परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

सर्वत्र चर्चा

अकर्मण्य राज्य, अव्यवस्थित सहर र बाढीको कहर

लगातार पानी परेको २४ घण्टा भएको छैन, काठमाडौँ उपत्यका डुबानमा परिसक्यो । अनि सामाजिक मिडियामा सहरी डुबानका तस्बिर र भिडियो पोष्ट हुने क्रमले निरन्तरता पायो । मानवीय अप्ठ्यारा र संवेदनशीलताका यस्ता सामग्रीमा आउने प्रतिक्रिया भने सबै एकैखालका रहेनन् । कसैले कठै भने भने कसैकसैले अझै धेरै पानी परोस् र अझै डुबाओस् अनि चेत खुल्छ भन्ने खालका प्रतिक्रिया दिए ।

वरिष्ठ पत्रकार तीर्थ कोइरालाले सामाजिक सञ्जालमा हनुमन्ते खोला सहर पसेको भिडियो सामग्री सहित एउटा टिप्पणी पोष्ट गर्नुभयो–– ‘‘काठमाडौँ उपत्यकामा बागमती बिष्णुमती नुहाउँदा नाम लिइन्छ । हनुमन्तेको चाहिँ यसरी बाढी आउँदा नाम लिइन्छ ।’’ उहाँको पोष्टमा विभिन्न प्रतिक्रिया आए । त्यसमध्ये एउटा प्रतिक्रिया आयो पूर्व मन्त्री लक्ष्मण घिमिरेको, ‘‘तथ्य चाहिँ…खोलाहरूमा बस्ती पसिरहेछ ।’’ विकास ढकालको प्रतिक्रिया आयो, ‘‘बगर नमिचिएका ठूला खोलाले बरु कम क्षति पु¥याएका छन् । चन्द्रमणि गौतमको प्रतिक्रिया, ‘‘बस्तीमा खोला पस्नु र खोलामा बस्ती पस्नु बराबरी भइरहेको छ ।’’ पिताम्बर अधिकारीको प्रतिक्रिया, ‘‘लु जा हनुमानले पनि जिउ तन्काएछन् । कति कुक्रुक्क परून् !!!’’ यीभन्दा निकै कडा प्रतिक्रिया आयो प्रा.डा. राजकुमार पोखरेलको, ‘‘अलिक पुगेन नदी मिच्न त्यसैले पानी पर्न पुगेको छैन है । हे झरी निरन्तर एक हप्ता पर त ।’’

पत्रकार सुरेश बिडारीको एउटा पोष्ट आयो, ‘‘सहरमा खोला पसेको हैन, खोलामा सहर पसेको भन्नुस् । पोखरी नै मासेर सहर बनेको भन्या हैन .’’ राजु शाक्यको एउटा पोष्ट आयो, ‘‘बागमतीको ६ भाग जमिन खोसेर बागमतीलाई खुम्च्याएको हो । बागमतीलाई आफ्नै लयमा बग्न दिउँ, त्यसपछि उर्लेर आए हुन्छ बाढी ।’’

 

सामाजिक सञ्जालका यी पोष्टहरू त केही प्रतिनिधि अभिव्यक्ति मात्रै हुन् । खोजी पस्दा यस्ता भावना ठूलै मात्रामा अभिव्यक्त भएका छन् । बाढी सहर पसेपछि मान्छेमा संकट उत्पन्न भएका बेला संवेदनापूर्ण अभिव्यक्ति प्रकट गर्नुका साटो यस्ता प्रतिक्रिया किन आए त? यस्ता प्रतिक्रिया सामाजिक सञ्जालमा अहिले मात्रै आएका हैनन्, अघिल्ला वर्षहरूमा पनि आइरहेकै थिए। पत्रकारले लेखे, गोष्ठी सम्पन्न भए । इन्जिनियरले बोले । अधिकारीहरू बोले । मन्त्री बोले । एक ढंगले भन्ने हो भने सबैले बोले । तर समस्या फेरि पनि जहीँ का तहीँ छ र पछिलाई पनि रहिरहने देखिन्छ भने बोलीले पनि निरन्तरता पाइरहने नै देखिन्छ ।

