लकडाउनमा दू्र शिक्षाः कति सहज, कति असहज ?
मोफसलका एक शिक्षकको अनुभव
चौतर्फी चर्चाको विषय बनेको अनलाइन कक्षा साथै दूर शिक्षा नेपालको सन्दर्भमा असम्भव अनि अपुरो रहेको कुरा हिजोआज एक मुद्दाको बिषय बन्न पुगेको छ । कुरो रह्यो अन्योल अनि आक्रोशको जो म आफैँ पनि केही हदसम्म छु । अति भोकमरीको सूचीमा परेको हाम्रो देशमा के प्रविधिबाट सम्भव होला सबैलाई समेटन ? समाजमा उचनीच वर्गिकरण हुने त हैन ? पढ्न वञ्चित हुने विद्यार्थीहरूको भविष्य अन्धकार हुने त हैन ? धैरै अभिभावकहरू अझै भोलि आफ्ना परिवारका लागि कसरी जोहो गर्ने भन्ने पिरलोमा छन्। यस बेलाको दोषी कसलाई मान्ने, आफूलाई या अन्यलाई? देशलाई या नेतालाई? हामीले विकासको ‘वि’ निकै कम तर विपन्नताको ‘वि’ ज्यादा देखे भोगेका छौँ ।
धरातल नै दह्रो नभएको या भनौँ प्रविधिको पहुँच र प्रयोगको ज्ञान कमैसँग मात्र भएका बेला हामी अग्रगामी सोचबाट विपन्न जस्तै बनेका छौँ । तर पनि विकल्पहरू नै नभएको भन्ने चाहिँ हैन। यो बेला आफ्नो पहुँचमा जे छ, त्यसैलाई प्रयोगमा ल्याउन सक्दा विद्यार्थीको सिकाइको क्रमलाई निरन्तरता दिन सकिने देखिन्छ । इन्टरनेटको पहुँच रहँदा अनलाइन क्लास, नभए रेडियो वा टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट कक्षा लिन सक्ने वातावरण बनाउन सकिन्छ । हाल शिक्षा सम्बन्धित सरकारी तथा निजी निकायहरू, सामुदायिक तथा निजी विद्यालयलगायत सरोकारवालाहरू सम्पूर्ण विद्यार्थीलाई समेटने गरी यस्ता प्रविधिका माध्यमबाट सिकाइ वातावरण बनाउन अहोरात्र लागेको अवस्था छ ।
अहिले हामी ज-जस्ले अनलाइन र दूर शिक्षाको कुरा गर्दैछौ साथै कदम बढाउदै छौ, यो उदाहरणीय कार्यको एक पहिलो कदम मान्न सकिन्छ । तर यससँगै अनलाइन तथा दूर शिक्षालाई निरर्थक र समयको बर्वादी मान्नेको जमात पनि उत्तिकै छ । यसको प्रभावकारितालाई वास्तविक कक्षा शिक्षणसँग दाँजने परिपाटी पनि छ । कति अभिभावकहरू स्रोत, साधन जुटाउन सक्ने भए पनि कोरोना सर्ने डरका कारण चुपचाप बसेका देखिन्छन् भने अर्कोतर्फ केही अभिभावकहरू प्रविधि र साधन रहँदा समेत आफ्ना नानीहरूलाई केही महिना वा बर्षदिनसम्म नपढे पनि असर नपर्ने कुरामा अडिग छन् ।
तर सिकाइको निरन्तरता नरहँदा विद्यार्थीहरूमा पढाइ र विद्यालयप्रति चासो र महत्व घटन गई दीर्घकालीन असर पर्न सक्ने सम्भावना अधिक रहन्छ । वास्तवमा लकडाउनको लम्बिने समय अड्कल्न असम्भव रहेको बेला अतिप्रभावकारी नभएता पनि शिक्षण सिकाइका लागि एक वैकल्पिक रूप मानी कुनै पनि स्रोत र साधन भइरहँदा अनलाइन नेट वा दूर शिक्षाका लागि रेडियो तथा टिभी प्रयोग गर्नु नै सबैको लागि आजको अपरिहार्यता हो भन्नु गलत नहुन सक्छ ।