नेपालमा रेडियो प्रशारणको इतिहास : रोमाञ्चकतादेखि रूपान्तरणसम्म–२
प्रशारण पुनरुत्थान काल
२००७ साल फागुन ७ गते राणा शासनको अन्त्यसँगै नेपालमा नयाँ राजनीतिक युगको सुरुवात भयो । मोहनशमशेरको नेतृत्वमा बनेको अन्तरिम सरकारमा राणाहरुबाट पाँच जना र नेपाली कांग्रेसबाट पाँच जना रहने गरी १० सदस्यीय मन्त्रिमण्डल बन्यो । नेपाली कांग्रेसका नेता तथा क्रान्तिका कमाण्डर विपी कोइराला यस सरकारमा गृहमन्त्री बने । क्रान्तिका समयमा रेडियो प्रयोग गरेको जोशसहित राजनीतिक परिवर्तनको संदेश प्रवाह गर्न गृह मन्त्रालय, प्रचार विभाग अन्तर्गत रेडियो प्रशारण सुरु गर्ने तयारी भयो । गृहमन्त्री विपी कोइरालाले नै तारिणी प्रसाद कोइराला र बालकृष्ण समबीच परिचय गराइदिए । एक महिनाभित्र प्रशारण थाल्नु पर्ने विपीकै निर्देशन (कोइराला, २०१६) अनुसार रेडियो प्रशारणको सुरुवात गर्न तारिणी प्रसाद कोइरालाको सक्रियातामा काठमाडौं पाकोस्थित ऋद्धिबहादुर मल्लको छापाखाना भएको घरमा बालकृष्ण सम, कृष्ण मुरारी शर्मा, समरबहादुर मल्ल, हिक्मत बहादुर मल्ल, सिद्धिचरण श्रेष्ठ, श्यामदास बैष्णव, भवानी भिक्षु र रश्मि राज्यलक्ष्मी लगायतको पहिलो बैठक बस्यो (भट्टराई, २०५७; अधिकारी, २०६१) ।
पहिलो वैठक बसेको केही दिनभित्रै ज्ञानेश्वर स्थित बालकृष्ण समको घरमा अर्को बैठक बस्यो (भट्टराई, २०५७) । यसरी बालकृष्ण समको प्रबन्ध र तारिणी प्रसाद कोइरालाको तत्परतामा (बैष्णव, २०५८; बैष्णव, २०५९) रेडियो प्रशारणको अलग्गै संरचना र प्रशारण केन्द्रको परिकल्पना सहित २००७ चैत २० गते सिंहदरवारमा नेपाल रेडियोको स्थापना भयो (देवकोटा, २०५९) । सुरुका दिनमा गृह मन्त्रालय, प्रचार विभाग मातहत रेडियो नेपाल थियो । प्रचार विभागको डाइरेक्टर बालकृष्ण सम र रेडियोका डाइरेक्टर तारिणी प्रसाद कोइराला थिए (झङ्कार वर्ष १, अङ्क १; रेग्मी, २०४९; श्रेष्ठ, २०५६) । नेपालमा अवनतितर्फ गइसकेको प्रशारण इतिहासलाई फेरि अपरिपक्व/गैरव्यवसायिक (एमेचर) प्रविधिकै प्रयोग गरेर भएपनि उठान गरिएको हुँदा २००७ सालदेखि २०१२ सालसम्मको रेडियो इतिहासलाई प्रशारण पुनरुत्थान काल भन्न सकिन्छ ।
नेपाल रेडियोको प्रशारण प्रविधिका सम्बन्धमा लेखकहरुले फरकफरक धारणा राखेको पाइन्छ । गृष्मबहादुर देवकोटा (२०५९) ले “प्रशारणका लागि ट्रान्समिटर बी.सी. ६१ यू.एस. कर्प र यसको पावर आउटपुट २५० वाट थियो” (पृ. १८०) भनेको छन् । अधिकारी (२०६१) ले मित्रसेन दाहाल र अरुणकुमार झा (२०४९) लाई उद्धृत गर्दै सिंहदरवारभित्र रहेको आकाशवाणी सेटको २५० वाट क्षमता भएको बी.सी. ६१० यू.