परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नारी आवाज

छोरी जोगाउने उपायको खोजी

 

विद्यालयबाट फर्किँदै गर्दा माइतीघर मण्डलमा ‘बलात्कारीलाई फाँसी दे’ भनेर मानिसहरूले नारा लगाएको देखेपछि १० वर्षिया मेरी छोरीले सोधी, ‘मामु, यो बलात्कार भनेको के हो ? बलात्कारी को हो ? किन फाँसी दे भनेको ?’ यस्तो प्रश्न सुनेपछि एकछिन् त मैले जवाफ दिनै सकिँन । म चूपचाप लागेर बसेको थाहा पाएपछि छोरीको कौतूहलता झनै बढेर गयो । अनि मैले ‘बलात्कार भनेको रेप हो छोरी’ भनेँ । उसले कुरा त्यति बुझिन । मलाई पनि यो कुरा कसरी बुझाउने होला भनेर एकछिन् मनमा कुरा खेल्यो । अनि मैले सम्झेँ, सत्यमेव जयते नामक हिन्दी कार्यक्रममा आमिर खानले भनेको कुरा । उनले त्यो कार्यक्रममा भनेका थिए, छाती, टाङ्गमुनि र पछाडिको हिप संवेदनशील अङ्गहरू हुन् । यी अङ्गहरूमा कसैलाई पनि छुन दिनु हुन्न । मैले पनि यही कुरा छोरीलाई बताएँ । ‘तर मैले त बलात्कार भनेको के हो भनेर पो सोधिरहेकी छु भनेर छोरीले फेरि प्रश्न गरी ।’ अनि मैले भनेँ, तिमीलाई मन नपर्ने कुरा कसैले गर्छ, जिस्क्याउँछ, नचिनेको मान्छेले काखमा राख्छ र तिम्रो छाती र सुसु गर्ने ठाउँमा कसैले छुन्छ भने त्यही हो बलात्कार । बलात्कारको परिभाषा यो नभए पनि भरखर बढ्दै गएकी बालिकालाई मैले जसोतसो गरी सम्झाएँ ।

अनुसन्धानले पनि के देखाएको छ भने धेरैजसो बालिकाहरू आफ्नै नातेदारबाट बलात्कृत हुने गरेका छन् । आफ्नै बाबु, काका, मामा, लगायतका नजिकका नातेदारबाट बच्चालाई फकाई फुल्याई चकलेट दिएर आफूसँग नजिक्याउने अनि बलात्कारको शिकार बनाउने घटना हाम्रै देशमा पनि भइरहेका छन् । ८/१० वर्षका बालिका जो भर्खर बढ्दै गइरहेकी हुन्छिन्, उनलाई बलात्कार के हो र कसरी गरिन्छ भन्ने कुनै ज्ञान हुँदैन । शरीरका अङ्गहरू भर्खर विकास भइरहेका हुन्छन् । आफ्ना नजिककाले नै यस्तो कुकृत्य गर्छन् भन्ने भाव ठूला मान्छेले त सोच्न सक्दैनन्, यी अबोध बालिकाहरूले कसरी सोच्न  सक्लान् ?

बलात्कार के हो, कस्तो प्रवृत्तिका मान्छेबाट हुनसक्छ, बलात्कारबाट जोगिने कस्ता उपाय हुनसक्छन् लगायतका सामान्य ज्ञान विद्यालयस्तरकै बालबालिकामा दिन सकिए थोरै भए पनि टेवा मिल्न सक्छ । त्यस्तै नाटक, कथा कविताका माध्ययमबाट पनि बालबालिकालाई बुझाउन सकिने हुन्छ । कतिपय कुराहरू भनेर भन्दा पनि प्रदर्शनका माध्यमबाट देखाउँदा विद्यार्थीहरूले चाँडो बुझन सक्छन् । यदि शिक्षक अलिकति भए पनि जाँगरिलो हुने हो भने यस्ता कुराको ज्ञान विद्यार्थीलाई दिन केही गाह्रो पर्दैन । कोर्समा नभएका कुराहरूलाई पनि शिक्षकले रचनात्मक तवरबाट यस्ता कुराहरूको ज्ञान दिनसक्यो भने समाजमा झनै नयाँ चेतनाको विकास हुन्छ अनि हाम्रा छोरीहरू हिंसाबाट जोगिन्छन् । छोरीलाई जोगाउने योभन्दा नयाँ कुरा अरु के नै हुनसक्छ र ?

