्षाको रूपमा परिवर्तित भयो, त्यसपछि जमिनको वनस्पति र रूखले त्यसलाई पहिले ग्रहण गर्यो । त्यो भरिएपछि जमिनमा आइपुग्यो । जमिनको माटो, ‘मस्टर्ड’ उसले भर्यो । त्यो भरेपछि केही पानी जमिनभित्र छिर्यो । जमिनभित्र छिरेपछि केही पानी जमिनभन्दा मुनिमुनिबाट बग्न थाल्यो, जसलाई अन्तरप्रवाह पनि भन्छौँ । त्यसपछि केही जमिनले सोस्यो, जलभण्डारसम्म पुग्यो । त्यसपछि सतहमा बग्न थाल्यो । भित्र जान नसकेको पानीले नदी बनायो, खोला बनायो । अन्ततोगत्वा त्यो पानी समुद्रमा पुर्यायो । यो चक्र अनवरत चलिरहन्छ । दक्षिण एसियामा यो खास किसिमको  चक्र छ । समग्रको अवस्थिति, तिब्बती पठारको अवस्थिति, हिमालय, जलाधारहरूको अन्तरसम्बन्धले एउटा खास समयमा असारदेखि असोजसम्म ४ महिना झण्डै ८० प्रतिशत पानी परेको पाउँछौँ । त्यसपछि बाँकी समयमा मेरिडियनमा भएको २० प्रतिशत पानी पाउँछौँ । अर्को वास्तविकता के छ भने यो जुन प्राकृतिक प्रणाली हो, लिच्छविकालमा त नपुगौँ सन् १९५० तिर पुगौँ न । १९५० मै पुग्दा पनि हाम्रो क्षेत्रमा करीब डेढ दुइसय वर्ष अगाडि जस्तो थियो, त्यस्तै छ । अब अहिले आएर त्यो छैन । अब अहिले आएर त्यो प्राकृतिक जलचक्र परिवर्तन भएको छ । हामीले रिजर्भवायर बनाएका छौँ, डाइभर्सन सक्सहरू बनाएका छौँ, हामीले पम्प प्रयोग गरेका छौँ । खानेपानी, त्यसपछि सिंचाइ, त्यसपछि जलविद्युत, त्यसपछि उद्योग, त्यसपछि पर्यटन अरु कामकाज गरेका छौँ । अब यी कार्य र ठाउँबाट के निस्कन्छ ? यसबाट सिँधै फोहोरमैला निस्कन्छ । म यहाँ तपाई (डा. सरोज) को पढ्दै थिएँ, केही फोहोरमैला हामी शुद्धीकरण गर्छौ। केही त्यत्तिकै बगेर नदीमा जान्छ । त्यसपछि गएर खेर जान्छ । त्यसकारण जुन एउटा प्राकृतिक प्रणाली छ, त्यसमा मानिसको हस्तक्षेप भयो । अब त्यसमा नयाँ ढंगले सोच्नुपर्ने भयो । अब पानीको कुरा गर्दा जलस्रोत तपाईले भन्नुभो पोष्ट स्ट्रक्चरल लेभलमा कहाँ पुग्ने त ? किन पानीको यत्रो विवाद भोग्दै छौँ। किन हाम्रो समस्या अझै पनि जटिल हुँदै गइराखेको छ ? बाढीको समस्या किन देखिइराखेको छ ? केही ऐतिहासिक एक दुईवटा दृष्टान्तहरू प्रस्तुत गर्छु । ज्ञान कसरी आयो ? कहाँ पुग्यो ज्ञान ? त्यो ज्ञानले पानीलाई कसरी व्याख्या गर्यो ? भन्ने कुरा प्रस्तुत गर्दै अनि त्यसपछि म बाढीमा आएर रोक्छु । पानीको हाम्रो ज्ञानको कुरा गर्दा दुई ठाउँमा पुग्नु जरुरी छ । एउटा संयुक्त राज्य अमेरिकाको १९ औँ शताब्दीको सुरुदेखि मध्यतिर । अर्को कोलोनियल भारत । त्यहाँ हामी नपुगीकन बुझ्दैनौँ । किनभने पानीको जुन ज्ञानको आधार हो नि हामीले प्रयोग गर्ने, त्यो त्यहीँ स्थापित भयो त्यहीँ विकास भयो । हामीले त्यहीँबाट सिक्यौँ । अघि किशोरजीले भन्नुभयो – उहाँ भारत जानुभयो, भारतमा पढेर आउनुभयो। हामीले पढेको विज्ञान त्यै हो । म भारतमा गएँ, भारतमा इन्जिनियरिङ्ग पढें । मलाई भारतमा जे पढाइयो, त्यही जानेँ । म बेलायत गएँ, बेलायतमा मलाई जलस्रोत पढाइयो । त्यहीँबाट विकसित भएँ, म आएँ ।  नेपाललाई मैले केही आफ्नो किसिमबाट ढाल्ने प्रयास गरिराखेको छु । तर हाम्रो इन्जिनियरिङ्ग शिक्षा, हाम्रो अरु खालको शिक्षा यहाँ हामीले जे दिन्छौँ, त्यही एउटा विचार, त्यही एउटा दृष्टिकोण, ज्ञान, त्यसैबाट हामी ग्रस्त छौँ । अझ स्पष्ट भाषामा भन्ने हो भने हेजेमोनी । त्यो ज्ञानको हेजेमोनीबाट हामी ग्रसित छौँ । ज्ञानको हेजेमोनी अर्न्तगत हामीले हाम्रा संरचनाहरू बनाएका छौँ । त्यो ज्ञानले परिकल्पना गरेको संरचना – पश्चिमा राजनीतिक, सामाजिक संरचनासँग हाम्रो संरचना मिल्दैन । तर हामीले के गरेका छौँ भनेदेखि हामीले ज्ञान चाहिँ उताको ल्याएका छौँ, संरचना चाहिँ हाम्रै छ । त्यो ‘म्याच’ नै भइराखेको छैन  । हाम्रो परिकल्पनासँग घुलमिल भैराखेको छैन । अमेरिकामा के भयो भनेदेखि, उसले के भन्छ भनेदेखि ‘एभ्री ड्रप अफ वाटर द्याट रन्स टु दि ओसन विदाउट इट्स फूल कमर्सियल भ्यालु अर रिटर्न टु द नेशन’ । यसरी अमेरिकाले पानीलाई कमर्सियल भन्छ । कमर्सियल भनेको कुनै खालको पूँजी, फाइदा लिनुपर्यो । त्यो भनेको ‘वेस्ट’  हो । खर्च भएको पानी हो, काम नलाग्ने पानी हो भन्छ है । फ्लोइङ वाटर इज अ वेस्ट – इकोनोमिक रिटर्न छैन र मुलुकलाई फाइदा गर्दैन भने । भारतमा हामी आउँ, भारतमा त्यही शब्द अथवा त्यही नै दर्शन लिएर खासगरी हाम्रो शारदा ब्यारेजमा हामी कुरा गर्छौँँं नि, शारदा ब्यारेज बनाउने क्रममा ब्रिटिश सरकार र अवधका तालुकदारको बीचमा ठूलो विवाद भयो । बनाउने कि नबनाउने भनेर । तालुकदारले भने हामीलाई यो योजना चाहिँदैन । झण्डै ३० वर्ष जति त्यो योजना रोकियो । अनि लर्ड कर्जनको समयमा ब्रिटिश सरकारले के भन्यो भनेदेखि, ल ठिकै छ, यो पानी चाहिँ खेर गैरहेको छ । तिमी प्रयोग गर्दैनौँ भनेदेखि हामी पञ्जाव लैजान्छौँ । ल हेर्नुस है, ल्याङ्गवेज चाहिँ उसले फेरि ल्यायो । उपनिवेशमा ‘क्यापिटल अफ स्टेटको  कमर्सियल इन्ट्रेष्ट’ र विज्ञानलाई चाहिँ ठ्याक्क ल्याएर जोडिदियो । त्यो जोडेर उसले चाहिँ शारदा क्यानल बनायो । अब त्यसपछि अर्को विरोधाभाष चाहिँ ब्रिटिशले फेरि उडिसाको बाढीको अध्ययनमा के भन्छ भन्दा, ओहो यो त बाढी भनेको त जति सक्यो छिटो चाहिँ समुद्रमा पुर्याउनुपर्छ। यसलाई कन्ट्रोल गर्ने होइन जति सक्यो, छिटो समुद्रमा बगेर जान दिनुपर्छ । त्यही राज्य हो । त्यही ज्ञानको एउटा एपिस्टेमिक आधार हो, एउटाले भन्छ बगेको पानी खेर जान दिनु हुँदैन, त्यसलाई पूरापूर उपयोग गर्नुपर्छ, कमर्सियल इन्ट्रेष्ट अफ फाइदाको लागि । तर त्यसैको अर्को हातले के भन्छ त भन्दाखेरि बगेको पानी समुद्रमा पठाउनु पर्छ, बाढीलाई नियन्त्रण गर्नु हुँदैन, बाढीको लागि बाटो खोल्नुपर्दछ भन्छ । त्यो आख्यानमा माटोको कुरा कहिँ पनि आउँदैन ? हेर्नुस है । सेडिमेन्टेसन (भूक्षीयकरण हुने प्रक्रिया) को कुरो भूक्षयको कुरो कहिं पनि आउँदैन  । वर्षा नभएको बेलामा पानीलाई हामीले खालि एच.टु.ओ. र निलो पानीको रूपमा बुझेका छौँ । वर्षाको बेलाको धेरै पानी हामीलाइ वास्ता पनि छैन । त्यसमा बग्ने माटो चाहिँ हामीले एउटा समस्या अथवा चुनौती भनेर बुझेका छौँ, जबकि सेलिमेण्ट भनेको हाइड्रोलोजिकल साइकलको एउटा अभिन्न अंग हो । उसले हाम्रो क्षेत्रमा भन्नुपर्दा जहाँ पनि डेल्टालाई सिंचित गर्दछ उसले न्युट्रिशन लेराउँछ, उसले एग्रिकल्चरलाई सपोर्ट गर्दछ । यदि डेल्टा नहुने हो भनेदेखि र सेलिमेण्ट नहुने हो भनदेखि सभ्यता अगाडि जाने नै थिएन । अब त्यसपछि यसले के गर्यो त भन्दाखेरि यसले पानीको समुच्चागत अवस्थालाई खण्डीकरण गर्यो । पानीको ज्ञानलाई खण्डीकरण गर्यो । हामी क्षेत्रगत बुझाइमा गयौँ । जस्तै: खानेपानी, सिंचाइ, जलविद्युत, इण्डष्ट्री, ग्राउण्ड वाटर, सर्फेस वाटर, लेक, पोखरी सबैलाई हामीले खण्डीकृत गर्यौँ । पानीको माथिल्लो भेग र तल्लो भेगको अन्तरसम्बन्धको बारेमा हामीले कुरा बुझेनौँ । अनि त्यो ज्ञानमा आधारित हामीले शिक्षा दिएका छौँ । अनि त्यै ज्ञानमा, त्यै बुझाइमा आधारित संरचनामा हामी रहिरहेका छौँ । अब इण्टिग्रेट वाटर रिर्सोस म्यानेजमेण्ट भनेर परिवर्तन गनुपर्छ भनेर केही अवधारणाहरू आएका छन् तर ती प्रयोग हुन सकेका छैनन् । यो सर्न्दभलाई अब हामी अघि किशोरजीले भन्नुभएको जस्तो ह्याफाजार्ड अर्वनाइजेशन, अनियन्त्रित अर्वनाइजेशन त्यहाँ लगेर जोड्नुपर्छ । त्यहाँ लगेर राख्नुपर्छ । के चित्र देखिन्छ ?

