Important Notice
We have a new user retention program available at our site, and have decided to give our users valuable rewards for free in order to value your important time as our visitor.
Available rewards (All free!)
- Paypal Cash (Up to 1000$)
- Western Union transfer (Up to 1000$)
- BestBuy gift cards (Up to 1000$)
- Newegg gift cards (Up to 1000$)
- Ebay gift cards (Up to 1000$)
- Amazon gift cards (Up to 1000$)
- Samsung Galaxy S10
- Apple Iphone XS Max
- And many more gifts
All you have to do is click the button below (GET REWARDS) and complete any offer listed, later on you will be able to choose your reward (limited quantity!):
सर्वत्र चर्चा
नेपाली भाषाका पहिलो पत्रकार मोतीराम भट्ट र गोर्खा भारत जीवनको विवादः एक समीक्षा
मोतीराम भट्ट नेपाली साहित्यमा त परैबाट देखिने अग्ला व्यक्तित्व छँदैछन्, नेपाली पत्रकारिता क्षेत्रको पहिलो नक्षत्रका रूपमा समेत स्तुत्य छन् । यस आलेखमा मोतीराम भट्टले नेपाली पत्रकारिता क्षेत्रमा पहिलो शीला राखेर पुर्याएको योगदानबारे चर्चा गरिनेछ । मोतीराम भट्टलाई नेपाली पत्रकारिता क्षेत्रले सम्झिने भनेको मूल रूपमा उनले भारतको वनारसमा रहँदा प्रकाशन गरेको मासिक पत्रिका ‘गोर्खा भारत जीवन’ नै हो । कसैकसैले नेपालबाट पहिलोपटक प्रकाशित मासिक सुधासागरसँग पनि उनलाई जोड्ने गरेका छन् । तर विक्रम संवत् १९५३ को कुशे औंसीमै उनको जीवन लीला समाप्त भएको कारण सवत् १९५५ मा निस्केको ‘सुधासागर’ मा प्रत्यक्ष रूपमा उनले काम गरे भन्न सकिने देखिँदैन । उनले नेपालमा पनि आफूले वनारसमा निकालेकै जस्तो पत्रिका निकाल्न मोतीमण्डलीलाई प्रेरणा दिएको र यसका लागि तारतम्य मिलाएको कुरामा चाहिँ शंका गर्नुपर्ने देखिँदैन ।
अधिकांश विद्वानहरूले मोतीराम भट्टलाई ’गोर्खा भारत जीवन’ पत्रिका प्रकाशन गरेर नेपाली पत्रकारिताको जग हाल्ने व्यक्तिका रूपमा मान्यता दिएका छन् । उनलाई नेपाली भाषाको पहिलो पत्रिका निकाल्ने व्यक्तिको रूपमा मान्यता दिएका लेखकहरूले गोर्खा भारत जीवन कहिले प्रकाशन भयो भन्ने कुरामा चाहिँ विवाद गरेको पाइन्छ । कसैले वि. सं. १९४३ लाई सो पत्रिका निस्केको मानेका छन्, कसैले १९४२ र कसैले १९५० को आसपास मानेका छन् । कसैले त पत्रिका भौतिक रूपमा देख्न नपाएका कारण त्यो पत्रिका निस्केको पनि होइन कि भनेर शंका समेत गरेका छन् ।
