एक गतेको उच्च छलाङ
फुटानी
आज कुनै काम छैन फुर्सदको समय सदुपयोग गर्छु भनेर ‘महान जनयुद्धको उच्च छलाङ’ भन्ने पुस्तक निकालेर पढ्न मात्र के बसेको थिएँ टुप्पुलुक्क भिरघरे आई पुग्यो ।
भिरघरेको आँखा कितावतिर प¥यो । अनि भनी पनि हाल्यो – हैन हौ काका ! अझै त्यो आतङ्कको माया लाग्दै छ ? १० वर्ष आतंक मचाएर धेरै जसोले धनगढी, नेपालगंज, सुर्खेत, दाङ, बुटवल, पोखरा, काठमाण्डौ, चितवन, विराटनगर झापातिर घर घडेरी जोडेर मोज गरेर बसेका छन् । तिमी भने चोया काडेर डोको बुनेर जीविका चलाउँदै छौ । अब त्यो तथाकथित जनयुद्धको के मायाँ गर्छौ ?
‘बकबक नगर भिरघरे । मेरो रगत र पसिना, सपना र बिपना, मृत्यु र जीवन, ध्वंस र निर्माण त्यही महान जनयुद्ध नै थियो । अनि कसरी चटक्क बिर्सन सक्छु !‘
ए काका ! बकबक गरेको होइन । सत्य कुरा बोलेको हो । त्यस बेला हाम्रो काँग्रेसको कार्जेकर्ता मात्र होइन एमालेकालाई पनि खोजी–खोजी परमधाम पु¥यायौ । अहिले एमालेमै विलय भए पनि कसले पत्याउँछ ? काका नरिसाउ ‘अघि राँड जानिन, पछि राँड मानिन, बाघ लाग्यो घिच्याउन, राँड लागि चिच्याउन’ भनेको यही माओवादी हो ।
नचाहिने कुरो नगर भिरघरे । महान जनयुद्धको घोर अपमान गरेर प्राप्त उपलब्धीलाई अबमूल्यन गर्दै छस् । अनि माओवादीलाई अपमान गर्ने बहानामा नानाभाँति बोलेर महिलाहरुमाथि समेत अपमान गर्दैछस् ।
काका त्यसै रिसाउनु हुन्छ । खेतको कान्लाबाट उच्च छलाङ मारेको त्यो आतंक भड्खलामा जाकियो । अब केको मायाँ ? ओलीको छहारीमा शितल ताप्न नपुगेको भए माओवादीको सही हालत अहिले छ्याङ्गै देखिने थियो । तिमीलाई त्यो आतंकले तीनवटी श्रीमती भन्दा अरु के नै दियो र !
भिरघरे बोल्दै थियो ठ्याक्कै त्यही बेला मेरी साँहीली श्रीमती भुन्टी आई पुगी ।
ए भिरघरे कति खेर आइस् ? लौ भन भन अस्ति १ गते जनयुद्ध दिवसमा प्रधानमन्त्री पनि आउने भन्ने थियो आए कि आएनन् ?
ए………काकी, तिमी के भाकी ! त्यो तिमार्को महान जनयुद्धको सबैभन्दा तार्किकरुपमा, यथार्थपरक ढंगले, जनताले बुझ्ने गरी शब्दवाणद्वारा घुच्चुकमा प्रहार गर्ने नै ओली हुन । उनी नभएको भए अरु १० हजार जतिलाई तिमार्ले परमधाम पु¥याउने थियौ । अनि माओवादीले आफ्नो सबैभन्दा ठूलो, महान शत्रु घोषणा गरेको व्यक्ति पनि अहिलेको प्रधानमन्त्रीलाई नै हो । अनि कसरी जनयुद्ध दिवस मनाउन ओली आउँछन् ?
नि भून्टी बोली– एक पटक त अहिलेका प्रधानमन्त्रीलाई हाम्रो पार्टीले पागल पनि घोषणा गरेको थियो ।
हेर भुन्टी ! त्यो उबेलाको कुबेलाको कुरो हो अब महान जनयुद्धका प्राधिकार सम्पन्न युद्ध नायक, इतिहास रचयिता, युग पुरुष हाम्रो महान गौरवशाली पार्टीका अध्यक्षले सर्वहारा वर्गको नेतृत्वमा ओलीलाई हटाएर आफैं प्रधानमन्त्री बन्नु हुन्छ । अनि देख्छन् काँग्रेस र एमालेले तिरिझ्याईं ।
हौ काका ! गफ चाहिँ नदेउन होऊ ! मदन भण्डारीको जबज नभएको भए माओवादीले पोकोपुन्तरो बिसाउने ठाउँ पनि पाउने थिएन । ओलीले ओत नदिएको भए संसदमा पुग्ने र लुड्याउने ठाउँ पनि मिल्ने थिएन ।
यो भिरघरे झनक्क रिस उठ्ने कुरो गर्छ । जहिले आउँछ मुटुमा बिझ्ने कुरो मात्र गर्छ । आफूले ठूलो स्वर निकालेर बोल्दा पनि दच्किदैन । हुन पनि भाकै कुरो गर्छ । त्यसबेला हाम्रो पोल खोल्ने नै यिनै ओली थिए । अहिले हाम्रा महानायक ठूला नेता ओलीको पछुवा बनेका छन् । हाम्रो गति यस्तो छ ।
काका अब धेरै नसोचे हुन्छ । अति भयङ्कर, काहाली लाग्दो त्यही नरसंहारको कारण मुलुक ५० वर्ष पछि प¥यो । यो मैले भनेको होइन ओलीले उहिल्यै भनेको । लौ म घरतिर लागें । तिमी भने उच्च छलाङ पढेर बस ।
यति भनेर भिरघरे टिमुरकिँदै हिड्यो । म भने भुन्टीको मुखतिर हेरर टोलाइरहें ।