नेपालमा रेडियो प्रशारणको इतिहास : रोमाञ्चकतादेखि रूपान्तरणसम्म– ३
प्रशारण आधिपत्य काल
रेडियो नेपालको विकासमा २०१३ सालपछि परिपक्व र व्यावसायिक चरणको सुरुवात भयो । यस अवधिमा महत्वपूर्ण प्राविधिक र संस्थागत परिवर्तनहरू भए । राणा प्रधानमन्त्री मोहनशमशेरकै पालामा पाँच किलोवाटको सर्टवेभ र २५० वाटको मिडियम वेभ ट्रान्समिटर एक, एक वटा मगाइएको र व्यवस्था परिवर्तनपछि ती कलकत्ता बन्दरगाहमा अलपत्र परेको कुरा थाहा भएपछि नेपाल सरकारले प्रयास गरी २०११ सालको सेरोफेरोमा ती उपकरणहरु नेपाल भित्र्याइयो (शाह, २०४५; रेग्मी, २०४९; शाह, २०५४; देवकोटा, २०५९; अधिकारी, २०६१, उप्रेती, २०८१) । केही पहिलेदेखि परीक्षण प्रशारण गरिए पनि मिडियम वेभ ट्रान्समिटर र पाँच किलोवाटको सर्टवेभ ट्रान्समिटरको प्रयोग गरी रेडियो नेपालले औपचारिक प्रशारण झण्डै दुईवर्ष पछि मात्र सुरु गर्यो । राज्य सम्हालेको करिव १४ महिनापछि २०१३ साल बैशाख २० गते राजा महेन्द्रको शुभराज्यभिषेक सम्पन्न भएको थियो । शुभराज्याभिषेककै अवसर पारेर सिंहदरवार स्थित रेडियो भवन परिसरमा एक समारोहको आयोजना गरी रेडियो नेपालले जावलाखेल प्रशारण केन्द्रमा जडान गरिएका नयाँ ट्रान्समिटरको औपचारिक उद्घाटन राजा महेन्द्रबाट गराएको थियो ।
यस घटनाले नेपालको प्रशारण इतिहासमा एकैपटक दुईवटा किर्तिमान (रेकर्ड) कायम गर्यो । पहिलो, सिङ्गल साइड व्याण्ड (एसएसबी) एमेचुअर रेडियो उपकरणबाट भइरहेको कामचलाउ रेडियो प्रशारणलाई डब्बल साइड व्याण्ड (डिएसबी) प्रोफेसनल प्रशारण उपकरणमा रुपान्तरण गर्यो । दोस्रो नेपालको प्रशारण इतिहासमा मिडियम वेभ प्रशारण समेत थालनी गर्यो । अर्थात् नेपालमा प्राविधिक रुपमा वास्तविक रेडियो प्रशारणको इतिहास बल्ल सुरु भयो ।
रेडियो नेपालमा कार्यरत केही व्यक्तिहरुले लेखेका सामग्रीमा यो २५० वाट मिडियम वेभ ट्रान्समिटर (सिवाकोटी, २०५६, श्रेष्ठ, २०५६; सुनुवार, २०५६) बारे उल्लेख गरेको नपाइए पनि रेडियो नेपालका पूर्व डाइरेक्टर भोग्यप्रसाद शाह (२०४५), रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक महेश प्रसाद अधिकारी (२०५४), रेडियो नेपालका बरिष्ठ प्राविधिक पद्मज्योति धाख्वा (२०५६) ले भने मिडियम वेभ ट्रान्समिटर बारे स्पष्ट उल्लेख गरेका छन् । खुमलटार प्रशारण केन्द्रको प्रमुख भएर लामो समय काम गरेका पद्मज्योति रेडियो नेपालको मुखपत्र झङ्कार (वर्ष ४६. अङ्क ३/४, स्वर्ण–महोत्सव स्मारिका, २०५६) मा “खुमलटार प्रशारण केन्द्रको परिचय” शिर्षकमा लेख्छन्– “रेडियो नेपालको सबै प्रशारण