एकातिर कोरोना अर्कोतिर राजनीति
कोरोना डायरी
आउनुहोस् । यता भित्रै बसौं । पहिला साबुन पानीले मिचि मिचि राम्रोसँग हात धुनुहोस् । अनि अलि परै बसेर समाचारहरु हेर्नुहोस् । कोरोना भाइरस, लकडाउन, मृत्यु, अस्पताल र त्रासदीका बाहेक अरु समाचार पढौं । नेकपा, नेपाली काँग्रेस र अन्य दलहरु के गर्दै छन् ? के भन्दै छन् । हेरौं है त !
नेकपामा आपसमा भाँडभैलो सँगै भित्रभित्रै आगो सल्किएको छ । एउटा पक्षले अर्को पक्षलाई अप्रत्यक्ष रुपमा समाप्त पार्न खोज्दै छ । कम्युनिष्टहरुलाई अरुले होइन आफ्नैले समाप्त पार्छन् भन्ने भनाई चरितार्थ पार्दै छन् । नेकपा भित्रका सरकारमा नभएका नेता वर्तमान सरकारलाई असफल पार्न भरमग्दुर प्रयास गर्दै छन् । र, प्रधानमन्त्रीलाई एक्लो बनाएर घुँडा टेकाउन खोज्दैछन् ।
नेकपामा यस्तो नहुनु पर्ने । तर तपाई हामीले भनेर नहुने । हुन चाहिँ यस्तै भई रहेको छ । एमाले र माओवादी सर्लक्क आ–आफ्नो खेमातिर फर्किएर बस्छन् । अर्कोतिर मुन्टो बटारेपछि कस्को के लाग्छ । तपार्इंहरु भन्नु होला भ्रष्टाचारको कुरो काँग्रेस अथवा कर्मचारीले निकालेको होला भनेर ! होइन, सरकार बाहिर रहेका नेकपाकै नेताहरुले बजार हल्ला गरेका हुन ।
हेर्नुहोस् त ! चाइनाबाट बल्लबल्ल ल्याएको सामानलाई पनि गुणस्तरहिन भनेर लेख्न लगाए । अब त्यही सामान डबल दाममा किनेर अमेरीकाले लग्यो अरे । नेपाल भने आफ्नो जिउमा लागेको धुलो टकटक्याउँदै बसेको छ । आफ्नो पकेटको ब्यापारीले सामान ल्याएको भए यिनीहरु दशैं मनाउने थिए । अर्काले ल्याएपछि सरकारको विरोध नगरे के भद्रो हेरेर बस्छन् त !
गजबको पार्टी बनेको छ नेकपा । रबर जस्तो । एकातिर तानेर छोड्यो अर्कातिर मर्ने गरी आफैंलाई लाग्ने । यसका नेताहरुले एकता गर्दा पृथ्वीमा स्वर्ग ओर्लिने जस्तो गरेर आकासतिर उफ्रिएका थिए, तर तल झर्दाखेरि आ–आफ्नै भुइँमा टेक्न पुगे । बस् वास्तविकता यस्तै छ ।
यता नेपाली काँग्रेसबाट झन् गजब गजबको खबर आउँदै छ । पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा भ्रष्टाचार नगर्न वर्तमान मन्त्रीहरुलाई अनुरोध गर्नु भएछ । धेरैले आफ्नो कमेन्टमा ‘देउवाले पनि भ्रष्टाचार विरोधी कुरा गरे’ भनेर मजाक उडाए । हुन सक्छ देउवाले इमान्दारी पूर्वक नै भन्नु भएको थियो होला । तर, समुदायले त्यति रुचाएन ।
रामचन्द्र पौडेलजीले ब्यक्त गर्नु भएको विचार सुन्नेहरुले त उहाँको धज्जी नै उडाए । पौडेलजीले अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको मिलिजुली सरकार नै हो भन्नु भएछ । उहाँलाई यही बेलामा घाचाकघुचुक गर्न पाए मन्त्रीबन्न पाई हालिन्छ कि भन्ने लागेको हुन सक्छ । सायद पौडेलजीले यो सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएका छन् भन्ने कुरा विर्सनु भयो होला ।
ए बाबा ! मान्छेले बोल्न पनि नपाउनु ! उहाँलाई एक दुई वर्ष भए पनि मन्त्री बनेर फरर झण्डा हल्लाएर हिड्ने रहर भयो होला । रहर पनि गर्न नपाउनु ।
भयो यो कुरा धेरै नगरौं । बरु तनहुँको पौडेल गाउँबाट नुवाकोटको महत गाउँतिर जाउँ । हेर्नुहोस् डाक्टर प्रकाशशरण महतले भनेकै कुरा ठिक होला । उहाँले राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु भएन । बरु पौडेलजीलाई दह्रो जवाफ दिने इच्छाले मध्यावधि चुनावको माग गर्नु भयो । उहाँलाई मध्यावधि चुनाव भए पुग्ने रहेछ । मान्छेमा कल्पना हुन्छ, चाहना हुन्छ, विश्वास हुन्छ, प्रतिशोधको भावना हुन्छ ।
प्रकाशशरणजीमा त्यही गुम्फित इच्छा प्रकट भएको हो र रामचन्द्रजीलाई जवाफ पनि हो । नेपाली काँग्रेसमा पनि गुट, उपगुट, सहगुट र हाँगाविँगा नेकपामा जत्तिकै फष्टाएको छ । नेकाका युवा नेताहरु पाका नेताहरुको अनुहारमा लागेको हिलो धोई पोखाली गर्नमै ब्यस्त रहनु पर्ने अवस्था छ ।
एकातिर विश्व नै कोरोना भाइरससँग जुधिरहेको छ अर्को तर्फ हाम्रा राष्ट्रिय पार्टीहरु आपसमा मारामार गर्दै छन् । सायद अहिले नेपाल बाहेक विश्वका कुनै पनि मुलुकमा राजनीति मुद्दा उठीरहेका छैनन् । यो त्रासदीपूर्ण समयमा राजनीतिक मुद्दा उठाउनु भनेको बेमौसमी बाजा हुन जान्छ । तर, पनि त्यो बाजा बज्दै छ ।
कोरोना विरुद्ध अहिले विश्व नै मिलेर लड्नु पर्ने भएको छ । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने अवस्था छैन । यो सरकारले पनि ‘कुकुर भुक्तै गर्छ, हात्ती लम्किदै गर्छ’ भनेर हेलचेक्राइ गर्न पाउँदैन । जसले जे गर्नु पर्ने हो त्यो गर्न कोरोना भाइरस नियन्त्रण पछि प्रसस्त समय छ । त्यस बेला नेकपा टुक्रिए पनि हुन्छ, काँग्रेस उफ्रिए पनि हुन्छ । अहिले भने आउनुहोस् कोरोना भाइरस विरुद्धको युद्धमा आ–आफ्नो ठाउँबाट जुटौं ।