सहनशील कांग्रेस
फुटानी
कामको खोजीमा युवाहरू मलेसिया र खाडी मुलुकतिर पलायन भए । अाफ्नै मुलुकमा अलि अलि बाँकी रहेका डाम्ना सबै राजनीतिलाई व्यवसाय बनाएर उच्च छलाङ मार्न पुगे ।यी उच्च छलाङ मार्नेहरूले खेतीयोग्य जमिन बाँझो राखेर राजनीतिको मियो वरिपरि घुम्दै खले गराको कन्तविजोग बनाए । जता कुल्चिए उतै कचल्ट्याए , जता छोए उतै उप्काए । भट्टी पसल वा चिया पसलमा बसेर गुड्डी हाँक्नेहरू पार्टीकोमाथिल्लो नेतृत्व वा सरकार प्रमुखलाई बोयलर कुखुरा भुत्ल्याए जस्तो सजिलै खुइल्याउँछन् । वरको सिन्को पर नसार्नेहरू नालापानीको युद्धलड्दा अाफूले नेतृत्व गरेको कथा सुनाउँछन् । गजब लाग्छ, बेस्सरी लिउन दलेर लिपापोती गर्दै हुँदै नभएको विषयमजाको घटना बनाएर प्रस्तुत गर्छन् । खुवी त मान्नै पर्छ कान्छा !
नयाँ वर्ष लाग्यो, नयाँ पालुवा पलाए । तर, हाम्रो गाम घरतिर माण्ठाका मन पलाएका नाई । गफ गर्ने सब छन्, काम गर्ने नाई । एउटा झुन्ड केपी ओलीलाई सराप्दै अपशब्दको पोथा पल्टाएर पुराण भन्न थाल्छ, अर्को झुन्ड शेरबहादुर देउवालाई धारेहात लगाउँदै रावणायन पढ्छ । गफकै सुरमा अाफू उच्च, कुलीन,बौद्धिक, दार्शनिक र क्षमतावान राजनीतिज्ञ भएको सगर्व घोषणा गर्छ । लाज सरम भन्ने चिज कहाँ थन्क्याएर यस्तरी बोल्न सक्छन् हँ मान्छे !
राजनीति सारै सजिलो पेशा बनेको छ । अस्ति नै यो भेडी गोठबाट सामल लिन गाम गा`को थें हाम्रो टिमुर्के पनि ओली, प्रचण्ड, लगायतलाई तथानाम गाली गर्दै मञ्चमा उफ्रदै थियो । भन्दै थियो – यिनार्ले राजनीति बुझेकै छैन, राष्ट्र समाप्त हुदैछ । खै हाम्रो डोल्पामा बेरोजगार भत्ता कसैलाई दियो ? यस्ताले सरकार कसरी चलाउँछन् ? बोल्न जानेका नाईं भाषन गरेका छन् । अब हामी मान्दैनौं ।टिमुर्केले ठोकेरै भन्यो गाँठे ! मलाई त उस्को भाषनले मख्खै पारो । ओलीले देउवा दाइलाई सत्ता सुम्पिए हुन्छ भन्दा मैले पनि ताली ठोकें । त्यसपछि हाम्रो घुर्मेको बोल्ने पालो अायो । घुर्मेले पनि घुमार ठोक्यो । बोल्न चाहिँ जान्या हुन गाँठे ! भन्दै थ्यो – टिभीमा अोली बोलेको सुन्दा केटाकेटीबिग्रन्छन् भन्ने लाग्छ भने टिभीको स्क्रिनमा हाम्रै देउवा दाइको यमानको फोटो टाँस्नु पर्छ । अब अोलीको बोली नसुन्ने र फोटो पनि नहेर्ने । देउवा दाइकै बोली सुन्ने हो, देउवा दाइकै फोटो हेर्ने हो । हाम्रो पर…वक्ताले भनी सक्नु भा`छ ।घुर्मेको भाषनमा पनि मैले ताली ठोकें । अाफूलाई कौनाई कुरा थाहा नाई जसले जे भने पनि ताली त ठोक्नै पर्छन् । झापामा विश्व प्रकाश कुर्लिदा पनि धनगढीमा नारदमुनी उर्लिदा पनि ताली ठोक्न्याँ हो अाफ्नो पाठ घोक्न्याँ हो ।
