सामुदायिक क्याम्पसमा पत्रकारिता शिक्षाको अध्ययन र अध्यापनमा देखिएका समस्या र चुनौतीहरु
समुदायले समुदायकै लागि सञ्चालनमा ल्याएको शिक्षण संस्था नै सामुदायिक क्याम्पस हो । खास गरी न्यून आय भएका जनसाधारणका लागि सामुदायिक क्याम्पस सस्तोमा गुणस्तरीय शिक्षा आर्जन गर्ने उपयुक्त शैक्षिक स्थलो हो । तर आर्थिक, राजनैतिक,भौतिक,नीतिगतलगायतका चुनौतीहरु सामना गरेर पनि सामुदायिक क्याम्पसले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदानको पाटो भने कम उल्लेखनीय र प्रशंसनीय छैन ।
नेपालको जेठो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय हो, जसका ६० वटा आगिंक क्याम्पसहरु, दुईटा प्रतिष्ठान र एक हजार ५३ वटा सम्वन्धन प्राप्त क्याम्पसहरु रहका छन् । त्यसमा करिब छसय सामुदायिक क्याम्पसहरु रहेका छन् । त्रि.वि.बाट सम्बन्धन प्राप्त क्याम्पसको संख्या ठूलो भएर तिनीहरुको आफ्नै छुट्टै विश्वविद्यालय छैन ।
नेपालमा वि.सं २०३३ सालमा साउन १ गते त्रिभुवन विश्वविद्यालयको आगिंक क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसले प्रविणता प्रमाणपत्र तहमा पत्रकारिता अध्ययनअध्यापनको परिपाटी शुरु गरेपछि नेपालमा पत्रकारिता शिक्षाले औपचारिक रुपमा स्थान पाएको हो । त्रिविवि अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमै स्नातक र स्नातकोत्तर पढाई गर्ने परिपाटी थालनी भएको देखिन्छ । सन्दर्भ सामुदायिक क्याम्पसको भएकाले अन्य शिक्षण संस्थाको बारेमा यहाँ अध्ययन गरिएको छैन ।
त्रिभुवन विश्वविद्यालयवाट सम्बन्धन प्राप्त मदन भण्डारी मेमोरियल कलेजले वि.सं २०६१ सालवाट उच्च शिक्षा (स्नातक) तहमा पत्रकारिता तथा आमसञ्चार शिक्षा अध्यापन गर्न थालेपछि उपत्यकामा अन्य सामुदायिक क्याम्पसमा पनि यस विषयमा अध्ययन अध्यापन शुरु भएको बताइन्छ । यसअघि काठमाडौं बाहिर स्नातक तहमा पत्रकारिता तथा आमसञ्चार शिक्षाकै प्रवद्र्धन गर्ने प्रयास स्वरुप मकवानपुर बहुमुखी क्याम्पस, हेटौडाले पत्रकारिता विषयका सहप्राध्यापक लालध्वज देउसा राईलाई आमन्त्रण गरी पत्रकारिता तथा आमसञ्चारमा नैतिकताको प्रश्न नामको कार्यपत्र प्रस्तुत गरेको थियो । त्रिविवाट सम्बन्धन लिएर सञ्चालन भएका थोरै कलेजहरुमध्ये पिपल्स क्याम्पस (पहिले निजी र पछि ट्रस्टबाट सञ्चालित) मा पत्रकारिता अध्यापन शुरु गरिएको पाइन्छ ।
अहिले मुलुकभरी करिब एक सय क्याम्पसहरुमा पत्रकारिता तथा आमसञ्चार विषयको पठनपाठन हुन्छ भने काठमाडौं उपत्यकामा मात्र ६० वटाभन्दा बढी क्याम्पसहरुमा पत्रकारिता तथा आमसञ्चार शिक्षाको अध्ययन अध्यापन हुने गरेको पाइन्छ । कुन सामुदायिक क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन अध्यापन पहिलो पटक शुरु गरियो भन्ने अभिलेख नभेटिएकाले यो विषय थप खोजको विषय रहेको छ ।
प्रस्तुत लेख काठमाडौं उपत्यकामा रहेका सामुदायिक क्याम्पस त्यो पनि पत्रकारिता तथा आमसञ्चार विषय पढाई हुने पत्रकारिता तथा आमसञ्चार शिक्षाको अध्ययन अध्यापनमा देखिएका समस्याहरु, सामना गर्नुपरेका चुनौतीहरु र समाधानका उपायहरुका बारेमा केन्द्रित छ ।
