प्रशारण पत्रकारिताको गुरुमन्त्र : बेलैमा सत्य बोल
सन्दर्भ : विश्व रेडियो दिवस
झट्ट सुन्दा सामान्य लाग्ने तीनवटा अद्भूत नेपाली शव्द छन्– ‘बेलैमा सत्य बोल’ । सच्चा पत्रकारले नित्य जप्ने र साधना गर्ने पवित्र गुरुमन्त्र यही नै हो । यो गुरुमन्त्र असल सञ्चार वा पत्रकारिताको सम्पूर्ण आत्मा समेत हो । पत्रकारिताका सारा दर्शन, सिद्धान्त र मान्यताहरु यसैमा अन्तरनिहित छन् ।
दिगभ्रमित मुल प्रवाहको पत्रकारिताबाट बाक्क दिक्क भएर शास्वत मानव सञ्चारलाई साकार पार्ने दिव्य उद्देश्य सहित स्थानीय प्रशारण माध्यमहरु नेपालमा दुई दशक अघि शुरु भए । अहिले नेपालको ९० प्रतिसत भन्दा बढी जनसंख्या स्वतन्त्र रेडियोको कभरेज क्षेत्रभित्र रहेको छ । सामुदायिक र निजी गरी करिव छ सयवटा स्थानीय रेडियोहरु सञ्चालनमा रहेका छन् । विगत दुई दशकमा स्थापना भएका रेडियोहरु बन्द हुने दर १५ प्रतिसतको हाराहारीमा छ । यस दृष्टिबाट हेर्दा नेपालमा स्थानीय रेडियोहरुको स्थायित्वको सम्भावना राम्रो रहेको छ । मात्रात्मक हिसावले भन्दा नेपाली सञ्चार जगतले हासिल गरेको यो अभूतपूर्व सफलता हो।
तर यसको ठीक विपरित मूल प्रवाह मानिएको विश्व पत्रकारिताका आचरण र अभ्यासहरुलाई भने राजनीतिक तथा कुलिन धङधङीले नराम्ररी गिजोलेको छ । राजनीतिक तथा कुलिन धङधङीले गिजोलेको विद्यमान पत्रकारिताका स्थायी निचोड हुन– “ठूलठूला घटना, नयाँ नयाँ विषय, उच्च औकात तथा ओहदाधारी मान्छेका गतिविधि, अनैतिक काण्ड तथा दुस्साहास र औपचारिक भाषा मात्र प्रशारण वा प्रकाशनका विषय बन्दछन् ।” नेपालमा पनि मूल प्रवाह भनिएको पत्राकरिताको दिशा र दशा यस्तै छ ।
हामीले बिर्सन नहुने यथार्थ के हो भने पशु सम्पर्कको प्राणी हो तर मान्छे चाहिँ सम्बन्धको प्राणी हो । तसर्थ मान्छे सदियौंदेखि आफ्नो नालीवेली एकअर्कालाई कहन्छ, आफ्ना आवश्यकता, चाहना र कथाव्याथा अरुलाई सुनाउँछ र अरुका आवश्यकता, चाहना र कथाव्याथा आफू सुन्छ । विगत सम्झिन, वर्तमान भोग्न र भविश्यको आँकलन गर्न पनि मान्छे परस्पर कथा सुन्छ सुनाउँछ । अर्थात मान्छे आफ्नो सामाजिक साँस्कृतिक सन्दर्भ अनुसार प्रत्येक क्षण र हरेक विशिष्ट क्रियाकलापका कहानी एकआपसमा सुनाउँछन् । कथाकहानी भन्ने र सुन्ने यही सनातनी परम्परा नै मानव सञ्चार हो । प्रभावकारी सञ्चारमा सदा आशा र स्नेह लुकेको हुन्छ । उपाय, भरोसा र सहयोग सन्निहित हुन्छ ।
