परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

मानव प्रतिभाको आश्चर्यतम नमूना: पाणिनिको अष्टाध्यायी

अमर कृति

नेपाली बृहत् शब्दकोशका अनुसार भाषा मनवका भाव या विचार अरू छेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरूको समूह; आशय वा भाव व्यक्‍त गर्ने सार्थक ध्वनिसमूह; वाणी; बोली हो ।

गुगलमा खोजी गर्दा पदमप्रसाद अर्यालले भाषालाई मानव जीवनका लागि सबैभन्दा ठूलो वरदान भनेको पाइन्छ ।

यही भाषाका बारेमा सूक्ष्म अध्ययन गर्दा यसका अनेक रूप पाउन सकिन्छ । पशुपक्षीले पनि आफ्ना भावना वा सन्देश प्रवाह गरिरहेका हुन्छन् । यस अर्थमा उनीहरूको त्यस प्रक्रियालाई पनि भाषाको रूपमा परिभाषित गर्न सकिन्छ ।

हामी  बसोबास गरिरहेको भूगोलका लागि संस्कृत भाषाको स्थान निकै उच्च छ । यो प्राचीनतम भाषा हो । ज्यादै परिस्कृत र संस्कारले युक्त भएकाले यसलाई संस्कृत भनिन्छ ।

नेपाली बृहत् शब्दकोशमै संस्कृतको अर्थ यसरी दिइएको छ – संस्कार गरिएको वा शुद्ध पारिएको; परिमार्जन गरिएको; परिष्कृत । त्यसैगरी, पूर्वीय आचार्यहरूले ज्ञान तथा गरिमा, साहित्य, वेदोपनिषद् आदि अनेक विषयहरूको सृजन गरेको, आर्यहरूको प्राचीन भाषा; देववाणीका साथै पाणिनि, यास्क आदिले निर्माण गरेका व्याकरण अनुसार शुद्ध पारिएका वर्ण वा शब्द पनि भनिएको छ ।

यस भाषामा रहेको ऋग्वेदलाई संसारकै सबैभन्दा पुरानो ग्रन्थ मानिन्छ । वेदपछिका रामायण, महाभारत, पुराण, ज्योतिष, व्याकरण जस्ता ग्रन्थ संस्कृत भाषामा लेखिएका छन् ।

भाषा भन्नेबित्तिकै लिपिको कुरा हुन्छ, व्याकरणको चर्चा हुन्छ,व्याकरणविना भाषाको अस्तित्व चिरकालसम्म रहन सक्दैन भन्ने वेद राना मगरको भनाइ यहाँ उद्धरणयोग्य छ ।

प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेलले भन्नुभएको छ- संस्कृतमा वैज्ञानिक व्याकरण छ ।

व्याकरणलाई वेदका छवटा शाखामध्ये पनि प्रमुख मानिन्छ । सबैभन्दा पुरानो जीवित संस्कृत व्याकरण पाणिनिको अष्टाध्यायी हो। इसापूर्व ५०० मा यसको रचना भएको मानिन्छ ।

पाणिनिको जन्म तत्कालीन उत्तर-पश्चिम भारतमा पर्ने शालातुर भन्ने गाउँमा भएको हो । यो गाउँ काबुल नदी सिन्धु नदीमा मिसिएको ठाउँ नजिक पर्छ ।जन्मेको ठाउँका अधारमा पाणिनिलाई शालातुरीय पनि भनिएको छ । अष्टाध्यायीमा पाणिनिले नै यो नाम उल्लेख गरेका छन् ।

अष्टाध्यायी

आठ वटा अध्याय भएकाले यसलाई अष्टाध्यायी भनिएको हो । ती प्रत्येक अध्यायमा चार/चार वटा पाद (खण्ड) छन् । ती खण्डमा ३८ देखि २२० वटासम्म सूत्र (कुनै लामो वा ठूलो विषय वा भनाइलाई ज्यादै सानो बनाएर भन्ने तरिका । यस्तो तरिकाको उपयोग साहित्य, व्याकरण, गणित, विज्ञान आदिमा हुन्छ । प्राचीनकालमा प्रायः सबै ग्रन्थ कण्ठस्थ गरिने भएकाले थोरैमा धेरै कुरा समेट्नका लागि सूत्ररूपमा साहित्य, व्याकरण आदिको रचना गरिन्थ्यो) छन् । यसरी अष्टाध्यायीका आठ अध्याय, बत्तिस पादमा गरेर लगभग चार हजार सूत्रछन् ।

पाणिनिको अष्टाध्यायीमा इतिहाससम्बन्धी सामग्री पनि प्रशस्त पाइन्छन् ।संस्कृत भाषाका लागि त यो आधारग्रन्थ नै हो । संस्कृत भाषामा निरन्तर परिवर्तन भइरहने गरेको त्यस समयमा अष्टाध्यायीका कारण त्यसमा स्थिरता आयो । यो भाषाप्राय: अपरिवर्तनशील बन्यो।

अष्टाध्यायीमा सन्धि, सुबन्त, कृदन्त, उणादि, आख्यात, निपात, उपसङ्ख्यान, स्वरविधि, शिक्षाका साथै तद्धित आदि विषयहरूमा विचार गरिएको छ । यसमा पाणिनि आफैँले बनाएका र पहिलेदेखि प्रचलनमा रहेका धेरै पारिभाषिक शब्द छन् । उनले ती सबै शब्दको व्याख्या गरेर तिनको अर्थ र प्रयोग कसरी गर्ने भन्ने कुरालाई स्थापित गरेका छन् ।