सीमित पूर्वाधार, शिक्षण सामग्रीकोे अभाव, मिडिया ल्याव र प्रयोगात्मक स्टुडियोको कमी, मिडिया हाउसहरुसँग समन्वय नहुनु, पाठ्यक्रम अद्यावधिक नहुृनु, भर्ना हुने तर कक्षा छोड्ने (ड्रप आउट) क्रम बढ्दो, दक्ष फ्याकल्टीको अभाव, इन्टर्नसीप व्यबस्थित हुन नसक्नु, क्याम्पस र मिडिया उद्योगबीच समन्वय र सहकार्यको अभाव, सामुदायिक क्याम्पसको आफ्नो विश्वविद्यालय नहुनु लगायतका समस्याहरुले गर्दा सामुदायिक क्याम्पसहरुमा पत्रकारिता तथा आमसञ्चार शिक्षाले उचित गति लिन नसकेको देखिन्छ ।
सामुदायिक क्याम्पस पशुपति बहुमृखी क्याम्पस चाबहिलमा पत्रकारिता तथा आमसञ्चार विषय अध्यापनरत नवराज चालिसे भने मिडिया ल्यावका लागि आफ्नो क्याम्पस पनि जागरुक भएर लागेको बताउनुहुन्छ । तर फिल्ड स्टडी कम हुने गरेको, प्रयोगात्मक अभ्यासका लागि स्तरीय ल्याब नभएको, कम्प्युटर सीमित संख्यामा भएको, स्मार्ट बोर्ड र डिजिटल प्रविधि प्रयोग नभएकाले अब क्याम्पसले आफ्नो शैक्षिक रणनीति पनि बदल्दै जानुपर्दछ । बजारमुखी वातावरण दिन नसकिए विद्यार्थी संख्या अझ घट्न सक्छ’ उहाँ बताउनु हुन्छ । आफू सम्लग्न कलेजले शिक्षकलाई भने आर्कषक तलब सुविधा दिएको अध्यापक चालिसेको दाबी छ । कलेजको आफ्नो मिडिया नभएकाले इच्छुक विद्यार्थीहरुलाई इन्टर्नसीपमा पठाउने व्यबस्था गरेको र बेला–बेलामा अतिथिका रुपमा अनुभवी पत्रकारहरुलाई आमन्त्रण गर्ने गरेको तथा पत्रपत्रिका, रेडियो र टेलिभिजन संस्थासँग समन्वय गरी व्यबहारिक ज्ञान प्रदान गरिरहेको चालिसे जानकारी दिनुहुन्छ ।
विश्वविद्यालयले शिक्षकहरुलाई समय समयमा अभिमुखीकरण तालिम, शिक्षण–सिकाई पद्धति, कार्यशाला र सेमिनार भने गराएको पाइदैन । अहिलेसम्म पुरानै ढर्राको शैली अर्थात् प्रबचन विधिवाट मात्र शिक्षण गर्नेे गरेकाले शिक्षण नयाँ नयाँ पद्धति र सूचना प्रविधिको अवलम्बन गर्नुको विकल्प नरहेको देखिन्छ । वजारमा बिक्री हुने जनशक्ति उत्पादन गर्नुपर्ने, पत्रकारिताका स्नातकहरुलाई प्रवक्ता, सूचना अधिकारी, जनसम्र्पक अधिकृत लगायतका शीर्षक रोजगारी दिन तथा नीतिनिर्माणमा पनि सलग्न गराउने परिपाटीको विकास गर्न आवश्यक रहेको सञ्चारविज्ञ समेत रहेका चालिसको तर्क छ ।
सामुदायिक क्याम्पस हेरी भौतिक पूर्वाधार र पठनपाठनको स्थिति पनि फरक देखिन्छ । गणेशमान बहुमुखी क्याम्पसका अध्यापक सुदीप रैल भने आफ्नो क्याम्पसमा मिडिया ल्याव नभएको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ –मैले पढाउने कलेजमा मिनि समाचार कक्ष वा स्टूडियो अनिवार्य हुुनु पर्ने हो तर यहाँ उपलब्ध छैन । यसो हुनु निक्कै दुखको विषय हो । कलेजमा एउटा स्मार्ट बोर्ड भएपनि त्यसलाई पत्रकारिता शिक्षकले प्रयोग गर्ने अबस्था नभएको अध्यापक रैला बताउनुहुन्छ ।
“क्युएए” प्राप्त गरेकै भएपनि सामुदायिक क्याम्पसहरुको भौतिक अवस्था फरकफरक छ । क्याम्पसको आफ्नै रेडियो ल्याव, अनलाइन पत्रिका रहेको र इच्छुक विद्यार्थीलाई इन्टर्नसीपको व्यबस्था मिलाएको जनमैत्री क्याम्पस, कुलेश्वरका पत्रकारिता तथा आमसञ्चार विषयका सहायक प्राध्यापक हिम विष्ट जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – “हामीले पत्रकारिताकै करिएर बनाउन चाहने विद्यार्थीलाई इन्र्टनसीपमा पठाएका छौं र कतिपय त त्यहीँ काम गर्न थालेको हाम्रो अनुभव छ । कक्षा कोठा र समाचार कक्षलाई जोड्न पर्ने सामुदायिक क्याम्पसमा कार्यतर अधिकांश अध्यापकको अनुभव छ ।
सामुदायिक क्याम्पसमा विद्यार्थी सहभागिता निक्कै कम हुँदै गएको, हरेक ठूलो संख्यामा विद्यार्थी विदेशिनुले त्यसको प्रभाव सामुदायिक क्याम्पसमा पनि पारेको पाइन्छ । त्यसो त यस्ता क्याम्पसहरुले आमसञ्चार विषय अध्ययन गर्ने संख्या सार्वजनिक गर्न चाहदैनन् ।
