‘मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’ किताब बजारमा
(मोहन मैनालीले लेखेको किताब ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान‘ का मुद्रित, इबुक र अडियोबुक संस्करण बुकहिल प्रकाशनले हालै बजारमा ल्याएको छ । सो किताबको लेखकीय हाम्रा पाठकका लागि उपयोगी होला भनेर यहाँ उद्धृत गरेका छौँ– सम्पादक ।)
१८७१-७२ सालमा नेपालको अंग्रेजसँग घमासान युद्ध भयो । यतिको ठूलो, यतिको लामो, यतिको धेरै ठाउँमा फैलिएको लडाइँ नेपालले यसअघि कहिल्यै लड्नुपरेको थिएन । यसपछि पनि लड्नुपरेको छैन ।
मध्यनेपालको सानो पहाडी राज्य गोरखाले विभिन्न राजा रजौटासँग लडेका साना-ठूला लडाइँले नेपाल राज्यको विस्तार गरेको हो । अंग्रेजसँगको यस लडाइँले भने नेपाललाई झन्डै-झन्डै अहिलेको स्वरूपमा खुम्च्याइदियो ।
लडाइँलाई नाटकको उपमा दिने गरिन्छ— गैरआख्यान नाटक, जसमा पात्रहरूको भूमिका मोटामोटी रूपमा त तोकिएको हुन्छ तर समग्र क्रियाकलाप पहिल्यै निर्धारित हुँदैन । परिस्थितिअनुसारको भूमिका निर्वाह गर्न सबै पात्र स्वतन्त्र हुन्छन् । सामान्यतया नाटकमा सबै पात्र एउटै निर्देशकबाट निर्देशित हुन्छन् तर लडाइँरूपी नाटकमा दुई वा दुईभन्दा बढी निर्देशक हुन्छन् । एउटा निर्देशकबाट निर्देशित पात्रले कुन वेला के-कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुरा अर्को निर्देशकलाई थाहा हुँदैन । त्यसैले आफ्नो अधीनका पात्रलाई कुन बखत कस्तो क्रिया वा प्रतिक्रियामा उतार्ने भन्ने कुरा उसले पहिले नै तय गर्न सक्तैन । लडाइँ अघि बढ्दै जाँदा निर्देशकको रणनीतिमात्र होइन, पात्रहरूको भूमिका र कहिलेकाहीँ त चरित्रले समेत अप्रत्याशित मोड लिन सक्छ । यही विशेषताले लडाइँलाई नाटकभन्दा अझ बढी नाटकीय बनाउँछ ।
यस नाटकको मञ्चः टिस्टादेखि सतलज नदीसम्मको १,५०० किलोमिटर लामो मैदान र पहाड ।
नाटकको अवधिः छोटो स्थगनसमेत डेढ वर्ष ।
नेपालतिरका पात्रः काठमाडौँमा बसेर भूमिका खेल्ने राजा, मुख्तियार, मुख्तियारका सहायक, चौतरिया, ज्योतिषी, तान्त्रिक आदि । विभिन्न ठाउँमा खटिएका बुढाकाजी, चौतरिया, काजी, भारदार, सरदार, कमान्डर, विभिन्न दर्जाका सिपाही र झाराली ।
हिन्दुस्तानमा राज गरिरहेको अंग्रेजतर्फका पात्रः बेलायती सम्राट्, बेलायतमा रहेका ईस्ट इन्डिया कम्पनीका हाकिम, हिन्दुस्तानका गभर्नर, अंग्रेजका जंगी तथा निजामती कर्मचारी, गोरा र काला तिलंगा, टिस्टादेखि सतलजसम्मका युद्धक्षेत्र वरपरका राजा रजौटा, नवाब, नेपालले बन्दुकका भरमा कब्जा गरेका ठाउँका अपदस्थ राजा रजौटा र रैती (कतैका अलि धेरै सक्रिय र प्रभावकारी, कतैका कम सक्रिय र अप्रभावकारी) ।
छिमेकतर्फका पात्रः सिक्किम र पञ्जाबका राजादेखि लिएर महाचीनका बादशाहसम्म ।