अति सामान्य प्रसङ्गबाट कुरा अघि बढाऊँ । राजनीतिक र कुलिन धङधङीको पत्रकारिताले ठाने झैं ठूला घटना, नयाँ कुरा, शक्तिशाली मान्छेका गतिविधि, अनैतिक काण्डहरु मात्रै सुन्न र सुनाउन लायक हुन्थ्ये भने लोग्ने–स्वास्नीबीच बिहे गरेको दुई–तीन महिना पछि गफगाफ बन्द हुनुपर्ने थियो । आमा– छोराछोरीबीच कुराकानी नै हुने थिएन । तर त्यस्तो कहिल्यै भएको छैन । प्रत्येक लोग्ने–स्वास्नी रहेक पटक भेट हुँदा वर्षौं टाढिएका आफन्त भेट भए झैं कुरा सुरु गर्छन् । केही बेरलाई कतै जाँदा फोन गरेर भए पनि सम्पर्क गर्नु आवश्यक ठान्छन् । के उनीहरुसंग गफ गर्नलाई नयाँ विषय वा ठूला घटना हुन्छन् त ? पक्कै पनि हुँदैनन् । उनीहरुको कुराकानीको अर्थ हो– उपस्थिति जाहेर गर्नु । यसले जो जहाँ भएपनि सधैं संगै छौं भन्ने सन्देश दिन्छ । एकअर्कालाई सुरक्षित महशुस गराउँछ, आत्मवल थप्छ । अपनत्व र परिवार निर्माण गर्छ ।
स्थानीय रेडियोको यात्रा यही विन्दुबाट थालनी हुनु पर्दथ्यो । दिगभ्रमित मुल प्रवाहको पत्रकारिताबाट बाक्क दिक्क भएर शास्वत मानव सञ्चारलाई साकार पार्ने दिव्य उद्देश्य सहित स्थानीय प्रशारण माध्यमहरु नेपालमा दुई दशक अघि शुरु भए । अहिले नेपालको ९० प्रतिसत भन्दा बढी जनसंख्या स्वतन्त्र रेडियोको कभरेज क्षेत्रभित्र रहेको छ । सामुदायिक र निजी गरी करिव छ सयवटा स्थानीय रेडियोहरु सञ्चालनमा रहेका छन् । विगत दुई दशकमा स्थापना भएका रेडियोहरु बन्द हुने दर १५ प्रतिसतको हाराहारीमा छ । यस दृष्टिबाट हेर्दा नेपालमा स्थानीय रेडियोहरुको स्थायित्वको सम्भावना राम्रो रहेको छ । मात्रात्मक हिसावले भन्दा नेपाली सञ्चार जगतले हासिल गरेको यो अभूतपूर्व सफलता हो । अब यहाँ कार्यक्रमिक हिसावले ती स्थानीय रेडियोहरुले के गर्नु पथ्र्यो र ती के भए भनी छोटो समीक्षा गरौं।
वास्तवमै स्थानीय रेडियोहरु जीवन निर्वाह तथा सामाजिक आधारभूत पूर्वाधारको कमी र स्रोतहरुको अभावमा बाँचेका समुदायका लागि सहज, व्यवहारिक र धान्न सकिने सञ्चार माध्यम हुन । समुदाय भित्र निकटता हुन्छ, मित्रता हुन्छ र लगाव हुन्छ । समान भौगोलिक, साँस्कृतिक तथा प्राकृतिक अवस्थाले उनीहरुका आवश्यकता तथा भावना साझा हुन्छन् । एक अर्काका पीडामा दुखी हुने र सफलतामा रमाउने उनीहरुको स्वभाव हुन्छ । समुहमा मिलेर काम गर्न उनीहरु बानी परेका हुन्छन् । यसखाले भावना, स्वभाव तथा बानीलाई अझ बढाएर स्थानीय रेडियोले आफ्नो प्रशारण क्षेत्रभरिका बासिन्दालाई