उपत्यकामा मात्र होइन, उपत्यका बाहिरका सामुदायिक क्याम्पसको अवस्था पनि मिल्दोजुल्दो नै छ । गुणस्तर सुनिश्चितता एवं प्रत्यापन (प्रमाणीकरण) क्युएए प्राप्त गरेको काभ्रे बहुमुखी क्याम्पस वनेपामा पत्रकारिता तथा आमसञ्चार विषय अध्यापनरत शैलेन्द्र शर्माको अनुभव उस्तै छ । उहाँ भन्नुहुन्छ– त्रिभुवन विश्वविद्यालयले पाठ्यक्रममा प्रयोगात्मक अभ्यास राखेको छ तर फिल्ड वर्क राखेको छैन । यतिहुँदा हुँदै आफू भने यस विषयका विद्यार्थीहरुलाई शैक्षिक सत्रको एक पटक अध्ययन भ्रमण (एक्सर्कसन) मा लैजाने बताउनुहुन्छ । अझ काभे्र क्याम्पसले स्थानीय पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनसँग समन्वय गरेर इन्र्टनसीप र काममा पनि लगाएको दाबी गर्नुहुन्छ । हामीले पत्रकारिता शिक्षाको महत्व बुझाउन नसकेर हो वा व्यवस्थापनमा बस्नेहरु र सरकारको नीति नभएर हो यसको आर्कषण घट्दै गइरहेको उपप्राध्यापक शर्माको कथन छ ।
भौतिक सुविधा सम्पन्न भवन, वाचनकक्ष, विद्युतीय पुस्तकालय, कम्प्युटर कक्ष भएपनि विद्यार्थी भर्ना नै कम, शैक्षिक सत्रको वीचमै कक्षा छोड्ने र विदेश जानका लागि दुतावास धाउने प्रवृृत्ति बढी रहेको शर्माको टिप्पणी छ । आर्थिक स्तर कम भएका वा क्रय शक्ति नभएका वर्गका मानिसहरु मात्र सामुदायिक क्याम्पसमा अध्ययन गर्न आउने भएकाले र मन्दीको प्रत्यक्ष असर शिक्षामा पनि परेकोले आँउदा दिनमा सामुदायिक क्याम्पसको अवस्था अझै नाजुक बन्ने उनको टिप्पणी छ ।
कतिपय सामुदायिक क्याम्पसहरुले विद्यार्थीलाई ‘प्राक्टीकल’का नाममा कुनै शीर्षक दिएर विद्यार्थीलाई गृहकार्य दिए झै गर्ने गरेको पाइन्छ र त्यसैका आधारमा नम्वर चढाउने गरेको पाइन्छ । सम्बन्धित शिक्षक भन्दा पनि कलेज प्रशासनबाटै मूल्याङ्कनको काम हुने गरेको कतिपय अध्यापकको भनाई छ । धेरैजसो सामुदायिक क्याम्पसको पु्स्तकालय (लाइब्रेरी) भए पनि पर्याप्त विषयगत पुस्तक उपलब्ध भएको पाईदैन । क्यामेरा प्रविधिको ज्ञान भएको, इन्टरनेट तथा कम्प्युटरको सही प्रयोग गर्न सक्ने, भाषामा दखल भएको, बहुविषयको ज्ञान, फोटोसप एनिमेशन तथा सम्पादनको ज्ञान भएको, सवारी साधन चलाउन सक्ने जनशक्तिको माग मिडिया हाउसमा रहेपनि क्याम्पसले त्यस्तो जनशक्ति उत्पादन गर्न सकेको नसकेको अध्यापकहरु गुनासो गर्नुु हुन्छ । कतिपय सामुदायिक क्याम्पस राजनीतिक प्रशिक्षण स्थल जस्तो बनेकोले विषयवस्तु राम्रो भए पनि दल निकट नभएका लागि उसलाई टिक्ने गाह्यो पर्ने उहाँको धारणा छ । कलेजमा भर्नादरमा देखिए पनि कक्षामा भौतिक रुपमा उपस्थित हुनेको संख्या न्यून छ । पहिलेको तुलनामा पत्रकारिता पढ्नेको संख्यामा कमी आएको छ ।
शिक्षकहरुले आर्कषक तलब सुविधा नपाएको र शिक्षकलाई राम्रो पारिश्रमिकको व्यबस्था नभएकाले गर्दा पनि शिक्षकहरुमा अभिप्रेरणा कम भएको कतिपय अध्यापकको अनुभव छ । पत्रकारितामा उच्च शिक्षा हासिल गरेका वा अध्ययन गरेकाहरुलाई मिडिया हाउसहरुले आर्कषक तलबभत्ता वा रोजगारीको सुनिश्चित नगरेसम्म पत्रकारिता शिक्षामा विद्यार्थीहरुको आर्कषण नबढ्ने अध्यापक रैलाको तर्क छ । शिक्षालाई समाजको गतिशिलता बमोजिम लैजान नसक्नु, पाठ्यक्रममा अद्यावधिक परिवर्तन र परिमार्जन नहुनु,प्रयोगाग्मक पक्षलाई जोड नदिनु, बजारले मागेको र सजिलै दिन रोजगारी नसक्नुलाई अध्यापक रैला पत्रकारिता शिक्षाको कमजोरी ठान्नु हुन्छ ।