हाम्रो देशको भूबनोटलाई हेर्ने हो भने यो अधिकांश त पानी ढलो भएका पहाडहरूबाट बनेको छ । सानो अंश तराई छ, ठूलो अंश पहाड छ । अनि पहाडहरू धेरै कान्छा खालका छन् । हाम्रो देश नै विभिन्न प्राकृतिक प्रकोपका कारणले सधैँ जोखिममा छ । पानीजन्य प्रकोपका हिसाबले हामी ३० औँ जोखिमपूर्ण अवस्थामा छौँ । पहाडबाट ठाडा खोल्सा र खोलाले पहिरो झार्ने र तराईमा डुबान हुने त हाम्रो भूगोलकै कारण हुने घटना चक्र हो । तर यसभन्दा भिन्न, सहरी डुबानको समस्या चाहिँ मूलतः हामी मान्छेले नै थपेको समस्या हो । अझ काठमाडौँ उपत्यकामा पानी पर्नासाथै बस्ती बस्ती डुबानका परिघटनाका कारक हामी स्वयं हुन पुगेका छौँ । कारक पनि आफैँ । परिणाम भोग्ने पनि आफैँ ।

मनसुन सक्रिय भएसँगै वर्षाको घनत्व र तिब्रता बढ्नु, देशैभर सानासाना नाला, खोल्साखोल्सी, खोलादेखि नदीसम्ममा बाढी आउनु हरेक वर्षा हुने नै घटना हो । कुनै साल कम र कुनै साल बढी मात्रै हो । पानी पर्छ । खोल्साखोल्सी, खोला, नदीनालामा बाढी आउँछ । पानीको सतह बढ्छ । प्राकृतिक घटनाक्रमका हिसाबले हेर्दा यो सामान्य कुरा हो ।

तर हाम्रा लागि हरेक बर्खा असामान्य नै बन्छन् । किनकि यसबाट सबैभन्दा छिटो खोला मिचेर बनेका सहर प्रभावित हुन पुग्छन् । त्यसमा पनि राजधानी उपत्यका काठमाडौँ अझ छिटो प्रभावित हुन्छ । न त यसको ढल निकास राम्रो र व्यवस्थित छ, न सहरको विकास नै मापदण्ड अनुसार भएको छ ।

पानी पर्न थालेको २४ घण्टा नपुग्दै काठमाडौँ र भक्तपुरका विभिन्न भाग डुबानमा परे । घरभित्र पानी पस्यो । मानवीय संवेदनाका हिसाबले हेर्दा यो दुःखद् कुरा हो । किनभने घरमा एउटा परिवारलाई जीवनयापनका लागि चाहिने सबै सामान हुन्छन् र ती डुब्दा र भिज्दा मान्छेको उठिवास मात्रै लाग्दैन, खाने, आराम गर्ने, सुत्ने सबै उपाय समाप्त हुन्छन् । इलेक्ट्रोनिक सामग्री सदालाई नष्ट हुन्छन् । अशक्त, रोगी, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिकलाई त झनै ठूलो कष्ट हुन पुग्छ । यो संवेदनशील अवस्था हो ।

तर प्राकृतिक घटना चक्रका आधारमा हेर्ने हो भने हामीले सहर यसरी विकास ग¥यौँ, बर्खामा ढल र खोल्सी, खोलामार्फत् पूर्ण रूपमा पानीको निकास नै हुन सक्दैन । किन सक्दैन त भन्दाखेरि, हामीले खोलाले चर्चेका बगर सबै मास्यौँ । घाट मास्यौँ । बगरमा हामीले सहर बसायौँ । सहरको सीमा बढाउँदै जाँदा खोलालाई सानो कुलामा समेट्यौँ ।

तर हामीले सहर बसाएको भौगोलिक बनोटमा त लाखौँ वर्षदेखि परिवर्तन भएको छैन । ठाडा पहाडहरू तिनै छन् । तिनका पानी ढलो तिनै छन् । हामीले सुकाएबाहेकका पानीका मुहान तिनै छन् । पानी पर्दा पानी बग्ने पानी ढलो तिनै छन् । अनि पानी पर्दाको पानीको घनत्व प्रायः उस्तै हुन्छ ।

त्यसैले खोलाले बर्खाको बेला उन्मत्त भएर बग्ने र हिउँदमा बगर बन्ने भूगोल पनि उत्ति नै हुनुपर्ने हुन्छ । खोलाले बगर बनाएर हामीलाई यति मेरो दायरा हो है भन्ने जनाउ दिएको हुन्छ । तर हामीले जुक्ति लगायौँ, बाँध बाँध्यौँ र खोलालाई सुकायौँ । अनि खोला सुकिसकेकाले प्राकृतिक बहावका लागि अब यसलाई फराकिलो ठाउँ चाहिन्न भन्ने भाष्य तयार ग¥यौँ । खोलाको छेउको जग्गा या त ऐलानीमै कब्जा ग¥यौँ या सस्तोमा पाइयो भनेर किन्यौँ । अनि बस्ती जमायौँ । पछिल्लो उदाहरण ‘सुकुम्वासी’ वस्तीमा छिरेको वागमती वा सहर पसेको हनुमन्ते लगायतका खोला–नदीलाई लिन सकिन्छ ।