एस. कर्प नाम गरेको सर्टवेभ ट्रान्समिटर पहिलो थियो भनेका छन् । तर मोहन आकाशवाणीको काठमाडौं–दिल्ली सम्पर्क गर्न प्रयोग गर्ने गरिएको (अधिकारी, २०५४; शिवाकोटी, २०५६; श्रेष्ठ, २०५६) बी.सी.६१० ई सिकागो, टेलिफोन एण्ड रेडियो कम्पनी लिमिटेड (बम्वै, कलकत्ता, लखनउ, लाहोर, दिल्ली) ब्राण्ड भएको २५० वाटको सिङ्गल साइड व्याण्ड टेलिग्रम उपकरण (ट्रान्सरिसिभर) बाट नेपाल रेडियोको प्रशारण सुरु भयो । हाल यो ट्रान्समिटर विराटनगर स्थित सञ्चार ग्राममा “रेडियो नेपालको प्रथम ट्रान्समिटर” भनी राखिएको छ । यस रेडियो उपकरणलाई इलेकट्रोनिक प्रविधि हेर्ने बद्री प्रसाद ठाकुर र मेकानिकल प्रविधि हेर्ने भाजुरत्न बज्राचार्य तथा नरहरि राव पाध्येले ‘मोडिफाइ’ गरी रेडियो प्रशारणका लागि योग्य बनाएका थिए ।
सिहंदरवार स्थित चन्द्र शमशेरले आफ्ना छोराछोरीको शिक्षालयका रुपमा निर्माण गरेको बङ्गलाबाट प्रजातन्त्र नेपाल रेडियाले २००७ साल चैत २० गतेदेखि सर्टवेभको ४१ मिटर व्याण्डमा विहान आठ बजेदेखि नौ बजेसम्म र बेलुकी छ बजेदेखि सात बजेसम्म गरी दैनिक दुई घन्टा कार्यक्रम प्रशारण गर्न थाल्यो (गोरखापत्र, २००७ चैत २२ गते) । हरि श्रेष्ठ (२०५६) लेख्छन्– “२००७ साल चैत २० गते बिहन र बेलुका गरी एक एक घन्टाको कार्यक्रम प्रशारण गर्ने निर्णय गरियो । त्यही निर्याण अनुसार चैत २० गते तारिणी प्रसाद कोइरालाको अगुवाइमा बिहान बालकृष्ण सम, रश्मि राज्यलक्ष्मी, मुरारीकृष्ण शर्मा, हरिप्रसाद रिमाल, कृष्ण प्रसाद रिमाल, समरबहादुर मल्ल, हिक्मतबहादुर मल्ल, हरिबहादुर रञ्जितकार, जीवनाथ लोहनी र प्रतिमान परियार आदि त्यही बंगलामा भेला भए (पृ. ४) ।” २००७ साल फागुन ७ गतेपछि बन्न रहेको नेपाली प्रशारणको इतिहास पुनरुत्थान भयो । नेपाल रेडियोले प्रशारण भएको दश दिन भित्रै चारवटा भाषा नेपाली, हिन्दी, अंग्रेजी र नेवारीमा समाचार प्रशारण सुरु गर्यो ।
जनार्दन सम र श्यामदास बैष्णव प्रशारण तालिका बनाउने समेत कार्य गर्दथ्ये । नेपाल रेडियोमा पहिलो स्वर कस्को बज्यो भन्नेमा लेखकहरुवीच पनि मतएक्य छैन । केही लेखकहरु (थापा, २०५६; सुनुवार, २०५६; अधिकारी २०६१; श्रेष्ठ २०७९) ले तारिणी प्रसाद कोइरालाको स्वरमा “यो प्रजातन्त्र नेपाल रेडियो हो, अब समाचार सुन्नुहोस्” भन्ने वाक्यांश पहिलो उद्घोषण हो भनेका छन् भने हरि श्रेष्ठ (२०५६) ले प्रशारणमा पहिलो स्वर रश्मि राज्यलक्ष्मीको “यो प्रजातन्त्र नेपाल रेडियो हो” भन्ने उद्घोष लगत्तै तारिणी प्रसाद कोइरालाले एउटा बक्तव्य पढेका थिए भनेको छन् । बालकृष्ण समकी छोरी रश्मि राज्यलक्ष्मी नेपाल रेडियोको असिष्टेन्ट डाइरेक्टर थिइन । यस सन्दर्भमा नेपाल रेडियोको सुरुकालमै प्रशारणमा सम्लग्न हरि श्रेष्ठको भनाइलाई बढी आधिकारिक मान्नु पर्ने हुन्छ ।