एउटा ठूलो परिवारमा परिणत गर्न सक्नु पर्दछ । उनीहरुबीच मानवीय सम्पर्क स्थापित गर्न सक्नुपर्दछ । यस्तो सम्पर्क र आदान–प्रदानले परस्पर विश्वास र सामाजिक सहमति कायम गराउँछ । सामाजिक सुरक्षा सुनिश्चित गर्छ । समुदायमा कायम यस्तो वातावरण वास्तवमै साँस्कृतिक सम्पति हो जसबाट समाजले चाहेको, अत्यावश्यक, गरिमामय र अनुकरणीय विकासको थालनी गर्न सक्छ ।
स्थानीय रेडियोहरुसंग परिवर्तनको सम्भावना र चुनौती दुवै हुन्छ । आफ्नो समुदायको विकासका लागि नयाँ सम्भावना, अझ नयाँ पुस्ताका लागि वृहत् भविष्यको खोजी गर्न सक्नु स्थानीय रेडियोहरुको अहम कर्तव्य हो । परिवर्तन व्यक्ति र समाजका लागि सधैं चुनौतिपूर्ण हुन्छ । परिवर्तित वातावरणमा जीवन रक्षाका विद्यमान परिभाषाहरु मेल नखान सक्छन् । सामाजिक सुरक्षाको निर्धारित परिभाषा बदलिन सक्छ । यसखाले भिन्न परिस्थितिले समाजमा अनिश्चय र अन्यौल पैदा गर्न सक्छ । जसले गर्दा समुदायका बासिन्दाहरु यथास्थितिकै पक्षमा रहन सक्छन् । परिवर्तन हुन नदिन खुलेर प्रतिरोध गर्न सक्छन् । यस्तो अवस्थामा स्थानीय प्रशारणले परिवर्तित अवस्थाको सामाजिक सुरक्षाको अवधारणालाई क्रमशः परिभाषित गर्दै समुदायलाई विश्वास दिलाउन सक्नुपर्छ, समुदायका बासिन्दालाई प्रगतितर्फ प्रेरित गर्नुपर्छ।
स्थानीय बासिन्दाको आत्मसम्मानको खोजी गर्नु स्थानीय रेडियोको अर्को महत्वपूर्ण कार्य हो । आत्मसम्मानका लागि स्थानीय बासिन्दालाई मौलिक परिचय चाहिएको हुन्छ । जुन कुरा संस्कृतिको संरक्षणबाट मात्र सम्भव छ । समुदायको स्मृतिमा खोज्नु पर्ने अवस्थामा पुग्न लागेका थुप्रै स्थानीय साँस्कृतिक सम्पदाहरुलाई पुनरजीवन दिन स्थानीय रेडियोहरु क्रियाशील रहनु पर्छ । स्थानीय प्रशारण वास्तवमै जनसहभागिता, स्थानीयता र सार्वजनिक अभियानहरुलाई संयोजन गर्न सक्ने प्रभावकारी माध्यम हुन ।
प्रशारण केवल प्राविधिक विषय होइन, यसमा हाम्रा सामाजिक र नैतिक आचरणहरु पूर्ण रुपमा सम्लग्न हुन्छन् । तसर्थ प्रशारणमा स्थानीय र सामुदायिक आत्मालाई मारेर तथाकथित लोकप्रिय र आयातित संस्कृतिको पछाडि दौडिनु हुँदैन । प्रशारणमा समग्र मानवीय ‘प्याकेज’ तयार पार्न सक्नु पर्छ । समुदायका बासिन्दालाई दैनिक जीवनमा अवस्था हेरी अलिकति ज्ञानगुन, अलिकति सूचना, अलिकति समाचार, अलिकति जानकारी, अलिकति सीप, अलिकति हौसला तथा उत्साह र अलिकति मनोविनोद चाहिएको हुन्छ । यी सबैखाले आवश्यकतालाई बुझेर कार्यक्रम उत्पादन तथा प्रशारण गर्न सक्यो भने मात्र समुदायमा प्रशारणमार्फत आनन्द प्रदान गर्न सकिन्छ । प्रशारणले जनजीवनलाई सघाउन सक्छ ।