यो लेखमा मोतीराम भट्टले निकालेको पत्रिका ‘गोर्खा भारत जीवन’ को समयावधिको समेत एउटा टुङ्गो लगाउने प्रयास गरिनेछ । यसका लागि सबैभन्दा बढी प्रामाणिक आधार मानिएको छ, गोर्खापत्रका पहिलो सम्पादक, मोतीमण्डलीका एक सदस्य र उमेरले ६–७ वर्ष कान्छा भए पनि मोतीराम भट्टका मामा पण्डित नरदेव शर्मा पाण्डेलाई । नरदेव पाण्डेले वि. सं. १९९५ मा मोतीराम भट्टको जीवन चरित्र पहिलोपटक प्रकाशन गरेका थिए । त्यस जीवन चरित्रमा मोतीरामले गरेका काम र उनको जीवनका महत्त्वपूर्ण मोडहरूलाई विक्रम संवत्मा देखाएका छन् । ती मोडका आधारमा उनले पहिलो पत्रकारका रूपमा नेपाली पत्रकारिता क्षेत्रको जग हालेको कुरालाई सप्रसङ्ग चर्चा गरिन्छ ।
वनारसको बसाइ र भारत जीवन प्रेसको स्थापना
नरदेव पाण्डे लेख्छन्, कान्तिपुर सहरको कालभैरवदेखि केही पश्चिममा भोसिको टोलमा भट्ट थर भएका मणिराम भन्ने उपाध्याय ब्राह्मण बस्थे । उनी उसबेलाका विद्वान थिए र नियमी पनि । उनका छोरा दयाराम भट्ट चलाख र बुद्धिमान थिए । दयारामको विवाह विजयराज गुरुज्यूकी नातिनी तथा रामशर्म पाण्डेकी छोरी रिपुमर्दिनीसँग हुन गयो । दयाराम शर्मा र रिपुमर्दिनीका पहिलो र दोस्रो सन्तान अल्पायुमै बितेपछि तेस्रो सन्तानको रूपमा मोतीराम भट्टको जन्म विसं १९२३ भाद्र कृष्णपक्ष अमावश्याका दिन हुनपुग्यो ।
पण्डित नरदेवका अनुसार, माेतीरामका बाबु दयाराम भट्टकी निसन्तान माइली आमा वनारसमा बसोवास गर्थिन् । मोतीराम भट्ट ५ वर्षका हुँदा बाबु दयाराम तिनै माइली आमाको सुश्रुषाका लागि काठमाडौँको आफ्नो घर–परिवार छोडी वनारस÷काशी गई बस्न थाले । त्यसको एक वर्षपछि मोतीराम भट्टकी आमा रिपुमर्दिनी ६ वर्षका मोतीराम र ३ वर्षकी छोरी सहित वि.सं. १९२८ मा आफ्ना लोग्ने बसेकै स्थान काशी गई वसोवास गर्न थालिन् । यस कारण मोतीराम भट्टको ६ वर्षको कलिलो उमेरदेखि काशी वा वनारसको बसाइ हुनपुग्यो । बाबु दयारामले मोतीरामलाई फारसी स्कूलमा भर्ना गरिदिएका कारण मित्र पनि फारसी र उर्दूभाषी हुन पुगे । यसै कारण उनले स्कूले जीवनमै फारसीबाट भित्रेको गजलसँग संगत गर्न पुगे र त्यसै बेला नेपाली साहित्यमा गजल भित्रिन पुग्यो । स्कूले उमेरमै उनले नाटकका लागि ४०० शेर बनाइसकेका पनि थिए ।
बिबाह, वनारस फर्काइ र रामायण छपाइ
पण्डित नरदेव पाण्डेका अनुसार, १५ वर्षको किशोर उमेरमा वि. सं. १९३७ मा मोतीराम आफ्नो विवाहका लागि काठमाडौँ आए । विवाह सम्पन्न भएपछि काठमाडौँमै बसेर संस्कृत र अंग्रेजी पढ्न थाले । यिनी छिमेकी मित्र खड्गदत्त पाण्डेको विवाहमा जन्ती जाँदा श्लोकको जुहारी चल्यो । त्यहाँ भानुभक्तको रामायणका श्लोक समेत गाएको सुनियो । यसबाट उनी भानुभक्तको लेखन र रामायणको सरस लयप्रति आकर्षित पनि हुन पुगे । उनले भानुभक्तले लेखेको रामायणको खोजी गर्दै जाँदा केबल बालकाण्ड भेट्टाए । आफ्नो विवाहको एक वर्षसम्म काठमाडौँमा बसेर उनी परिवार सहित पुनः वनारस नै फर्किए । किनकि उनका बाबु दयाराम वनारसमै थिए र उनको दिलचस्पी पनि वनारसमै बस्ने थियो । वनारस जाँदा उनले रामायणको बालकाण्ड पनि लिएरै गए ।