त्यस बेला नेपाल रेडियो प्रशारण अवस्थाबारे कार्यक्रम उत्पादक श्यामदास बैष्णव (२०५९) लेख्छन्ः “टेविल वरिपरि सम्बन्धितहरु बस्थे र प्रशार कार्य गर्दथे । एउटै माईकलाई यत्ता उत्ता सारी काम चलाइन्थ्यो । रातो, पहेँलो, हरियो बत्ति कोठामा जडान गरी त्यसको इसारामा बोल्ने वा चुप लाग्ने गरिन्थ्यो । कार्यक्रम सुव्यवस्थित थिएन । आवश्यकता अनुसार उपस्थितहरूबाट काम चलाइन्थ्यो । …त्यस बखत रेडियोबाट प्रस्फुटित हुने आवाज पातलो र छर्छर गर्ने खालको हुन्थ्यो । प्रशारण कक्षमा ध्वनी व्यवस्था नभएकाले अहिले जस्तो गहकिलो गम्म परेको स्वर सुनिदैनथ्यो । … एउटा सानो (रेफ्रिजरेटर जस्तो) दराजतुल्य ट्रान्समिटर… घरिघरि विग्रन्थ्यो । त्यसलाई बद्री प्रसाद ठाकुरले तयार परिदिनु हुन्थ्यो र सञ्चारित हुन्थ्यो । (यी) क्रियाकलाप (लाई) एक जर्मन दर्शकले त खेलौना ट्रान्समिटर रहेछ भनेको पनि सुनियो” (पृ. ८) ।
स्थापना कालदेखि नै तत्कालीन नेपाल रेडियोमा कार्यरत उही गोविन्द बहादुर गुरुङ (२०५६) को सम्झनामा रहेको स्थापना कालको रेडियो नेपाल यस्तो थियो त्यसो त त्यसबेला म मात्र भोलेन्टियर कलाकारका रुपमा कार्यरत थिएँ । २००८ सालमा नियुक्ति पाएँ । त्यसताका रेडियो हर अवस्थाले दयनीय थियो । सुकुलमै बसेर माइक्रोफोनबाट गीत गाइन्थ्यो । रेडियोमा आजका जस्ता विकसित वाद्यवादन थिएनन् । उपयुक्त भवन कक्ष समेत थिएन । कर्मचारीलाई त के कलाकारलाई समेत कुनै राहत भत्ता, ओभर टाइम थिएन । घरको दाल, भात सकेर रेडियोमा ड्यूटी बुझउनु सरह थियो (पृ. ९) ।
हरि श्रेष्ठ (२०५६) त्यसबेलाको रेडियो प्रशारणको कथा धेरैको सोचाइभन्दा विल्कुल भिन्न रहेको बताउनु हुन्छ ः एउटा सानो प्रशारण कोठा, अनि गोजीमा अटाउन सक्ने एउटा माइक, त्यही रेडियो नेपाल हो ।… त्यो प्रशारण कोठाको दक्षिणतिर ठूलठूला सल्लाका रुखहरु थिए । झ्याल खोले काग कराएको आवाज आउने, झ्याल बन्द गरे अँध्यारो हुने । घरघरमा रहेका रेडियोमा कहिले काग कराएको आवाज, कहिले बच्चो रोएको आवाज, कहिले खित्खित् हाँसेको आवाज सुनिने, यही थियो त्यसबेलाको रेडियो नेपाल (पृ ७) ।
