परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

२०७५ भदौ ५ मंगलबार

  • राजधानीको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न पुगेका सरकारी टोलीमाथि व्यापारीद्वारा हुलहुज्जत भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।यही प्रसंगलाई लिएर ‘अनुगमनकर्ता नै नियन्त्रणमा’ शीर्षकमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । कालीमाटी थोक बजारमा चारगुणा महङ्गो दरमा तरकारी बिक्री हुने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

 

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कोइराला परिवार एकजुट भएको समाचार पनि नयाँ पत्रिका दैनिकमा नै प्रकाशित छ ।

 

  • धनकुटा नगरपालिका-९ बेलहाराका किसाले गोलभेडा बिक्री नभएपछि खोलामा फालेको समाचार छ ।

 

  • पूर्वराजदूत केशव झाको बबरमहलस्थित आफ्नै घरमा हत्या भएको समाचार पनि अखबारहरूमा प्रकाशित छ । झा २०४९ देखि २०५४ सालसम्म फ्रान्सका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँ ८० वर्षको हुनुहुन्थ्यो ।

 

  • नेपालमा आयात गरिने ग्यासमा लगाइएको कर दक्षिण एशियाकै उच्च रहेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

 

  • नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने तैथान सिपाहीको पारिश्रमिकबाट कल्याण कोषका लागि २८ प्रतिशत काटिँदा र अधिकृतको पारिश्रमिकबाट भने जम्मा दुई प्रतिशत काटिने गरेकोमा सेनामा असंतुष्टि चुलिएको समाचार पनि कारोबार दैनिकमा नै प्रकाशित छ ।

 

  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ दिनपछि हत्या अभियोगमा दिलिपसिंह विष्टलाई पक्राउ गरिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

 

  • आर्थिक वर्ष २०७३/०७४ मा तनहुँको स्थानीय तहमा ११ करोड बेरुजु पाइएको छ ।

 

  • यातायात व्यवस्था विभाग अधिकांश स्मार्ट कार्ड प्रिन्टर बिग्रेपछि स्मार्ट कार्ड छपाइ र वितरणमा थप समस्या आएको समाचार छ ।

 

  • युरोपियन युनियनले नेपाली एयरलाइन्सलाई कालो सूचीमा राखेकाले राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले जापान र कोरियामा उडान गर्न नपाएको समाचार छ ।

 

  • नागरिकको चासो र सरोकार सीधै मुख्यमन्त्रीकहाँ पुर्‍याउने अभिप्रायले गण्डकी प्रदेश सरकारले ‘हेलो मुख्यमन्त्री’ टेलिफोन सेवा शुरु गरेको समाचार छ । १०९४ मा फोन गरेर गुनासो तथा सुझाव टिपाउन सकिनेछ ।

 

  • सार्वजनिक संस्थान घाटामा गए पनि त्यहाँ कार्यरत पदाधिकारी तथा कर्मचारीहरूले अतिरिक्त सेवा-सुविधा लिइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुगमनले देखाएको छ ।

 

  • चितवनको रत्ननगर नगरपालिकाले अस्पताल जान नसक्ने ८० वर्षभन्दामा माथिका ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवाको व्यवस्था मिलाएको समाचार छ । नगरपालिकाले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुल्क उपचार सेवा उपलब्ध गराउने घोषणा पनि गरेको छ ।
Facebook Comments