बहुगुणी फल ड्रागन
बहुगुणी फलहरु मानिसका लागि बरदान हुन । झट्ट हेर्दा सिउँडीको जस्तै बोट देखिने, दक्षिण र मध्य अमेरिकामा उत्पत्ति भई संसारका धेरै देशहरुमा फैलिएको क्याक्टस (Cactus) प्रजातिकोे ड्रागनफल पनि यस्तै बहुगुणी फलमध्ये एक हो । यसलाई पितानाया (Pitanaya) र पिताया (Pitaya) पनि भनिन्छ । नेपालमा यसलाई ड्रागनफल, सिउँडी फल र कतै कतै सिम्थीफल पनि भन्ने गरिएको पाइन्छ । यसको वैज्ञानिक नाम हाइलोसेरियस अनडाइटस (Hylocereus undatus) हो भने यसको फ्यामिली नाम क्याक्टेसी (Cactacace) हो । मानव शरीरलाई चाहिने सम्पूर्ण तŒव एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई सुपर फूड भनिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले यसलाई शक्तिको पावर हाउस पनि भनिन्छ, यसमा धेरै किसिमका औषधीय तŒव पाइने भएकाले यसलाई औषधीय फल पनि भनिन्छ । नेपालमा पनि यसको व्यावसायिक खेती र उपयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
विश्वमा पाइने खान योग्य ड्रागनफल सामान्यतया तीन प्रकारका छन् । रातो बोक्राभित्र सेतो गुदी हुने, सेतो ड्रागनफल हो । यो जातको ड्रागनफल बढी फल्नेमा पर्दछ । नेपालमा पनि यसको सफल प्रयोग भइसकेको छ । रातो बोक्राभित्र रातो गुदी हुने रातो ड्रागनफल हो । रातो ड्रागनफल पनि गाढा रातो र हल्का रातो अर्थात अबिरे गरी दुई रङको हुन्छ । सेतोका तुलनामा यो अलि कम फल्दछ । पहेँलो बोक्राभित्र सेतो गुदी हुने अर्को प्रजाति हो– पहेंलो ड्रागनफल । यसको पनि नेपालमा परीक्षण खेती सुरु गरिएको छ ।
ड्रागनफल सामान्यतया एक स्वादिष्ट खाद्य फलका रूपमा प्रयोग गरिन्छ । खानापछिको डेजर्डका रूपमा पनि विश्वभर लोकप्रिय छ । ब्रेकफास्ट, डिनर र लन्चमा सजिने डिक्समा पनि पर्दछ । घरमा आउने विशिष्ट पाहुनाको स्वागतमा पनि यसले प्रसिद्धि पाएको छ । दिउँसोको खाजा र बच्चाको टिफिनमा पनि यसको प्रयोग दिनप्रतिदिन बढिरहेको छ । विवाह, व्रतबन्ध, जन्मोत्सव, पूजाआजा, देवकार्य, पितृकार्य, छठपूजा, उपहारमा पनि यसको प्रयोग बढ्दै गइरहेको छ ।
इस्टमित्र, नातागोता, साथीभाइको घर अफिसमा जाँदा कोसेलीका रूपमा दिन सकिन्छ । जाम, जेली, वाइन, आइसक्रिम, चकलेट, बिस्कुट, कन्फेक्सनरी, सर्वत, पाउडर, मिलसेकजस्ता खाद्य र पेय पदार्थ बनाउन पनि प्रयोग गरिन्छ । फेसवास वा फेसप्याकका लागि यो अत्यन्त उपयोगी र आकर्षक मानिन्छ । यसबाट बनेका सौन्दर्य प्रशाधनका सामग्री विश्वभर लोकप्रिय मानिन्छन् । त्यसैले ड्रागनफललाई कृषि जन्य औद्योगिक कच्चा पदार्थ र गाउँ तथा शहरमा रोजगारी प्रवद्र्धन गरी उच्चआर्थिक प्रतिफल दिने महत्वपूर्ण वस्तुका रुपमा लिनसकिन्छ ।
