सन्तान, छोई र संस्कार
मेरी छोरी पहिलो पल्ट छोई भएकोले भोज खाएर आएको, साथीहरुसंग’ करिब डेढ दशक पहिले सुनेको हो यो वाक्य। हामी तीनैजना नेपाली पुरुषहरु अचम्मले हेर्यौं उसलाई, मानौ ऊ अर्कै ग्रहकी बासिन्दा हो। ऊ, यानिकी नर्वेकी महिला, जसकी छोरी पहिलो पल्ट छोई अर्थात menstruation भएकी थिई। उसको कारभित्र भोज खाएर फर्किएको झल्को दिने प्रशस्त सामग्रीहरु हामीले देख्यौं। अरु धेरै विषयमा कुराहरु भएको हुनसक्छ त्यसबेला, तर मलाई भने त्यही कुराले धेरै छोयो। अरु साथीहरुले के सम्झे कुन्नि, मैले त नेपाल हुँदा देखे र भोगेका अनेक घटनाहरु सम्झिन पुगें।
जब केही युवा विद्यार्थीहरुले यो संस्कारको बिरोध गर्दै सामाजिक संजालमा अभियान चलाउँछन्, अत्यन्तै खुशी लाग्छ र समर्थन समेत गर्दछु। त्यस्ता अभियानहरु विशेष गरी नेपालको सुदुर पश्चिम भेगमा छाउपडी प्रथाले गर्दा धेरै महिलाले पाएको दु:ख प्रति समेत लक्षित भएको जस्तो लाग्छ। म मेरै सन्तानलाई समेत यो संस्कारलाई अन्धविश्वासको रुपमा नलिनु भनी सम्झाई रहेको छु। तर घरमा उपस्थित पुराना पुस्तासँग जुधेर यसको सामना गर्न तब कठिन हुँदो रहेछ, जब उहाँहरु यसमा ‘संस्कार’ जोड्नु हुन्छ र ‘डाँडा माथिको घाम’ भै सकेको आफ्नो उमेरले गर्दा आँफु बाँचुन्जेल यो संस्कार छाड्न गाह्रो मान्नुहुन्छ। म अहिले नै, आजैको दिनबाट किन छोई भन्ने अन्धविश्वास तोड्न सकेको छैन? शायद म ‘भोलिको पुस्ताले त केही गरिहाल्छ नि, हामी त बाध्यतामा छौँ, न यता न उता’ जस्तो सोंच्छु ।शायद सबै मानिसहरु आँफुलाई दुई पुस्ता बिचको अप्ठेरोमा परेको महसुस गर्दछन्, म जस्तै।
उसले तर्क दिएकी थिइ कि उसकी छोरी अब वयस्क तर्फ उन्मुख हुँदैछे, प्रकृतिले उसलाई आमा बन्न सक्ने क्षमता प्रदान गरेको छ। यो सबै महिलाको जिन्दगीमा आउने अविस्मरणीय तथा अत्यन्त महत्वपूर्ण घडी हो। त्यसैले यसलाई उत्सवको रुपमा किन नमनाउने ? त्यहाँका सबै मानिसहरु यस्तै छन् वा केही मात्र यो सोच्दछन् त्यो भने मैले ठम्याउन सकिन।
म आफ्नो विगततिर फर्केर हेर्ने चेष्टा गरें। मेरै घर तथा समाजमा दिदी-बहिनीलाई पहिलो पल्ट छोई हुँदा छिमेकीको घरमा लुकाउन लग्ने गर्थे, केही दिन नदेखेर सोधेपछि मात्र थाहा पाइन्थ्यो। आफ्ना बाबु तथा दाजुभाइ लगायत कुनै पुरुषले/पुरुषलाई समेत देख्न नहुने रे, एक हप्तासम्म (कहीं त एघार दिन सम्म), विशेषगरी पहिलो पल्ट। त्यति मात्र हो र, मठ-मन्दिर अनि सूर्यलाई समेत दर्शन गर्न नहुने रे! यो मेरो घरको मात्र होइन, समाजको त्यसबेलाको चलन थियो।
त्यो चालिस वर्ष पहिलेको समाज थियो जुन बेला छोई भएका महिलालाई छुट्टै बस्नुपर्ने, कसैलाई (विशेषगरी पुरुषलाई) छुन नहुने, घरका धेरैजसो ठाउँहरुमा जान नपाइने जस्ता बन्देजहरु हुन्थे तर काम गर्न चाहिं हुने। अहिले केही सहज भएको महशुस त हुन्छ, तर पनि अत्यन्तै धेरै भिन्नता देख्छु विभिन्न समाजमा, कहाँ को उत्सव अनि कहाँ को गुप्तवास?