भरखरै क्युएए प्राप्त गरेको मदन भण्डारी मेमोरियल कलेज भने मिडियाल्याब, आफ्नै रेडियो स्टूडियो, इन्टरनेट सुविधा, मिडिया हाउसहरुको समन्वय, अनलाइन लाइब्रेरि, पुस्तकालयमा पर्याप्त विषयगत पुस्तक रहेको बताउँछ । प्रशासनले पत्रकारिता तथा आमसञ्चारका शिक्षक विद्यार्थीहरुका लागि निकै सहयोग गरेको तथा शिक्षण सामग्री पर्याप्त रहेको बताउनुहुन्छ, विभागीय प्रमुख यमबहादुर दुरा । विश्वविद्यालयले समयानुकुल पाठ्यक्रममा परिर्वतन गर्नुपर्ने तथा कलेजले नयाँ कार्यक्रमहरु ल्याएर आमसञ्चार शिक्षाको पठनपाठनको संस्थागत विकासमा सहयोग गर्ने योजना रहेको अध्यापक दुरा जानकारी दिनुहुन्छ ।
शैणक्षिक पद्धति विषय अनुुसार फरक हुन्छ । हरेक विषयका लागि आधिकारिक खालको र विषयको प्रकृति अनुसार शैक्षणिक पद्धतिको आवश्यकता पर्दछ । जे सिकाउने हो त्यही गराउने विभिन्न तरीकाहरु छन् । विद्यार्थीको दिमागमा के कुरा राख्न खोजेको, सीप सिकाउन, धारणा बुझाउन, सीर्जनशील बनाउन सोही अनुसार शैक्षिणक पद्धतिको अनुसरण गर्नुपर्दछ । त्रि.वि.वि. पाठ्यक्रम र मूल्याङ्कन विषयका सहप्राध्यापक किरणराम रञ्जितकार भन्नुहुन्छ– शैक्षणिक विधि विभिन्न छन् । कुनै आधिकारिक तालिमबाट जाने विधि छन् । केही अवधारणाको विकास गर्न अवधारणा सिकाउने पद्धति छन् । कुनै नयाँ कुरा सिकाउन खोजको हो भने नयाँ तरीका वा विधिबाट सिकाउनु पर्दछ । जस्तै भाषण गर्ने सीप सिकाउने भए बोल्ने तरिका सिकाउन, बोल्न दिनु तथा भाषा सिकाउनु पर्दछ । शिक्षण विधि कोही संज्ञान बढाउने खालका हुन्छन, कुनै सोचाई वा विचार प्रक्रियामा जोड दिने, नयाँ सिद्धान्त ल्याउने आदि खालका हुन्छन् ।’
“उच्च शिक्षाका हकमा पेन्टिङ्, फाइन आर्टमा परफम गर्ने गराउने र गर्न लगाउने गरिन्छ । यस्तै लेख्ने, बोल्ने शब्दको सही प्रयोग र प्रभावशाली प्रस्तुति पत्रकारितामा अनिवार्य हुन्छ” सहप्रध्यापक रञ्जिकार थप्नु हुन्छ । पत्रकारितामा समूह छलफल, सीप विकास, सेमिनार, प्रवचन, फिल्ड भिजिट, प्रदर्शन लगायतका प्रशिाक्षार्थी सक्रिय बनाउने विधिहरु प्रयोग गर्न सकिन्छ तर सामुदायिक क्याम्पसहरुमा पत्रकारिता तथा आमसञ्चार विषय अध्यापन गर्नेले प्रभाबकारी शैक्षणिक विधिहरु अपनाइएको पाइदैन किनकी सबै शिक्षकहरुले शैक्षणिक विधिहरुबारे सामन्य ज्ञान नभएको पनि हुन सक्छ । उनीहरुलाई शैक्षणिक विधिहरुका बारेमा अभिमुखीकरण र समय समयमा तालिम पनि दिन आवश्यक हुन्छ भन्ने राय सहप्राध्यापक रञ्जितकारको छ ।
यता सञ्चारशील शिक्षणशास्त्रका अनुसन्धाता÷ सञ्चारविज्ञ डा. रघु मैनाली भने हामी कहाँ शिक्षक र विद्यार्थीवीच अन्तक्र्रिया वा संवादमार्फत् ज्ञानको बारेमा साझा बुझाई निर्माण गर्ने कार्य कमजोर रहेको धारणा व्यक्त गर्नुहुन्छ । उहाँ अघि भन्नुहुन्छ– यस अवस्थाले सिकाई स्थानान्तरण हुन सकेन । अर्थात् एउटा सन्दर्भमा सिकेको ज्ञान सन्दर्भ फेरिने वित्तिकै अभ्यासमा ल्याउन नसकिने अवस्था बन्यो । हामीले कक्षाकोठामा विद्यार्थीलाई दाउन वा आदत पार्न मात्र खोज्यौं, बुझाई निर्माण गर्ने कार्यमा चुक्यौं । बुझाई निर्माणका लागि पुरानो ज्ञानलाई विद्यार्थीमा आवश्यकता हेरी हस्तान्तरण पनि गर्नु पर्छ, त्यो ज्ञानलाई सन्दर्भमा ढाल्नु पनि पर्दछ, सिर्जनात्मक रुपमा त्यसलाई विस्तार गर्न सक्नु पनि पर्दछ र त्यसलाई बहुआयामिक ढङ्गले ‘आलोचनात्मक’ विश्लेषण समेत गर्नु सक्नुपर्दछ ।’ उहाँका अनुसार कक्षाकोठा सञ्चारशील बनाउन सकिएमा मात्र सिकाई कार्य प्रभावकारी हुन्छ । हामीकहाँ ज्ञान हस्तान्तरण गर्ने कार्य प्रभाबकारी भएन किनकी अधिकांश शिक्षकहरु पूर्व निर्धारित ज्ञान प्रवाह गर्नमै उद्यत छन । मैनाली भन्नुहुन्छ– “कक्षाकोठा सञ्चारशील भए मात्र सिकाई प्रभावकारी हुन्छ । ज्ञान बनिबनाउ वस्तु र विद्यार्थी सिकाइने वस्तु होइन । जान्नु कर्ताहरुबीचको कार्य हो । तसर्थ कक्षाकोठामा शिक्षक र विद्यार्थी सह–कर्ताका प्रस्तुत हुन सक्नुपर्दछ ।”
सामुदायिक क्याम्पसहरुको आफ्नो विश्वविद्यालय छैन । त्रिविकै निगरानीमा रहेर र उसकै पाठ्यक्रम पठनपाठन गर्ने भएकाले त्रिविकै अनुशासन र घेराबाट बाहिरिन सामुदायिक क्याम्पस सक्दैनन् । त्रि.वि.मा झैं राजनीतिक स्वार्थ र खिचातानीका कारण बेला बेलामा बन्द र हड्तालको मारबाट सामुदायिक क्याम्पस पनि अछुतो रहँदैन । राजनीतिक दल तथा भातृसंगठनको प्रभावका कारण शैक्षिक वातावरण धुमिल हुने भएकाले सामुदायिक क्याम्पसलाई राजनीति मुक्त बनाउने पहल गरिनुपर्दछ ।
सामुदायिक क्याम्पसका अध्यापकहरुको पेशागत सुरक्षाको कुनै ग्यारेन्टी छैन । यस सम्बन्धमा उपत्यकाकै एक सामुदायिक क्याम्पसका अध्यापकले भने – हाम्रो रोजगारी सुनिश्चता छैन । विद्यार्थी नै न्यून भएकाले प्रशासनले प्याकेजमा पढाउन निर्देशन दिएको र नत्र व्यवस्थापन संकायमा गाँभ्ने दबाब दिएको तथा अनेत्रै जागीर खोज्न समेत अनुरोध गरिएको छ ।’ कतिपयले आशिंक शिक्षक मानी न्यून तलब दिने तथा कतिले दरबन्दी नै कटौती गरेको अध्यापकहरुको गुनासो छ ।
सामुदायिक क्याम्पसको ब्यबस्थापनमा राजनीति हाबी हुने पाइन्छ । सामुदायिक क्याम्पसमा सामुदायका सबै खालका वर्गका मानिसहरुको प्रतिनिधित्व नरहेको र कतिले क्याम्पस सभा नै नगरेको अवस्था छ । त्यसो त कतिपय सामुदायिक क्याम्पसहरु त बन्द हुने अवस्थामा पनि पुगिसकेको पाइन्छ ।
सम्बन्धित सामुदायिक क्याम्पसले मिडिया हाउसहरुसँग राम्रो समन्वय गर्नुपर्ने, दक्ष शिक्षकको व्यवस्था गर्नुपर्ने, राजनीतिक दबदबा कम गर्नुपर्ने, सम्बन्धित कलेलको आफ्नै साप्ताहिक वा मासिक पत्रिका प्रकाशन गर्ने व्यबस्था मिलाउनुपर्ने, विभिन्न खालका क्यामेराहरु, रेर्कडर, माइकहरु, कम्प्युटर, मिक्चरको व्यबस्था, कलेजको व्यवस्थित पुस्तकालय हुनुपर्ने, अतिथि प्राध्यापकहरु र चर्चित, अनुभवी मिडियाकर्मीलाई बेला बेलामा आमन्त्रण गरी अनुभव साझेदारी गर्न लगाउने, पत्रकारिताका विभिन्न लेखनीहरु जस्तै समाचार फिचर, लेख आदि लेखनीबारे अभ्यास गराउने र विद्यार्थीहरुले तयार पारेको सामग्री प्रकाशन प्रसारणको व्यवस्था गर्न सके सामुदायिक क्याम्पसमा पत्रकारिता शिक्षाको आर्कषण बढ्ने अध्यापकहरु सुझाउनुहुन्छ ।
पाठ्यक्रमका सम्बन्धमा भने अधिकांश अध्यापकहरु सञ्चार प्रविधि र आयामहरुलाई ख्यालै नगरी पाठ्यक्रम तयार गरेको, पाठ्यपुस्तक अद्यावधिक नभएको एवं शिक्षकहरुमा अभिप्रेरणाको कमी भएको र क्याम्पसले आकर्षक तलब सुविधा नदिएको टिप्पणी गर्नुहुन्छ ।
“स्नातकतह पहिलो बर्षदेखि चौथो वर्षको पाठ्यक्रम विशिष्ट छैन र ओभर ल्याप भएको दाबी गर्नुहुन्छ सहायक प्राध्यापक हिम विष्ट । रेडियो ल्याव, कम्प्युटरल्याब, अनलाइन प्लेटफर्म र दक्ष शिक्षहरु भए पनि विद्यार्थी यस विषयमा आर्कषण घट्दै गएको पाइन्छ ।
