देशकै नमूना बनेपा–बर्दिबास सडकः पाठ सिक्ने कि ?
यही बैशाख छ गते हलेसी र सात गते जनकपुर जाने आउने क्रममा बनेवा–बर्दिबास सडकको सामान्य अबलोकन गर्ने मौका मिल्यो । म कुनै प्राविधिक व्यक्ति होइन । राजनीतिककर्मी भएको नाताले यात्राको क्रममा जे देखँे यसबाट म ज्यादै प्रभावित भएँ । यसैको आधारमा यो सडकको बारेमा केही लेख्ने जाँगर चलेकाले मेरा केही विचारहरु तपाईहरु समक्ष राख्दै छु ।
वास्तवमा सडक यातायात देशको विकास र समृद्धिका लागि कोसेढुङ्गा नै हो भन्दा केही फरक पर्दैन । दुःखको कुरा पञ्चायती व्यबस्थाको तीस बर्षे लामो शासन कालमा सडक यातायातको विकास विरलै हुनसक्यो । जे जती भयो विदेशी सहयोगमा नै भयो । त्यतीखेर स्थानीय निकायमा विकास बजेट पुग्दैन थियो । विकास पनि केन्द्रिकृत नै थियो । पश्चिम नेपालका विकट पहाडी भूभागमा सडक यातायात पुग्न सकेकै थिएन । यसो भनिरहँदा केही ठूला राजमार्गहरु भने त्यो बेलामा पनि बनेका थिए । जस्तै पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, काठमाडौ पोखरा राजमार्ग, सुनौली पोखरा राजमार्ग आदि । यी राजमार्गहरु संख्याको हिसाबमा कम भएपनि गुणास्तरको हिसावमा भने हिजोआज जताततै बनेका सडकहरु भन्दा राम्रा थिए र अहिले पनि छन् ।
हिजोआज स्थानीय तहमा ठूलै परिणाममा बजेट जान थालेपछि जताततै सडककको माग बड्यो । वास्तवमा यो स्वभाविक पनि हो । सडकको आवश्यकता खड्केकै थियो । यातायात विना विकास संभव छैन भन्ने कुरा ध्रुवसत्य नै हो । यसैले जनप्रतितिधिले पनि सबैतिर आएको मागको दवाव धान्न नसकेको हुनाले ठूलो परिणाममा सडकमा बजेट छुट्याउन थालेका छन् । यसबाट देशभर सबैतिर कच्ची सडकहरु निर्माण हुनथाले । तर गुणस्तरको दृष्टिबाट हेर्दा यी सडकहरु ज्यादै कमजोर छन् । हुन त नेपाल सरकारका प्राविधिकहरुसंग यस सम्बन्धी ज्ञान प्रसस्त छ भन्ने लाग्छ । तापनि मेरो यो अनुभव उपयोगी नै हुने ठानेर यहाँ प्रस्तुत गरेको छु ।
सडक यातायात कसरी बनाउँदा दिगो हुने रहेछ भन्ने कुरा बनेपा–बर्दिबास सडकले नेपाललाई पाक्कै पनि पाठ सिकाएको हुनुपर्छ । यो सडक धुलिखेलदेखि बर्दिबाससम्म १७० किलोमिटर छ । वि.सं.२०५३ मा काम शुरु भई यो सडक २०७१ सालमा सम्पन्न भएको हो । यसमा ३२ वटा पुल छन् । रामटार, खुरकोट, बर्दिबास गरी ३ ठाउँमा सडक मर्मत कार्यालयहरु रहेका छन् । जापान सरकारको करिव २२ अर्व रुपयाँमा यो सडक बनेको हो । सुन्दर सडक र घुम्तीहरु अनि मनोरम दृश्यका कारण बेलाबेला शुटिङ्ग गर्न पनि फिल्मी निर्माता तथा कलाकारहरु यहाँ आउने गर्दछन् । यो सडक कति मनोरम छ भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ ।
