गीतमा बान्की र विचारमा क्रान्ति

कलानाथ अधिकारीका गीतको चर्चा

 

हिजोआजका कैयन गीतकार, सङ्गीतकार र गायकहरूलाई कलानाथ अधिकारीका बारेमा थाहा छैन। होस् पनि कसरी ? सुन्नै पाएका हुन्नन्। अहिले पैसा र इच्छा भएपछि जो पनि गीतकार, सङ्गीतकार र गायक हुने जमानामा विचार, कला र गलाको इज्जत हुने कुरा पनि भएन। फेरि कलानाथ अधिकारी पञ्चायतीकालमा राजाको कोपभाजनमा परे। १३ वर्षजति जेल जीवन र सर्वस्वसहित देशनिकालामा परे। रेडियो नेपालले राजबन्दीका गीत बजाउने कुरा आउँदैनथ्यो। देश निकाला गरिएका व्यक्तिका गीत पनि बजाउने कुरा आउँदैनथ्यो। भारतको कलकत्तामा रेकर्ड गरिएका कैयन गीतले कि क्रान्तिको फिलिङ्गो बालेका छन् कि चेतनाको दियो जगाएका छन्। बिक्रम संवत २००८ तिर कलकत्तामा रेकर्ड गरिएको यो गीतका शब्दलाई नै हेरौँः
यो जल्दो फिलिङ्गो हेरी जाऊ मयालु
एक झलक मात्र भए पनि आँखा लगाई
फु गर या नगर हेरी त जाऊ मायालु

खरानी नबनी बाँचेको आगो तेजको ज्वाला यो
ताप, नताप, जगाऊ, निभाऊ एकफेर निहारी
पुुलुक्क हेरी जाऊ मायालु
यो जल्दो फिलिंगो हेरी जाऊ मायालु

कलानाथ अधिकारीका गीतमा शब्दका बान्की पर्ने गर्छन्। श्रुत्यानुप्रास अलङ्कार त सामान्यतया हरेक हरफमै पर्ने गरेका छन्। उहाँले दर्जनौँ गीत गाउनुभएको भनिए तापनि सबै गीत सार्वजनिक रूपमा उपलब्ध छैनन्। आधा दर्जनभन्दा कमै रेकर्ड गीत पनि आम जनताले सुन्न पाउने स्थिति छैन किनकि धेरै रेडियोमा यी गीत नै छैनन् भए पनि आजका चटपटा गीत बजाउने आइसक्रिम पुस्ताका प्रस्तोतालाई कलानाथ थिए र तिनले गीत गाएका थिए, ती गीत मन पराउने ठूलो जमात थियो र अहिले पनि छ भन्ने थाहै छैन। झ्याङझुङ र उकुछ्याङवाला गीतमै मस्ती मार्न रुचाउने वर्गकै बाहुल्य रेडियोहरूमा छ। एकाध गम्भीर प्रस्तोता छन् तर तिनको मात्र प्रयास सानै भइदिन्छ।
कलानाथ अधिकारी केबल गायक, लेखक या सङगीतकार थिएनन्। उनमा राजनीतिक चेतना समेत थियो। त्यो राजनीतिक चेतना पनि निकै उन्नतस्तरको थियो। त्यही चेतनाका उनका सिर्जनामा पोखिएको पाइन्छ। नेपाली माटोको सुवास बोकेका गाउँले मीठा झर्रा शब्दहरूमा बान्की पारेर लेख्ने, नेपाली पनको सङ्गीतले सजाउने र मीठासपूर्वक गाउने कलानाथ अधिकारीको विशेषता नै थियो । पुरानो रेकर्ड सुनेर यो पङ्क्तिकारले उतारेका उनका यी शब्द–शब्दहरूले कलानाथभित्र नेपाली जनजीवन, शैली, माटो र प्रकृतिको सरस वर्णनसँगै चेतना कसरी प्रस्फुटित भएको थियो भनेर देखाउँछन्। यति मात्रै हैन, शब्द चयन, प्रस्तुति र कल्पनाको उडान हेर्दा देवकोटाको स्वच्छन्दवादी प्रवृत्ति समेत यिनमा देख्न सकिन्छः
ए साइला ! जगाऊ ज्योति, ए साइली ! बाल न बत्ती रिमरिम सबेरैमा
सगर खुली चिरबिर चरी, पार्वती मुहार, देवका जुहार रिमरिम सबेरैमा
पङ्ख खुल्यो, घण्ट बज्यो, रातका पाइला दिन उघार्ला रिमरिम सबेरैमा
आकाशमा बादल टल्क्यो पृथिवी तलको श्रृङ्गार
सेता हिमाल सोभित खुल्यो, कला पारी झल्मल
राता गुराँस, हरिया वन, कोकलेको झङ्कार
लेकालीको बैंस पट्ट मयालुको पार
हेर न नाच्यो मुजुर, सुनको टल्क्यो गजुर रिमरिम सबेरैमा
रोदी चल्यो लहर, श्रमको भक्ति हरर रिमरिम सबेरैमा