यो समग्र नाटकबारे अंग्रेज लेखकहरूले धेरै किताब लेखेका छन् तर नेपालीमा यसका कुनै-कुनै खण्डबारे मात्रै लेखिएको छ । लडाइँको बयान गरिएका केही चिठी छिटपुट रूपमा विभिन्न प्रकाशनमा छापिएका छन् । तिनमा चिठी लेख्नेले आफूले लडेका लडाइँबारे मात्रै उल्लेख गर्नु स्वाभाविकै हो । इन्ट्रोडक्शन टु द मिलिट्री स्केचेज अफ द गुर्खा वार इन इन्डियाको भूमिकामा भनिएको छ— “एउटै लडाइँ लडेका दुई जना सिपाहीले पनि त्यस लडाइँबारे प्रायः फरक खालको बयान गर्छन् । लडाइँको समग्र दृश्य थाहा पाएको मानिसले गरेको बयानलाई उनीहरू पत्याउँदैनन् । लडाइँ लड्ने सिपाहीलाई नाटकको त्यस्तो पात्र ठान्न सकिन्छ, जसलाई आफूले खेलेको भूमिकाबारे मात्रै थाहा हुन्छ, दर्शक दीर्घामा बसेर नाटक हेर्ने मान्छेले देखेको नाटकको पूर्ण प्लटबारे थाहा हुँदैन ।”
नेपालमा अलग-अलग ठाउँमा प्रकाशित अलग-अलग चिठीले विभिन्न ठाउँका निश्चित लडाइँका बारेमा त बताएका छन् तर टिस्टादेखि सतलजसम्मको त्यो लडाइँको समग्र प्लट बुझाउँदैनन् । नेपाली सिपाहीले लडाइँको मैदानबाट लेखेका धेरै चिठी अहिलेसम्म पनि ‘गोप्य’ राखिएका छन् । त्यस्ता चिठी एकै ठाउँमा व्यवस्थित ढंगले राखिएका छैनन् । धेरैवटा पोकामा बाँधिएका छन्, थरीथरीका विषयका कागजका खातमा चेपिएर बसेका छन् ।
यस लडाइँको समग्र चित्र देखाउने नेपाली किताब छापिएको छैन । निश्चित ठाउँका लडाइँबारे छापिएका किताब पनि विदेशी लेखकले दिएका जानकारीमा बढी भर परेका छन् । विदेशीले लेखेका किताब मूलतः अंग्रेजका बयानमा आधारित हुनाले तिनमा अंग्रेजले लडेको लडाइँका दृश्यमात्र देखिन्छन्, नेपालीले लडेको लडाइँ अर्थात् आधा पाटोका दृश्य देखिँदैनन् ।
पढ्ने, लेख्ने र अनुसन्धान गर्ने चलन नभएका वेला यसो हुनु स्वाभाविक थियो तर यस्तो चलन चलेको वा चलेको भनिएको निकै वर्ष र लडाइँ सकिएको २०८ वर्ष पर्खिसक्दा पनि लडाइँको समग्र चित्र समेटिएको किताब नेपाली पाठकले पढ्न नपाउनु न्यायोचित होइन ।
— — —
यस किताबका इबुक र अडियो संस्करण यहाँबाट पढ्न र सुन्न सकिन्छः
— — —
मैले यो किताब लेख्ने जमर्को यसै पृष्ठभूमिमा गरेको हुँ । सामग्री खोज्ने क्रममा मैले थाहा पाएँ— त्यस लडाइँबारे लेखिएका धेरै सामग्री लडाइँ भएको धेरै वर्षपछि उडन्ते कुरा सुनेर त्यसमा थप कथा घुसाएर लेखिएका रहेछन् । मैले त्यस्ता सामग्रीको सहयोग लिएको छैन । म मूलतः लडाइँलाई लडी जान्ने मानिसका बयानमा भर परेको छु । यसका लागि मैले त्यो लडाइँ लड्ने र लडाउनेहरूले त्यस बखत लेखेका, पाएसम्मका सबै चिठी पढेँ । उनीहरूले लेखेका केही चिठी नष्ट भएजस्तो देखिन्छ । केही चिठी पुराना कागजका चाङमा पुरिएका हुन सक्छन्, जसलाई फेला पार्न मजस्ता कुनै एक जनाको प्रयासले सकिँदैन । त्यसैले मैले पाएसम्मका चिठीमा लडाइँका केही पक्षबारे जानकारी भेटिएनन् । यस्तो अवस्थामा म सुनी जान्ने/पढी जान्नेले लेखेका विश्वासिला बयानमा भर परेको छु ।
पछि लेखिएका तर साँचा हुन् कि होइनन् भनी यकीन गर्न नसकिने खालका केही हस्तलिखित सामग्रीबाट लिइएका जानकारी एक-दुई ठाउँमा राखेको छु । त्यस्ता ठाउँमा यो बेहोरा उल्लेख गरेको छु । अनुसन्धान गर्नेहरूले यस विषयको निर्कयोल गर्नु नै हुनेछ ।