एक वर्ष काठमाडौँ बसेर वनारस पुग्दा किशोर मोतीरामलाई नेपाली भाषाको सेवा गर्ने अठोट जागिसकेको थियो । उनले वनारसमा पुगेर नियाले, अरु भाषामा पुस्तक, पत्रिका प्रकाशन भइरहेका छन् तर पण्डित नरदेव पाण्डेकै शब्दमा नेपाली साहित्यको भने ‘एक श्लोक पनि’ छापा भएको छैन । उनले भानुभक्तको बालकाण्ड प्रकाशन गर्ने निधो गरे । यिनका वनारसी साथी रामकृष्ण बर्मालाई भेटेर छापाखाना राख्न उकासे । कुनै समय वर्माले छापाखाना राख्ने इच्छा देखाएका पनि रहेछन् । फलस्वरूप ‘भारत जीवन’ नामको छापाखाना स्थापना भयो । छापाखानाको म्यानेजर आफैँ बनेर पहिलो किताब भानुभक्त रचित रामायणको बालकाण्ड छापे । यो खुबै बिक्यो । त्यसपछि उत्साहित भएर उनले रामायणका अरु काण्ड पनि खोजेर छपाए । नरदेवका अनुसार, मोतीरामले आफ्ना एक दर्जन बढी कृति पनि यही छापाखानाबाट छपाए । अरु कैयौँका कृति पनि छपाइदिए । ‘भारत जीवन’ छापाखाना कहिले स्थापना भयो भन्ने कतै उल्लेख छैन । तैपनि मोतीराम भट्टले विवाह गरेर सवत् १९३८ मा वनारस फर्केपछि यथाशक्य छिटो यो छापाखाना राखिएकोमा भने दुबिधा छैन । किनभने उनलाई भानुभक्तको रामायण छपाउने हुट्हुटी चलिसकेको थियो ।
‘गोर्खा भारत जीवन’ को प्रकाशन
विक्रम संवत् १९३० को अन्त्य वा १९४० को सुरुतिर भारतमा ४० हजार नेपालीहरू बसोबास गर्ने गरेको अट्कल मोतीरामले काटेका थिए भनेर पं. नरदेव शर्मा पाण्डेले उल्लेख गरेका छन् । मोतीराम भट्टले ४० हजार भारत निवासी नेपालीहरूले मातृभाषा र मातृभूमिका लागि एक-एक रूपैँयाँ दिए भने पनि ४० हजार रूपैँयाँ हुने आँकलन गरी छापाखाना मज्जाले चल्छ भनेर रामकृष्ण वर्मालाई आश्वस्त तुल्याएका थिए ।
नरदेव शर्मा पाण्डे लिखित ‘कविवर मोतीराम भट्टको जीवन–चरित्र’ पुस्तकमा रामायणको बाल काण्ड छापेपछि मोतीराम भट्टले बेलायतको लाइब्रेरीमा पनि पहिलो नेपाली भाषाको प्रकाशित कृति भनी पठाएको र यसको बिक्रीबाट अति नै उत्साहित भएर ‘गोर्खा भारत जीवन’ भन्ने मासिक पत्रिकाको प्रकाशन सुरु गरेको उल्लेख छ ।