जावलाखेलस्थित ट्रान्समिटरहरू सर्टवेभ ५ किलोवाट र मिडियम वेभमा २५० वाटबाट भैरहेकोमा विक्रम संवत् २०२४ सालमा बेलायत सरकारको सहयोगमा नेपालमा सर्वप्रथम एक सय किलोवाट क्षमताको सर्ट वेभ र मिडियम वेभ १० किलोवाट क्षमताको ट्रान्समिटर जडान गरी यस खुमल्टारबाट प्रशारण आरम्भ गरियो” (पृ. १२२) । सञ्चार योजना २०२८ ले पनि २५० वाटको मिडियम वेभ ट्रान्समिटर रेडियो नेपालसंग भएको पुष्टि गर्दछ । यी तथ्यका आधारमा भन्दा रेडियो नेपालले २५० वाट मिडियम वेभ ट्रान्समिटर २०१३ सालदेखि औपचारिक रूपमा प्रयोगमा ल्याएको थियो ।
२०१३–२०१४ सालकै सेरोफेरोमा रेडियो नेपालमा एउटा साउण्ड प्रुफ स्टुडियो पनि व्यवस्था भयो (उपाध्याय, २०५६) । रेडियो प्रशारणको कभरेज क्षेत्रमा पनि उल्लेख्य बृद्धि भयो । सम्बत् २०१० को दशकमा आर्थिक स्रोत तथा दक्ष जनशक्तिको अभाव, उपकरणको कमी (शाह, २०४५) जस्ता प्रमुख चुनौती हुँदाहुँदै पनि रेडियो प्रशारणलाई प्रभावकारी बनाउने सम्बन्धी केही महत्वपूर्ण प्रयासहरू सम्पन्न भए । २०१४ सालतिर बल्लतल्ल एउटा साउण्ड प्रुफ स्टुडियो निर्माण भएको थियो । तर रेकर्डिङ मेसिन थिएन, सबै कार्यक्रम प्रत्यक्ष प्रशारण हुन्थ्यो (उपाध्याय, २०५६) । टिका भण्डारीले सञ्चालन गर्ने गरेको र रेडियो नेपालबाट विहान ११ बजे हरेक आइतबार प्रशारण हुने ‘स्वर संवाद’ नामक अन्तर्वार्ता कार्यक्रममा गायक प्रेमध्वज प्रधानले २०६८ साल साउनमा प्रशारित कार्यक्रममा अमेरिकी राजदुतावासबाट एउटा रेकर्डिङ मेसिन ल्याएर प्रेमध्वज र तारादेवीले गाएको “यो नेपाली शिर उचाली” गीत २०१४ सालमा पहिलो पटक रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएको र रेकर्डपछि त्यो उपकरण दुतावासमा नै फर्काइएको कुरा बताएका छन् (भण्डारी, २०८१) । गायक प्रेमध्वज त्यसबेला अमेरिकन लाइव्रेरीमा कार्यरत कर्मचारी समेत थिए । रेडियो नेपालको स्टुडियोमा यो गीत रेकर्ड भएपनि रेडियो नेपालमा रेकर्डिङ उपकरणको अभाव रह्यो ।
२०१५ सालसम्म आइपुग्दा साढे चार घन्टा दैनिक प्रशारणमा रहेको रेडियो नेपालले नेपाली, नेवारी, अंग्रेजी र हिन्दी गरी चार वटा भाषामा दिनको १ घन्टा १० मिनेट समाचार दिन थालिसकेको थियो (प्रेस कमिशन, २०१५) । २०१६ सालतिर कस्तो रेकर्डिङ प्रविधि थियो भन्ने स्पष्ट नभएपनि रेडियो नेपालमा रेकर्डिङको थालनी भएको पाइन्छ । उपलब्ध प्रमाणका आधारमा भन्नुपर्दा रेडियो नेपालबाट हरेक विहान स्टेशन खोल्ने वित्तिकै बज्ने सङ्केत धुन “शंखध्वनि” २०१६ सालमा रेडियो नेपालमै रेकर्ड गरी (मुकारुङ, २०५६; कार्की, २०८१; पण्डित, २०८१) प्रशारण