तिलस्मीमा तिलस्मी खोज्दा
पुस्तक समीक्षा
खै, कसो कसो डी.आर. मलाई मन पर्ने मान्छे भो । अनि यो प्रस्तुत ‘तिलस्मी’ मन परेको हो कि ? भन्ठानेँको यो नपढदै तर होइन रहेछ डी.आर. मन परेर तिलस्मी मन परेको । तिलस्मी डी.आर. भन्दा निकै राम्रो रहेछ र त त्यस्तो लागेको । उनको धेरै पहिले नियात्रा पढेको थिएँ, राम्रै लाग्यो । केही कोरेको पनि थिएँ । डी.आर.को दुइटै गीत संग्रह पनि पढेथेँ र अहिले तिलस्मी । अनि लाग्यो ठीटो त साहित्य संगीत र बाङमयमा दम भएको रहेछ भन्ने लाग्यो । पहिलकोे एउटा घटना याद आयो । उसले आफ्नै कृतिको सार्वजनिक कार्यक्रममा आफ्नी आमालाई दुइटै खुट्टामा पूरै निहुरिएर ढोग्यो डी. आर.ले । त्यो देखेँ पछि उ मातृभक्त रहेछ भन्ने लाग्यो ।
अब पस्न खोजौं तिलस्मीको ठेलीतिर । बाहिरी स्वारूप, मोटाइ, मसिना अक्षर र मेरो आफ्नैसमयको साँगुरो अवस्था हेर्दा तिलस्मीका पाता पल्टाउँ कि नपल्टाउँमा परेँ । एकपल्ट पल्टाइ हाल्न भन्ने आदेश दियो मनले । जब पढ्न थाले म रन्थनिएँ । एक लाइन वाक्य पढ्यो पूरै प्रघट्टै पढ्न मन लाग्ने । त्यो पढ्यो फेरि पूरै पृष्ठले तान्ने । यो बाठो केटो न हो कतै विश्रामको या सास फेर्ने ठाउँ छैन । अध्याय छैन, सर्ग छैन, यो छैन, त्यो छैन सास फेर्ने ठाउँ छैन । पढ्न थालेपछि सकौं सकौं लाग्ने । तपाईले पढ्न थालेपछि मात्र खाटी कुरा थाहा लाग्ला उपन्यास उत्कृष्ट हो कि उपन्यासकार ।
यस भित्र अनेकानेक घटना छन्, उहापोह छ । नत्र उपन्यास नभएर निबन्ध हुन्थ्यो होला । एउटा बालकको सकारात्मक जिद्दीले विछट्टै सम्पन्न र चरम विपन्न माझ खडा गरिएको वर्लिन पर्खाल तोडेका छन् उपन्यासकारले । यस्तो साहस सबैमा हुने हो भने उपन्यासले दिन खोजेको यो सन्देश यो प्रक्षेपण व्यवहारमा कति आउँछ, कहिले आउँछ । त्यो हेर्न अर्को उपन्यास कुर्नु पर्ने होला ।
उपन्यासकार राज्य संयन्त्रको प्रथम पुरूष होइन त ? हुने खाने परिवारमा विदेशमोह झन धेरै छ । तर एउटा मात्र देशभक्त नयाँ पुस्तामा भयो भने के गर्न सक्दैन ? जे पनि गरेर देखाउछ भन्ने पाठ दिएको छ डी.आर.ले उपन्यासमा । एउटा युवाको सकारात्मक इच्छाशक्तिले गर्दा मुलुकलाई समृद्घीको उज्यालो मुहार देखाउने कोसिस गरेको छ लेखकले । मन मिले हुने खाने र हुँदा खाने वर्ग वीच र जातपात फरक बीचका व्यवधान पनि पन्छाएका छन् भने सकारात्मक उपहार पनि छ यसमा । यसमा डी.आर.ले बाल मनोविज्ञानका विविध पक्ष पस्केका छन् भने किशोर अवस्था, यौनिक कुण्ठा सँगै शारिरीक मानसिक उद्वेलनका झट्काहरू पनि चित्रित छन् । यसको जैविक रस्वादान अर्काको अनुभवबाट सम्भव हुदैन । आफै डुबुल्कि मारेपछि मात्र वास्तविक अन्तर्घुलन हुन्छ । सुहाउदा शब्द टपक्कै टिपेर यथास्थानमा संयोजन गर्ने क्षमता डी.आर.को विशेषता हो । प्रसंग र सन्दर्भलाई ठाउँ पारेर टाकटुक मिलाइ सुन्दर शब्दमाला उन्ने विलक्ष्ण सीप पाएँ यसमा मैले ।
यसको दोस्रो संस्करण निकाल्न उपन्यासकार डी.आर.लाई छिटै सफलता मिलोस र तिलस्मी पढ्ने पाठकहरू अझ बढुन् मेरो शुभकामना ।