रेडियो आफैंमा कथ्य माध्यम हो । जब हामी बोल्छौं शव्दहरु झरिला र भरभराउँदा हुन्छन् । बोलीचालीको भाषामा प्रत्यक्ष वाक्य प्रयोग हुन्छन् र प्रत्यक्ष वाक्यहरुमा मान्छेलाई आकर्षित तथा प्रभावित पार्ने विशेष प्रकारको तागत हुन्छ । भनाइ नै छ– ‘समाज परिवर्तन लेखकले होइन वक्ताले गर्ने गर्छन्’ । रेडियो वक्ता माध्यम हो र यससंग समाज परिवर्तनको असाधारण शक्ति छ ।
समाज परिवर्तनको यस शक्तिलाई समाज उपयोगी बनाउन रेडियोमा सर्वसाधारणको सहज पहुँच, विविधता र सहभागितालाई प्रत्याभूत गर्न सक्नुपर्छ । समुदायबीच संवाद कायम गर्न सक्नुपर्छ । समुदायको पहुँच, सहभागिता र सामुदायिक संवाद त्यसबेला मात्र सहज र व्यापक हुन्छ जुनबेला संवादको विधिका रुपमा समुदायका मानिसहरु अभ्यस्त सञ्चार परम्परा अबलम्बन गरिन्छ । कथ्य परम्परामा आधारित हाम्रो समाजमा सुन्ने र सुनाउने विभिन्न ढाँचा र शैलीहरु छन् । तिनलाई रेडियोहरुले चिनेर प्रशारणमा प्रयोग गर्न जान्नुपर्छ ।
हाम्रो पूर्वीय समाज लामो समयसम्म कथ्य परम्परामा आधारित समाज हो । हाम्रा वेद तथा नीतिशास्त्रहरु शताव्दीऔंसम्म एक पुस्ताबाट अर्को पुस्तामा कथ्य परम्परामा आधारित भएर हस्तान्तरण हुँदै आए । अझ नेपाल भाषिक तथा साँस्कृतिक विविधताको धनी देश पनि हो । पुगनपुग तीन करोड जनसंख्या भएको देशमा एक सय २० वटाभन्दा बढी भाषा बोलिन्छन् । यहाँ अझै पनि लिम्बु, राई लगायत थुप्रै जातजातिका संस्कार विधिहरु लिखितम छैनन्, बकितममा छन्। रेडियो बकि–माध्यम भएकाले यसले पश्चिमा मुलुकहरुले निर्धारण गरेका प्रशारण कार्यक्रमका ढाँचा तथा स्वरुपलाई मात्र अनुसारण नगरी हाम्रो कथ्य समाजले पुस्तौंपुस्तादेखि अभ्यासमा ल्याएका थुप्रै सञ्चार पद्धति र कथ्य ढाँचाहरुलाई सजगतापूर्वक प्रयोगमा ल्याएर प्रशारणलाई सम्बृद्ध बनाउने अवसर पनि स्थानीय प्रशारकहरुमा निहित छ ।
समुदायले सदियौंदेखि अपनाएको सञ्चारका पद्धति र ढाँचाहरु हामीले स्थानीय प्रशारणमा अवलम्बन गर्न सक्यौं भने भुइँमान्छे (आम मानिस) का कुरा मज्जाले सार्वजनिक हुन्छन् । जब भुइँमान्छेका कुरा सुनिन्छ, तब उनीहरुको मनोवल बढ्छ अनि उनीहरुका अनुभव र दृष्टिकोणहरु समाजका लागि लाभदायक हुन्छन् । विकास, वातावरण र द्वन्द्व रुपमान्तरण जस्ता विषयका