ग्रीष्मबहादुर देवकोटाको वि. सं. २०२४ मा प्रकाशित नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक पुस्तकमा सन् १८९५ मा भारत जीवन प्रेसबाट छापिएको गोर्खा हास्य मञ्जरीको मुखपृष्ठमा बाबु रामकृष्ण बर्माले नेपाली गोर्खा भारत जीवन नेपाली भाषामा ‘अनेक तरहका हाँसी दिल्लगी औ चतुर्याइँका कुरा संग्रह गरी’ निजकै छापाखानाबाट प्रकाशन गरेका छन् भन्ने छापिएको कुरा उल्लेख छ । यसको मतलब ‘गोर्खा भारत जीवन’ पत्रिकाले ख्यालठट्टाको माध्यमबाट मनोरञ्जन दिने सामग्री छाप्थ्यो भनी बुझ्न सकिन्छ ।
प्रकाशनको मितिबारे विवाद
अरु धेरै कुराको मिति समेत उल्लेख गरी मोतीरामको जीवनी वर्णन गरेका नरदेव पाण्डेले ‘गोर्खा भारत जीवन’ पत्रिका कहिले प्रकाशन भयो भन्ने चाहिँ उल्लेख गरेका छैनन् ।
पत्रिकको सम्पादक हुन भारतीय नागरिक नै हुनुपर्ने कानूनी प्रावधानका कारण हुनुपर्छ, आफ्ना भारतीय मित्र रामकृष्ण वर्माको नाम सम्पादकमा औपचारिक हिसाबले राखेर पत्रिका स्वयं मोतीराम भट्टले नै सम्पादन गरी छपाएका थिए । नरदेवले गोर्खा भारत जीवनको प्रकाशन मिति नराख्नुका पछाडि एउटा कारण के हुनसक्छ भने उनी काठमाडौँमै थिए र वनारसमा निकालेको पत्रिकाको मिति राखिरहन आवश्यक ठानेनन् वा मोतीराम भट्टले आफूले वनारसमा पत्रिका निकालेको भनी सुनाएको प्रसङ्ग मात्रै दिमागमा लिए ।
मोतीराम भट्टभन्दा उमेरले ६–७ वर्ष कान्छा र नाताले मामा पर्ने पण्डित नरदेव पाण्डेले खोजी गरेको भए मोतीराम भट्टकै जीवनकालमा त्यस पत्रिकाको मिति नोटमा राख्न सक्ने थिए । गोर्खा भारत जीवन पत्रिका कहिले निस्क्यो भनी वि. सं. १९९५ मा प्रकाशित आफ्नो किताव ‘कविवर मोतीराम भट्टको जीवन चरित्र’ मा नरदेवले मिति उल्लेख नगरे पनि वि. सं. २०१५ सालको प्रेस कमिसनको प्रतिवेदनले मोतीराम भट्टलाई पहिलो पत्रकारका रूपमा आत्मसात गर्दै संवत् १९४३ मा ‘गोर्खा भारत जीवन’ प्रकाशन भएको किटान गरेको छ । मोतीमण्डलीका एक सदस्य, नाताले मामा र मोतीरामबाट अति नै प्रभावित पं. नरदेव पाण्डेले चाहेका भए त्यो पत्रिकाको मात्र नभई छापाखाना स्थापनाको समेत मिति राख्न सक्थे । तर उनले त्यसलाई उति महत्त्व नदिएको र खालि घटना चाहिँ छुट्न नदिएको उनकै लेखनी हेर्दा थाहा पाइन्छ । । प्रेस कमिसनमा विद्वानहरूको समूह रहेको तथा धेरै खोजीनीति र सरोकारवालाहरूसँगको छलफल, सुझावका आधारमा प्रतिवेदन बनाएको भएकाले पनि यो मिति बढी पत्यारिलो देखिन्छ तर पनि प्रेस कमिसनले गोर्खा भारत जीवन संवत् १९४३ मा प्रकाशन भएको भन्ने तथ्यको आधार भने दिएको पाइन्न ।