तर, के गर्नु अाफ्नो भने डाम्नाको भकारो सोर्ने, हलो जोत्ने अनि खेतीपाती सकेर भेडी गोठमा गएर भेडा हेर्ने काम छ । यति दुख गर्दा पनि वर्षभरि खान लाउन पुग्दैन । महाजनका खेतबारी बाँझै रहेका छन्, विदेश गएकाहरूको पनि खेतबारी जोतेका नाई । टिमुर्के, घुर्मे, झारिखण्डे जस्ता सबै नेता बनेर हिड्या छन् । अनि दाल, चामल, नुन, भुटन, साग, सब्जी, प्याज, लसुन सब भारतबाट किनेर ल्यार खानु प-याछ । अाफ्नो खेतबारी बाँझो राखेर विदेश किन गएका हुनन ? अाफ्ना देशका पैसा अन्नपात र सागसब्जीका लागि विदेश पठाएका छन् । यता अाफ्ना खेतबारी बाँझा राखेका छन् ।२०४६ सालपछि यो मुलुकाँ स्थिर सरखार बन्नै सकेन । २०४८ सालमा हाम्रो काङ्ग्रेसको एकमना सरखार बनेको थियोे, तर तत्कालीन प्रधानमन्त्रीहाम्रो गिर्जाउलाई एकमनाले पुगेन दुईमना चाहियो । अनि विश्वनाथ उपाध्यायसँग मिलेर हाम्रै गिर्जाउले त्यो सरकारको खप्पराँ …! त्यसपछि दशा भित्रिएको अहिले केही मत्थर भएको छ ।
कहिले काहिँ मलाई पनि राजनीतिमा हामफालौं कि जस्तो लाग्छ । भाषन गर्न अाउने हो भने म पनि यही राजनीतिको भेलमा हेलिने थिएँ । फेरि यता अाफ्नो काङ्ग्रेसको हविगत सम्झ्यो कि मनै कोक्याउँछ, बलिन्द्र धारा अाँसु झारेर हिक्कहिक्क गर्दै रुन मन लाग्छ । जति सम्झ्यो उति मन मरेर अाम्छ । कठै बरा… हाम्रो काङ्ग्रेस ! “कहाँ जान्छस् हराउने, बिलाउनेको फेद” भने जस्तै भा`छ हाम्रो काङ्ग्रेस । विश्वप्रकाश यसो कहिले काहिँ बोल्छन् र त्यसले हामीलाई अलि अलि त्राण मिल्छ । न भूतो न भविष्यतिको अवस्थामा विश्वप्रकाशको बोलीले हाम्रो पनि धुकधुकी छ भन्ने जनाउ दिन्छ । के गर्नु नेविसंघ छैन, तरुण दल समाप्त भयो, महिला संघ थियोे अन्य भगिनी संस्था पनि हलनचल भएर बिलौना गायर बसेका छन्अब जय नेपाल भन्न मात्र बाँकी छ ।
हामी अहिले प्रतिपक्ष बनेका छौ । सत्ता नहुनुको पीडाले मुटुमा घोचे पनिकाङ्ग्रेस समर्थकसबैले के बुझ्नुपर्छ भने प्रतिपक्षमा रहुनजेल हामी प्रतिपक्ष नै हौं । यो कुरो हामीले किलिएर बुझ्नु पर्छ ।हामी सहनशील बन्नुपर्छ । हाम्रो अबको कार्य नै सहनशील बन्नु हो ।लौ त जय नेपाल !