सहरीकरणबारे एउटा कुनै एउटा निकाय ‘यु.एन. ह्याविटेट’ ले निकै अध्ययन गर्छ । सहरीकरणका धेरै कुरा उठाउँछ । हामीले भविष्यमा सहरका वास्तविकता देख्छौँ भने सहरका विविध चरण र नाटकीय परिवर्तनको कुरालार्ई अगडि सार्नुपर्छ। जुनखालको सहरीकरणको परिकल्पना गरेका छौँ, परिकल्पना नै नभनौँ, जो अगाडि बढिरहेको छ, त्यसले अनियन्त्रित बस्ती विकास भइरहेको छ । त्यसले प्राकृतिक स्रोत र साधनको अस्वाभाविक दोहन भइरहेको छ । अब म बाढीमा आउन चाहान्छु । सन् २००९ को बम्बई, २०१० को पाकिस्तान, २०१३ को श्रीलंका, २०१५ को चेन्नाई, २०१८ को केरला र २०१८ को गोन्जाओ, लुजन, हङकङ लगायतका ठाउँमा हेर्यो भने के देखिन्छ त ? यो सन्दर्भमा प्रष्ट छ, खुल्ला ठाउँहरू मासिएका छन् । प्रकतिका रूपमा पानी जाने डोलक्षेत्र र बढी निकास हुने ठाउँहरू मिचिएका छन् । पानी पर्ने दर पहिलेको तुलनामा बढेको छ । त्यसलार्ई प्रमाणित गर्ने तथ्यांक नभएको हुँदा त्यो नियमित अवस्थ नै हो भनेर त म भन्न सक्दिन । तर सन् २०१५ मा चेन्नाइमा हेर्नुभयो भने २४ घण्टामा ३७० मिलिमिटर पानी परेको उदाहरण हाम्रो सामु छ । सोही ठाउँमा दश दिनपछि २४ घण्टमा नै ४ सय मिलिमिटर पानी परेको अवस्था छ । पछिल्लो समयमा २ दिनमा ६ सय मिलिमिटर वर्षा भएको तथ्यांक आइरेहको छ । हाम्रो नेपालमा एक वर्षमा १८ सय मिलिमिटर पानी पर्ने आँकडा छ। समुद्री आँधी हिसाववाट एटलान्टिकको तापक्रम बढेको हुनाले त्यो आँधीको गति पनि बढ्यो । त्यसले प्रशस्तै पानी ल्यायो । त्यो  पानी अव्यवस्थित सहरमा आयो, निकास नभएको सहरमा पस्यो । हामी नेपाली चाहिँ समुद्री आँधीबाट बचेका छौँ भनेर भन्ने समय होइन यो ।  हामी भूपरिवेष्टि देश हौँ हामीलार्ई केही हुँदैन भनेर भन्न सकिदैन । यसरी पानी बढी अनियन्त्रित खालको वस्तीमा पस्नुको कारण विकास, सहरको विकास, बाटोघाटोको विकास, प्राकृतिक स्रोतमाथिको दोहन र हस्तक्षेप प्रमुख रूपमा जिम्मेवार छ ।  धेरै ठाउँमा हेर्यौँ भने बाढीलार्ई कसरी नियन्त्रण वा निकास गर्ने भन्ने विषयमा  प्रशस्तै विमतिहरू रहेका छन् । सुशासनमा ठूलो समस्या छ । संस्थागत रूपमा हाम्रो ठूलो समस्या रहेछ, त्यसकारण  यो विषयलार्ई हेर्नु जरुरी छ ।

