प्रकृतिसँगै बगिरहेछ जिन्दगी सललल
लक डाउन, प्रकृति र जिन्दगी
बिहान लालिमा कुन दिशामा देखिन्छ? यसको उत्तर सोच्दै कुरा सुरु गरौँ ।
लक डाउन । घरैको बन्दी । वाक्क । दिक्क । जानु कहाँ । घरमै थच्चियो । ओछ्यानबाट उठ्यो । नित्य कर्म ग¥यो । भान्सा गयो । कि कोठैमा पकायो । खायो । किताब पढ्यो । टिभी हे¥यो । मोवाइल रगड्यो । गमला । करेसा । छत । बाल्कोनी । टाढा गए छेउको पसल । बिहान । दिउँसो । साँझ । बेलुकी । राती । ओछ्यान । निन्द्रा । सपना । सङ्क्रमित । मृत्यु । बस् । यही नै हो जीवन !
यो जीवनचर्यादेखि अलिक पर आज तपाई र म समय र जीवनको गतिसँगै यात्रा गरौँ भन्ने मेरो प्रस्ताव स्वीकार्नुस् । पहिले अघिकै मेरो प्रश्नः बिहान लालिमा कुन दिशामा देखिन्छ? तपाईको उत्तरः पूर्व दिशामा । म भन्छु हैन । तपाई मलाई नपत्याउन सक्नुहुन्छ । हो, यो तपाईको अधिकार पनि हो । कस्ता कस्ता पत्याएकाले केही खालो सारेका छैनन् । अनि म को हुँ र मलाई पत्याउनु ! तर मेरो उत्तर त सुन्नुस् । पश्चिम दिशामा । अब त झन् तपाई पत्याउनुहुन्न होला। कि एकपल्ट सोच्नुहुन्छ त । ल, सोच्न केही समय दिएँ न त ।
अब तपाईलाई मेरो अर्को प्रश्न– तपाई बिहान कति बजे उठ्नुहुन्छ? यो प्रश्नसँग पहिलो प्रश्नको उत्तर जोडिएको छ । तपाई आफ्नो बानी र आवश्यकता अनुसार नै उठ्नुहुन्छ । स्वाभाविकै पनि हो । तर केहीजानी तपाईले आज बिहान चारदेखि पौने पाँच बजेको बीचमा उठेर पश्चिमपट्टि हेर्नुभएको थियो भने अवश्य भन्नुहुने छः ‘तँ सही छस् । लाली त पूर्वभन्दा पहिले पश्चिममै छाएको हो !’
बिहान कति प्रकारका हुन्छन् त? कसैका लागि भुकभुके बिहान । जहाँ उज्यालो खसिसकेकै हुन्न । अहिलेका हिसाबले साढे चार बजेको समय । कसैका लागि पूर्वमा लालिमा देखिएको बिहान । अहिलेका हिसाबले पौने पाँच बजेदेखि साढे पाँच बजेसम्मको समय । कसैका लागि सूर्योदयको बिहान । अहिलेका हिसाबले बिहान ६ बजेको समय । अनि कसैका लागि घाम माथि आइसकेपछिको बिहान, जहाँ घाम कलिलै हुन्छ । साढे सात बजेभित्रको समय । अनि कसैका लागि कत्ति जुवा घाम आइसकेपछिको बिहान, जुन आठ बजेपछिको हुन्छ । तैपनि बिहान केही कलिलै हुन्छ । अनि कसैका लागि छिप्पिएको बिहान जुन अहिलेका हिसाबले नौ बजेपछिको हुन्छ । यो मोटामोटी समयको आँख्लामा तपाई केही थपघट गर्न मजाले सक्नुहुन्छ ।
अचम्म के छ भने भुकभुके उज्यालो हुनुपहिले नै चरालाई बिहान भएको थाहा हुन्छ । चार बजेदेखि नै चराको सङ्गीत सुन्न पाइन्छ । चरासँग अचम्मको घडी छ, यिनलाई रात बितेर बिहान भएको अँध्यारैमा थाहा हुन्छ । हाम्रा पुर्खाहरू तारा हेरेर रात कति बित्यो, बिहान हुन कति बाँकी छ भनेर थाहा पाउँथे । हामीले पनि सानामा यो कला सिकेका थियौँ ।