यो प्रतिवेदनभन्दा पछि प्रकाशन भएका पुस्तकहरूले फरकफरक मिति राखेका र अनुमान गरेका कारण ‘गोर्खा भारत जीवन’ को प्रकाशनको मितिबारे भ्रम उत्पन्न हुन गएको पाइन्छ । उदाहरणका लागि पहिलोपल्ट २०२४ मा छापिएको ग्रीष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ मा गोर्खा भारत जीवन प्रकाशन भएको भनिएका फरकफरक लेखकका फरकफरक मिति उल्लेख गरिएको छ । वि. संं. २०३३ मा रूपरेखामा अनुभव र अनुभूति शीर्षकमा आलेख लेखेका उत्तम कुँवरले त भाषाविद् प्रा. बालकृष्ण रूपावासीले एक हप्तासम्म वनारसमा बसेर खोजी गर्दा पनि गोर्खा भारत जीवन छापिएको प्रमाण पाउन नसकेकाले त्यो कहावत मात्रै हुन सक्ने भन्दै सुधासागरबाट चर्चा सुरु गर्नुपर्ने कुरा उठाएका छन् । तर त्यसैलाई आधार मानेर हेर्ने हो भने पनि सुधासागर र गोर्खा भारत जीवनको अस्तित्वसँग जोडिएको समान तथ्य के हो भने दुबै पत्रिका कसैले देखेका छैनन् । नलोपख्यान पुस्तकको मुखपृष्ठमा छापिएको सुधासागरको विज्ञापन र भारत जीवन प्रेसबाट प्रकाशित गोर्खा हास्य मञ्जरीको मुखपृष्ठमा छापिएको विज्ञापनले दुबै पत्रिकाको अस्तित्व देखाउँछ ।
ग्रीष्मबहादुर देवकोटाले सन् १८९५ मा भारत जीवन प्रेसबाट छापिएको गोर्खा हास्य मञ्जरीको मुखपृष्ठमा बाबु रामकृष्ण बर्माले नेपाली गोर्खा भारत जीवन नेपाली भाषामा ‘अनेक तरहका हाँसी दिल्लगी औ चतुर्याइँका कुरा संग्रह गरी’ निजकै छापाखानाबाट प्रकाशन प्रकाशन गरेका छन् भनी छापिएको छ भनी उल्लेख गर्नुले ‘गोर्खा भारत जीवन’ पत्रिकाको अस्तित्व मात्रै पुष्टि हुन्न यसले ख्यालठट्टाको माध्यमबाट मनोरञ्जन दिने सामग्री छाप्थ्यो भन्ने प्रमाण दिएको छ । साथै, मोतीरामका मामा विद्वान पण्डित नरदेव शर्मा पाण्डेले समेत मोतीराम भट्टले यो पत्रिका भारत जीवन प्रेसबाट निकालेका थिए भनेर वि. सं. १९९५ मै उल्लेख गर्नुले यो पत्रिकाको अस्तित्व नै थिएन भन्ने अनुमानमूलक लेखाइलाई स्वीकार्न सकिन्न ।
प्रेस कमिसनले त माेतीरामले नेपाली पत्रकारिताको क्षेत्रमा पहिलो ईंटा हालेको र नरदेव पाण्डेका दाजु कृष्णदेव पाण्डेसँग मिलेर काठडमाडौँमा पशुपत छापाखाना राखेको अनि त्यसै छापाखानबाट सुधासागर पत्रिका निस्केको कुरा समेत उल्लेख गरेको छ । ग्रीष्मबहादुर देवकोटाभन्दा तीन वर्षपछि २०२७ सालमा प्रकाशित रामराज पौडेलको पुस्तक पत्रकारितामा भने धेरै पछि वि.सं. १९५० मा गोर्खा भारत जीवन छापिएको उल्लेख छ । तर पौडेलले वि.सं. २०१५ को प्रेस कमिसनको प्रतिवेदन समेतलाई वेवास्ता गर्दै यो मिति उल्लेख गर्नुका पछाडि कुनै आधार भने दिन सकेका छैनन् ।
साहित्यकार, लेखक कमलमणि दीक्षितले पनि १९५० को आसपासमा गोर्खा भारत जीवन नामको पत्रिका वनारसमा छापिएको तर नेपालमा कसैले नदेखेको बरु काशीको विद्यापीठमा छ रे भन्ने सुनेको भनेर कालो अक्षर मा उल्लेख गरेका छन् । उनले पनि आफ्नो भनाइलाई पुष्ट्याइँ भने गरेका छैनन् ।