नेपालमा यसको खेती विभिन्न भू–भागमा गर्न सकिन्छ । यसका लागि पानी नजम्ने, सेप/ओसेप र छायाँ नभएको र पारिलो जमिन हुनुपर्दछ। कालो, रातो, फुस्रो, बलौटे, दोमट, चिम्ट्याइलो गेगरयुक्त, ढुङग्यान जुनसुकै माटोमा पनि यसको खेती गर्न सकिन्छ । यसले गर्मीमा ४५ डिग्री सेल्सीयस र जाडोमा २–३ डिग्री सेल्सीयससम्मको तापक्रम सहन गर्न सक्दछ । तथापि १५–३० डिग्री सेल्सीयस तापक्रम हुने ठाउँ सबैभन्दा उपयुक्त मानिन्छ । तराइ, भित्री मधेस र पहाडका धान, मकै, गहुँ, तेलहन, दलहन खेती गर्न सकिने मलिला खेतबारीदेखि खोलाबगर, रुखा पाखा, पखेरा, कान्ला र अन्य खेती गर्न नमिल्ने बुट्यान क्षेत्रमा पनि यसको खेती गर्न सकिन्छ । तराइमा अन्य खेती गर्न नसकिने बलौटे, गेग¥यान र बगर जस्ता ठाउँमा खेती गर्दा अरू खेतीयोग्य जमिनमा गरिने अन्य खेतीभन्दा बढी आम्दानी लिन सकिन्छ । गमलामा रोपेर घरको छत, कौसी, पेटी, आँगन, सिँढीमा पनि यसको खेती गर्न सकिन्छ । नेपालको हावा, पानी भू–बनोट, प्रकृति ड्रागनफल खेतीका लागि उपयुक्त हुन्छ । नेपालको विभिन्न भागमा फलेका ड्रागनफल रसिला, पोटिला, झरिला र खाँदा पनि अत्यन्तै मिठो, ठूलो र धेरै फल्ने हुनाले नेपाल यसको खेतीका लागि अत्यन्तै उपयुक्त र उर्बर भूमि हो भन्न सकिन्छ ।
खेती गर्ने तरिका
यसलाई बाह्रै महिना खेती गर्न सकिन्छ । ड्रागनफलको बिरुवा रोप्दा फेदमा राम्ररी जरा पलाएको र टुप्पामा मुना पलाएको हुनुपर्दछ । रोप्नुअघि प्लास्टिकको सोलीबाट झिकेर जरा अडिएको माटोको ढल्लो नफुट्ने गरी गमला, बारी वा पोलको फेदमा रोप्नु पर्दछ । वयस्क बोटको हाँगा काटेर सिधै जमिन वा गमलामा पनि रोप्न सकिन्छ । यसको बिरुवा वा बोटको एकापट्टिको भाग चेप्टो हुन्छ र त्यसको विपरीत भागमा एउटा ढाड जस्तो भाग उठेको हुन्छ । चेप्टो भागलाई अगाडिको भाग र धार भागलाई पछाडिको भाग भनिन्छ । पोल, भित्ता, बाँस वा अन्य टेकामा बिरुवा रोप्दा त्यसको अगाडिएको भागलाई टाँसेर रोप्नु पर्दछ ।
यसको बोट ठूलो र दह्रो हुँदैन । हाँगा फैलँदै बढ्दै गर्ने लहरा जस्तो हुनाले आफैँ खडा हुन सक्दैन । त्यसैले यसको बिरुवा रोप्नुभन्दा अघि यसलाई अड्याउन पोल, टेका, माँच, थाङ्ग्रो वा अन्य दह्रो आडेसको ब्यवस्था गर्नुपर्दछ । यसरी गडिने पोल आठ–आठ फिटको फरकमा हुनुपर्दछ । पेलको टुपोमा टायर वा अन्य कुनै रिङ्ग रख्नु पर्दछ त्यहि रिङ्ग वा क्यापबाट वाहिर लत्रेका हाँगाहरूमा कोपिला लागेर फूल फुली त्यसै फूलमा फल लाग्दछ । एकपटक रोपेपछि २०–२५ वर्षसम्म फलिरहन्छ र फल कम र सानो फल्न थालेपछि पुरानो बोट हटाएर त्यही पोलमा अर्को नयाँ विरुवा रोप्नुपर्दछ ।
