नागरिक सर्वोच्चताको धरोहर न्यायालयप्रतिको आस्था अडिग राख्न सकौं
आभार मन्तव्य
नेपाल बार काउन्सिलले हिजो २०७६ साल साउन २७ गते २६ औं नेपाल कानून व्यवसायी परिषद् दिवसका अवसरमा कानून क्षेत्रका दुईजना अभियन्तालाई सम्मान ग¥यो । जसमा वरिष्ठ अधिवक्ता मोतीकाजी स्थापितलाई मरणोप्रान्त र वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई सम्मान गरेको छ । सो कार्यक्रममा सम्मान ग्रहण गर्दा वरिष्ठ अधिवक्ता सर्वज्ञरत्न तुलाधरले दिनु भएको आभार मन्तव्यको पूर्ण पाठ यहाँ प्रस्तुत गरिएको छ (सम्पादक) ।
कार्यक्रमका अध्यक्ष माननीय महान्यायाधिवक्ताज्यू,
प्रमुख अतिथि सम्माननीय प्रधान न्यायाधीशज्यू,
उपस्थित अतिथिज्यूहरु
कानून व्यवसायी मित्रहरु, भद्र महिला तथा सज्जन बृन्द ।
नेपाल कानून व्यावसायी परिषद्को २६ औं स्थापना दिवसको अवसरमा परिषद्ले गरेको सम्मानका लागि हार्दिक आभार प्रकट गर्दछु । मेरो साठी वर्षको कानून व्यवसायको इतिहासलाई परिषद्ले स्मरण गरेकोमा खुशी प्रकट गर्दछु । यो अवसरमा म आफूले कानून व्यवसाय प्रारम्भ गरेको समयको स्मरण गर्न चाहन्छु । मैले २०१७ सालको अन्त्यतिरदेखि कानून व्यवसाय प्रारम्भ गरेको हुँ । त्यो बेलापुरातनबादी समाज थियो । अग्रगामी सोच कमैमा मात्र देखिन्थ्योे । अध्ययनको क्रममा हामीले विदेशी अभ्यास सुनेका थियौं । त्यसैले न्यायिक सुधारका दिशामा क्रियाशील हुन प्रोत्साहित भएका थियौं ।
स्वतन्त्र न्यायपालिका होस् भन्ने चाहना त्यो समयमा आएको थियो । जनतामा अधिकार होस् भन्ने अपेक्षा राखिएको थियो । प्रजातन्त्रको अभ्यास गर्न पाए हुन्थ्यो भन्ने चाहना थियो । कानूनी राजको कामना थियो । तर समय त्यो धारणा अनुकूलको थिएन । राजनीतिक प्रणालीमा परिवर्तन नभई न्यायालयमा सुधार हुन सम्भव भएन । निर्दलीय पञ्चायती व्यवस्थाभित्रका आफ्नै खालका सीमा थिए । यद्यपि हामी कुनै न कुनै रुपमा जनताको अधिकारको पक्षमा क्रियाशील थियौं ।
मैले कानून व्यवसाय शुरु गरेको समयमा थोरै कानून व्यवसायी अभ्यासमा थिए । म सम्झन्छु ः हामीले पढ्ने कलेजबाट नजिकै रत्नपार्कमा सर्वोच्च अदालत थियो । प्रधान न्यायाधीश हरिप्रसाद प्रधान बडो निर्भिक स्वभावका थिए । पेशागत समर्पण सहित कानून व्यवसायीहरु काम गर्दथे । त्यो बेला पूर्ण नारायण, नारायण प्रसाद, इन्द्रबहादुर, कृष्णप्रसाद भण्डारी, बनारसी महतो पेशामा स्थापित हुनुहुन्थ्यो । के आई सिंहले निर्वाचन बदर गरी पाऊँ भनी सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसमा बहस गर्न भारतबाट बंगालका एन सी चटर्जी आएका थिए । त्यो बेला सर्वोच्च अदालतमा निक्कै चहलपहल भएको थियो । तर निर्वाचन बदर भएन ।
म स्वतस्फूर्त रुपमा कानून व्यवसायमा आएको हुँ । न्यायको पक्षमा कुरा गर्न पाइने भएकोले म यो पेशामा आकर्षित भएको हुँ । भारतका केसको अध्ययन गरेर हाम्रो प्रणालीमा पनि सुधार आए हुन्थ्यो भन्ने चाहना बोकेर व्यवसायमा लागेको थिएँ । दिप्त प्रकाश शाह, टोप बहादुर सिंह, निर कुमार क्षेत्रीहरु हाम्रा सहपाठी थिए । पछि सर्वोच्च अदालतको नयाँ भवन बन्यो । त्यो बेला निक्कै ठूलो भवन बनेको थियो । राजा महेन्द्रबाट सर्वोच्च अदालतको भवन उद्घाटन भएको थियो । सर्वोच्च अदालत बसेको स्थानमा अञ्चलाधीश कार्यालय बसेको थियो । व्यवसायमा सेवाको भावना थियो । म पछि नेपाल बारको अध्यक्ष भएको समयमा राष्ट्रिय पञ्चायतसँग पनि अदालतको विवाद भयो । तर त्यो विवादमा सर्वोच्च अदालतले स्वतन्त्रतापूर्वक काम गर्यो । कसैले दबाब दिएको सुनिएन । आज पनि स्वतन्त्र