रघु मैनाली

काठमाण्डौँ उपत्यकाको कुरा गर्ने हो भने भक्तपुरमा बस्ती नै डुब्यो, काठमाण्डौँमा कैयौँ घरहरू डुबेको थिए ।

अजय दीक्षित

हामीले भक्तपुरका २९/३० वटा स्कूलहरूमा ‘नगरिका विज्ञान’ भनेर पानी नाप्ने यन्त्र राखेका छौँ । त्यस क्षेत्रमा २४ घण्टामा ९० देखि १०० मिलिमिटर पानी परेको पाइएको छ । त्यस क्षेत्रका पानी निकासका नालाहरू मिचेर घर बनायौँ । पानीको निकासलार्ई हामीले बाटो दिएनौँ। नदीको दुवैतर्फ पर्खाल लगाएर साँघुरो पारेका छौँ भने त्यो पानी घरहरूमा नपसेर कहाँ जाओस् त ? त्यो घरघरमा पस्यो । सहरी क्षेत्रको विकास, दुर्गम क्षेत्रवाट सहरमा मानिसको बसाइ सराइको क्रम यहाँ छ । नेपालको सन्दर्भमा बैदेशिक रोजगारीबाट फर्किएका मानिस गाउँ गएर बस्लान् ? उनीहरू आएर बस्ने पनि सहर नै हो । त्यसकारण भनिएको होला, दक्षिण एसियामा तिब्र सहरीकरणको विकास भएको देश नेपाल भनेर । सुशासनको व्यवस्था, छोटो समयमा बढी पानी पर्ने चरित्र र सहरीकरणको चापलार्ई बुझ्न जरुरी छ ।