पढाइलाई सीप जोड्न सके पढाइको सार्थकता रहने जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोला ओझा बताउँनुहुन्छ । पत्रकारिताको सीप रोजगारसँग जोड्न सक्नुपर्दछ । आफ्नो क्याम्पस पूर्वाधारमा अब्बल भएपनि यस विषयमा विद्यार्थीहरु कम रहेको उहाँ बताउनुहुन्छ । पत्रकारिता तथा आमसञ्चारका स्नातकहरुलाई सूचना अधिकारी, सूचनाविज्ञ, प्रवक्ताका रुपमा रोजगारी दिलाउने नीति बन्न सके उत्तम हुने थियो ।’
‘क्युएए’का लागि पहल गरिरहेका सामुदायिक क्याम्पसहरु पूर्वाधारको बढोत्तरीमा छन् । काठमाडौैको उत्तरी भेग (तारकेश्वर न.पा.) मा रहेको सामुदायिक क्याम्पस ग्रामीण आर्दशका क्याम्पस प्रमुख राजेन्द्रध्वज थापा भने पत्रकारिता तथा आमसञ्चार विषयका लागि सबै पूर्वाधार पुगेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– हामीसँग रेडियो पत्रकारिताको अभ्यासका लागि एउटा पुरानो र अहिले एउटा एड्भान्स ल्याब छ, स्मार्ट बोर्ड छ, कम्प्युटर ल्याब छ, सुविधाजनक कन्फरेन्स हल, इन्टरनेटको सुविधा छ, लाइब्रेरीमा पर्याप्त पुस्तकहरु छन्, ई–लाइब्रेरी छिटै सञ्चालनमा ल्याउँछौ ।’ क्याम्पस व्यवस्थापनले कुनै असहयोग गरेको छैन । पूर्वाधार सबै बनाइदिएको छ । तर कलेजमा राजनीतिले भने निक्कै प्रभाव पारेको छ” पत्रकार तथा पत्रकारिता विषयका अध्यापक श्रीराम पुडासैनी बताउँनुहुन्छ ।
पुडासैनी सामुदायिक क्याम्पसलाई समुदायको ढुक्ढुकी र स्पन्दनसँग जोड्न सकिएन भने कलेजको अर्थ नरहने धारणा व्यक्त गर्नुहुन्छ । युवाहरु विदेश पलायन हुने क्रम बढेकोले त्यसको प्रभाव सामुदायिक क्याम्पसमा परेर पनि विद्यार्थी संख्या कम भएको हो । डिजिटल प्रविधिको ज्ञान हुनुपर्ने, सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक अभ्यासलाई विशेष ध्यानमा राखेर पठनपाठन गर्नुपर्ने अध्यापक पुडासैनीको जोड दिनुहुन्छ । शिक्षकहरुलाई पनि समयानुकुल तालिम र अभिमुखीकरणको खाँचो छ उनीहरुलाई पनि प्रविधिमैत्री बनाउनुपर्दछ । बजारको माग अनुसार सामृुदायिक क्याम्पसहरुले जनशक्ति उत्पादन गर्न नसकेको उहाँको दाबी छ ।
प्रायः नेपालका मिडिया हाउसहरुले विद्यार्थीहरुलाई इन्र्टनसीपमा पूर्ण रुपमा लिएको पाइदैन र थोरै कलेजहरुले मात्र यसतर्फ ध्यान दिने गरेका छन् । तर पनि केही मिडिया हाउसहरुले भने विद्यार्थीहरुलाई केही पारिश्रमिक दिएर इन्टर्नसीपमा लगाएको पाइन्छ । निजी कलेजहरुको तुलनामा सामुदायिक कलेजहरुमा राजनीतिक प्रभाव बढी परेको बताउनुहुन्छ, पत्रकारिता तथा आमसञ्चार विषयका अध्यापक डा. मधुसुदन न्यौपाने । निजी कलेजहरुमा अयोग्य शिक्षकहरु स्वतः पाखा लाग्ने परिस्थिति हुन्छ किनकी त्यहाँ योग्य शिक्षकले मात्र काम पाउँछन् । नेपालका धेरै क्युएए नपाएका सामुदायिक क्याम्पसहरुमा शिक्षकहरु दक्ष र अनुभवी नहुन सक्छन, उहाँ थप्नु हुन्छ ।
नेपालका विश्वविद्यालयहरुका पाठ्यक्रम वास्तबमै पुर्नमूल्याङ्कन गर्नुपर्ने सुझाब दिदै भन्नुहुन्छ– विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा यहाँका विश्वविद्यालयले पाठ्क्रम परिमार्जन पार्नु आजको आवश्यकता हो ।’
नेपालका मिडिया हाउसहरुले योग्यभन्दा पनि सस्तो जनशक्ति माग गरिरहेको डा. न्यौपानेको दाबी छ । उहाँ भन्नुहुन्छ – यो नेपालको पत्रकारितामा गम्भीर समस्या हो । नेपालमा पत्रकारिता शिक्षालाई आर्कषक बनाउनका लागि सरकार, विश्वविद्यालय, सरकारी गैरसरकारी र निजी सञ्चार माध्यमले विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी गर्नु जरुरी छ । अबका विद्यार्थी अध्ययनका साथमा कामको पनि खोजीमा हुन्छन् । साथै कक्षाहरुलाई अनलाइन गर्न सकिएमा थप आर्कषण थप्नेछ’ उहाँ बताउनुहुन्छ ।