बच्चासँग हामी जुनसुकै विषयमा पनि खुलेर कुरा गर्दैनौँ । सेक्ससँग जोडिएका यस्ता कुरा गर्दा त बच्चासँग पनि के कुरा गरिरहेको होला भन्ने चलन छ । त्यसैले जति सक्यो हामीले यस्ता कुरा बच्चाका अगाडि गर्दैनौँ पनि। तर अब भने आफनो बच्चालाई जोगाउनको निम्ति पनि ‘यौन अङ्ग’ का बारे जानकारी दिनु जरुरी भैसकेको छ । हिंसा के हो, बलात्कार के हो, कोही मान्छेले जिस्क्यायो, माया गरेजस्तो गरेर काखमा राखेर छातीमा छोयो भने त्यो नराम्रो काम हो जसले त्यस्तो गर्छ, त्यो कुरा लुकाएर राख्नु हुन्न है भनेर सिकाउनुपर्ने अवस्था आएको छ ।

मनोविद्हरूका अनुसार, बच्चासँग बलात्कारको कुरा गर्दा भयावहको स्थिति, फिल्ममा देखाइने जस्तो लखेटी लखेटी महिला तथा बालबालिकालाई लुिछएका दृश्यको वर्णन एकैचोटि प्रस्तुत गर्नुहँुदैन । ‘तिमीलाई मन नपर्ने कुरा कसैले गर्छ भने बाबा अथवा मामुलाई भन्ने गर्नुपर्छ है’ भनेर सम्झाउनुपर्छ । जस्तो, तिम्रो संवेदनशील अङ्ग– छाती, टाङ्गमुनि सुसु गर्ने ठाउँमा कसैले छुन्छ र अङ्गालो हाल्छ भने जोडले चिच्याउनुपर्छ र भागेर घरमा आउनुपर्छ अथवा मामु, बाबा भएको ठाउँमा दौडेर आउनुपर्छ र नढाँटीकन, नडराइकन को मान्छेले केके गर्यो सबै कुरा बाबा–मामुसँग भन्नुपर्छ है भनेर सिकाउने गर्नुपर्छ ।
हामीकहाँ बलात्कारीसँग कसरी जोगिने अथवा बालिकालाई कसरी जोगाउने भन्ने तरिकाका बारे शिक्षा दिने पुस्तकहरू विद्यालयमा छैनन् भने पनि हुन्छ । बलात्कारका घटना दिनदिनै सार्वजनिक भइरहँदा छोरी हुनेहरूका लागि छोरी कसरी जोगाउने भन्ने चिन्ता हुनु स्वाभाविकै हुनजान्छ । महिला र बालबालिकाका निम्ति रात त असुरक्षित छँदैछ, दिनमा समेत छोरीहरू सुरक्षित हुन सकेको अवस्था छैन । महिनाैँ दिनसम्म पनि बलात्कारीहरू पत्ता लाग्न नसक्नुले त मनमा झनै एक किसिमको डर, त्रास र भयले डेरा जमाउने नै भयो ।

शारीरिक हिसाबले हेर्ने हो भने, महिलाभन्दा पुरुष बलिया हुन्छन् । त्यस हिसाबले पनि पुरुषहरू महिलालाई समाएर बलात्कार गर्न सफल भएका हुन् । तर अब महिला र बालिकालाई पनि बलियो बनाउनुपर्ने स्थिति आएको छ । छोरीहरूलाई सानै उमेरदेखि कम्फू कराँते, जुडो लगायतका शारीरिक प्रतिरक्षाका उपाय सिकाउनुका साथै कसैले बलात्कार गर्न झम्टिन्छ भने त्यसको प्रतिरक्षा कसरी गर्ने भनेर सिकाउनु जरुरी भैसकेको छ । कसैले जिस्क्यायो वा मन नपर्ने कुरा गर्यो भने चूप लागेर बस्नुहुँदैन खबरदारी गर्नुपर्छ भनेर सिकाउनुपर्ने बेला आइसकेको छ । अर्को कुराे, बलात्कार के हो, कस्तो प्रवृत्तिका मान्छेबाट हुनसक्छ, बलात्कारबाट जोगिने कस्ता उपाय हुनसक्छन् लगायतका सामान्य ज्ञान विद्यालयस्तरकै बालबालिकामा दिन सकिए थोरै भए पनि टेवा मिल्न सक्छ । त्यस्तै नाटक, कथा कविताका माध्ययमबाट पनि बालबालिकालाई बुझाउन सकिने हुन्छ । कतिपय कुराहरू भनेर भन्दा पनि प्रदर्शनका माध्यमबाट देखाउँदा विद्यार्थीहरूले चाँडो बुझन सक्छन् । यदि शिक्षक अलिकति भए पनि जाँगरिलो हुने हो भने यस्ता कुराको ज्ञान विद्यार्थीलाई दिन केही गाह्रो पर्दैन । कोर्समा नभएका कुराहरूलाई पनि शिक्षकले रचनात्मक तवरबाट यस्ता कुराहरूको ज्ञान दिनसक्यो भने समाजमा झनै नयाँ चेतनाको विकास हुन्छ अनि हाम्रा छोरीहरू हिंसाबाट जोगिन्छन् । छोरीलाई जोगाउने योभन्दा नयाँ कुरा अरु के नै हुनसक्छ र ? छोरी आफैं नै सचेत, जुझारु र परिस्थितिको सामना गर्न सक्ने भइन् भने बलात्कार जस्तो जघन्य अपराधबाट बच्न सक्छिन् कि ?