सुरु गरिएको हो । यस कुरालाई पुष्टि गर्दै रेडियो नेपालका अवकास प्राप्त प्राविधिक सुदिप ठाकुर (२०८१) भन्छन्– “२०१६ सालमा मेरो बुबा केदारप्रसाद ठाकुरले उस्ताद गोविन्दलाल श्रेष्ठद्वारा संगीतबद्ध रेडियो नेपालको प्रभातकालीन शंखध्वनि रेकर्ड गर्नु भएको हो ।” त्यो सङ्केत धुनको शंख बजाउने रुद्र शर्मा थिए भने वाध्यवादनमा राज भगत, गोपालनाथ योगी, कान्छाबुद्ध बज्राचार्य, कृष्ण नारायण र उस्ताद गोविन्दलाल थिए (मुकारुङ, २०५६) । मिक्सिङ गर्ने रेकर्डिङ प्रविधि नभएको हुँदा त्यसबेला गुणस्तरीय रेकर्डका लागि वाद्यवादक समूहले संकेत धुनको अभ्यास दुई महिना लगातार गरेको थियो ।
सरकारले २०१४ सालमा रेडियो ऐन जारी गर्यो । यो ऐन जारी गर्नुको घोषित उद्देश्य “नेपालमा रेडियो यन्त्र राख्ने, बनाउने र प्रयोग गर्ने कार्यहरुलाई नियन्त्रित र नियमित गरी शान्ति र व्यवस्था एवं सर्वसाधारण जीवनको सदाचार कायम राख्न” भनिएको थियो । यस ऐनले मूलत रेडियो ट्रान्समिटर, टेलिभिजन ट्रान्समिटर, रेडियो र टेलिभिजन रिसिभर, भिडियो मोनिटर जस्ता रेडियो यन्त्रहरु इजाजत नलिइ राख्न, बनाउन र प्रयोग गर्न नपाउने व्यवस्था गर्यो । इजाजत नलिइ कसैले रेडियो यन्त्र राखे, बनाए वा प्रयोग गरेमा सामान जफत गरी विगो बमोजिम जरिवाना गर्ने प्रावधान समेत राख्यो । यस ऐनको मूल आशय नेपालमा रेडियो प्रविधि र यसको प्रयोगलाई प्रश्रय गर्नेभन्दा पनि निरुत्साहित र नियन्त्रित गर्नु थियो । जसको अर्थ शासकहरुका लागि रेडियोको प्रशारण लोकाचारका लागि थियो, रेडियो प्रविधिको विकास र विस्तारमा क्रियाशील भएर देशलाई सक्षम बनाउनु थिएन । यसले नेपाली शासकहरुको नियत प्रविधिको प्रयोग गरी देश र जनताको जीवनलाई सहज बनाउने नभइ केवल सत्ताको स्वार्थपूर्तिको साधनका रूपमा मात्र रेडियो प्रविधिलाई स्वीकार गर्दै रेडियो नेपालको आधिपत्य कायम गर्नु थियो भन्नुपर्ने हुन्छ ।
यस अवधिमा राजनीतिक रूपले देश निकै अस्थिर थियो । सरकारहरु परिवर्तन भइरहन्थ्ये । २०१५ सालमा भएको निर्वाचन पछि विपी कोइराला प्रधानमन्त्री बने । यी सबै सरकारहरूको ध्यान रेडियो नेपालसम्म पुग्नै सकेन । सरकारको प्राथमिकतामा नपरेपनि यस अवधिमा प्रशासन तथा कार्यक्रमको प्रभावकारी व्यवस्थापनका पनि केही प्रयासहरु भए (शाह, २०४५; श्रेष्ठ, २०५६) । रेडियो नेपालका रेकर्डहरु केलाउँदा २०१५ सालमा एक सयजना कर्मचारी तथा प्रशारकलाई स्थायी नियुक्ति दिइएको पाइन्छ । प्रशारणको सुरुवातदेखि नै रेडियो नेपालका कार्यक्रममा विविधता थियो । समाचारदेखि, साहित्यिक, धार्मिक, सांगीतिक, नाटक/रुपक, संवाद जस्ता कार्यक्रमहरू प्रशारण हुन्थ्ये । २०१९ सालदेखि जिल्ला समाचार प्रशारण गर्न थालियो ।