यस अवधिमा रेडियो नेपालमा रेकर्ड गर्ने प्रविधि थिएन । सबै कार्यक्रम प्रत्यक्ष प्रशारित हुन्थे (उपाध्याय, २०५६) । स्टुडियो थिएन, साउण्ड मिक्स्चर र रेकर्डिङ उपकरणहरु थिएनन् । माइकमा बोलेको कुरा सोझै ट्रान्समिटरमा जान्थ्यो । प्रशारक र प्राविधिक एउटै कोठामा बस्दथे । बाजागाजा बजाउने पनि त्यहीँ हुन्थ्यो (राणा, २०५१; गुरुङ, २०५६; बैष्णव, २०५९) । रेडियोमा काम गर्ने जनशक्ति आर्थिक रुपमा केही पाउँदैनथ्यो । श्यामदास बैष्णव (२०५९) सम्झन्छन्– “विभिन्न प्रतिभाहरुको सङ्गम भइ यो चलेको थियो । अनुभवभन्दा जाँगर र अठोटले नै यसलाई अघि बढाएको थियो । साधानभन्दा लगनशीलता नै यसको आधार बनेको थियो । रहरले नै शब्द र ध्वनीको लहर चलाएको भन्ने मान्न पर्छ– त्यसबेला ।” तर यति हुँदा हुँदै पनि कार्य सहजताका लागि नेपाल रेडियोले संरचनागत रुपमा कार्यक्रम शाखा, प्राविधिक शाखा, समाचार शाखा, प्रशासन शाखा जस्ता विभिन्न शाखाहरु छुट्याएको थियो । बेलाबेला रेडियो नेपालले आवश्यकता अनुसार केही प्रशारण उपकरणहरु सिभिल आकाशवाणी (मोहन आकाशवाणीको नाम परिवर्तन भएको) कै सेटहरु ल्याएर थपेको पाइन्छ (देवकोटा, २०५९) ।
प्रारम्भमा नेपाल रेडियो नामाकरण गरिएकोमा प्रशारणको करिव तीन महिनापछि २००८ साल असार १५ गते यसको नाममा परिमार्जन गरी रेडियो नेपाल कायम गरियो । २००८ साल असोजदेखि रेडियो नेपालको मुखपत्र झङ्कारको प्रकाशन सुरु भयो । राम्ररी बामे सर्न नसक्ने शिशुकालमै रेडियो नेपालले ठूलो राजनीतिक उथलपुथलको पनि सामना गर्नु पर्यो । नेपाली कांग्रेस भित्रको खट्पट् र खिचातानीले गर्दा २००८ सालको अन्त्यतिर अन्तरिम सरकार विघटन भयो । डाइरेक्टर तारिणी प्रसाद कोइराला पनि २००८ साल चैतमा रेडियो नेपालबाट बाहिरिए । देशमा चरम राजनीतिक अस्थिरता थियो, रेडियो नेपाल स्थापनाको पाँच वर्ष (२००७ देखि २०१२ साल) भित्र चारवटा सरकार परिवर्तन भएका थिए ।
सन् १९२० को दशकको सुरुवातबाटै अमेरिका र युरोपमा रेडियो प्रशारण सुरु भएको समयकै हाराहारीमा छिमेकी देश भारतमा इन्डियन ब्रोडकाष्टिङ कम्पनीले बम्बैबाट सन् २३ जुलाई १९२७ (वि.सं. १९८४) र श्रीलङ्कामा रेडियो सिलोङले कोलम्बोबाट १६ डिसेम्बर १९२५ ( वि.सं. १९८२) मा औपचारिक प्रशारण सुरु गरिसकेका थिए । अर्को छिमेकी देश चीनले सन् १९२२ (वि.सं. १९७९) मा नै साङ्घाइबाट अंग्रेजी भाषामा रेडियो प्रशारण सुरु गर्यो तर कोमिन्ताङ सरकारको सम्लग्नतामा चीनमा प्रशारणको सुरुवात भने सन् १९२७ मा भएको थियो । विश्वका धेरै राष्ट्रहरुले सूचना, शिक्षा र मनोरञ्जनको प्रभावकारी माध्यमका रुपमा रेडियो प्रशारणलाई अबलम्बन गरिसकेका थिए । विकसित मुलुक बेलायतको प्रशारण संस्था विविसीले त १९८८ साल (ई.सं. १९३१) देखि नै विश्वमै पहिलो पटक रेडियोको “अन्तर्राष्ट्रिय प्रशारण सेवा” सुरु गरिसकेको थियो । नेपालमा रेडियो प्रशारण थालनी भएका बखत त युरोप र अमेरिकामा टेलिभिजन प्रशारणको सुरुवात समेत भइसकेको थियो ।