सडक राम्रो बनाउन इमान्दारी र प्रबिधिबीच मिलान हुनु पर्दछ । सडक बनाउनु भन्दा पहिला भूक्षय कसरी हुन्छ भन्ने जान्नु पनि उत्तिकै आवश्यक छ । यस्तै सडकको दायाँ बायाँ खाली जमिनमा बृक्षारोपण गर्नाले पनि सडकको संरक्षण हुन्छ र भूक्षय हुनबाट पनि जोगिन्छ । खाली जमिन छोड्नु भनेको भूक्षयलाई निम्ता गर्नु हो । यसले सडकको दायाँ बायाँ कतै पनि खाली जमिन छोड्नु हुँदैन ।
यात्राका क्रममा सडकको कालोपत्र कहीँ पनि बिग्रेको देख्नु पर्दैन । सडकको ग्रेड यती मिलेको छकि गाडी सलल गुड्दाको आनन्द लिन सकिन्छ । अर्को कुरा सडकको तल र माथि पैरो त के कुरा बाटोमा ढुङ्गाह पनि कतै खसेको पाइदैन । यसबाट स्थानीय जनताको खेतीबारी र गाउँ–घरमा कहीँकतै क्षेती पुगेको पनि छैन । सडक खन्ने क्रममा पनि यस्तो क्षेती भएको थियो होला भन्ने कुनै पनि संकेत त्यहाँ भेटिदैंन । शुरुमा त कसरी यो सम्भव भयो भन्ने विषयमा मलाई निकै कौतुहल जाग्यो । तर पछिहेर्दै जादाँ निम्न अनुसारका केही प्राविधिक पक्षलाई यहाँ समेटिएको महसुस भयो ।
१) सडक बनाउँदा सडकको तल्लापट्टि लगाउनु पर्ने जाली पर्खाल, मेसिनरी वाल वा के के लगाउनु पर्ने हो पहिले नै निर्माण गर्नु उपयुक्त हुनेरहेछ । यसपछि मात्र कुना तथा माथिको भाग काटेर सो ठाउँलाई पुर्नु पर्ने रहेछ । यसो गर्दा भूक्षयलाई पनि कम गर्न सकिन्छ । यसगर्दा माथिबाट तलतिर ढुगा बगेर जाने प्रक्रिया बिलकुल बन्द हुन्छ । सडक माथिको जमीन पनि कम काटिएकाले माथिबाट पहिरो आउने सम्भावना कम हुन्छ । किनकि कैयौ वर्षदेखि जमिरहेको कसिलो जमिनलाई हामीले त्यति धेरै चलाउनै पर्दैन ।
२) माथीबाट हामी जती जमिन काट्छौं, सबै खाली भागमा काटिएकै आकारमा बाक्लो वा पातलो मेसिनरी वाल सलामी आकारमा लागाउनु उपयुक्त हुनेरहेछ । यस्तो सम्भव नभएका ठाउँमा सिमेन्टको सहायताले पहरो जस्तो बनाउने प्रविधिको प्रयोग पनि यो सडकमा गरेको पाईयो । कहीँ कहीँ पहिरो जाने सम्भावना भएको ठाउँमा चारपाटे कोठाहरु बनाई सजिलो आरसीसी ढलानका साथै नटवोल्टले कसेर हेर्न लायक र मनोरम बनाएको पनि देखियो । सडकको निकै तल समेत कमजोर भुवनावट भएको ठाउँमा पहिले नै पहिरो नियन्त्रण प्रविधि अवलम्वन गरेको पनि भेटिन्छ ।