यसको बोटमा फल फल्न थालेको तेस्रो वर्षदेखि व्यावसायिक उत्पादन लिन सकिन्छ । वैशाख–जेठदेखि फुल फुल्न थालेर त्यही फूलमा चिचिला लागेको ३०–४० दिनभित्रमा फल पाक्दछ । यसको फल जेठ–असारदेखि मंसिरसम्म आठ–दश छिमल फल्ने गरेको पाइएको छ । पोल, टेका वा माँचको उचाइ ५ फिट अग्लो हुने भएकाले करिब ३ फिटसम्म उचाइ हुने खालका बन्दा, काउली, खुर्सानी, रायोको साग, लसुन, प्याज, धनियाँ, पुदिना, टमाटर, भन्टा, आलु, मास, चियासिड, कुसुमकर्मी, तिल, तोरी, स्टेबरी, भिन्डी, सखरखण्ड जस्ता अन्य बालीलाई दुई पोलका बीचमा अन्तर बालीकारूपमा लगाउन सकिन्छ । वर्षमा दुई–तिन पटक गाईवस्तु, भेडा, बाख्रा, हाँस, कुखुरा, सुगुर, बंगुर आदिको राम्ररी पकेको मल लगाउनु पर्दछ ।
ड्रागनफल फल अत्यन्तै रसिलो कोमल र गिलो हुनाले यसलाई अत्यन्त जतनसाथ सिकेचर वा चक्कुको सहेताले टिप्नुपर्दछ र यसलाई पातलो फोम वा कागजमा लपेटेर क्यारेटमा राख्नुपर्दछ । बजारमा पठाउँदा पनि यसलाई दबाव नपर्ने र नकुच्चिने गरी पठाउनुपर्दछ । भण्डारण गर्दा सुख्खा, ओभानो, घामपानी नपर्ने १–१५ डिग्री सेल्सियस तापक्रम भएका कोठामा राख्नुपर्दछ । यसरी भण्डारण गर्दा एक महिनासम्म सुरक्षित रहन्छ । बजार टाढा छ अथवा धेरै समयसम्म भण्डारण गर्नु छ भने यसको फल हरियोबाट हल्का रातो हुने बित्तिकै टिप्नुपर्दछ । नजिक बजार भएमा रातो भएका ३–४ दिनपछि टिप्नुपर्दछ । टिप्नासाथ खाने हो भने रातोबाट हल्का गुलाबी वा प्याजी रंगको भएपछि टिप्नुपर्दछ, यो पूर्ण बयस्क र परिपक्व अवस्थामा हो । यसरी परिपक्व भएर टिपिएको फल अत्यन्त मिठो र पौष्टिक हुन्छ । यो अवस्थामा फल नटिपेमा बोटमै फुटेर रस चुहिने र चराचुरुङ्गी, अरिङगाल, बारुलो, झिँगा, भुसुनाले खान थाल्दछ । यसलाई पकाउन र सुरक्षित राख्न कुनै किसिमको औषधिको प्रयोग आवश्यक पर्दैन र स्वास्थ्यका हिसाबले गर्नु पनि हुँदैन ।
ड्रागनफलको खेती उच्च प्रतिफल दिने नगदेबाली हो । यसले गाउँ गाउँमा गरिबी न्यूनिकरण गर्न, आय र रोजगारी वृद्धि गर्न, कृषिमा आधारित उद्योग तथा व्यापार विस्तार गर्न र खाद्यान्न अभाव तथा भोकमरी कम गर्न समेत मद्दत पु¥याउँछ । तराई देखि पहाड सम्म खेती गर्न सकिने भएकाले नेपालको करिव साठी प्रतिशत भू भागमा खेती गरी करिव सत्तरी प्रतिशत जनसंख्या संलग्न हुन सक्ने सम्भावना रहेको छ ।