परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

निक्खर धनबाट स्थापित पवित्र पुरस्कार कोष

शायद विषमतानै श्रीप्रसाद ओलीको भाग्य थियो । त्यसैले त उहाँलाई विषमताले कहिल्यै छाडेनन् । उहाँको जीवन हेर्दा लाग्थ्यो विषमता र श्रीप्रसाद पर्ययबाची थिए– आलोपालो प्रयोग हुने ।

उहाँको जीवन विषमताबाटै शुरुभयो र अन्त्यपनि विषमताबाटै भयो । सात वर्षको कलिलो उमेरमा बावु गुमाउँदा उहाँलाई टुहुरो शव्दको अर्थ थाहा थिएन । २८ वर्षे जवानीमै बावु रुद्रप्रसाद त वित्नुभयो नै, भएकी आमा गौरादेवीको पनि बोली अचानक बन्दभयो । २२ वर्षे कलकलाउदो उमेरमा श्रीमान गुमाउँदाको तीव्र पीडा सदासदा गौरादेवीको मनमै रह्यो । आखाँले टुलुटुलु हेर्नु र मायाले सुमसुम्याउनु बाहेक गौरादेवीले छोराहरुलाई केही भन्नसक्नु भएन । यसरी श्रीप्रसादलाई अब छोरा भनेर बोलाउने कोही भएनन । टुहुरो बालक श्रीप्रसाद, वोल्न जानीनसकेको आफ्नो सानो दुई वर्षे भाइ टिकाप्रसाद र बाक्य अचानक बन्द भएकी आमा गौरादेवी परिवार भन्नुनै यति थियो । त्यही मौकामा सम्पतिले हिंश्रक बनाएका आफन्तहरु मिलेर भएको जग्गाजमीन हडपे, खाईदिए । आर्थिक र भावनात्मक दुवै खाले चर्को अभाव र कष्ट उहाँको निर्विकल्प नियति बन्यो ।

बाक्य बन्द भएकी आफ्नी आमाको मद्दतबाटै श्रीप्रसादले ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङमा गएर सिहाश्रेस्ता राख्नेसम्मको अनौपचारिक शिक्षा लिनुभयो । समय वित्दै गयो, उहाँको विवाह भयो । उहाँले एउटा सन्तानको शोक वेहोर्नु प¥यो । पाँच भाइ छोरा र एउटी छोरी हुर्काउन, पढाउन खेतीकिसानी, बन्दव्यापार गर्नुभयो । श्रीप्रसादले शुरुका दिनमा १४ वर्षको नावालक छँदैदेखि चौपायाहरु फालेलुङ हुदै दार्जिलिङ पु¥याएर बेच्यो अनि फर्किदा लत्ताकपडा लिएर आयो र आठराईका गाउँघरमा डुलेर बेच्यो गर्न थाल्नुभयो । यसरी उहाँ आधा खरिते र आधा गल्लावाला बन्नुभयो । जीवन गुजारा कठिन भएपछि जन्मेको थातथलो तेह्रथुम जिल्लाको आठराई पोखरी छोडेर मामा भवानीप्रसाद उप्रेतीको साथमा विरानो मुलुक झापा झर्नुभयो । त्यसवेलाको कालापानी मानिने झापाको घैलाडुव्वामा जंगल फाडेर जग्गा आवाद गर्नुभयो । खेतीपाती, पशुपालन, व्यापार र ठेक्कापट्टा आदिइत्यादि थरिथरिका व्यावसायिक प्रयत्नमा उहाँ लाग्नुभयो । परिस्थितिलाई अनुकुल बनाउँदै ल्याएर पारिवारिक हैसियत आर्थिक रुपमा पनि मजवुत पार्नुभयो । अत्यन्तै दयनीय र कठिन अवस्था श्रीप्रसादको जीवन शुरुवात थियो र सुखसयलको पछिल्लो जिन्दगी उहाँको जीवन–निर्माण थियो । यस्ता विषम जीवन भोगाईको सरल गणितबाट जोडघटाउ गरी निकालेका उत्तरहरु सहयोग, करुणा र दया उहाँभित्र गढेर बसेका आदर्श मनोभावहरु थिए ।