पिरतीको डोरी खुल्यो, रिमरिम सबेरैमा (रिल चुँडिएको सहजै अनुमान हुन्छ । स्वर काटिएको छ र गीतका हरफहरू पनि हराएका छन्)
आऊ न दाजै, आऊ न दिदै, हातैमालो रिंग्दै–घुम्दै रिमरिम सबेरैमा
हृदयमा प्रेम टुसाई रूखका पालुवा
को हो को हो उही बताई झलरे जबुवा
गोठालाको गीत हेरी हलो जोत्ने जोडुवा…
बरपिपलको चौतारीमा छम्मर छम्मर पातले वनमा आशा छ सानु मनमा
हिँउको जल, सम्झना थल, टल्केको भित्ता, टल्केको रूप, अमर वाणी जनमा ।
ए साइला जगाऊ ज्योति, ए साइली बाल न बत्ती रिमरिम सबेरैमा।

यो गीत पढ्दा जति रसयुक्त छ, सुन्दा त्यति नै मधुर र कर्णप्रिय छ। वृत्तानुप्रासको रसास्वादन जोकोहीले गर्न सकिन्छ। यहाँ साइँला र साइँलीमार्फत् समाजमा चेतना भर्न सर्जकले आह्वान गर्नुभएको छ। ६ दशकअगाडि टेप प्रविधिमा रेकर्ड भएको भए पनि यो गीत प्रष्टै बुझिने खालको छ। बरु बीचमा एक ठाउँ यो गीतको टेप चुँडिएकाले केही भाग काटी फेरि जोडेको बुझिन्छ किनकि त्यहाँ एक अन्तरा गीत नै हराएको छ। हराएका शब्द कस्ता थिए, अनुमानकै मात्र विषय हुन्छ।

अर्को एउटा गीतमा कलानाथको चेत, प्रकृति र मानव प्रेम यसरी पोखिएको छः
सुन माया सुसेलो डाँडामा घन्केको
वनपाखा खुलेको छायाँमा झन्केको
मायामा फन्केको

रित्ता छैनन् लेकभरि छरिएका च्यादर
बादलुका लहर झर्झर् मायालुका सागर
इन्दे्रणीका रङ्गगसरि झर्ना झर्ने पारि
मृगिणीका सँग वारि पर्दा नयन छहारी

वेदनाको सुरेलो भावना नाचेको
आरुबारीको तङ्ग्रेलो मुसुक्क हाँसेको
मायामा साँचेको

आँगनमा डोका–नाम्ला, पिँढीमाथि नाङ्ग्ला
प्रीति रस मादलसँग जोडा बहर दिउँला
मुस्कानका दाउन छरी वन फूल फुल्ला
टसक मसक चसक त्यहीँ जोवन बटुल्ला

टिङ्ग्रिङ–टिङ्ग्रिङ उजेलो जगतमा छुटेको
कट्याककुटुक जुनेलो प्रेमले झुलेको
लाली ओठ खुलेको !

कलानाथ अधिकारी चेतनशील व्यक्तित्व त हुनुहुन्थ्यो नै। उहाँ सामाजिक, राजनीतिक चेतनाका साथै बालबालिकाप्रति स्नेह राख्नुहुन्थ्यो भन्ने कुरा उहाँले सिर्जना गरेको लोरीले दर्शाउँछ। अघिल्लो पुस्तामा यो लोरी कति लोकप्रिय रहेछ भन्ने अनुमान पड्क्तिकारले धेरै वर्षअघि रेडियो सगरमाथामा काम गर्दा बरिष्ठ पत्रकार कनकमणि दीक्षितले यसबारे पङ्क्तिकारसँग चर्चा गर्नुभएको र बजाइदिन अनुरोध गर्नुभएकोबाट अनुमान लगाएको थियो। गीत सुनेर पङ्क्तिकारले उतारेको यो लोरी पनि चेतनायुक्त र माधुर्य रहेको छः
आइज निदरी छुनुमुनु आइज
आइज निदरी आइज
रातको रजाई गुननुुगुनुनु गाइज
हो हो बाबा हो हो बाबा हो हो
पुतलीको प्वाँखसरि राम्रो बनी
मुजुरको प्वाँखसरि राम्रो बनी
चन्द्र र सूर्य, तारा गण, भूमि
कथा कहानी बाबालाई हाल्न भ्याइज
आइज निदरी आइज