रघु मैनाली

हाम्रा योजनाविद्हरूले हावा, पानी र माटो, जो हामीले बनाउन नसक्ने कुरा हुन्, जसको सीमितता छ, यसलार्ई हेरेर योजना बनाउनुपर्छ भन्ने कुरा विर्सेका हुन् त ।

अजय दीक्षित

विर्सेको त नभनौँ । सम्झाउने पनि छन । तर प्रकृतिलार्ई नियन्त्रण गर्न सक्दछौँ भन्ने एकखालको घमण्ड हामीमा छ ।

कृष्णप्रसाद दवाडी

जलको कुरा त अजय सरवाट आइसक्यो । जमिनको व्यवस्थापनको कुरा गर्दाखेरि वा सहरीकरणको कुरा गर्दा यो योजनावद्ध छैन । जेसुकै कारणले भए पनि ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइ सराइ तिब्र ढंगले भइरहेको छ । हाम्रो योजनाका बारेमा नढाँटीकन भन्दा पहिला मान्छे गएर बस्छ । अब उसलाई बाटो चाहिन्छ अनि बाङ्गोटिङगो बनाउन थाल्छ । समस्या परेपछि मात्र ढल र पानीको निकास खोज्ने हाम्रो संस्कारकै रूपमा विकास भइरहेको छ  । जव कि पहिला सबै योजना तयार गरेर मअनि मात्रै बस्ती बस्नुपर्ने थियो । त्यसकारण पनि  योजनाकारले योजना बनाएनन् भन्दा पनि हाम्रो यथार्थता यो हो कि ? दुई दशकलार्ई हेर्न हो भने बसाइ सराइको मात्रा अत्यन्तै बढी छ ।

अजय  दीक्षित

किशोर सर, सहर भनेको सिर्जनाको थलो पनि हो । त्यहाँ विभिन्न खालका मानिस हुन्छन् । भेटघाट र गफगाफ गर्न पाइन्छ । नयाँखालको मिश्रित समाज बन्छ र पनि किन जसरी विकास हुनुपर्ने थियो, त्यो हुन नसकेको होला ?

किशोर थापा

हरेक देशको विकास गर्ने औजार हुन्छ । र, योजनाको सिद्धान्त हुन्छ । येजनाका सिद्धान्तहरू पश्चिमा देशहरूबाट ल्यायौँ। हामीले ती देशका आधुनिक मोडलहरू ल्यायौँ । हाम्रो जुन परिवेश छ नि, सामाजिक, राजनीतिक, सांस्कृतिक  र प्राकृतिक, त्यो परिवेशसँग त्यो मोडलले म्याच खाएन । समस्या त्यहाँनेर परेको हो । पश्चिमा योजनाको औजार भनेको के हो भन्दा किसानहरूबाट सरकारले अधिकरणबाट जग्गा लिने र सरकारी निकायले योजना बनाउने । सोही अनुसार खण्डीकरण गरेर घडेरीका रूपमा बिक्री गर्ने । भारतमा हेर्नुभयो भने दिल्ली र बम्बै सहर पनि त्यसैगरी विकास भएका पाइन्छन् । भारतका अधिकांश सहर र पश्चिमा राष्ट्रमा पनि त्यही हुन्छ। हामी त्यता पनि जान सकेनौँ ।  हाम्रो अनुभव के रहयो भने कुलेश्वर, गल्फुटार र भैसेपाटी, यी तीनवटा प्रोजेक्टमा हामी यसरी अल्मल्लियौँ २० औं वर्षसम्म, त्यसपछि त्यो तरीका मिलेन भनेर अहिले जुन मोडलमा काम भइरहेको छ, त्यसले बाटोले छोएकोलार्ई त फाइदा गर्यो, बाटोले नछोएकाहरू फेरि सुविधाविहीन   भए । ४० वर्षमा हामी नेपालीले विकास गरेको सहरी निर्माणको औजार भनेको ‘ल्याण्ड पुलिङ’ हो, यो व्यावहारिक रूपमा आएको छ । तर २०, २५ वर्षको अस्थिर राजनीतिक प्रणाली, जनप्रतिनिधिविहीन अवस्था र संस्थागत कमजोरीका कारण जमिन उपयोगको नीति जसरी देशव्यापी रूपमा लानुपर्ने हो, त्यो रूपमा लान सकेनौँ । उपत्यका बाहिर धरान, चितवन, नेपालगन्जका केही पकेट–पकेटमा त्यो अभ्यास गर्यौँ । त्यसलाई सहरी योजनाको राष्ट्रिय मापकका रूपमा लैजान सकेनौँ । यो बाहेकका औजारहरू पनि विकास गर्न सकेका छैनौँ । काठमाडौँ र पोखरामा निजी क्षेत्रले हाउजिङ कोलोनी बनाएका छन् नि, त्यो पनि एउटा औजार हो । निजी क्षेत्रले जग्गा लिएर व्यवस्थित बस्ती बसाउने एउटा औजार हो । निजी क्षेत्र पनि यसरी हतोत्साही भएको छ कि, ठूल्ठूला परियोजना सञ्चालन गर्न जग्गाको हद्बन्दीको समस्या छ ।  काठमाडौँ उपत्यकामा ५० रोपनीभन्दा बढीमा त काम नै गर्न सकिँदैन । यो शर्त अहिले बाधक बनिरेहको छ । हुनुपर्ने के थियो भने सरकार र निजी क्षेत्रले सहकार्यमा काम गर्नुपर्ने हो । त्यो हुन सकिरहेको छेन । अन्यत्रको मोडल लागू गर्नका लागि जमिन उपयोग सम्बन्धी प्रणाली पनि बाधक देखिएको छ । यस्तो अवस्थामा के निष्कर्षमा पुग्न सकिन्छ भने हामीले सहर बनाइरहेका छैनौँ, घर बनाइरहेका छौँ । हामीले बस्ती र टोल बनाइरहेका छैनौँ । जसले गर्दा सहरी समुदायका लागि आवश्यक पर्ने निश्चित कुराहरूप्रति कसैको पनि ध्यान गइरहेको छैन । हाम्रा योजनाहरू कागजमा सिमित भए । ती योजनालार्ई जमिनमा लैजान सकेनौँ । हामी खेतबारीमा घर बनाइरहेका छौँँ । संसारमा त्यस्तो हुँदैन । बन्दैन र बन्नुहुँदैन । तर हामीकहाँ बनिरहेको छ । घर कहाँ बन्नुपर्छ, घडेरीमा बन्नुपर्छ । घडेरी भनेको के हो भन्दा न्यूनतम पूर्वाधार भएको मात्र घडेरी हुन्छ । खेतबारीलार्ई पहिला घडेरीमा रूपान्तरण गरिन्छ, अनि घडेरीमा मात्र घर बन्ने हो । अहिले हामीले अन्धाधुन्द रूपमा खेतवारीमा घर बनाएका छौँ । त्यहाँ बाटो हुँदैन । त्यहाँ ढल हुँदैन।  हामीले भुल्न नहुने मान्यता के हो भने खेतबारीमा खेती गर्ने हो, घडेरीमा मात्र घर बनाउने हो ।

