परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

कोरोना तिमी छ्यौ र त हामी छौं

सुन्छु, गंगाको पानी कन्चन भएको छ रे । जंगलमा कयौ नयाँ चराहरु आएका छन् रे । काठमाडौँ असाध्यै सुन्दर देखिएको छ  रे । अनि काठमाडौँबाट सगरमाथा पनि देखिएको छ रे । अनि के रे के रे । स्वयम्भु र पशुपतिका बाँदरहरु छक्कै पर्दा हुन् । सडकका छाडा साँढे र कुकुरहरु पनि चकित खाएका होलान्– यो के भएको भनेर, मानिसहरु कतै देखिदैनन् । उनीहरु सोच्दा हुन मानिसहरु थाकेछन, सबै घरमै मात्र बस्छन् । त्यसो हो भने अब पृथ्वीमा शासन गर्ने पालो हाम्रो।

अति भएपछि पृथ्वीमातालाई पनि आराम चाहिएको थियो । उनले कसलाई गुहार्ने ? आफुले काखमा पालेको सबभन्दा विवेकशील मानिएको मानिस नै थियो । उसकै मति भ्रष्ट भयो । अनि माताले खुसुक्क कोरोना परीलाई गोलाकार बनाएर, सिंग जुरो हालिदिएर, गुलावी लिपिष्टिक पोतिदिएर सानोभन्दा सानो बनाएर कसैले नदेख्ने नचिन्ने गरी बुहान पठाइदिइन । साथमा असिमित अधिकार दिएर । रामले लङ्का जलाउन सुक्ष्म रुपमा हनुमानलाई अशोक बाटिका पठाए जस्तो । सुरुमा त लङ्काबासीले देखेनन, चिनेनन, चिने पछि पनि टेरेनन् या यसले के पो गर्छ, बाँदर त हो भने । सुरुमै राम्रोसित वार्ता वा समझदारी भएको भए सायद लङ्का जल्दैनथ्यो ।

कोरोनालाई पनि विश्वमा मै हुँ भन्नेहरु ट्रम्प, सि जिङ्गपिङ, किम जोङ्ग उन, पुटिन, मोदी, ओलीहरुले सुरुमा टेरेनन् । अहिले हल्लिएका हल्लियै छन्् । हिजोआज कोरोना परीले चलायमान विश्व ठप्प मात्र पारेकी छैनन् यहाँका मानिसहरुको गति उल्टो दिशामा घुमाई दिएकी छन् । सायद समय आएपछि सुल्टो घुमाइ देलिन् । यो उल्टो घुमेको समय मानिसलाई चेत खुलाउनका लागि छुट्याइ दिइन् ।

संक्षेपमा यो धर्ती तिमीहरुको मात्रै होइन, यहाँ अरु जलचर, पशुपन्छी, बोटबिरुवा, नदी नाला, ताल तलैया पनि छन् ती सबैको हो । सबैले बाँच्न पाउनु पर्छ । एक अर्काप्रति प्रेम र सद्भाव राख्नु पर्छ । कसैले आफ्नो सीमा मिच्नु हुँदैन । ठुलो र शक्तिशालीले त झन् बुद्धि पु¥याउन पर्छ भन्ने खालको संदेश थियो उनको ।

यो चकमन्नतामा एकथरी भने आनन्दित थिए र भन्दै थिए “कोरोना तिमी छौ र त हामी छौ” । यसो भन्ने अरु कोही नभएर तिनै अमुक चराहरु, जंगलका जनावरहरु, खोला खोल्सिहरु, बगरहरु, चौर र बुट्यानहरु थिए । पछि यसमा शहरी हावा र पानी पनि हो हो भन्दै आइपुगे । अहिले मानिसहरु गुहार मागिरहेछन् “कोरोना जाउ तिमी अब, तिम्रो भूमिका सकियो, हामीले बल्ल चेत्यौं ।” अनि पशुपन्छी र बोटबिरुवाहरु पनि अलि नरम भएर भन्नथाले “हे मानव तिमी छौ र त हामी छौं, हाम्रो रक्षक पनि तिमी नै हौ, तिमी नै हाम्रो बिनाशक । हाम्रो रक्षा तिमी गर, तिम्रो रक्षा गर्ने जिम्मेवारी हाम्रो । तर याद रहोस् तिमी बिना पनि हामी बाँच्न सक्छौं तर हामी बिना तिमीहरु सक्दैनौ । सहअस्तिवमा हामी बाँचौं भन्ने मात्र हाम्रो चाहना हो । बेकारमा किन कोरोना परीलाई बोलाई रहने? हैन त?”

Facebook Comments