बहसहरुमा स्थानीय समुदाय अझ विशेषण गरी कमजोर वर्ग र गरिव समुदायका अवाजहरु खासै सुनिदैनन् । किनभने यस्ता बहसहरु सामान्यतया लिखित दस्वावेजमा आधारित हुन्छन् र औपचारिक परिवेशमा सञ्चालित हुन्छन् । धेरैजसो अवस्थामा त बहसको भाषा पनि समुदायका मानिसले बोल्ने भाषा र शैली भन्दा निकै फरक हुन्छ । महामारी, द्वन्द्व, विकास र वातावरण जस्ता विषयमा विज्ञ र आधिकारिक निकायहरुका विचार मात्रै सुन्ने र त्यसैका आधारमा निर्णयमा पुग्ने प्रचलन रहेको हुन्छ ।
अर्कोतर्फ सामाजिक पीडा र अभावहरु भनेकै राजनीतिक, साँस्कृतिक, आर्थिक र संरचनागत शक्तिले सर्बसाधारण माथि गर्ने कार्यका नतिजा हुन । यी शक्तिहरु सामाजिक समस्याको स्वरुप र बुझाइलाई नै आफ्नो अनुकुल बनाउन सदा क्रियाशील रहन्छन् । सरकारी अधिकारी, पढेलेखेका र समाजका शक्तिशाली व्यक्तिहरुका धारणा र आग्रहबाट तयार गरिएका प्रमाण, व्याख्या र बयानबाजीहरुले समस्याको वास्तविक चित्र प्रस्तुत गर्न सक्तैनन् । त्यसैले समस्याको मूल कारण पत्तालगाउन भुइँमान्छेका धारणा र दृष्टिकोण सुन्नु जरुरी हुन्छ । विविध आवाजको सहभागिता र प्रतिनिधित्व दिगो समाज विकासका लागि अपरिहार्य कार्य मात्र नभएर नैतिक बाध्यता समेत हो । यस कार्यमा स्थानीय रेडियोको भुमिका अत्यन्त महत्वपूर्ण हुन्छ ।
भुइँमान्छेका हृदयबाट निस्किएका इमान्दार आवाजहरु सदा जीवन्त हुन्छन् । यी आवाजहरुको अर्थ राजनीतिक स्वतन्त्रतासंग पनि जोडिएको हुन्छ । आम मानिसलाई आफ्ना कुरा व्यक्त गर्ने वातावरण नभएको राज्य व्यवस्था अनुचित मानिन्छ । ससक्त र जल्दोबल्दो नागरिक समाजको मूल जग भनेकै समुदायका भोगाइ, अनुभव र निश्कर्षहरुको परस्पर सञ्चार हो । जब समुदायले आफ्नो मौनता तोड्छ तब मात्र परिवर्तन सम्भव छ। त्यसैले समुदायलाई आफ्ना कथाव्यथा सक्रिय रुपमा बोल्ने बनाउन सक्यौं भने त्यो नै परिवर्तनको महत्वपूर्ण शुरुवात हो।
स्थानीय रेडियोको अर्को महत्वपूर्ण पक्ष भनेको यसले शक्ति, जात, वर्ग, लिङ्ग, हैसियत, क्षमता, भाषा र शिक्षाको व्यवधानलाई तोडर सर्वसाधारणलाई आफ्नै शैली, भाषा र स्थानीय विशिष्ट सन्दर्भ अनुसार आफ्ना कुरा राख्ने अवसर प्रदान गर्नसक्छ । निरक्षरहरुलाई पनि शिक्षित बनाउन सक्ने माध्यम रेडियो हो । आफ्नै बारेमा विज्ञ वा बाहिरिया मानिसका दृष्टिकोणमा आधारित विचार विश्लेषण सुन्नु पर्ने टिठलाग्दो बाध्यताबाट स्थानीय बासिन्दालाई छुटकारा दिलाएर स्थानीय रेडियोले उनीहरुलाई आफ्ना कुरा आफैं राख्न पाउने अवसर प्रदान गर्नसक्छ ।