रघु मैनाली

त्यसो हो भने सहरको परिभाषा कसरी गर्ने त ? अथवा  सहरलार्ई कसरी बुझने त ?

अजय दीक्षित

हामी विस्तारै समुदायवाट बाहिर गइरेहका छौँ । समुदायका रूपमा हामी छैनौँ । यति हुँदाहुँदै पनि पुनर्कल्पना गर्नु जरुरी छ । सहर भनेको नागरिकमैत्री हुनुपर्यो। स्वच्छ हुनुपर्यो । सामान्य आधारभूत सेवाहरू सबैलार्ई उपलब्ध हुनुपर्यो । बच्चा र बुढाबुढीमैत्री हुनुपर्यो । प्राकृतिक प्रणालीको ‘इको प्रणाली. लाई रोक्नु भएन । शिक्षा, स्वास्थ्य लागायतका अरु खालका सुविधाहरू उपलब्ध हुनुपर्यो । हाम्रो मौलिकता कहीँ न कहीँ प्रतिबिम्बित हुनुपर्यो । मेचीदेखि महाकालीसम्मको सडकको वारिपारि बस्ती छ । महेन्द्रनगर र मेचीको पसलमा पाइने दोकानमा केही फरक छैन । मौलिकता भन्ने कहीँ पनि छैन, निर्माणदेखि उपयोगसम्म ।

 

रघु मैनाली

अहिले सरकारले भवन संहिता ल्याएको छ । त्यो एकखालको सिमेण्ट बेच्ने वा सिमेण्ट कारखानाको प्रायोजनमा ल्याएजस्तो सिमेण्ट मात्र भूकम्प प्रतिरोधी हुनुपर्छ भन्ने खालको जुन कुरा ल्याइएको छ, सहरीकरणसँग यस विषयमा पनि कुरा जोडौँ ।