झापामा आएप्छि कहिले धैलाडुव्वा, कहिले भद्रपुर हुँदै पछि गएर सुरुङ्गमा रहँदावस्दाका अस्वभाविक घटनाक्रम तथा कथाहरु निकै रोचक छन । जवानीमा भोग्नु परेका विषमता र उतारचढावहरुको वर्णन गर्न निकैवेर लाग्ने हँुदा यतिकै थाति राखेर जीवन उत्तरार्धका केही विषमताहरु तर्फ लागौं । सबैखाले विपत्तिहरु कलिलै उमेरदेखि अविछिन्न रुपमा सामना गर्नु परेर होला शायद श्रीप्रसादको शारीरिक रसायन अलग ढंगले निर्माण भएको थियो । उहाँ जवानीको तुजुक र रिसको आगो ओकल्ने उत्ताउले बैंसमा पनि कसैसंग रिसाउनु भएन । तर खारिएको वुढ्यौलीमा अध्यात्म चिन्तनगहराईमा डुब्नु र बेलाबखर्त ठट्टामजाक र व्यङ्ग्यहरुको सहारा लिन थाल्नुभयो । श्रीप्रसादको जीवनमा देखापरेको यो अर्को गज्जबको विषयमता थियो ।

जीवनको उत्तरार्धका करिव तिन दशक उहाँ आध्यात्मिक पथमा हिड्नुभयो । यस अवधिमा उहाँले नेपाल र भारतका धेरै आध्यात्मिक संस्थाहरुलाई आर्थिक सहयोग समेत प्रदान गर्नुभयो । ढल्कदो जीवनकालमा श्रीप्रसादले करिव एक दशक काठमाडौंको कोटेश्वर महादेवस्थानमा हरेक दिन एक घन्टा गीता प्रवचन गर्नुभयो । तर गीताको सार “कर्म गर्नु फलको आश नगर्नु” भन्ने विवेकसंग उहाँले प्रष्ट राय बझाउनु भयो र मान्छेलाई कर्ममा प्रेरित गर्न फलको आवश्यकता पर्छ भन्ने तथ्यलाई व्यवहारिक रुपमै सिद्ध गर्न प्रयासरत रहनुभयो । उहाँले सर्जक र कर्मवीरहरुलाई सम्मान र पुरस्कृत गर्न रुद्र गौरी, श्री– अम्बीका ओली प्रतिष्ठानको स्थापना गर्नुभयो । फेरि अर्को विषमता उहाँमा आइप¥यो । यो खबर सुनेर आफ्ना आध्यात्मिक संगातीहरु खुसी होलान भन्ने आशा थियो तर त्यसको विपरित शायद उनीहरुले आफ्नो भाग खोसिएको महशुस गरे क्यार ती सांसारिक प्रपञ्चबाट माथि उठेको दावी गर्ने आध्यात्मिक मित्रहरुले श्रीप्रसादप्रति नकारात्मक दृष्टि राख्नथाले, यो कार्यलाई रुचाएनन् । तर पनि श्रीप्रसाद आफ्नो अठोटबाट विचलित हुनुभएन । सन्तान, नातेदार तथा शुभचिन्तकहरुको पूर्ण समर्थन र सहयोग उहाँप्रति थियो । त्यसैले उहाँले २०६८ सालमा एक करोड रुपीँयाको अक्षयकोष स्थापना गरी चारवटा विधामा हरेक वर्ष उल्लेख्य राशी सहित सर्जक तथा कर्मवीरहरुलाई सम्मान गर्ने घोषणा गर्नुभयो । श्रीप्रसादले समाजिक कार्यहरुलाई प्रेरित गर्नका लागि प्रतिभाहरुको सम्मान र सफलताहरुको प्रशंसा गर्नु आफ्नो परम कर्तव्य सम्झनुभयो ।

रुद्र गौरी, श्री–अम्बीका ओली प्रतिष्ठानले राखेका पुरस्कार विविधताको हिवासले नेपाली “नोवेल प्राइज” को कोटीमा राख्नुपर्ने हुन्छ । विर्सिएका क्षेत्र, पेशा र वर्गलाई समेटेर यस प्रतिष्ठानले चलनचल्तीको अभ्यास भन्दा निकै भिन्न रुपमा कृषि विधा, महिला विधा, बाल विधा, पत्रकारिता र साहित्य विधामा वार्षिक चारवटा पुरस्कार राख्यो । जसमा रुद्रप्रसाद ओली स्मृति कृषि पुरस्कार, गौरादेवी ओली स्मृति आदर्श आमा पुरस्कार, अम्बिकादेवी ओली स्मृति पत्रकारिता÷साहित्य पुरस्कार र देवी ओली स्मृति बाल पुरस्कार रहेका छन् । यी पुरस्कार मध्ये बाल पुरस्कारको राशी एकाउन्न हजार एक सय एधार रुपियाँ रहेको छ भने बाँकी तीनवटै पुरस्कारको राशी एक लाख एक हजार एक सय एधार रुपीयाँ रहेको छ ।