२०१० को दशकमा रेडियो नेपालभित्र केही आशालाग्दा प्रगतिहरु भए । यस अवधिको सबभन्दा ठूलो उपलब्धि भनेको एमेचुअर प्रविधिबाट सुरु भएको रेडियो प्रशारणले ठूलो व्यावसायिक फड्को मार्नु हो । यस अवधिमा प्रशारण समय पनि क्रमशः बढ्दै गयो । २०१८ सालमा अष्ट्रेलियन सहायताबाट पाँच किलोवाटको ‘एडब्लुए’ सर्टवेभ ट्रान्समिटर प्राप्त भइ जावलाखेल प्रशारण केन्द्रमै जडान गरियो (अधिकारी, २०५४; शाह, २०५४; सिवाकोटी, २०५६; श्रेष्ठ, २०५६; धाख्वा, २०५६) । यसका साथै अष्ट्रेलियन सहयोगमा स्कली स्पुल टेप रेकर्डरसहित केही स्टुडियो उपकरण र आउट डोर ब्रोडकाष्ट उपकरणसहितको एउटा ब्रोडकाष्ट भ्यान उपलब्ध भयो । २०१८ सालपछि रेडियो नेपालको आफ्नै स्टुडियोमा अडियो तथा गीत रेकर्ड गर्ने र विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमहरुको प्रत्यक्ष प्रशारण गर्ने क्षमता विकास भयो । गीतसंगीत प्रवद्र्धन गर्न २०१८ सालमा रत्न रेकर्डिङ ट्रष्टको स्थापना भएपछि नेपालमा गीत रेकर्डको प्रयासलाई थप अघि बढाइयो । २०१९ सालमा रेडियो नेपालले छ दिने राष्ट्रिय संगीत सम्मेलनको आयोजना गर्यो । तीन दिन शास्त्रीय संगीत र तीन दिन आधुनिक गीतको यस प्रतियोगीतामा शास्त्रीय संगीत तर्फ चेतनाथ शर्मा पहिलो भए र आधुनिक गीत तर्फ गंगा मास्के पहिलो भए (जोशी, २०८१) । २०१० सालमा सुरु भएको “कोलम्बो प्लान” भित्र रेडियो नेपाल पनि पर्यो । कोलम्बो प्लान सुरु भएको एकवर्ष भित्रै रेडियो नेपालका कर्मचारीलाई तालिमको अवसर प्राप्त भयो । केही कर्मचारीहरुले अल इन्डिया रेडियोमा गएर छ महिनाको तालिम लिए (अधिकारी, २०६१) ।
गृह मन्त्रालयको प्रचार विभाग अन्तर्गत एक छुट्टै विभागका रूपमा रेडियो नेपाल सञ्चालित थियो र स्टेसन प्रमुखका रूपमा डाइरेक्टर रहन्थ्ये । तर २०१५ सालदेखि २०१८ सालसम्म रेडियो नेपालको प्रमुखमा प्रचार प्रशार विभागका निर्देशक नै रेडियो नेपालका प्रमुख रहने व्यवस्था गरियो (सञ्चार आयोग, २०२८; शाह, २०५४) । कुनै कानुनी तथा नीतिगत व्यवस्था थिएन । सामान्य कर्मचारीतन्त्रकै नियमकानुन भित्र रहेर रेडियो नेपाल सञ्चालित थियो । सरकारहरु अस्थिर थिए, त्यस अवधिमा रेडियो नेपालले सरकारहरुबाट पाएको सहयोग भनेकै रेडियो नेपालको अस्तित्वमाथि सङ्कट सिर्जना नगरिदिनु थियो । अर्को शब्दमाभन्दा रेडियो नेपाललाई कुनै सरकारले पनि बन्द गर्ने प्रयास चाहिँ गरेनन् ।