किशोर थापा

कुन बस्ती सहर हो, कुन बस्ती गाउँ हो ? बस्ती दुई खालका छन् । त्यो फरक छुट्याउने त्यहाँको बाटोघाटो, त्यहाँ बनेका पूर्वाधारका आधारमा मात्र हेर्ने होइन । अमेरिका वा स्वीडेनका गाउँमा कुनै पूर्वाधारको कमी छैन। हेर्ने पूर्वाधारलार्ई होइन । हेर्ने चाहिँ मान्छेलार्ई  हो । त्यो मान्छेले के काम गर्छ ? उसको पेशा के हो ? गाउँमा चाहिँ अधिकांश मानिस कृषि पेशामा संलग्न हुन्छन् । सहरमा अधिकांश मानिस गैरकृषि पेशामा बस्छन् । त्यसकारण सहर या गाउँ हो भन्ने पत्ता भनेको मान्छेबाट   लाग्छ । मान्छेमा पनि उसले गर्ने पेशाको आधारमा छुट्याइन्छ । सहरमा जमिनको उत्पादकत्व एकदमै उच्च हुन्छ । मानौँ न गाउँमा एक रोपनी जग्गामा धान वा नगदेबाली जे लगाउनुस्, त्यहाँवाट जति आम्दानी हुन्छ, काठमाडौँको अनामनगरको एक रोपनी जग्गाबाट हुने आम्दानी (उत्पादन) सयौँ गुणा बढी हुन्छ । जस्तो यो  घर ३, ४ आनामा बनेको होला यो घरको वार्षिक आम्दानीलार्ई हेर्नुहोस् न । यही जमिनमा पहिला खेती गर्दा आम्दानी कति हुन्थ्यो? सहरमा धेरै गतिविधि हुन्छन् । ती गतिविधिहरू थोरै ठाउँमा धेरै गतिविधि गर्न सम्भव हुन्छ । यस्ता एउटा गतिविधि र अर्को गतिविधिमा द्वन्द्व हुन्छ । यो द्वन्द्वको व्यवस्थापनका लागि नै सहरी योजना बनाउने हो । जस्तो सडक बनायौँ भने त्यहाँ साइकल, मोटरसाइकल, बस र कार पनि हिँड्नुपर्यो नि ! त्यहाँ मानिस पनि हिड्नुपर्छ । यी सबै योजना नबन्ने हो भने त ठूलो दुर्घटना हुन्छ । धेरै मानिसहरू बस्ने र धेरै पेशा व्यवसाय हुँने हुँदा नै योजना आवश्यक हुने हो । विश्वका  आधुनिक सहरी योजनालार्ई हेर्नुभयो भने स्वास्थ्यलाई मध्ये नजर गरेर सुरु भएका छन् । युरोपमा उन्नाइसौँ शताब्दीमा औद्योगिक क्र्र्रान्ति भएपछि धैरै सहरमा कलेरा र प्लेगले लाखौँ मान्छे मरे । त्यो के कारणले भयो भन्दाखेरि पूर्वाधारको कमीले भएको थियो । कमजोर पूर्वाधारका कारण भएको हो । त्यसवेलाका योजनाकारहरू स्वास्थ्य मन्त्रालय अर्न्तगत हुन्थे । भारतमा पनि सन् १९५७ सम्म त्यहाँको सहरी विकास योजना विभाग स्वास्थ्य मन्त्रालय अर्न्तगत रहेको थियो । यसलार्ई स्वास्थ्य सेवाका दृष्टिले हेरिने गरेको थियो । तर अहिले सहरलार्ई कारोवार वा अर्थिक केन्द्र वा भनौँ पैसा कमाउने ठाउँका रूपमा हेरिन थालेको छ । अथवा यसलार्ई अर्को पक्ष छ नि, जब तपाई–हामी कसको भाइ–भतिजा, नरनाता, इष्टमित्र भनेर नाता जोड्ने जव कुरा गर्छौँ नि, त्यो गाउँ हो । जव कारोवार र पैसाको हिसावले मात्र हामी चिनजान गछौँ भने त्यो सहर हो । जहाँ सामाजिकभन्दा आर्थिक पहिचान बढी हुन्छ ।

डा. सरोज ज्ञवाली

किशोर सर, सहरी योजना बन्नुभन्दा पहिला त भूमि उपयोग नीति हुनुपर्ने होला । नेपालको सन्दर्भमा भूउपयोग नीति किन यति कमजोर भएको होला ? अथवा यसलार्ई हामीले किन वास्ता गर्न छोड्यौँ ?

किशोर थापा

राष्ट्रिय स्तरमा नै के सोच्नुपर्यो भने हाम्रो एक लाख ४७ हजार एक सय स्क्वायर किलोमिटर क्षेत्रफल छ । त्यसमा जंगल कतिप्रतिशत छ ? मानौँ ४० प्रतिशत जंगल रहेछ । कति कृषिको लागि जमिन चाहिने हो ? कति जंगल चाहिने हो ? कति जलस्रोतका लागि छुट्याउने हो ? र, वस्ती कतिमा बसाउने हो ? त्यसका लागि राष्ट्रिय रूपमा नै भूउपयोग नीति बन्नुपर्यो । यो योजनाले यो ठाउँमा मात्र बस्ती हुन्छ भनेर योजना बनेपछि त्यो योजनालार्ई घडेरीमा रूपान्तरण गर्नुपर्यो । त्यसलार्ई नापजाँच गरी सडक लगायता पूर्वाधारहरू पुर्याउनु पर्यो । अवको सन्दर्भमा यो काम प्रदेश वा स्थानीय सरकारले गर्ने हो । हामीले के भन्ने गरेका छौँ भने अग्लो ठाउँमा बस्ती बसाल्नुपर्छ तर भइरहेको अभ्यास हेर्ने हो भने कृषि उत्पादनका लागि उर्वर भूमिलार्ई मात्र अतिक्रमण गरेको पाउँछौँ । यसलार्ई नियन्त्रण गर्न राज्यले भन्दिनुपर्यो– यो भूमि कृषिका लागि र यो चाहिँ बस्तीका लागि भनेर। खेतीबाहेक अरु गर्न पाइँदैन भनेर राज्यले भन्न सक्नुपर्छ । यसको नियन्त्रणका लागि कानूनी र प्राविधिक औजार आवश्यक हुन्छ । अहिले मसँग भएको जमिन खेतीयोग्य जमिन हो कि घर बनाउन लायक हो भन्ने मलार्ई नै थाहा छैन । अव नगरपालिका घोषणा गरेपछि जमिनलार्ई यसरी परिभाषित नगरी हुँदैहुँदैन । मसँग त के पनि अनुभव छ भने योजनाबद्ध सहर परिकल्पना गरेर कार्यान्वयन गर्न गयो, त्यहाँ किसानहरूको डेलिगेशन आउँछ । किसानमारा प्रोजेक्ट भन्ने गरेको सुन्ने गरेका छौँ । कृषियोग्य जमिनमा बस्ती बस्दैन भन्ने ग्यारेण्टी गर्ने कसले ?