पुरस्कार वितरण प्रक्रियालाई सहज, पारदर्शी तथा व्यवस्थित बनाउँन प्रतिष्ठानले पुरस्कार संचालन तथा वितरण निर्देशिका जारी ग¥यो । निर्देशिकाले पुरस्कारहरुको विधागत व्यवस्था, विधागत पुरस्कार स्थापनाको उद्देश्य, पुरस्कार पाउँनका लागि आवश्यक ग्राह्यता, निर्णायक मण्डलको गठन विधि, निर्णायक मण्डलको प्रमुख भुमिका र जिम्मेवारीहरु, निर्णायक मण्डलका पदाधिकारीहरुको योग्यता, आवेदन आह्वान र सिफारिस प्रक्रिया, उमेद्वारी सिफारिस फारम, पुरस्कारको घोषणा, पुरस्कार वितरण तथा पुरस्कार विजेता र प्रतिष्ठानबीचको सम्वन्ध लगायत अत्यावश्क पद्धतिका बारेमा मार्गनिर्देश गरेको छ ।

स्पष्ट र पारदर्शी कार्यसञ्चालन पद्धति तथा निर्णायक मण्डकका पदाधिकारीहरुको गम्भिरता तथा इमान्दारीले विगतका पुरस्कार अर्पण अनुष्ठानहरुलाई निर्विवाद र प्रसंशनीय बनाएका छन् । सम्बन्धित विधाका राष्ट्रिय व्यक्तित्वहरुलाई निर्णायकको जिम्मेवारी दिने संस्थाको निस्वार्थभाव र निर्णायक मण्डलमा बस्न उहाँहरुले दिनु भएको स्वीकृतले प्रतिष्ठानको सत्प्रयासमा गज्जबको सहक्रिया (सिनर्जी) उत्पन्न भएको छ । तसर्थ अहिलेसम्म समाजमा सकारात्मक, नवीन र परिवर्तनकारी कार्य गर्न सफल र छानिएका सत्पात्रहरुलाई पुरस्कार र सम्मान मिलेको छ ।

भनिन्छ– मान्छे सम्भोग र पैसामा आशक्त हुन्छ, जे गर्न पनि तयार रहन्छ । तर मान्छेले सम्भोग र पैसाभन्दा पनि बढी चाहना राख्ने अरु दुई चिज छन– कदर र प्रशंसा । हरेक मान्छे आफैंमा असिमित स्रोत हो । उसका सम्भावनाहरु अथाह छन् । ती सम्भावनालाई दिनदिनै प्रस्फूठित गर्न कदर र प्रशंसा अचुक वद्र्धक हुन । कदर र प्रसंसाले मानिसलाई उ जहाँ छ त्यहीँबाट पटक्क टिप्छ र सिर्जना तथा कर्मका हिसावले पहिले कहिल्यै नपुगेका ठाउँमा पु¥याउन आत्मविश्वास थप्छ, जोस्याउँछ र हुटहुटी लगाउँछ ।

सम्मानित र पुरस्कृत गर्नु त्यस्तो विवेकी अभ्यास हो जसले मानिसलाई आफ्ना सम्भावनाहरु सम्पूर्णरुपमा उजागर गर्न आवश्यक उत्साह र शक्ति प्रदान गर्छ । निपूर्णताको चेतना र विशिष्टताको अभिलासा बढाउँछ । मान्छे निस्कृय हुनुको अर्थ उ अल्छी, मूर्ख वा रोगी छ भन्ने कदापि होइन, यसको सोझो अर्थ हो उ निरुत्साहित छ । तसर्थ व्यक्तिबाट गायव भएको उत्प्रेरणालाई पूनर्जीवन दिन पुरस्कार र कदरले संजीवनीको काम गर्छ ।