यो किताब यस लडाइँबारे लेखिएका अरू किताबभन्दा अर्को अर्थमा पनि फरक छ— मैले यो लडाइँ लड्ने अंग्रेज र नेपाल दुवैतिरका कमान्डर र लडाकूहरूले लेखेका चिठी र दुवैतिरका विद्वान्हरूले लेखेका किताब तथा लेख पढेको छु । यसले गर्दा एउटै ठाउँको लडाइँलाई दुईतिरका कमान्डर, सिपाही र लेखकले कसरी बयान गरेका रहेछन् भनी दुवै पाटो राखिदिन सकेको छु ।
मेरो औपचारिक शिक्षा इतिहास विषयमा होइन तथापि स्नातक तहसम्म इतिहास अध्ययन गर्न पाएको थिएँ । स्नातकोत्तर तहमा समाजशास्त्र पढ्दा प्राग्-इतिहास विषय पढेको थिएँ । साथै, सामाजिक शास्त्रअन्तर्गतका विषयको अनुसन्धान विधिको औपचारिक अध्ययन गरेको थिएँ ।
इतिहास र अनुसन्धान मेरो रुचिको विषय हो । मैले लामो समयसम्म अभ्यास गरेको खोज पत्रकारिताले मलाई असंख्य मानिसले खडा गरेका असंख्य कागज केलाएर आफूलाई चाहिएको जानकारी खोज्ने सीप सिकाएको छ । मेरो पढाइ र पेशा दुवैले मलाई आफूले संकलन गरेका जानकारी सही हुन् कि होइनन् भनी यकीन गर्न कठोर जाँच गर्न सिकाएका छन्, अभ्यस्त बनाएका छन् । यी सबै कारणले गर्दा मैले यस विषयमा हात हाल्ने जमर्को गरेको हुँ ।
२०८/२०९ वर्ष पुरानो लडाइँबारे लडी जान्ने मानिसका बयानका आधारमा किताब लेख्न खोज्नु भनेको अभिलेखहरूको शरण पर्नु हो । यसका लागि अभिलेख सम्हालेर बसेका मानिसहरूको सक्रिय सहयोग चाहिन्छ । मैले यस्तो सहयोग पाएकाले नै यो किताब लेख्न सकेको हुँ । राष्ट्रिय अभिलेखालयमा रहेका यस विषयका सामग्री देखाइदिएकोमा, सामग्रीका इलेक्ट्रोनिक र प्रिन्ट प्रति उपलब्ध गराइदिएकोमा र यस किताबको अनुसूचीमा छापिएको चिठी छाप्न अनुमति दिएकोमा राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख छविकार कुमार श्रेष्ठ, अनुसन्धान अधिकृत मनिता न्यौपाने, अभिलेख अधिकृत रज्जु हाडा, छविकार ज्योति न्यौपाने, कल्पना पराजुली, सहन रञ्जितकार, सीता फुयाल पुडासैनी, सीता खड्का, शान्ति थापा र कमल न्यौपानेप्रति आभारी छु ।
यो किताबका लागि जानकारी संकलन गर्ने क्रममा मैले यी पुस्तकालयहरूको सहयोग लिएको छु ः सोशल साइन्स बहाः पुस्तकालय, डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, राष्ट्रिय अभिलेखालयको पुस्तकालय, मदन पुरस्कार पुस्तकालय, नेपाली सेनाको सैनिक केन्द्रीय पुस्तकालय । अन्यत्र नपाइने पुस्तक पढ्ने अवसर दिएकोमा यी पुस्तकालयप्रति आभारी छु ।
माथि नै भनेको छु, यस लडाइँसँग सम्बन्धित धेरै चिठी अहिले पनि सार्वजनिक भएका छैनन् । त्यस्ता चिठी हुन सक्ने पोकाहरूको अध्ययन गरी तिनका आधारमा सामग्री तयार गर्न अनुमति दिएकोमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र यस्तो अनुमति दिलाउने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनुभएकोमा शाखा अधिकृत विजय राज तन्डुकारप्रति हार्दिक आभार प्रकट गर्दछु ।