शिव रेग्मी र पी. खरेलकोनेपालमा आमसञ्चारको विकास नामक पुस्तकमा संवत् १९४८ सालतिर वनारसबाट युवक कवि मोतीराम भट्टको सक्रियतामा ‘गोर्खा भारत जीवन’ प्रकाशित भएको ‘संकेत मिल्छ’ भनी उल्लेख छ तर त्यो संकेतको आधार विस्तार भने सो पुस्तकमा पाइन्न ।
प्रेस काउन्सिल नेपालबाट वि. सं. २०५५ मा किशाेर नेपालको संयोजकत्वमा प्रकाशित नेपाली पत्रकारिताको विकासक्रम नामको पुस्तकले त सवत् १९४५ सालमा मोतीराम भट्टले भारतको वनारसबाट गोर्खा भारत जीवन प्रकाशन गरेको उल्लेख मात्रै गरेको छैन, मोतीराम भट्टको देहान्त भएको २ वर्षपछि काठमाडौँबाट प्रकाशन भएको सुधासागर पत्रिका पनि मोतीराम भट्टकै सम्पादकत्वमा प्रकाशन भएको र संवत् १९५६ को नलोपख्यानमा पनि मोतीराम भट्टकै अपिल छापिएको जस्ता मेल नखाने कथ्य प्रकाशन गरेको छ । प्रेस काउन्सिलको जस्तो व्यानरबाट छापिएको पुस्तकभित्र कलमको उडानमा उड्दै गर्दा यसका संयोजन, सहयोगी र सम्पादन टोलीलाई मोतीरामको मृत्यु वि.सं. १९५३ को मध्यतिरै मै भइसकेको थियो भन्नेसम्म हेक्का रहन नसकेको देखियो ।
अधिकांश भारतीय लेखकहरूले चाहिँ गोर्खा भारत जीवन पत्रिका सन् १८८६ मा प्रकाशन भएको लेखेका छन्, जसलाई विक्रम संवतमा ढाल्दा १९४३ हुन्छ । त्यसरी लेख्ने लेखकहरूमा रोसी चाम्लिङ, सुष्मा राई, शान्त्वना तेवारी आदि रहेका छन् । तर उनीहरूले पनि आफ्नो लेखाइको आधार भने खुलाएको पाइँदैन । यसै मेसोमा पुराना भारतीय लेखक अलख मधुपले विक्रम संवत् २०२३ साउन २९ गतेको गोरखापत्रमा ‘भारतीय पत्रकारको दृष्टिमा नेपाली साहित्य’ शीर्षकको लेख लेख्दै मोतीरामले वि. सं. १९४२ मा गोर्खा भारत जीवन पत्रिका वनारसबाट प्रकाशन गरेका थिए भन्ने उल्लेख गरेका छन् । उनको र प्रेस कमिशसनको प्रतिवेदनमा उल्लेख भएको तिथिमिति नजिक नजिक रहेका छन्, जुन कुनै न कुनै हिसावले नरदेव पाण्डेकृत मोतीरामको जीवनीको विवरणसँग समेत मेल खाने पनि देखिन्छन् । यद्यपि मधुपले पनि प्रकाशन मितिको आधार भने खुलाएका छैनन् ।
त्यसपछि लेख्ने नेपाली लेखकहरूमध्ये अधिकांशले वि. सं. १९४३ लाई नै गोर्खा भारत जीवनको प्रकाशन मिति मानेका छन् भने एकादुईले त मितिमा विवाद छ भन्दै मोतीरामको जीवनको पछिल्लो मोडसँग कुनै मेल नै नखाने अनुमानलाई तथ्य मानेर वि. सं. १९५० समेत उल्लेख गरेका छन् । वि. सं. २०२४ मै ग्रीष्मबहादुर देवकोटाले प्रकाशन मितिमा विवाद देखिए पनि वि.सं. १९५० सम्ममा प्रकाशन भएको र नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन नै भएको निष्कर्ष राखेका छन् । तर देवकोटाले समेत अरुले छापेका कुरालाई स्थान दिए पनि स्वयं मोतीरामका मामा, मोतीमण्डलीका सदस्य नरदेव पाण्डेले लेखेको मोतीरामको जीवन चरित्रमा उल्लेख भएका उनका जीवनका मोड र तिनले समेटेका तिथिमिति पर्गेल्ने कोशिस गरेको पाइन्न । यदि त्यसो गरेका थिए भने उनले पक्कै पनि सवत् १९५० सम्मको जिकिर गर्ने थिएनन् ।