काठमाडौंमा भने पत्रकारिता तथा आमसञ्चार विषयका दक्ष, अनुभवी र विज्ञ शिक्षकद्धारा नै अध्ययन अध्यापन गराईएको पाइन्छ । तर कतिपय क्याम्पस शिक्षकहरुले पाउने पारिश्रमिक अपेक्षाकृत न्यून रहेको छ । “कतिपय क्याम्पस व्यबस्थापनले त विद्यार्थीहरुलाई प्रश्नावली दिएर शिक्षक र शिक्षण पद्धतिको मूल्याङ्कन र प्रतिक्रिया लिने गरेको समेत पाइन्छ । मिडियाले माग गर्ने जनशक्ति कलेजहरुले उत्पादन गर्न सकेका छैनन् । भाषामा राम्रो दखल भएको, डिजाइन जान्ने जनशक्ति माग हुन्छ त त्यस्तो जनशक्ति एकदमै कम छ ।’ एन.आर. बहुमुखी क्याम्पस नेपालटारका अध्यापक नारद गौतम बताउनुहुन्छ ।
धेरै जसो सामुदायिक क्याम्पसका शिक्षकहरुलाई प्राज्ञिक उन्नयनका लागि क्याम्पसले शैक्षिक तथा अनुसन्धानात्मक जर्नल, अनुसन्धान र कार्यशाला, अभिमुखीकरण, पुस्तक प्रकाशनजस्ता कार्यमा उत्प्रेरित नै गर्न नसकेको देखिन्छ । अध्ययन बिदा नदिने दिएमा पनि बेतलबी विदा दिनेलगायतका कारणहरुले गर्दा पनि अध्यापकहरु मर्कामा परेका हुन । अर्कातर्फ त्रिभुवन विश्वविद्यालयका शिक्षक÷प्राध्यापकहरुले सम्मानजनक व्यबहार नगर्ने, त्रिविले सामुदायिक क्याम्पसको शिक्षकहरुको तहगत विभाजन नगर्ने र गरिएको तहगत विभाजनलाई पनि नमान्ने अवस्था छ । यस विषयमा पब्लिक क्याम्पस प्राध्यापक संघले पटक पटक अनुरोध गर्दा त्रिविले गम्भीरतापूवर्क नलिएको बताइन्छ । साथै उनीहरुलाई विश्वविद्यालयका कुनै पनि फोरम वा प्लेटफर्ममा सहभागी नगराउने र झड्केलो छोरा सरह ठान्ने भएकाले सामुदायिक क्याम्पसका शिक्षकहरु पछाडि परेका हुन । कतिपय सामुदायिक क्याम्पसको नतिजा निक्कै राम्रो पनि छ, कतिको सन्तोषजनक र कतिको नाजुक पनि छ । समग्रमा भन्ने हो भने उच्च शिक्षाका क्षेत्रमा सामुदायिक क्याम्पसहरुले समुदायबाट पाएको सद्भाव तथा योगदानलाई राज्य र सरोकार निकायले नजरअन्दाज गर्न मिल्दैन ।
सामुदायिक क्याम्पसका प्रमुख समस्या भनेका भर्ना हुने तर कक्षामा नआउने विद्यार्थीको संख्या अधिक हुनु, बन्द, हडताल, तालाबन्दीको प्रभाव पर्नु, पाठ्यक्रम अनुसारका पुस्तकहरु नहुनु, निम्नवर्गका विद्यार्थीहरु हुने हुनाले ल्यापटप, क्यामेरा खरीद गर्न नसक्ने र अतिरिक्त शुल्क तिर्न नसक्ने लगायतका छन् ।
पुरानै ढर्रा र पूर्वाधार बिहिन अवस्थामा रहिरहे वा आफूलाई पूर्वाधार सम्पन्न नबनाए, राजनीतिक प्रभावबाट मुक्त नभए सामुदायिक.क्याम्पसप्रति आर्कषण हुँदैन । समुदायलाई विश्वासमा लिने र सामाजिक कार्यहरुमा विद्यार्थीहरुलाई सरिक बनाउने एवं समाजका प्रभाबशाली वर्ग र उद्यमीहरुको साथसहयोग, स्थानीय निकायहरुसँग सहकार्य गर्ने कुरामा र अतिरिक्त क्रियाकलापहरुमा विद्यार्थीहरु सहभागिता बढाउनुपर्ने खाँचो देखिन्छ । त्यसो त विश्वविद्यालय अनुदान आयोगले ‘क्युएए’ प्रदान गर्ने भएकाले उसको परियोजनामा पर्नका लागि र ‘क’ दर्जाको कलेज हो भनी सिफारिस नभएसम्म सामुदायिक क्याम्पसको आर्कषण अझै घट्दै जान्छ । बाग्मती प्रदेशमा त सामुदायिक क्याम्पसहरुको यो हाल छ भने अन्य प्रदेशका सामुदायिक क्याम्पसको अवस्था के होला ? निक्कै सोचनीय र मननीय विषय छ ।
सुधारका मार्ग