यस कालखण्डमा आइपुग्दा पनि रेडियो नेपाल चाहिँ प्रशारण शुरु भएको करिव पाँच वर्ष, २०१२ सालसम्म सिङ्गल साइड व्याण्ड भएका एमेचुअर रेडियो उपकरणबाट नै प्रशारित हुँदै थियो । रेडियो स्टेशनका लागि चाहिने न्यूनतम प्राविधिक उपकरणहरू ‘प्रोफेसनल’ प्रशारण ट्रान्समिटर र साउण्ड मिक्स्चर थिएनन्, रेकर्डरहरू थिएनन्, प्लेयरहरु थिएनन्, स्टुडियो थिएन, साउण्ड एक्वेस्टिक थिएन, नाम मात्रका उपकरण थिए (शाह, २०४५; शाह, २०५४; गुरुङ, २०५६; बैष्णव, २०५९) । २००८ साल जेठतिर बालकृष्ण समले दम दिने एउटा पुरानो ग्रामोफोन रेडियो स्टेशनमा लगेपछि माइक्रोफोनका अगाडि त्यही ग्रामोफोनबाट हिन्दी गीत बजाएर प्रशारण गर्न थालेको पाइन्छ । समाचार लेख्न कागज घरबाट लैजानु पर्दथ्यो । जनशक्तिको निश्चित व्यवस्था थिएन, सबै तदर्थ थियो । समग्रमा भन्दा रेडियो नेपालभित्र सामान्य प्रशारण संस्थाका लागि चाहिने न्यूनतम वैज्ञानिक आधार पनि थिएन (शाह, २०५४; श्रेष्ठ, २०५६; बैष्णव, २०५९), प्रशासनिक प्रबन्ध कच्चा थियो, कानुनी व्यवस्था थिएन, आर्थिक बन्दोवस्त थिएन, अनुभव र सीप थिएन ।
यति हुँदाहुँदै पनि नेपालको राजनीतिक चेतना, आर्थिक स्तर, सामाजिक अवस्था र प्राविधिक क्षमता हेर्दा रेडियो नेपाल सुरुवात गर्ने त्यो दुस्साहस स्वागतयोग्य, कदरयोग्य, प्रसंशनीय, अभिनन्दनीय र वन्दनीय थियो । सञ्चालकहरुमा दृढ इच्छाशक्ति र बलियो आत्मबल थियो, जोश र जाँगर थियो । जनचासो व्यापक थियो। रेडियो नेपाल स्थापनाको सुरुका वर्षहरूमा सालाखाला ८४ लाख ३० हजार कुल जनसंख्या (तथ्याङ्क विभाग, २०१२) मध्ये लगभग ९८ प्रतिशत निरक्षर जनता, कमजोर आयस्रोत, भौगोलिक रूपले विकट र आधुनिक यातायातका साधनले प्रवेशै नपाएको मुलुकका लागि निर्विकल्प सञ्चार तथा जागरण माध्यम रेडियो नै थियो । यस अवधिमै रेडियो नेपाल आम दृष्टिकोणमा चित्रित हुने रहस्यमयी र जादुमयी भाडोबाट व्यक्तिव्यक्तिको दैनिक आवश्यकतामा रुपान्तरित हुन लागिसकेको थियो । समग्रमा भन्दा, रेडियो नेपालको स्थापना समयको पहिलो आह्वान थियो । तसर्थ, रेडियो नेपालले प्राविधिक, वस्तुगत, सामाजिक तथा आर्थिक यर्थाथका यावत् प्रतिकूलताहरू वीचमा पनि रेडियो प्रशारणको आवश्यकता र औचित्य पुष्टि गर्न सफल भएको थियो । विदेशी मित्रराष्ट्रको ध्यान खिच्न सफल थियो, शासकहरुका लागि पनि रोमाञ्चकतासहित विश्वसामु आधुनिक बन्ने सहारा थियो । आम मानिसमा आशा र सम्भावनाको नयाँ उदय गराएको थियो। यसरी नेपाली रेडियो प्रशारणको इतिहासमा रेडियो नेपाल ऐतिहासिक कोशेढुङ्गा बनेर खडा भयो ।