मान्छेको बानी बिहान छिटो उठ्ने र ढिलो उठ्ने हुन्छ । कतिलाई त रातीको ड्युटीका कारण बिहान ढिलो उठ्नुपर्ने बाध्यता नै हुन्छ । तपाई राती धेरै बस्नेमा कि बिहान छिटै उठ्नेमा पर्नुहुन्छ ? मेरो कुरा गर्नुपर्दा पत्रिकाले राती बस्न बानी पा¥यो । रेडियो र कलेजले बिहान छिटो उठ्न बानी पारे । अहिले राती अबेलासम्म बसे पनि बिहानै निन्द्राले छोडिहाल्छ । कहिले त दिनभरि आँखा पोलिरहन्छ ।
अँ, प्रकृति, समय र यात्राकै कुरा गरौँ । बिहानै चार बजेपछि बिहानीको हावा खान डुल्नुप¥यो भनेर निस्केँ । फेरि सडकमा हैन है । छतमा । प्रायः कलेज हुँदा पनि म बिहान चारदेखि साढे चार बजे उठिसक्छु । साढे पाँच बजेको समाचार बाटैमा सुन्दै जाने हो । बिदा हुँदा पनि साढे पाँच बजेको समाचार सुन्नैपर्छ । अल्छी लागे ओछ्यानमै पल्टेर भए पनि सुन्नै पर्छ । तर मलाई बिहान र साँझ हेर्न खुबै मन पर्छ । त्यसैले मेरो गन्तब्य बिदामा छत नै हुन्छ । यहाँ भन्नुपर्ने अर्को कुरा के छ भने बिहानको मजा लिन ४–६ बजेसम्ममा उठिसक्नुपर्छ । सात बजे उठ्नेले केही हल्का मात्रै बिहानी अनुभव गर्छ । आठ बजे उठ्नेले बिहानका धेरै गुण गुमाइसकेको हुन्छ । नौ बजेपछि उठ्नेलाई त बिहान कस्तो हुन्छ थाहा पनि हुन्न ।
अँ, कुरा गर्दै थिएँ । बिहानको भुकभुके उज्यालो हुन बाँकी नै थियो । मान्छेका लागि लक डाउन छ तर शितल हावा स्वतन्त्र बहिरहेछ । चराले बिहानको सङ्गीत गाउन थालिसके । उज्यालोको नामनिशान नहुँदा पनि उज्यालो हुन लागेको थाहा पाउने चराको प्राकृतिक घडी गजबको छ । अघि म भन्दै थिएँ— घडी नहुँदा मान्छेले तारा र घाम, जूनबाट समय थाहा पाउँथे । मैले आकाशमा नजर दौडाएँ । पूर्वमा एउटा चम्किलो तारा टिम्टिमाउँदैथियो । यसैसँग दुईटा अलि कम चम्किला तारा दूरी बनाएर टिम्टिमाइरहेका थिए । चम्किलो तारा बृहस्पति हो कि? बाँकी दुईटा ताराको नाम के होला? मेरो मनमा खगोलविद, ज्योतिषाचार्य, नेपाल संस्कृत विश्वविद्यालयका सह-प्राध्यापक मेरा मित्र जयन्त आचार्यको सम्झना आयो । अहिले मैले यी हरफ लेखिरहँदा रातीको साढे १० बजेको छ । केही छिन्अघिमात्रै जयन्तजीलाई मैले सोधेँ — बिहान पूर्वमा देखिने चम्किलो तारा बृहस्पति हो त? ‘हो ।’ उहाँको उत्तर आयो । मैले बुझेको- शुक्र बृहस्पतिभन्दा अझै बढी चम्किलो र ठूलो जस्तो देखिन्छ । अनि बृहस्पतिसँगै केही दूरी बनाएर टिम्किएका दुईवटा तारा के हुन् त? जयन्तजीको उत्तर आयो— मङ्गल र शनि । ‘बेलुकी पश्चिममा देखिएको चम्किलो तारा शुक्र होइन त?’ ‘हो ।’
मैैैले रेडियो सगरमाथामा काम गर्दा कुनै खास खगोलीय सन्दर्भ विशेषमा जयन्तजीसँगका कुराकानी कैयनपटक प्रसारण गरेको याद आयो। उहाँ खगोलीय क्षेत्रमा केही गर्नुपर्छ भनेर लागेको मान्छे।