सामुदायिक क्याम्पसको सुधारका लागि जनशक्तिमा मात्र सुधार गरेर हुदैन, उपयोगी र प्रभावकारी शैक्षणिक पद्धति, पूर्वाधार, शिक्षकहरुको सेवा, शर्तको ग्यारेन्टी गर्ने एवं उनीहरुमा पेशाप्रति जिम्मेवार र अभिप्रेरणा दिनु पर्दछ । सैद्धान्तिक मात्र नभई प्रयोगात्मक अभ्यासमा विशेष जोड दिनुपर्दछ भने स्थानीय समुदायसँग सम्बन्ध विस्तार, पाठ्यक्रमलाई समसामयिक, समयानुकूल परिमार्जन र प्रविधिमैत्री बनाउनका लागि जस्तै वेभ पत्रकारिता, मल्टीमिडिया, सोसल मिडिया, डिजिटल मिडिया, कृतिम बौद्धिकता (एआई) का बारेमा सिकाएर विद्यार्थीलाई अपडेट बनाउनुपर्दछ । यसैगरी शिक्षकहरुलाई क्षमता अभिबृद्धि तालिम, प्रविधि समावेश प्रशिक्षण र कार्यशाला, शैक्षिक क्यालेण्डर अनुसारको पठनपाठन, मिडिया प्लेटफर्महरु, अनलाइन पत्रकारिता, डिजिटल मार्केटिङ, क्याम्पस आफैंले अनलाइन रेडियो, अनलाइन न्यूज पोर्टल सञ्चालन गर्न सक्छन् । सामुदायिक क्याम्पसलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने, कक्षामा कोठामा मात्र पढ्ने नभएर अनलाइन कक्षाको थालनी, विद्यार्थीहरुलाई जे विषयमा सैद्धान्तिक ज्ञान दियो त्यही विषयमा लेख्न, बोल्न सिकाउने अर्थात् कक्षा कोठामा अन्तरव्यक्ति सञ्चार कौशल सक्दो उपयोग, श्रव्य–दृश्यसामग्रीको प्रयोग गर्न सकिन्छ । बेला–बेलामा मिडिया हाउसहरुको अवलोकन भ्रमण, शैक्षिक भ्रमणका अतिरिक्त अतिथि प्राध्यापक, सञ्चारविद्, बरिष्ठ पत्रकारहरु, प्रविधिविज्ञ आदिलाई आमन्त्रण गरी गोष्ठी, समिनार, साक्षत्कार गर्ने एवं सीप सिकाउने कार्यशाला आदिको आयोजना पनि गर्नुपर्ने हुन्छ ।
(यो अध्ययन सञ्चार रजिष्ट्रारको कार्यालय, बाग्मति प्रदेश सरकार,आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदान गरेको लेखनबृत्ति–२०८१ मा आधारित छ र उक्त अवसर प्रदान गरिदिएकोमा यस कार्यालयप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।)
अन्तर्वार्ता सूची
शैलेन्द्र शर्मा, काभ्रे बहुमुखी क्याम्पस, बनेपा,काभ्रे ।
नारद गौतम, एन.आर.बहुमुखी क्याम्पस, तारकेश्वर काठमाडौं ।
नवराज चालिसे, पशुपति बहुमुखी क्याम्पस, काठमाडौं ।
भोला ओझा, क्याम्पस प्रमुख,जनमैत्री बहुमुखी क्याम्पस,कुलेश्वर काठमाडौं ।
हिम विष्ट, जनमैत्री बहुमुखी क्याम्पस,कुलेश्वर काठमाडौं ।
राजेन्द्रध्वज थापा, क्याम्पस प्रमुख, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, तारकेश्वर,काठमाडौं ।
श्रीराम पुडासैनी, ग्रामीण आदर्श बहुमुखी क्याम्पस, तारकेश्वर,काठमाडौं ।
किरणराम रञ्जितकार, सहप्राध्यापक, शिक्षा शास्त्र संकाय, त्रिभुवन विश्वविद्यालय, किर्तीपुर ।
सन्तोष पण्डित, महासचिब, पब्लिक क्याम्पस प्राध्यापक संघ ।
यमबहादुर दुरा, विभागीय प्रमुख, मदनभण्डारी मेमोरियल कलेज, काठमाडौं ।
डा. मधुसुदन न्यौपाने, सञ्चारविद्÷अनुसन्धानकर्ता,काठमाडौं ।
डा. रघु मैनाली, सञ्चारविद् तथा अध्यापक, काठमाडौं ।
सुदीप रैला, गणेशमानसिंह, बहु्मुखी क्याम्पस, काठमाडौं ।
वेभसाइट
विश्वविद्यालय अनुदान आयोगको वेभसाइट (http:// www.ugcnepal.edu.np)
त्रिभुवन विश्वविद्यालय योजना महाशाखाको बेभ साइट(http://www.plan.tu.edu.np), त्रिभुवन विश्वविद्यालय ।
सन्दर्भ सामग्री
खनाल, श्रीराम (२०७६,साउन २२, बुधबार),सामुदायिक क्याम्पसका समस्या र चुनौतीहरु,लेख, नागरिक दैनिक ।
खनाल, श्रीराम (२०७७,माघ १७ शुक्रबार) सामुदायिक क्याम्पस सुधारको आवश्यकता र उपाय, लेख परिसंवाद डट कम ।