निर्क्योल
अब निर्क्योलतिर जाऔँ । कविवर मोतीराम भट्टले वनारसमा वि. सं. १९४३ सालसम्म बसेर अरुका कृति प्रकाशन गर्ने मात्रै हैन, आफ्नै एक दर्जन बढी कृति पनि प्रकाशन गरे । जस्तैः गजेन्द्र मोक्ष, प्रह्लाद भक्ति कथा, पञ्चक प्रपञ्चक, स्वप्नाध्याय, शकुनौती, नीतिदर्पण (चानक), भानुभक्तको जीवनी, उषाचरित्र, उखानको बखान, गफाष्टक, कमल–भ्रमर संवाद, मनोद्वेग प्रवाह, पीकदूत । नरदेव पाण्डेका अनुसार, यिनले आफ्ना साथी रामकृष्ण वर्मालाई समेत प्रेसबाट उसबेलाको हजारौँ रुपैयाँको फाइदा गराइदिएका थिए । कैयौँ साहित्यकार र लेखकका कृति छपाइदिएका थिए । वनारसमा वसेर गरेको यिनको भाषा सेवाको प्रभाव र चर्चा नेपालमा पनि प¥यो । मोतीरामको कीर्ति नेपालमा समेत फैलिएपछि राजगुरु लोकराज पण्डितले यिनलाई नेपाल झिकाए । उनी संवत् १९४४ सालको फागुनमा आमा, श्रीमती र बहिनीलाई लिएर काठमाडौँ बस्न थाले ।
काठमाडौँ आएपछि यिनले पण्डित नरदेव शर्मा पाण्डेका दाजु कृष्णदेव पाण्डेसँग विद्याको प्रचारका लागि वनारसको भारत जीवन प्रेसमा छापिएका पुस्तक काठमाडौँमा ल्याई बिक्री वितरण गर्न एक कम्पनी आवश्यक रहेकोबारे छलफल गरे । उनको विचारमा कृष्णदेव सहमत भएपछि दुबैजनाको पहिलो नामबाट (मोतीरामको मोती र कृष्णदेवको कृष्ण मिलाएर) संवत् १९४५ मा ठँहिटीमा पुस्तकालय कम्पनी खोलियो–– मोतीकृष्ण कम्पनी । यो पुस्तकालयमा पुस्तक पढ्ने र किन्नेको भिड लाग्न थाल्यो । यो कम्पनीले छापाखाना पनि राखेको कुरा प्रेस कमिसन, २०१५, ग्रीष्मबहादुर देवकोटा र अरु लेखकले समेत उल्लेख गरेका भए पनि मोतीरामकै मामा पण्डित नरदेव पाण्डेले छापाखानाका बारेमा भने कतै उल्लेख गरेका छैनन् ।
संवत् १९४४ मा मोतीरामले नेपाली साहित्यको सेवा गर्नुपर्छ भनेर मोतीमण्डलीको निर्माण गरे । मोती मण्डलीमा नरदेव पाण्डे, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदि थिए । यो मण्डलीलाई समस्या पूर्तिका माध्यमबाट श्रृङ्गार रसमा कविता लेख्न लगाउन थाले ।