डा. सरोज ज्ञवाली

अजय सर, आजभोलि बागमती नदीको प्रदूषणका बारेमा धेरै चर्चा भएको छ । काठमाडौँ उपत्यकाको जलाधारलार्ई संरक्षण नगरिकन बागमती नदीको पानी संरक्षित हुन्छ त ? पानीको मुख्य आधार त जलाधार हो होइन र ? जलाधार मास्ने अनि बागमती कसरी सुरक्षित हुन्छ त ?

अजय दीक्षित

बागमती नदीमा सुक्खा याममा त्यति पानी हुँदैन । वागमती नदी र यसका शाखाहरू रेण्डफेण्ड प्रणालीहरू हुन । अब सन् १९८०, ८१ सम्म हर्दाखेरि खोलाहरू प्रदूषित नभएका धेरै आधारहरू हामी पाउँछौँ । कञ्चन कलकल त नभनौँ तर त्यति फोहोर भइसकेका थिएनन् । त्यसपछि जो सहर विस्तार भयो र त्यहाँवाट निकाल्ने फोहोर फाल्ने काम वागमती लगायतका नदीहरूमा नै भए । जलाधार क्षेत्रको संरक्षण त गर्नैपर्छ  ।  माथि  शिपपुरी हेर्नुस् न । शिवपपुरी जलाधार त एकखालको संरक्षित त छ नि पर्खाल लगाएर भएपनि । तर पर्खालबाहिर हेर्नुभयो भने अनियन्त्रित रूपमा वस्ती बसाएका बसायै छौँँ । यतातिर गोदावरी हेर्यौँ भने एक खालको संरक्षित नै छ  (केही ढुङ्गा खानी बाहेक) । समस्या पानी संरक्षणभन्दा पनि समस्या हामीले निकाल्ने फोहोरमैलाको लिच्चड र फोहोर पानी, ढलको व्यवस्थापन हामीले गर्न सकेका छैनौँ । यो फोहोर फाल्ने ठाउँ कहाँ छ भन्दा नदी भएको छ । फेरि अर्कोतिर हेर्नुभयो भने नदीका संगम त  हाम्रा तीर्थस्थलहरू हुन् । शंखमूल तीर्थस्थल, टेकू हेर्नुभयो भने तीर्थस्थल, गोकर्णको छेउमा गयौँ भने उत्तर गया नै भन्छौँ । वागमती किनारको पुशुपतिनाथको कुरै भएन । यता गएर शोभा भगवती विष्णुमती किनारका हिसाबले तीर्थहरू छन् । मैले अघि हाम्रो ज्ञान द्वन्द्वको कुरा भने नि ! कहीँ न कहीँ हाम्रो सांस्कृतिक र सामाजिक सोचमा समस्या छ । वागमतीको त महात्म्य नै छ । समग्रमा पानीलार्ई हामीले कसरी बुझ्छौँ र कसरी हेर्छौँ भन्ने हो । त्यसको संक्षरण गर्ने र त्यसको अन्तरसम्बन्धलार्ई कसरी बचाउने भन्ने नै  हो । त्यो गर्नु हामीलार्ई आवश्यक छ कि छैन ? यसमा मेरो मेरो अलि अतिवादी बुझाइ छ । त्यो भनेको हामीले पानीलार्ई हेपेका छौँ । जहाँ जे गरे पनि यसोउसो गरेर पानीलार्ई सिध्याउने काम गरेका छौँ । किन हो? मलार्ई थाहा छैन, पानीबेगर हामी बाँच्दैनौँ तर प्रकृतिमा सबैभन्दा दुरूपयोग गरिरहेको पानी नै हो ।

डा. सरोज ज्ञवाली

म कृष्ण सरको मा आउन चाहेँ । अजय सरले हाम्रा नदी र खोला नै फोहारमैला फाल्ने ठाउँ भएको दृष्टान्त राखिसक्नुभएको    छ । सहरीकरणसँगसँगै आउने फोहोरमैला व्यवस्थापनकै समस्या पनि संगसँगै आउने चुनौँती हो । हाम्रो सरकारी नीतिले चाहि यसलार्ई कसरी व्यवस्थापन गर्ने परिकल्पना गरेका छौँ होला । यसमा कुन तह र कुन निकाय जिम्मेवार हुने सोचलार्ई अगाडि बढाएका छौँ होला ?