धरहराको टुप्पा, टुँडिखेल झल्काई
सगरमाथा टुप्पा संसार बल्काई
रुस, चीन, अमेरिका सुन्दर धाई
रंगीचंगी फलफूल लिई दर्शाइज
आइज निदरी आइज
आइज निदरी छुनुमुनु आइज

झिलमिली बत्ती गललल हाँसो
पुतलीका ताँती सललल जाँदो
हरहर झिमझिम सरपट तातो
हात्ती घोडा, मोटर, रेल काठ उलिन काठ चढाइज
रातको सपना, जपना तयारी
बाबाको राजा, रानीको भकारी
माछाको खाजा, फुलको तरकारी
जीराको पाचक, दही, दूध तारी पुष्टकारी र जाइज
आइज निदरी आइज
आइज निदरी छुनुमुनु छुुनुमुनु आइज
हो हो बाबा हो हो
आइज निदरी आइज

कलानाथको अर्को पाटोः
कलानाथ अधिकारी क्रान्तिकारी र प्रगतिशील–परिवर्तनकारी विचारका भएका कारण पञ्चायत र राजा महेन्द्रलाई मन नपर्नु स्वाभाविकै थियो। उहाँका नाति विभुले पोष्ट गरेको जानकारीमा राजा महेन्द्रले १३ वर्ष राजनीतिक बन्दी बनाएको र सर्वस्व हरण गरी निर्वासन गरेको कुरा उल्लेख छ जुन माथि पनि चर्चा गरिएको छ । उहाँले २००७ सालपछि नेपाल लेबर पार्टी स्थापना गर्नुभएको रहेछ। २०१३ सालमा सो पार्टीले आफ्नो घोषणापत्र जारी गरेको रहेछ। उहाँकी बुहारी सितादेवी अधिकारीलाई उधृत गर्दै नाति बिभुले गरेको पोष्टमा कलाधर अधिकारीले करीब ६ दशकअघि पूर्व पश्चिम रेलको अवधारणा घोषणापत्रमा राखेको पाइन्छ। भारतसँग सीमामा पासपोर्ट राख्नुपर्ने, चार घण्टा काम गराएर चार घण्टा आम जनतालाई अनिवार्य रूपमा पढाउनैपर्ने, नेपाली जनता सर्वोच्च हुने, राजा मान्ने, नमान्ने, कति मान्ने जनताले नै फैसला गर्ने उहाँको धारणा थियो।
बहुआयामिक व्यक्तित्वका धनी कलानाथ अधिकारीका चर्चा हुने क्रम विगत केही समययता पातलै भए पनि हुन थालेको पाइनु खुशीको कुरा हो । उहाँका बारेमा साहित्यकार तथा लेखक ह्यग्रीब आचार्यले ‘कलानाथ अधिकारीः व्यक्ति र कृति’ नामको पुस्तक लेखी प्रकाशित भएको जानकारी पाइन्छ । चितवनमा कलानाथले लेबर बस्ती बसाएको र गीत, साहित्य अगाडि बढाएको सन्दर्भलाई जोडेर उहाँको सम्झनामा चितवन समसामयिक पत्रिकाले कवि कलानाथ अधिकारी विशेषाङ्क प्रकाशित गरेको छ । साथै, उहाँका गीतका बारेमा मदन पुरस्कार पुस्तकालय र कलानाथ स्मृति प्रतिष्ठानले पनि केही समयअघि छलफल कार्यक्रम राखेका थिए।

कलानाथ अधिकारीका गीत नेपालमा मात्रै हैन, भारतमा समेत फैलिएका छन् । अहिले पनि अलइण्डिया र गुहाटी रेडियोमा ती गीत यदाकदा बजेको सुन्न पाइन्छ । कलानाथ अधिकारी चर्चाको जति हकदार हुनुहुन्छ, सो अनुसारको चर्चा हुने गरेको छैन न त उहाँका गीत र अरु सिर्जनाले नै न्याय पाएका छन् ।

यो लेखको बिट मार्नुपूर्व कलानाथको अर्को एउटा दुःखद् प्रसङ्ग पनि यहाँ जोडौँ । यादव खरेलद्वरा निर्देशित आदिकवि भानुभक्त आचार्य चलचित्रमा भानुभक्तका बाजे श्रीकृष्ण आचार्यको भूमिकामा उहाँ अनुवन्धित हुनुभएको रहेछ । उहाँले आवाज पनि रेकर्ड गराइसक्नुभएको रहेछ । श्रीकृष्ण आचार्यको भूमिकालाई मिल्ने पोशाक पनि तयार गरिएको रहेछ । तर ७० वर्षको उमेरमा २०५४ चैत २४ गते रामनवमीका दिन उहाँको निधन भयो ।

Facebook Comments
Comments (0)
Add Comment