अब बिहानकै प्रसङ्ग जोड्छु । आकाशमा आँखा घुमाएँ । जून पर नैकापको डाँडामाथि अस्ताउन एक जुवा बाँकी छ । अनि सप्तर्षि तारा फनक्क फर्केर उत्तरपट्टि ढल्केका छन्, ध्रुब तारालाई उत्तरपूर्व पारेर । ध्रुब ताराबारे सानोमा मेरो बुझाइ निकै चम्किलो तारा भन्ने थियो । तर त्यो भ्रम निकै पछि टुटेको थियो । यो त धेरै चम्किलो होइन रहेछ । तर एकै ठाउँमा रहने भएकाले अटल भनिएको । पश्चिमाहरू नर्थ स्टार पनि भन्छन् । कम्पास नबन्दासम्म पोलार स्टार वा ध्रुव तारालाई आधार मानेर नाविकहरू समुद्रमा जहाज चलाउँथे रे । यस्तै सोच्दै थिएँ । जून नैकापको पहाडमा डुब्दै जान थाल्यो । पूर्वमा लाली चढेको छ कि छैन त? पूर्वपट्टि फर्केर हेरेँ । अहँ । छैन । रोमाञ्चक चन्द्रास्त अवलोकन ।
बिहानीको लालिमा त पश्चिममा पो छायो । पूर्वमा भुकभुके उज्यालो खसिसकेकै छैन । पूर्व अँध्यारो र पश्चिम लालिमायुक्त । बिहानको समय । कति रोमाञ्चक क्षण थियो यो? अनि मेरो ध्यान फेरि पूर्वैपट्टि गयो । हामी सानो छँदा — घाम र जून दिदी बहिनी रे । घाम दिदी अनि जून बहिनी रे । दिउँसो बहिनीले दिदीलाई छोडिदिएको रे । अनि राती दिदीले बहिनीलाई छोडिदिएको रे । यस्तै भन्थे । सम्झेँ । अनि जूनले घामलाई दिन हस्तान्तरण गरेको जस्तै थियो । अब विस्तारै पूर्व भुकभुके उज्यालो खस्यो । पौने पाँचको समय । भालेको डाकसँगै काग कराउँदै उड्न थाले । त्यसपछि उड्ने पालो गिद्ध, परेवा र रुप्पी (सारौँ, डाङ्ग्रे) को । पूर्वबाट पश्चिम उड्दैछन् चराहरू । भँगेरा, जुरेली र अरु चरा नथपिने त कुरै भएन । ओहो कति रमाइलो । उज्यालोको डिग्री बढ्दैछ ।
ताराको चहकिलोपन घट्दैछ । विस्तारै बृहस्पतिसँगका दुई तारा मङ्गल र शनि फिका पर्दै गए । अनि पूर्वको लालिमा चढ्दै गयो । पर उभिएको चार भञ्ज्याङमध्येको एक फुल्चोकी खुल्दै आयो । पश्चिम उत्तरमा रहेको ह्वाइट गुम्बाका बत्ती फिका पर्दै गए भने त्यसैको माथि उभिएको चार भञ्ज्याङमध्येको अर्को उभिएको डाँडो नागार्जुन प्रष्टिन थाल्यो । दक्षिणमा रहेको चन्दागिरीका बत्ती पनि मधुरा हुँदै गए । अनि चन्द्रागिरी डाँडो उज्यालिएर आयो । यसरी लकडाउनमा प्रकृतिको गति तीब्र हिसाबले अगाडि बढिरह्यो । पौने पाँचदेखि मन्दिरमा घण्टा र घरमा पूजा गरेको शङ्खध्वनि सुनिन थाल्यो । सबै ठप्प पारेको लकडाउनले प्रकृति र जीवनको गति रोक्न सकेन । समय र जीवन सँगै बहँदै दिनको सुरुवात भयो ।
सबैभन्दा पहिले पाँच बज्दा मेरा छिमेकी नारायण पोखरेलको घरको मूलढोका खुल्यो । कलेज लाग्दा चाहिँ उहाँ र मबीच को पहिले भन्ने प्रतिस्पर्धा नै हुन्छ । तर अहिले उहाँकै मूलढोका पहिले खुल्छ । बाइक बाहिर निस्क्यो । लक डाउनले उहाँको गतिलाई रोकेन । बाइक बजारतिर हुइँकियो । मैले आकाशमा नजर लगाएँ । पूर्वको लाली झनै गाढा भएर आयो । बृहस्पति अब फिका पर्न थाल्यो । साढे पाँच बज्दा नबज्दै नारायणजीको बाइक घरअगाडि रोकियो । एउटा झोलाको पोको मूल ढोकाभित्र हालेर बाइक कालिमाटीतिर हुइँकियो । पहिलोपल्टको हुइँक्याइँ दूधका लागि थियो भने दोस्रोपल्टको हुइँक्याइँ ताजा तरकारीका लागि थियो । नारायणजी कालीमाटीबाट नफर्किँदै उहाँको पसलको सटर परिवारका अन्य सदस्यले खोलिसके । एकाबिहानै तातो दूध र दूध चिया खाने टोलवासीको सेवा अब सम्भव भइसक्यो । एकादुई मान्छे फाट्टफुट्ट सडकमा देखिन थाले । नारायणजीको र एकादुई पातलो खुलेका किराना पसलले धानेका छन् टोल-टोलमा खाद्यान्न र खिर्चीमिर्ची सामानको माग ।