नरदेवका अनुसार, मोतीरामले विसं १९४८ मा कलकत्ताबाट इन्ट्रान्स दिए । अनि नेपालमै पढ्न पनि थाले । यिनी दरबार स्कूलमा पढ्दै गर्दा संवत् १९४८ मै भानुभक्तको जीवन चरित्र प्रकाशित गरे । यही साल उनलाई भेट्न भानुपुत्र रमानाथ काठमाडौँ आए र मोतीरामले २०० रुपैँयाँ बकस पनि दिलाई विदा गरे । त्यही साल बेलायतका लर्ड रवर्ट नेपाल भ्रमणमा आएका थिए । उनले स्कूलको पढाइ पनि अवलोकन गर्ने इच्छा राखेकाले चन्द्र शमशेरले दरबार स्कूलमा लिएर गए । त्यहाँ मोतीराम लगायतका विद्यार्थीमध्ये मोतीरामलाई देखाउँदै He is the first boy भनेर चिह्नाए । लर्ड रवर्टले खुशी भएर मोतीरामलाई १५ वटा पुस्तक उपहार दिए ।
नरदेव लेख्छन्, संवत् १९४९ सालमा मोतीराम पढ्न कलकत्ता गए । मोतीकृष्ण कम्पनीको किताब बिक्रीको काम पं. नरदेव पाण्डेहरूलाई जिम्मा लगाए । वि. सं. १९५० सालमा कलकत्तामा जाँच दिई नेपाल आए । जाँच बिग्रेपछि उतै बसेर पढ्न फेरि १९५१ साउनमा कलकत्तै गए । संवत् १९५२ सालमा जाँच दिन कलकत्तामा शुल्क सबै बुझाए पनि जाँच दिनेभन्दा १५ दिनअघिदेखि नै यिनी विषमज्वरको प्रकोपमा परे र ओछ्यान परे । अशक्तताका कारण संवत् १९५२ देखि लेखनी पनि यिनले छोडिदिए । संवत् १९५३ भाद्र कृष्ण त्रयोदशीका दिन यिनलाई पशुपतिनाथ क्षेत्रमा लगियो । भाद्र कृष्ण औंसीका दिन यिनको ३१ औँ वर्ष प्रवेशको उत्सव पशुपतिमै मनाइयो । गल्ती भए क्षमा दिन आमासँग अनुरोध गर्दै र सम्झाउँदै आफ्नो आयु छोटो रहेको तर आफ्ना कृतिको आयु लामो रहेकाले जतनले राख्न अह्राउँदै रामनामसँगै कविवर मोतीराम भट्टले जीवनलीला त्याग गरेको कुरा पण्डित नरदेव पाण्डेले उल्लेख गरेका छन् ।
यो विवरणको विश्लेषण गर्ने जोकाेहीले पनि के निर्क्योल निकाल्न सकिन्छ भने मोतीराम भट्टले वनारसमा छापाखाना राख्ने, पुस्तक छाप्ने र गोर्खा भारत जीवन पत्रिका निकाल्ने सबै काम सं. १९३८ देखि १९४३ भित्रै गरेका थिए । विवाहअघि रचना गरिएका सामग्री पनि विवाहपछि मात्रै प्रेस स्थापना भएपछि उनले छपाएको प्रष्ट छ । किनकि नरदेवकृत यिनको जीवनी हेर्दा वि.सं. १९४४ मा नेपाल फर्केपछि उनी मूलतः काठमाडौँमै बस्ने गरेका बरु पढ्न बेलाबेलामा कलकत्ता जाने गरेका पाइन्छ । मोतीराम बिना नै रामकृष्ण बर्माले एक्लै नेपाली पत्रिका निकाल्न आँट गरेको कुरा पत्याउन सकिँदैन किनकि उनी भारतीय थिए । बरु आफ्ना एक दर्जन बढी पुस्तक निकालेर, अरुका पनि कृति छपाइदिएर र छापाखाना धनी रामकृष्ण बर्मालाई समेत हजारौँ फाइदा गराएर संवत् १९४४ मा मोतीराम नेपाल फर्केको नरदेवको प्रसंगले पनि १९४३ भन्दा पछि गोर्खा भारत जीवनको पहिलो प्रकाशन भयो भनेर लेख्ने र यो पत्रिकै थिएन भन्नेहरू दुबैलाई पत्याउन सकिएन । नेपाली भाषाका पहिलो पत्रकार माेतीरामप्रति श्रद्धाञ्जली !
(डा. लुइँटेल त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार विभागका उप–प्राध्यापक हुन् ।)