श्रीप्रसादले जवानीमा विभिन्न स्रोतहरुमा लगानी गरेर आफू र परिवारलाई सम्वृद्ध बनाउनु भयो । उहाँले जीवनको उत्तरार्धमा तत्वज्ञान हासिल गर्नुभयो– ज्ञान युगको वर्तमान समाजमा वास्तविक स्रोत भनेका त मान्छे रहेछन् । त्यसैले उनीहरुमाथि लगानी गरेर समाजलाई सम्वृद्ध बनाउन लगानीको नयाँ योजना÷स्किम “पुरस्कार र सम्मान” अघि सार्नुभयो । भरजन्म अथक प्रयास गरेर जम्मा भएको पसिनाको कमाइमा घुनपुत्ली नलागोस् भनेर एउटा पुनीत कोष निर्माण गर्नुभयो । छोराछोरी र आफन्तहरुले पनि उहाँको यो सत्प्रयासलाई जीवन पर्यान्त साथ दिने बाचा गरे । छोराछोरीको यो आत्मिय सहभागितालाई उहाँले आफ्नो जीवनकालको सबैभन्दा आनन्ददायी उपलब्धीका रुपमा ग्रहण पनि गर्नुभयो । उहाँको एक्लो मनोकाक्षांबाट शुरु भएको अनुष्ठानलाई छोराछोरीहरु जुटेर संगठित प्रयासमा ढाले, संस्थागत बनाए र विस्तार गरे ।

संगठित प्रयासहरु आफैंमा पवित्र हुन्छन त्यसमा पनि नेपाली समाजमा आशाका किरण छर्ने वृहत्तर हितको उद्देश्य राखेर शुरु गरिएको रुद्र गौरी श्री–अम्बीका ओली प्रतिष्ठान दिनदिनै गज्जवको सामाजिक सम्पदा बनिरहेछ । समाजका सिर्जनशील, क्रियाशील र कर्मवीरहरुको आस्थाको पवित्र तीर्थस्थल सरह । छोटो समयमै संस्थाप्रतिको विश्वास ह्वात्तै बढ्नुको मुख्य कारण हो– कतै दाग नलागेको निक्खर धनबाट स्थापित पुरस्कार कोष र संस्थागत मान्यतामा आधारित कार्यसञ्चालन पद्धति । यो कार्यका लागि श्रीप्रसादले धेरै समय खर्चिन भ्याउनु भएन । संस्था स्थापनाको अवधारणा र कोषको तयारी पुरा गर्दानगर्र्दै ८१बर्षको उमेरमा उहाँ हामी सबैलाई छोडेर सदाका लागि निराकार गन्तव्यतर्फ प्रस्थान गर्नुभयो । यो कार्यलाई उचाइमा पु¥याउन पारिवारिक सदस्यहरु मूलतः उहाँका छोराहरुको अगुवाई अविश्मरणीय रह्यो । संस्थाका नीति तथा रणनीति, संरचना र प्रणालीहरु लिखित रुपमा निर्माण गरी स्पष्ट मार्गनिर्देशन शुरु भयो । तसर्थ संस्था भावनाबाट होइन विवेकबाट निर्देशित हुनपुग्यो । आवश्यकता अनुसार कार्यविभाज भयो, अख्तियारी तोकियो, सही व्यक्तिलाई सही जिम्मेबारी प्रदान गर्ने निति लिइयो । जसको परिणामा स्थापनाको छोटो अवधिमै संस्था प्रतिष्ठाको उचाइ सरसरी चढ्न थाल्यो । पुरस्कृत व्यक्तित्वहरुले सम्मानप्रति दिलखोलेरै आफ्नो हर्ष र गर्व आफन्त, साथीसंगाती र छरछिमेकीलाई सुनाउन सक्नेभए । सम्मानित व्यक्तित्वहरुको यस्तो आदर भावले संस्थालाई अझ गरिमामय तथा अविस्मरणीय बनाइरहेछ । संस्थाको सामाजिक पूँजी, आस्था र विश्वास, हरेक वर्ष थपिदै गएको छ ।

पुरस्कारको संस्थापक उ आफैंमा विजेता हुँदैन तर उ समाज र सम्मानित व्यक्तित्वहरुको दिलमा अवश्य पनि अजेय रहन्छ, अनुकरणीय सत्पात्र बन्छ । तिनै अनुकरणीय सत्पात्र श्रीप्रसाद ओलीमा हार्दिक सलाम !

Facebook Comments