प्रकृतिको क्रुरता मान्छेले बेलेबेलामा सामना गर्नुपरेकै छ । यस्ता प्राकृतिक क्रुरता केही मान्छेले निम्त्याएका छन् त केही मान्छेका बल र बुता बाहिरका छन् । यसलाई विपत्ति पनि भनिन्छ । बर्खाको विपत्ति बाढी, पहिरो र डुबान हुन् । हामीले सहर यसरी बसाएका छौँ, नदीमा पानीको बहाव बढी हुँदा जाने ठाउँ नपाएर घरघर पस्नुपर्ने अवस्था छ ।
केही दिनअघि भक्तपुरको हनुमन्ते खोला टोल छिर्यो । अहिले धोबीखोला टोल पस्यो । काठमाडौँका खोलालाई हामीले कुलो बनाइदियौँ । बाढी थेग्नेगरी चौडाइ पुग्दैन । खोलावरपर बस्ने बासिन्दा र कार्यालयहरूले क्षति पनि ठूलै व्यहोर्नुपरिहेको छ । गए राती आएको धोबीखोलाको बाढीले किनारका टोलहरूमा भुई तल्ला डुबाएको छ । स्थानीय बासिन्दा पम्पिङ्सेट लगाएर पानी फ्याँकिरहेका दृश्य देखिए । केही हप्ताअघि हनुमन्ते खोलाले थिमी र बालकोट क्षेत्रमा यस्तै उधुम मच्चाएको थियो ।
अरु कैयैँ संस्थाको अवस्था पनि आज उस्तै रह्यो । धोबी खोलाले एउटा फलामे फड्के पुल पनि बगाएको छ । धोबीखोलाले काठमाडौँ महानगरपालिकाका १०, ११, २९ र ३१ वडामा करोडौँको क्षति गरेको भन्दै संसद्मा क्षतिपूर्तिको माग समेत गरिएको खबर सार्वजनिक भएको छ । तर धोबीखोलालाई खोलाकै रूपमा बग्न दिने वातावरण मात्रै समाधान हुनसक्छ ।
मान्छेले निम्त्याएको यो विपत्तिको दोषी पनि मान्छे र पीडित पनि मान्छे नै बन्न पुगेको छ । यसको दीर्घकालीन समाधानतर्फ सोच्नुको बिकल्प छैन ।