यसका पछाडिको कारण खोतल्ने हो भने प्रष्ट रूपमा तीनवटा आयाम देखा पर्छन्ः राज्य व्यवस्था, तिनमा बसेका पदाधिकारी÷अधिकारी र आम मान्छे । पहिलो आयाम राज्य व्यवस्थाको कुरा गर्ने हो भने सहरी विकास र जलाधार क्षेत्रको सन्तुलनलाई कहिल्यै पनि यसले प्राथमिकता दिएन । राज्य व्यवस्था जति पनि परिवर्तन भए पनि यसको मूलभूत स्वभाव कहिल्यै परिवर्तन भएन––त्यो हो अदूरदर्शिता र अकर्मण्यता ।

दोस्रो आयाम राज्य व्यवस्थामा बसेका पदाधिकारी÷अधिकारी । यिनीहरू पनि जति धेरै परिवर्तन भइरहे ता पनि यिनको स्वभावमा समेत सधैँ एकरूपता कायम रह्यो–– निजी स्वार्थ, घूस, अदूरदर्शिता र अकर्मण्यता । यो दोस्रो आयाम समेटेको वर्गले नेतृत्व तहदेखि कर्मचारी वर्गसम्मको प्रतिनिधित्व गर्छ । नीतिगत तहदेखि कार्यान्वयन तहसम्म यो वर्गले भूमाफिया र दलालहरूको स्वार्थपूर्ति र आफ्नो दूनो सोझ्याइलाई नै कर्तव्य ठानिरह्यो । सहरी विकास, सहरी विकास विज्ञ, मन्त्रालय, विभाग, कार्यालय, भूमिसुधार, मालपोत, नगरपालिका, उपत्यका विकास हुँदै गृह प्रशासन र प्रहरी तथा वडासम्म रहेका पदाधिकारी, अधिकारी र कर्मचारी, जस्ता वर्गले चाहेका भए प्लटिङ सही योजना अनुसार हुन्थ्यो । पहिलो आयामले नीति र ऐन कानून दिन्थ्यो । दोस्रो आयामले कार्यान्वयन गथ्यो । खोला किनाराका बगरमा घर उम्रिने थिएनन् । सहर व्यवस्थित हुन्थ्यो । ढल निकास सही हुन्थ्यो । खोलामा ढल हालिँदैनथ्यो । खोलालाई डोरोमा परिणत गरिँदैनथ्यो । सुन्दर र व्यवस्थित बस्ती हुन्थ्यो । फराकिलो आकारको खोलालाई तटबन्ध गरी हरियाली बनाइन्थ्यो ।

तेस्रो आयाम सहरवासी हुन चाहेका आम जनताको अव्यवस्थित प्रवाह वा ओइरो । बाध्यता वा रहरले सहरमा बस्न चाहेको अव्यवस्थित आप्रवासनको ओइरोलाई थान्को लाग्नु मात्रै थियो । यसमध्ये पनि दुईथरी प्रवाह । एकथरी जसरी जहाँ भए पनि खोला किनारमा कब्जा जमाइहाल्नुपर्छ भनेर हातखुट्टै फ्याँकेर लाग्ने समूह । चाहे त्यो सुकुम्वासी बनेर होस् वा हुकुमवासी बनेर । अनि यसैको अर्को उपप्रकार चाहिँ च्याँखे थापेर प्लटिङको धन्दा चलाउने भूमाफिया वर्ग । एकैपल्ट पैसा ओइर्याउन सक्ने एउटा वर्ग । संगतबाट विस्तारै कमाउँदै माफिया बन्न सफल अर्को वर्ग । पहिले थोरैबाट सुरु गरेर किन्दै बेच्दै, किन्दै बेच्दै गर्दागर्दै अरबौँको सम्पत्ति जोडेको यो उपवर्गले कौडीको भाउमा स्थानीयसँग कोदो, मकैबारी लिएर वा राजनीतिक नेता–सरकारी कर्मचारीसँग सेटिङ मिलाएर ऐलानी वा सरकारी जग्गा कब्जा गर्दै, प्लटिङ गर्दै बेच्दै ग¥यो । यो उपवर्गलाई जहाँ भए पनि जस्तो अवस्थामा भए पनि बेच्नु र पैसा कमाउनु मात्रै ध्येय हुने स्वाभाविकै थियो । त्यसमाथि अकर्मण्य पहिलो आयाम र घुस्याहा दोस्रो आयाम यसको महत्त्वकांक्षी घोडाका पंखा बन्न पुगे । अनि खोलाका बगर पनि प्लटिङ भए । सार्वजनिक स्थल पनि बेचिए । यो वर्गका लागि राज्यका सबै निकाय र पदाधिकारी दाहिना बनिरहे ।