यत्तिकैमा पौने छ बज्यो । अब पूर्वको लालिमा फुङ्ग उडेर गयो । उज्यालोको चर्को मात्रा बढेर आयो । ६ बज्दा नबज्दै नारायणजीको पसलमा तरकारी आइपुग्यो । किनमेल गर्ने पसल जान थाले । लकडाउनमा जीवन र प्रकृति यसैगरी सँगै अगाडि बढ्दैछन् । ६ बजेपछि पूर्वबाट सूर्यको दर्शन पाइयो । छिमेकीको सानो बच्चाले कुकुरको कालो छाउरो ल्याएर बाहिर बाँध्यो अनि छाउरासँगै खेल्न थाल्यो । आज हामीलाई त्राही त्राही पारेको कोरोना यो बालकका भविष्यमा एउटा कथा जस्तो मात्रै हुनेछ । अनि उसले पनि हुर्किनुपरेको छ । भविष्यमा आउने नयाँ नयाँ रोग र समस्यासँग पौठेजोरी खेल्नुछ । यस्तै तर्कना मनमा आइरहे । पारि हेरेँ । घर बनाउने मिस्त्री काममा खटिसकेका छन् । बारीमा काम गर्न मान्छे पसिसके । तल खोल्सामा ब्याडमिन्टन खेल्न थालिसके । पानीका जार बोक्ने गाडी सडकमा गुड्दैछन् ।
बिहानको आठ बज्दा नबज्दै ठेलामा तरकारी लिएर ठेलावाल तरकारी भन्दै कराउन थालिसके । लकडाउनमा न प्रकृति रोकिएको छ न मान्छेको जीवन नै ।
बिहान बिदा गरेको जूनको हालखबर के छ त? म मेरा कुरा बिट मार्नु पहिले एकपल्ट छतमा निस्केँ । मैले आज एकाबिहानै बिदा गरेको जून त अहिले राती झण्डै आधा आकाशमाथि चढिसकेको रहेछ । बेलुका पश्चिम आकाशमा देखिने शुक्र तारा अस्ताइसकेछ । अनि, तीन तारे तेर्सिइसकेका रहेछन् । अहिले कुकुर र लाटकोशेराको आवाज मेरा कानसम्म आइरहेछ । परपर स्याल कराएको समेत सुन्दैछु । बिहान र दिउँसो अस्तित्वमा आउनेहरू राती हराउने । राती निशाचरको समय । अनि राती अस्तित्वमा आउने निशाचर दिउँसो हराउने । गजब छैन त प्रकृतिको नियम ! अहिले रातीको ११ः४५ बजिसक्यो । जे होस्, अबको साढे चार घण्टासम्म यिनै निशाचरको शासन चल्छ यो टोलमा, धर्तीमा । अनि बिहानको चार/साढे चार बजेदेखि फेरि प्रभातीय चहलपहल सुरु हुन्छ र उही चक्र दोहोरिन थालिहाल्छ । नदी बहिरहेछन् । हावा बहिरहेछ । हाम्रो जून पृथ्वीलाई प्रतिघण्टा ३,६८३ किलोमिटरको गतिमा घुमिरहेको छ । पृथ्वी आफ्नै अक्षमा १,६७० किलोमिटर प्रतिघण्टाका दरले फनफनी घुम्दो छ । यही पृथ्वी सूर्यको वरिपरि एक लाख सात हजार किलोमिटर प्रतिघण्टाका दरले घुम्दै हुर्रिरहेको छ । सूर्य आफ्नै आकाशगङ्गा वरिपरि सात लाख बीस हजार किलोमिटर प्रतिघण्टाको गतिमा घुमिरहेको छ ।
मलाई भने भोलि पनि प्रभातीय दृश्य हेर्ने लोभ छँदैछ । यो गतिशील संसारमा घडीको पलासँगै हाम्रो जिन्दगी पनि हरदम बगिरहेछ । सललल, सललल । शुभरात्री ।