न्यायपालिकाको सन्दर्भ उठ्ता मैले दायर गरेको मुद्दाको चर्चा गरिन्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल बार एशोसिएसन र कानून व्यवसायीहरुको उल्लेख्य योगदान रहेको छ । बारमा आजको जस्तो राजनीतिक विभाजनको अवस्था थिएन । राजनीतिक रुपमा बार विभाजित भयो भने यसले आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सक्दैन । यसको परिणाम न्यायिक कार्य सम्पादनमा पनि पर्दछ । न्यायालयले स्वतन्त्रतापूर्वक निर्भिक भएर काम गर्नु पर्दछ । त्यसका लागि इमान्दारिता नै सबैभन्दा ठूलो शक्ति हो । जनताको विश्वास कायम राख्न न्यायालयले आपूmलाई निरन्तर सुधार गर्दै लैजानु पर्दछ ।
सधैं संघर्ष गरेर मात्र देश सम्बृद्ध हुँदैन । राज्यका अंगहरु निष्ठापूर्वक क्रियाशील भए भनेमात्र सम्बृद्धि आँउछ । अदालत अरु अंगको पनि काम कारवाही पुनरावलोकन गर्ने संस्था हो । न्यायालयको विकल्प हुँदैन । न्याय सम्पादन गर्दा न्यायले जित्नु पर्दछ । न्याय मर्यो भने विश्वास पनि मर्दछ भन्ने तर्फ सबैले सजगता अपनाउुनु पर्दछ । अदालतले कानून र न्यायका सिद्धान्त छोड्नु हुँदैन । न्यायका आधारहरु छोड्नु हुँदैन । सवुद प्रमाणको राम्रो मूल्यांकन भएन भने, सिद्धान्त छोडेर फैसला भयो भने त्यस्तो फैसलाको आलोचना हुन्छ । त्यसैले निजी स्वार्थ वा फाइदाका लागि अदालतको प्रयोग हुनु हुँदैन ।
कानून व्यवसायीको संख्यात्मक बृद्धि राम्रो देखिन्छ । क्षमताको हिसावल पनि राम्रा वकील आएको देखिन्छ । यो सुखद पक्ष हो । नयाँ पुस्तालाई मेरो सन्देश छ ः कानून व्यावसायमा न्याय र आत्माको सम्बन्ध हुनु पर्दछ । कसैलाई पनि अन्यायमा पर्न दिनु हुँदैन । शुरु तहमा अन्याय भएमा माथिल्लो तहबाट सचिन्छ । माथिल्लो तहमा अन्याय पर्यो भने न्याय मात्रै मर्दैन । अन्यायमा पर्ने मान्छे पनि मर्दछ । अदालतको विश्वास पनि मर्दछ । यो विषयमा नयाँ पुस्ता सचेत हुनु पर्दछ ।
मैले मेरो साठी वर्षको कानून व्यवासायको कार्यकालमा कहिल्यै अनैतिक काम गर्नु परेन । महान्यायाधिवक्ताको भुमिका निर्वाह गर्दा पनि कानून र न्याय सिद्धान्तको आधारमा गरेको थिएँ । कुनै पनि सँस्थालाई सबल र गतिशील बनाउन राम्रो र निष्ठावान नेतृत्व आवश्यक पर्दछ । लोकतन्त्रमा सबै विषय पारदर्शी हुन्छन् । त्यसैले सार्वजनिक जीवनमा बस्नेहरुका कार्य कुकार्य सबै प्रकट भएका हुन्छन् । हामीले राम्रालाई राम्रो र खरावलाई खराव भन्न सक्नु पर्दछ । राम्रा मान्छेलाई नेतृत्वमा ल्याउने वातावरण बनाउनु पर्दछ ।
राजनीतिक अंगको कामलाई परीक्षण गर्नु पनर््े न्यायपालिकामा राजनीतिको प्रतिछाँया पर्ने दिनु हुँदैन । समाजमा विकास भएका कुविचार र कुसँस्कारको प्रभाव न्यायालयमा पर्ने दिनु हुँदैन । दूरदृष्टि र निष्ठा एवम् समर्पणले नै सँस्थाको उचाइ बढ्ने हो । न्याय व्यक्तिगत संवेदनाको विषय मात्र होइन । यो नागरिक सर्वोच्चताको धरोहर हो । सबैले मिलेर यो धरोहरलाई उचो बनाआँै । न्यायिक क्षेत्रमा काम गरेका व्यक्तिले गर्वसँग आफ्नो पहिचान कायम गर्न सकुन् । न्यायालयको आस्थाको दियोमा कुनै पनि बाहनामा अन्यायको झोका पर्न दिनु हुँदैन । म यो अवसरमा यहाँहरु सबैमा स्वतन्त्र, सक्षम, निष्पक्ष र जनताको विश्वास एवम् पहँुच कायम भएको न्यायालयको स्थापनाका लागि क्रियाशील हुन आग्रह गर्दछु । पुनः एक पटक मलाई सम्झिएर सम्मान गर्ने नेपाल कानून व्यावसायी परिषद र यसको नेतृत्व गरिरहनु भएका माननीय महान्यायाधिवक्ता श्री अग्नि प्रसाद खरेल र उहाँको टिमप्रति हार्दिक आभार प्रकट गर्दछु ।
तस्वीरः नारायण प्रसाई