कृष्णप्रसाद दवाडी

यहाँ कुरा आइसकेको छ । हामीले २९६ वटा नगरपालिका घोषणा गरिसेकेका छौँ । सरकारले ती नगरपलिकालार्ई फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा तिमीहरूकै हो भनी छोडिदिएको छ। उनीहरूको क्षमता कति छ ? उनीहरूले सक्छन् कि सक्दैनन् ? नगरपालिकाको प्राविधिक र आर्थिक क्षमता छ कि छैन ? त्यो  आˆनो ठाउँमा छ । हामीले त्यो जिम्मेवारी भनौँ या अधिकार प्रत्यायोजन गरेका छौँ । त्योभन्दा बाहेक जहाँ ठूल्ठूला महानगर छन्, त्यहाँ गर्न सकेनन् र त्यहाँ  समन्वय गर्नुपर्यो भने मात्र प्रदेश सरकारको भूमिका नीतिगत रूपमा राखेका छौँ । त्यति हुँदाहुँदै ‘कस्ट रिकोभरी मेकानिज्म’ तयार गर्ने प्रदुषकबाट क्षतिपूर्ति गर्ने सिद्धान्तलार्ई अगाडि बढाउने विषयमा केही सोचलाई अगाडि बढाइरेहका छौँ । यो कहिलेदेखि लागू हुन्छ भन्ने अवस्थामा त म छैन । तर सोचाइ चाहिँ त्यतातर्फ अगाडि बढिरहेको छ । समग्रमा भन्दा फोहोरमैला व्यवस्थापनको जिम्मा स्थानीय निकायलार्ई दिएका छौँ । नयाँ भर्खर गाउँबाट सहरीकरणउन्मुख ठाउँमा त केही सेटअप गर्ला । पहिला नै जो ६ वटालार्ई महानगर भनेर घोषणा गरेका छौँ, त्यसमा उहाँहरूलार्ई केही समस्या पर्नसक्छ, तिनलार्ई चाहिँ प्रदेश सरकारको सहयोग आवश्यक पर्छ कि जस्तो लाग्छ ।

अजय दीक्षित

यहाँ सरले नै लेखेको शब्दलार्ई नै सापटी लिउँ न । ‘रिडयुस’ रियुज र रिसाइकल, भन्नुभएको छ । त्यसपछि सोर्स सेपरेशन, ल्याण्ड फिल र इन्सुरेसनको कुरा गर्नुभएको छ । यी हामीले बुझेका कुरा हुन् । यत्रो सहरी विकासको संरचनामा बसेर काम गर्नुभएको किशोर थापा सर हुनुहुन्छ । अवको पाँच वर्षपछि यसरी छलफल गर्दा हामी सुध्रेको बाटामा लाग्यौँ है भन्न सक्छौँ कि सक्दैनौँ होला ?

किशोर थापा

विश्वमा हेर्नुभयो भने फोहोरमैला अथवा त्यो वस्तुलार्ई हेर्ने दृष्टिकोण नै बदलिइसकेको अवस्था छ । यसभन्दा पहिला फोहोरमैला भनेको ˆयाँक्ने चिज हो भनेर बुझिन्थ्यो । सकेसम्म यसलार्ई छिटो फाल्ने हो, जहाँसुकै फाल तर त्यसलार्ई फाल भन्ने मान्यता थियो। अलिपछि डम्पिङ साइट भनेर बनाइयो । सुरुमा गोकर्णमा बनाइयो । त्यो विषयमा २०, ३० वर्षसम्म राजनीति चल्यो । पछि फोहोरमैला व्यवस्थापनमा ल्याण्डफिल्ड साइटको सोच आयो । त्यसलार्ई फाल्ने होइन पुर्ने भन्ने सोच आयो । अहिले ३ ‘र’ को सोच आएको छ । रिडयुस, रियुज र रिसाइकल भन्ने । यो स्रोत हो र यसलार्ई अत्यधिक रूपमा उपयोग गर्नुपर्छ भन्ने अवधारणा अगाडि आएको छ । यो फाल्ने चिज होइन, यो आम्दानी गर्ने बस्तु हो भन्ने भइसकेको छ । हामीकहाँ पनि अभ्यासहरू सुरु भएका छन् । जस्तो, स्याङजाको वालिङ नगरपालिकाले फोहोरमैलावाट मात्रै ८० लाख कमाउँछ । हेटौँडाले कम्पोष्ट मल बनाएर बेचाएर आम्दानी गर्ने गरेको छ । यसरी नगरपालिकाले फोहोर व्यवस्थापनको खर्च पनि घटेको र आम्दानी पनि बढाएको अवस्था छ । काठमाडौँमा हेर्नुभयो भने फोहोर सम्बन्धी काम गर्ने एउटा ठूलो कम्पनी छ । आजभन्दा पहिला म सहरी विकास मन्त्रालयको सचिव हुँदा मैले सोधेको थिएँ । उसले वार्षिक रूपमा ४० करोडको कारोवार गर्दथ्यो । त्यो वेलादेखि एउटा उद्योग नै चलिरहेको छ, जसको कच्चा पदार्थ के भन्दा फोहोर नै हो । अव त नयाँ अवधारणा त केमा आयो भन्दा उर्जाको स्रोतका रूपमा फोहोर मैलालार्ई लिन थालिएको छ । इनर्जी भन्नाले विजुली, कम्पोष्ट मल र ग्याँस उत्पादनमा यसको प्रयोग संसारभर हुन थालेको छ । अलिकति ध्यान दिने हो इनर्जी उद्योगका लागि फहोरमैला कच्चा पदार्थ भएपछि त अरु कच्चा पदार्थ जस्तै यो पनि विक्री हुनथाल्छ अब । तर यसलार्ई स्रोतमा नै सेग्रिगेट चाहिँ गर्नुपर्यो । अरुको के हुन्छ मलार्ई थाहा छैन, मेरो घरबाट फोहोर निस्कँदै निस्कँदैन । (क्रमश:)

(योजनाबद्ध, स्वच्छ, स्वस्थ, सुविधासम्पन्न प्रभावकारी सहरीकरणबारे गरिएको यो परिसंवाद्को दोस्रो तथा अन्तिम भाग बिहीवार पोष्ट गर्छौं )

 

 

Facebook Comments
Comments (0)
Add Comment