‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ बाट चट्याङमास्टर–नेतृत्वको ‘एजिङ नेपाल’ सम्मानित

मान–सम्मान

काठमाडौँ, भदौ २१ । संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ बाट प्रसिद्ध साहित्यकार चट्याङमास्टरको नेतृत्वमा ज्येष्ठ नागरिकहरूप्रति समर्पित नेपाली गैरसकारी संस्था ‘एजिङ नेपाल’ लाई सम्मान गर्ने निर्णय गरेको छ ।

एजिङ नेपालले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरूमध्ये सर्वोत्कृष्ट ठहरिएकाले यो पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो ।

प्रत्येक वर्ष विश्व शिक्षा दिवस— सेप्टेम्बर ८ का दिन युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कारको बिजेता घोषणा हुने गर्दछ । यो पुरस्कारको राशी बिस हजार अमेरिकी डलर रहेको छ ।

सन् २०११ मा स्थापित गैरसरकारी संस्था एजिङ नेपाल ज्येष्ठ नागरिकको सवलीकरण, हक, हित र सेवामा सक्रिय रहँदै आएको छ । सो संस्थाले सन् २०१६ देखि ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । उहाँले नेपालका ज्येष्ठ नागरिकहरूको हक, हितका लागि अन्तर्राष्ट्रिय स्तरमा समेत पैरवी गर्न एजिङ नेपालको स्थापना गर्नुभएको थियो ।

यसअघि पुरस्कार वितरण कार्यक्रम फ्रान्सस्थित युनेस्कोको मुख्य कार्यालयमा हुँदै आएकोमा कोभिड–१९ को महामारीका कारण यसपटक भने पर्सि ८ सेप्टेम्बर (भदौ २३) का दिन भर्चुअल कार्यक्रममार्फत् पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कार वितरण समारोहलाई एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारि गौतम (चट्याङ् मास्टर) ले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर थाहा पाएपछि परिसंवाद् डट कमसँग कुरा गर्दै एजिङ नेपालका संस्थापक अध्यक्ष कृष्णमुरारि गौतमले यति महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुन पाएकोमा गौरव लागेको बताउँदै यसले आफूलाई यस क्षेत्रमा जागरुक भएर लाग्न अत्यन्तै उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले यो सम्मान आफूसँग काम गर्ने सहकर्मी र अभियानका सहयोगी सबैको सम्मान हो भन्दै अन्ततः ज्येष्ठ नागरिक नै यो पुरस्कारबाट सम्मानित भएको आफूलाई लागेको बताउनुभयो ।

कृष्णमुरारि गौतम चट्याङमास्टर परिसंवाद् डट कमका नियमित स्तम्भकार समेत हुनुहुन्छ । उहाँले आफ्नो निजी सम्पत्ति खर्च गरेर ज्येष्ठ नागरिकको क्षेत्रमा सेवा गरिरहनुभएको छ । उहाँले खुशी हुँदै भन्नुभयो— ‘गरे हुँदो रहेछ’ ।

नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा चट्याङ् मास्टरका नामबाट सुप्रसिद्ध कृष्णमुरारी गौतमले लामो समयदेखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामार्फत् सामाजिक क्षेत्रमा सक्रिय योगदान गर्दै आउनुभएको छ । गत वर्ष मात्रै संयुक्त राष्ट्रसंघले न्युओर्कस्थित आफ्नो मुख्य कार्यालयमाआयोजित विश्व ज्येष्ठ नागरिक दिवस (१ अक्टुबर २०१९) समारोहलाई सम्बोधन गर्न कृष्णमुरारि गौतमलाई मुख्य वक्ताको रूपमा आमन्त्रित गरेको थियो ।

केही वर्षअघि नेपालको अनौपचारिक शिक्षा कार्यक्रम ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार’ बाट सम्मानित भएको थियो । गत वर्ष सो पुरस्कार अल्जेरिया र सेनेगेललाई प्रदान गरिएको थियो

नेपालमा युनेस्कोको कार्यालय १९९८ मा स्थापना गरिएदेखि नेपालको शिक्षा, विज्ञान, संस्कृति र संचारका क्षेत्रहरूमा युनेस्कोले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

परिसंवाद् परिवार आफ्ना नियमित स्तम्भकार चट्याङमास्टर र एजिङ नेपाल परिवारलाई यो विशिष्ट पुरस्कारबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछ । यो पुरस्कारबाट सिंगो राष्ट्र गौरवान्वित भएको छ ।

Facebook Comments
chatyang
Comments (0)
Add Comment