पाणिनिले अष्टाध्यायीको सुरूमा १४ वटा सूत्र समावेश गरेका छन् । ती सूत्रका आधारमा प्रत्याहार (पाणिनीय व्याकरणमा माहेश्‍वर सूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार – नेपाली बृहत् शब्दकोश) बनाएर तिनलाई अन्तिमसम्म अफ्ना सूत्रमा प्रयोग गरेका छन् । प्रत्याहारका कारण सूत्रहरू छोटा-छरिता बनाउन सम्भव भएको छ ।

अष्टाध्यायीमा कतिपय ठाउँमा राजा-महाराजाका साथै जनतन्त्रका घटनाका विवरण पनि पाइन्छन् । गोत्र, जनपद र वैदिक चरणका साथै महिलाको नामाकरणसम्बन्धी प्रथाका बारेमा पनि ‘अष्टाध्यायी’ मा उल्लेख छ । विवाह भएर घर पुगेका महिलालाई उनी जन्मे-हुर्केको गाउँ वा राज्य वा जनपदको नामबाट बोलाउने गरिन्थ्यो । जस्तैः महाभारत कालका प्रसिद्ध महिला कुन्तीगान्धारी आदि ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर मोनियर विलियम्सले पाणिनीय व्याकरण मानव-मष्तिष्कको प्रतिभाको त्यो आश्चर्यतम नमूना हो, जुन कुनै अर्को देशले आजसम्म अगाडि ल्याउन सकेको छैन भनेका छन् ।

अष्टाध्यायीमा वर्ण, जाति र बन्धु गरी तीनवटा शब्द प्रयोग गरिएका छन् । पहिले वर्ण भनिने शब्दका ठाउँमा जाति शब्द प्रयोग हुनथाल्यो ।

अष्टाध्यायीका आधारमा कात्यायनले विस्तृतरूपमा वार्तिक (कुनै विषयवस्तुको उक्त, अनुक्त र दुरुक्तको अर्थ स्पष्ट गर्ने भाष्य वा पूरक शास्त्र- नेपाली बृहत् शब्दकोश) लेखेका छन् ।

पाणिनिका सूत्र र कात्यायनका वार्तिकलाई समेटेर पतञ्जलिले बृहत्विवरणसहितको महाभाष्य (सूत्र वा मूल ग्रन्थका आधारमा गरिएको बृहत् व्याख्या; विवरण) लेखेका छन् । यी सूत्र, वार्तिक र महाभाष्यको समग्र रूपलाई ‘पाणिनीय व्याकरण’ भनिन्छ । यसरी सूत्रकार पाणिनि, वार्तिककार कात्यायन र भाष्यकार पतञ्जलिलाई व्याकरणका ‘त्रिमुनि’ पनि भनिन्छ ।

वेदका छ वटा अङ्ग छन् । ती हुन्- शिक्षा, कल्प, व्याकरण, निरूक्त, ज्योतिष र छन्द । वेदका यी अङ्गमा अष्टाध्यायी वा व्याकरणलाई प्रमुख मानिन्छ । अष्टाध्यायीमा तीन हजार १५५ वटा सूत्रका साथै सुरुमा वर्णसमाम्नाय (वर्णमाला) का १४ वटा प्रत्याहार सूत्र छन् ।

महाभाष्यमा अष्टाध्यायीको सम्बन्ध सवै वैदिक संहितासँग रहेको र ती सबैका मतलाई पाणिनिले समेटेका छन् भनिएको छ ।पाणिनिले अष्टाध्यायीमा आफूभन्दा पहिलेका आचार्यहरूका मतका साथै सूत्रहरूलाई समेत समेटेका छन् ।उनले ती मध्येका शाकटायन, शाकल्य,अ भिशाली, गार्ग्य, गालव, भारद्वाज, कश्यप, शौनक,स्फोटायन, चाक्रवर्मणका नाम उल्लेख गरेका छन् ।

पाणिनीय व्याकरणलाई विदेशी विद्वानहरूले खुबै प्रशंसा गरेका छन् । यस क्रममा रुसी प्रोफेसर टी. शेरवात्स्कीले भनेका छन् – पाणिनीय व्याकरण मानवीय मष्तिष्कको सबैभन्दा ठूलो रचनामध्येको एउटा हो ।

युरोपका पहिलो महान संस्कृतका विद्वान मानिने हेनरी टोमस कोलब्रुक (१७६५-१८३७ इ.) ले पाणिनीय व्याकरणको शैली अति नै प्रतिभापूर्ण रहेको र यसका नियम ज्यादै सतर्कतापूर्वक बनाइएको छ भनेका छन् ।

सर डब्ल्यू. डब्ल्यू. हन्डरले संसारका व्याकरणहरूमा पाणिनीय व्याकरण सर्वशिरोमणि होयो मानवीय मष्तिष्कको अत्यन्त महत्त्वपूर्ण आविष्कार हो भनेका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर मोनियर विलियम्सले पाणिनीय व्याकरण मानव-मष्तिष्कको प्रतिभाको त्यो आश्चर्यतम नमूना हो, जुन कुनै अर्को देशले आजसम्म अगाडि ल्याउन सकेको छैन भनेका छन् ।

पाणिनीय संस्कृत व्याकरणका चार भाग छन् । पहिलो हो- माहेश्वर सूत्र । दोस्रो हो- अष्टाध्यायी वा सूत्रपाठ । यसमा शब्दको विश्लेषण छ । तेस्रो हो- धातुपाठ । यसमा धातुका मूल (क्रियाका मूल) रूप दिइएको छ । चौथोमा गणपाठ (पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह ; एउटै नियमभित्र आउन सक्ने शब्दसमूह – बृहत् नेपाली शब्दकोष) रहेको छ ।

Facebook Comments