तेस्रो आयामको दोस्रो उपवर्ग आम जनता जसलाई सहरमा जसरी र जस्तो ठाउँमा भए पनि एउटा जग्गा र त्यसमा एउटा घर चाहिएको छ । उसले आफ्नो गच्छे र समय अनुसार रिनपान, साम, दाम हरेक गरेर सहरको कहीँ यौटा घर बनाएको छ । त्यो सरकारी जग्गा मिचेर बेचिएको होस्, बाटै मिचेर बेचिएको होस् वा खोलै मिचेर बेचिएको किन नहोस् । उसलाई लामो लहरो चाहिएकै छैन । बस एउटा घर चाहिएको मात्रै हो ।

सहरको यो कथामा गच्छे अनुसार हामी सबै पात्र बन्न पुगेका छौँ । गच्छे अनुसारको म:म: भनौँ । गच्छे अनुसारको परिणाम भोग्दै पनि आइरहेकै छौँ । भोग्दै जा‌औँ। अब अर्को बिकल्प नै के छ र । वर्षको एकयाम त हो, सह्यो, बस्यो । पानी पर्छ । बाढी आउँछ । बाढी पस्छ । घाम लाग्छ । बाढी घट्छ । खानेकुरा सुकायो । लुगाफाटो सुकायो । पानी सुक्छ । फेरि अर्को साल बर्खा आउँछ । बाढी आउँछ । पानी पस्छ । डुबाउँछ । भिजाउँछ । फेरि घाम लाग्छ । फेरि सुक्छ । यही सिलसिला चलिरहन्छ । निरन्तर । निरन्तर ।

अकर्मण्य राज्य, अव्यवस्थित सहर र बाढीको कहर

अकर्मण्य राज्य, अव्यवस्थित सहर र बाढीको कहर

सहरको यो कथामा गच्छे अनुसार हामी सबै पात्र बन्न पुगेका छौँ । गच्छे अनुसारको म:म: भनौँ । गच्छे अनुसारको परिणाम भोग्दै पनि आइरहेकै छौँ । भोग्दै जा‌औँ। अब अर्को बिकल्प नै के छ र । वर्षको एकयाम त हो, सह्यो, बस्यो । पानी पर्छ । …
बाँकी पढ्न …

पास गर्लान् त ट्रम्पले उनको जनमत सङ्ग्रहको परीक्षा ?

पास गर्लान् त ट्रम्पले उनको जनमत सङ्ग्रहको परीक्षा ?

गुणराज लुइँटेल, भर्जिनिया, अमेरिका । यसरी अगाडि मत हाल्नेमा धेरै जसो बाइडेनका मतदाता भएको बताइएको छ । यी हुलाकबाट हालिएका मत गनिसक्न कम्तीमा पनि शुक्रबारसम्म लाग्ने बताइएको छ । त्यसैले राष्ट्रपतिको मतदानको पूर्ण विवरण आउन केही दिन कुर्नुपर्ने देखिन्छ । तर यदि आज बेलुकाको मत …
बाँकी पढ्न …

कोरोनाकालको टीका, क्लिनफिडको सकस र दक्षिणको भ्रमण

कोरोनाकालको टीका, क्लिनफिडको सकस र दक्षिणको भ्रमण

काठमाडौँ । यस वर्षको बडादशैँअन्तर्गत महत्वपूर्ण दिन विजया दशमी कोभिड–१९ महामारीका बीच मूलतः परिवारभित्र सीमित रही टीका र आशिर्वाद थापेर मनाइएको छ । विगतका वर्षहरूमा टाढाटाढादेखि आउने आफन्तको स्वागत टीकाको दिन रातीसम्म पनि हुने गर्दथ्यो । तर यसपल्ट सामान्यतया आआफ्नै घर–डेरामा विजया दशमी मनाइएको छ …
बाँकी पढ्न …

चर्को न्यायिक विचलनको मूल्य — न्यायालयबाट श्रीमान्‌‌को बहिर्गमन !

चर्को न्यायिक विचलनको मूल्य — न्यायालयबाट श्रीमान्‌‌को बहिर्गमन !

घमराज लुइँटेल । गम्भीर नैतिक सङ्कटमा परेका एवं जनआस्था गुमाएका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीले महाभियोगको प्रक्रिया कुर्नुभन्दा अब राजीनामा दिएर न्यायालयबाट आफूलाई अलग राख्नुमै उहाँहरू स्वयंको र न्यायालयको भलाइ हुनेछ । उहाँहरूका कारण खस्केको न्यायालयको जनआस्थामा मलमपट्टि लगाउन पनि उहाँहरूको …
बाँकी पढ्न …