भुइँमान्छेका हृदयबाट निस्किएका इमान्दार आवाजहरु सदा जीवन्त हुन्छन् । यी आवाजहरुको अर्थ राजनीतिक स्वतन्त्रतासंग पनि जोडिएको हुन्छ । आम मानिसलाई आफ्ना कुरा व्यक्त गर्ने वातावरण नभएको राज्य व्यवस्था अनुचित मानिन्छ । ससक्त र जल्दोबल्दो नागरिक समाजको मूल जग भनेकै समुदायका भोगाइ, अनुभव र निश्कर्षहरुको परस्पर सञ्चार हो । जब समुदायले आफ्नो मौनता तोड्छ तब मात्र परिवर्तन सम्भव छ । त्यसैले समुदायलाई आफ्ना कथाव्यथा सक्रिय रुपमा बोल्ने बनाउन सक्यौं भने त्यो नै परिवर्तनको महत्वपूर्ण शुरुवात हो ।
बानी नपरेको यसखाले सञ्चार वा पत्रकारितालाई बुझ्न हामीले सम्भावनाको नयाँ यात्रा थाल्नु जरुरी थियो । तर मुल प्रवाह मानिएका कुलिन धङधङीबाट ग्रसित केन्द्रिकृत पत्रकारिताकै वरपर खोलिएका स्थानीय रेडियोहरुमा शुरुदेखि नै त्यसैको नराम्ररी सेप लाग्यो । यसको कारण पनि अनौठो छैन । रेडियो हाम्रा लागि फिरङ्गी माध्याम थियो । हामीलाई तिनै राजनीतिक र कुलिन धङधङीमा लपेटिएको पत्रकारिताका खेलाडीहरुले विदेशी भाषामा लेखिएका पुस्तकहरुमा आधारित भएर बडो औपचारिक वातावरणमा अफ्ठ्यारो पाराले रेडियो सम्बन्धी तालिम दिए । मौका पर्दा विदेशीहरु ल्याएर उनीहरुकै भाषा र संस्कारमा रेडियो बारेको सीप सिकाउने काम भए । हामीलाई स्थानीयता र परम्परागत सामुदायिक सञ्चार पद्धतिको चेतना दिइएन । त्यसैले रेडियोलाई परचक्री माध्यम र पराई ज्ञानका रुपमा हामीले ग्रहण ग¥यौं । सञ्चारको स्थानीय आवश्यकता र स्वभावहरुलाई हामीले बुझ्नै पाएनौं वा सकेनौं । जानीनजानी स्थानीय कथाव्यथा, सम्भावना र आशा सञ्चार गर्न भनेर सुरिएका हामी स्थानीय प्रशारकहरु पनि उही राजनीतिक र कुलिन धङधङीमा लपेटिएको पत्रकारिताकै पोचो सङ्गतमा जाकियौं ।
सङ्गत गुनाको फल भनेझैं आवाज विहिनहरुको आवाज बन्ने सम्भावना र मर्म बोकेका स्थानीय प्रशारणलाई पनि हामीले आफ्नो फूर्ति लडाउने साधन बनायौं । तर वास्तविकता चाहिँ के हो भने प्रतिष्ठा र इज्जत हाम्रा फूर्तिमा होइन, सच्चाइमा निर्भर हुन्छ । त्यसैले सरल तर अद्भूत नेपाली मन्त्र ‘बेलैमा सत्य बोल’ लाई इमान्दारीपूर्वक पेशागत जीवनमा आत्मसात गर्न सक्यौं भने स्थानीय रेडियो प्रभावकारी र मर्यादित बन्ने मात्र नभई समग्र नेपाली पत्रकारिताले नै युगान्तकारी फड्को मार्नेछ ।
(सन्दर्भ विश्व रेडियो दिवस, २०७७)