व्यक्तित्व
प्रकाश प्रकाशमै लीन भए
प्रकाश, मेरो बालसखा, हाम्रा सबभन्दा प्रिय भानिजदाइका छोरा, उमेरले मभन्दा केही महिना मात्र जेठा… अब संसारमा रहेनन्। बौद्धिकता, न्यायचेत, स्पष्टवादिता जस्ता गुणका धनी उनी बच्चैदेखि मेधावी थिए। स्कूलमा ७-८ क्लासमा पढ्दापनि गज्जब कविता लेख्थे। गज्जब हास्यचेत पनि थियो।पछिमात्र उनलाई चिनेका धेरैलाई यो थाहै नहोला।
केही वर्ष यता पारिवारिक भेटघाट निकै कम भयो। दिनभरी पढ्ने लेख्ने काममा नै व्यस्त हुन्छन् भन्ने सुन्थेँ भाउजुबाट (म भाउजु नै भन्नेगर्छु)। अब तबेलाबेलामा भेटौँला, घण्टौँ गफ गरौँला, उमेर सुहाउँदो कुराकानी गरौँला भन्दाभन्दै उनी गइहाले।
गर्नुपर्ने र मन लागेको कुरा बेलैमा गरिहाल्नु पर्ने रहेछ। अनित्यता र अनिश्चिततालाई आत्मसात गर्न कति गाह्रो! पढेर, सुनेर मात्र नपुग्दो रहेछ!
कति गाह्रो भइरहेको होला भाउजुलाई, छोराछोरीलाई, हामी कल्पना मात्र गर्न सक्छौँ। दु:ख शक्तिमा बदलियोस्!
प्रकाश प्रकाशमै लीन भए अब, त्यैपनि दिक्-कालको कुनै आयाममा फेरि भेट भइहाल्छ कि!
सम्झिरहनेछौं, प्रकाश, सधैँभरी!