बाल्यकालमा यो छोई के हो भन्ने समेत थाहा नभएकोले आमालाई धेरै कर गरी सोधेर मात्र यसको बारेमा केही कुरा थाहा पाएको थिएँ। तर मेरी आमाले बर्णन गर्दाको मेरो बुझाई नर्वेकी युवतीको जस्तो नभएर अत्यन्त अर्कै ‘संस्कार’को रुपमा दिमागमा बसिरह्यो, धेरै लामो समय सम्म। म त्यही नेपालमा प्रचलित छोई संस्कारमा हुर्किएं, आफ्नो जीवनको सम्पूर्ण बाल्यकाल त्यस्तै देखाइमा बिताएँ। धेरै पछि कलेज पढ्ने सिलसिलामा काठमाडौँ आएपछि केही फराकिलो सोंच विकास हुन पुग्यो, हामी सम्पूर्ण नेपालीहरु एकै खालको संस्कार बोकेका रहेनछौँ भनेर। कसैले केही दिन बार्नु पर्ने अनि कसैले बार्नु नपर्ने, उही देश भित्र पनि? अहिले आएर एउटा कुरामा म के विश्वस्त भएको छु भने यो एउटा प्राकृतिक प्रकृया हो जसले महिलाको जीवनमा मात्र नभएर समाजमा नै विशेष महत्व राख्छ।
म आफैसंग प्रश्न गर्ने गर्छु, के प्रकृतिले सन्तान उत्पादन गर्न सक्ने बनाउनु पाप हो? सन्तान उत्पादन गरी वंश अगाडि बढाउन प्रमुख भूमिका खेल्ने त्यस्तो प्रक्रियालाई झन् किन पापको भारी बोकाइन्छ? यदि यो पाप हो भने पुण्य के हो त?
चलिआएको उखान नै छ नि ‘अन्धाको देशमा आँखा चिम्लनु अनि लंगडाको देशमा खोच्याउनु’, हो त्यस्तै हुँदोरहेछ कहिलेकहीँ। मेरो विदेशको करिब सात बर्षे बसाईमा छोई बार्ने कुरामा त्यति ध्यान दिइएको जस्तो मलाई लाग्दैन।शायद धेरैलाई त्यो सम्भव पनि भएन होला विदेशी भूमिमा। जब हामी स्वदेश फर्कन्छौं, फेरि शुरु हुन्छ त्यही कुरिती पच्छ्याउनु पर्ने बाध्यता।
यस्तो लाग्छ, मानिस जबसम्म कुनै कुराको विश्वसनीय ब्याख्या भेट्दैन तबसम्म उसले अन्धविश्वासलाई सजिलै नकार्न समेत सक्दैन। त्यहाँ एउटा अचम्मको ‘डर’ले घर गरेको हुन्छ। त्यस्तो डर जसको कुनै वैज्ञानिक आधार अथवा व्याख्या मैले अझैसम्म फेला पारेको छैन। संविधानमै बन्देज गरिएका अनेक सामाजिक कुरितिहरुलाई समाजबाट सजिलै हटाउन गाह्रो हुँदोरहेछ भन्ने कुरा त पत्र-पत्रिकाहरुमा आउने बेला बखतका समाचारहरुले पुष्टी गरिरहेका नै छन्।
जब केही युवा विद्यार्थीहरुले यो संस्कारको बिरोध गर्दै सामाजिक संजालमा अभियान चलाउँछन्, अत्यन्तै खुशी लाग्छ र समर्थन समेत गर्दछु। त्यस्ता अभियानहरु विशेष गरी नेपालको सुदुर पश्चिम भेगमा छाउपडी प्रथाले गर्दा धेरै महिलाले पाएको दु:ख प्रति समेत लक्षित भएको जस्तो लाग्छ। म मेरै सन्तानलाई समेत यो संस्कारलाई अन्धविश्वासको रुपमा नलिनु भनी सम्झाई रहेको छु। तर घरमा उपस्थित पुराना पुस्तासँग जुधेर यसको सामना गर्न तब कठिन हुँदो रहेछ, जब उहाँहरु यसमा ‘संस्कार’ जोड्नु हुन्छ र ‘डाँडा माथिको घाम’ भै सकेको आफ्नो उमेरले गर्दा आँफु बाँचुन्जेल यो संस्कार छाड्न गाह्रो मान्नुहुन्छ। म अहिले नै, आजैको दिनबाट किन छोई भन्ने अन्धविश्वास तोड्न सकेको छैन? शायद म ‘भोलिको पुस्ताले त केही गरिहाल्छ नि, हामी त बाध्यतामा छौँ, न यता न उता’ जस्तो सोंच्छु ।शायद सबै मानिसहरु आँफुलाई दुई पुस्ता बिचको अप्ठेरोमा परेको महसुस गर्दछन्, म जस्तै।
यसको बैज्ञानिक पक्षलाई सजिलो भाषामा सबैले बुझिने गरी ब्याख्या गरेमा, प्रजनन् स्वास्थ्यप्रति सजग भै सरसफाइमा ध्यान दिएमा र यो प्राकृतिक कुरा हो जसले हाम्रो बंश अगाडि बढाउन अत्यन्तै महत्वपूर्ण भूनिका खेल्छ भन्ने कुरा दुवै महिला तथा पुरुषहरुलाई बुझाउन सकेमा अन्धविश्वासको जालो शायद हट्ने थियो कि? कुनै आधार त चाहियो नि विश्वास गर्नलाई।