परराष्ट्र मन्त्रालयको स्वामित्वमा रहेका यी कागजात राष्ट्रिय अभिलेखालयमा राखिएका छन् । परराष्ट्र मन्त्रालयको अनुमति पाएपछि यी कागजातको अध्ययन गर्ने ठाउँ र सुविधा उपलब्ध गराइदिएकोमा अभिलेखालयप्रति हार्दिक आभार प्रकट गर्दछु ।
यस किताबका लागि चाहिने जानकारीका सम्भावित स्रोतबारे जानकारी दिनुका साथै र आफ्नो संकलनमा रहेका महत्त्वपूर्ण दस्तावेज उपलब्ध गराइदिनुभएकोमा डा. महेशराज पन्त र प्रा. दिनेशराज पन्तप्रति विशेष आभारी छु । पुराना कागजमा उल्लेख भएका केही शब्दको अर्थ खुलाइदिनुभएकोमा पनि प्रा. दिनेशराज पन्तप्रति आभारी छु ।
यस लडाइँसँग सम्बन्धित केही जानकारी बेलायती अभिलेखालयमा रहेको कुरा थाहा पाएको थिएँ । त्यहाँ गएर ती जानकारी भेला गर्न मेरो बुताले भ्याउँदैनथ्यो । ती सामग्री लिन बेलायती अभिलेखालयका झन्झटिला शर्त पूरा गर्नुपर्थ्यो । लन्डनमा रहनुभएकी साहित्यकार संगीता स्वेच्छाले यी सबै झन्झट बेहोरेर मलाई ती सामग्री पठाइदिनुभयो । मलाई र नेपाली पाठकलाई उहाँले लगाउनुभएको यो गुन तिरेर कहिल्यै सकिँदैन ।
हस्त गुरुङले मेरा यसअघिका दुई-तीनवटा किताबको पहिलो मस्यौदा पढ्ने र परिमार्जनका लागि सुझाव दिने झन्झटिलो तर जसविहीन काम गर्नुभएको थियो । यो किताबका पनि पटक-पटकका मस्यौदा पढेर सुधारका लागि महत्त्वपूर्ण सुझाव उहाँले दिनुभयो । हार्दिक आभारी छु हस्तजी, तपाईँप्रति । यस्तै गरी, सबै खण्डका मस्यौदा पढेर परिमाजर्नका लागि सुझाव दिनुभएकोमा साथी दीपक थापाप्रति पनि आभारी छु ।
अरूले लेखेका सामग्री सम्पादन गरेर चिरिच्याँट्ट पार्नु झन्डै-झन्डै असम्भव काम हो । मेरा पहिलेका किताबमा जस्तै यस किताबमा पनि यो काम शरच्चन्द्र वस्तीले गरिदिनुभयो । उहाँप्रति पनि आभारी छु ।
यो किताब लेख्न हौस्याउने र केही खण्डका पहिलो मस्यौदा पढेर सुझाव दिने सुजित मैनाली र छिचोल्न नसकिने जस्ता लागेका पुराना चिठी पढ्न हौस्याउने धातृप्रसाद सुवेदीप्रति पनि आभारी छु ।
लडाइँसम्बन्धी केही जानकारी भेटेपछि यसबारे फिक्शन डिजाइनर कुमार नगरकोटी र बुकहिल पब्लिकेशनका भूपेन्द्र खड्कासँग कुरा गर्ने मौका मिलेको थियो । उहाँहरूले मेरो कुरा सुन्नेबित्तिकै मलाई थप जानकारी खोज्न र किताब लेख्न हौसला दिनुभयो । भूपेन्द्रले किताब छाप्ने वचन दिनुभयो । जानकारी खोज्ने र बुझ्ने क्रममा ठूलठूला बाधा अड्चन आउँदा उहाँहरूको हौसलाले मलाई मैदानमा डटी रहन प्रेरित गर्यो ।
हिज्जेका लागि धातृप्रसाद सुवेदी, लेआउटका लागि उमेश काफ्ले र कभर डिजाइनका लागि सचिन यगोल श्रेष्ठप्रति आभारी छु ।
गम्भीर विषयमा लेख्नका लागि वातावरण मिलाइदिएकोमा मेरी पत्नी भीमा प्रसाईँको गुन कहिल्यै बिर्सन्नँ ।
विभिन्न सामग्रीबाट संकलन गरेका जानकारी रुजु गर्न सहयोग गरेकोमा र यस किताबमा राखिएका नक्शा बनाइदिएकोमा छोरा अरुण मैनालीलाई पनि धन्यवाद !
२०८० साल वैशाख वदि ९ रोज ६
(तदनुसार २०८० साल वैशाख १ गते शुक्रवार)
मुकाम हाँडीगाउँ, कान्तिपुर, शुभम् ।