३) माथिबाट लगाउने पर्खाल सम्भव भएसम्म सबै सलामी आकारमा बनाउनु उपयुक्त हुने रहेछ । यसबाट पर्खाल लड्ने सम्भावना कम हुन्छ । साथै यसखाले बनोटले पानीको वेग पनि कम गर्छ र हेर्नलाई शुन्दर पनि देखिन्छ ।
४) पानीलाई सम्भव भएसम्म स–साना नाला बनाएर ठूलो भेल बन्न नदिइ तर्काउने प्रणाली प्रयोगमा ल्याएको पाइयो । यसबाट बर्खाको पानीले जमिन भत्काउने र बगाउने सम्भावना कम हुने देखियो ।
५) साना ठूला सबै नालाहरु सिँढी प्रविधीबाट बनाएको पनि यस सडकमा देख्न पाइन्छ । यसले गर्दा पानीको बहाव कम भई धेरै क्षती हुनबाट बँच्ने रहेछ ।
६) सडकको तलपट्टीको पर्खाल बनाउँदा खोलाबाट खेतसम्म पानी पु¥याउने नाली बनाएको पनि पाईयो । यसबाट यो सडक कृषक मैत्री पनि भएको भन्न सकिन्छ ।
स्थानीय तहमा सडक बनाउँदा जनताको गाउघर, खेतीबारी, हरेक वर्षादसँगै नोक्सान हुँदै आएको छ । यसबाट जनता पीडित र सडक बनाउने पक्ष पीडकको रुपमा सधै चित्रित हुँदै आएको पनि छ । वास्तवमा सडक जनतालाई पीडित बनाउन बनाइने होइन उनीहरुकै हितका लागि हो । जानी नजानी हामीबाट त्रुटी भएकै छ । यसका लागि जापानीहरुले प्रयोगमा ल्याएको बनेपा–वर्दावास सडककै प्रविधिलाई अवलम्वन गर्ने हो भने शुरुमा बढी लागत लागेता पनि दीर्धकालीन रुपमा गर्नुपर्ने खर्च निकै कम हुनआउँछ । किनकि हरेक वर्ष वर्षादमा सडक विग्रने र बनाउने कार्य गर्नु पर्दैन ।
प्रादेशिक र केन्द्रीय स्तरमा बनाईने सडकहरुमा आधुनिक प्राविधिलाई अवलम्बन गर्नु पर्ने आवश्यकता खट्केको महसुस भएको छ । स्थानीय तहमा बनाईने सडकहरुमा पनि यही कुरा लागु हुन्छ । वास्तबमा माथिका यी कामहरु गर्न हामीसंग मात्र इमान्दारीको खाँचो पर्छ । कुनै पनि सरकारले बनेपा–बर्दिबास सडक वातावरण मैत्री भनिदिएर चुप लाग्ने बाहेक यसबाट पाठ सिक्ने प्रयास गरेको देखिदैँन । हाम्रा विगतका केन्द्रीय योजनाहरुमा पनि जथाभावी घटाघटमा टेण्डर गराई काम गर्ने र साना नेतादेखि कर्मचारीहरु तथा ठूला नेतासम्मले ठेकेदारहरुबाट सेटिङ्ग मिलाई योजनाको रकम खाने परिपाटी छ । यसो भएको हुनाले काम नगर्ने, काम बिगार्ने कुनै ठेकेदारलाई कार्यबाही नहुन तितो यथार्थ हाम्रा सामु छ ।
सडक राम्रो बनाउन इमान्दारी र प्रबिधिबीच मिलान हुनु पर्दछ । सडक बनाउनु भन्दा पहिला भूक्षय कसरी हुन्छ भन्ने जान्नु पनि उत्तिकै आवश्यक छ । यस्तै सडकको दायाँ बायाँ खाली जमिनमा बृक्षारोपण गर्नाले पनि सडकको संरक्षण हुन्छ र भूक्षय हुनबाट पनि जोगिन्छ । खाली जमिन छोड्नु भनेको भूक्षयलाई निम्ता गर्नु हो । यसले सडकको दायाँ बायाँ कतै पनि खाली जमिन छोड्नु हुँदैन ।