परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

खेम ओझाकाे स्मृतिमा  पुरस्कार 

खेम ओझा स्मृति प्रतिष्ठानले विभिन्न विधामा स्थापित चारवटा पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

१० हजार रुपैयाँ राशिको खेम ओझा स्मृति पाण्डुलिपि पुरस्कार शीतल गिरीद्वारा लिखित ‘जीवाष्म’ निबन्धको पाण्डुलिपिलाई प्रदान गरियो भने पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति उत्कृष्ट कृति पुरस्कार विवेक ओझाद्वारा लिखित सामाजिक उपन्यास ‘ऐलानी’लाई प्रदान गरियो ।

यसैगरी पाँच हजार रुपैयाँ राशिको खेम ओझा स्मृति संगीत पुरस्कार युवागायक शिव परियारलाई प्रदान गरियो भने सोही राशिको खेम ओझा स्मृति कला पुरस्कार कलाकार देवेन्द्र काफ्ले थुम्केलीलाई प्रदान गरियो ।


कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूले यस पुरस्कारले आफूहरूलाई आफ्ना क्षेत्रमा अझ जिम्मेवार र सशक्त भएर लाग्न प्रेरित गरेको बताए । कार्यक्रममा समालोचक डा. फणीन्द्र निरौलाले ३१ वर्षकै कलिलो उमेरमा दिवंगत भएका खेम ओझाले छोटो समयमै सामाजिक क्षेत्रमा राम्रा काम गरेको भन्दै खेम ओझाका नाममा स्थापित प्रतिष्ठानले आगामी दिमा अझ राम्रा कार्यहरू गरोस् भन्ने कामना गरे । साहित्यकार एवं समालोचक सहप्राध्यापक डा. हेमनाथ पौडेलले खेम ओझा जस्ता जुझारु र समाजसचेत युवाहरूले अल्पायुमै देहत्याग गर्नुले समाजलाई ठूलो नोक्सानी हुने बताए । उनले यस्ता व्यक्तिका नाममा प्रतिष्ठान स्थापना गरेर सामाजिक कार्य गर्नुले स्वर्गीय व्यक्तित्वप्रतिको खास सम्मान हुने धारणा राखे ।

प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाले आफ्नो संरक्षणमा रहेको प्रतिष्ठानले आगामी दिनमा अझ बढी सामाजिक, साँस्कृतिक, साहित्यिक र कलाका साथै अन्य क्षेत्रमा पनि विशिष्ट योगदान देओस् भन्ने शुभेच्छा प्रकट गरे । प्रतिष्ठानका अध्यक्ष निलमकुमार ओझाले आगामी दिनमा पाँच लाख रुपैयाँको अक्षयकोषलाई वृद्धि गरेर विज्ञान, प्रविधि, दर्शन र खेलकुदका क्षेत्रमा पनि काम गर्ने घोषणा गरे ।कार्यक्रममा समाजसेवी बुद्धि रेग्मीले प्रतिष्ठानलाई थप कार्य गर्न सहयोग पुगोस् भन्ने हेतुले ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणासमेत गरे ।

प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले दिवंगत व्यक्तिका नाममा यस्ता प्रतिष्ठान स्थापना गरेर सामाजिक, साहित्यिक, कला र संगीतका क्षेत्रमा विशेष काम गर्नु उदाहरणीय भएको भन्दै आगामी दिनमा प्रतिष्ठानले अझ राम्रा र उदाहरणीय कार्य गर्न शुभेच्छा व्यक्त गरे ।

पाण्डुलिपि तथा उत्कृष्ट कृति पुरस्कार छनोटका लागि साहित्यकार महेश पौड्याल, गीता त्रिपाठी र प्रभाती किरण रहेको तथा कला र संगीत पुरस्कारका लागि संगीतकार सन्तोष श्रेष्ठ, गायिका निशा देशार र कलाकार केशवराज खनाल रहेको निर्णायक समिति निर्माण गरी उक्त समितिको सिफारिसबमोजिम पुरस्कृत गरिएकोे प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाले बताए ।
सुदूरपूर्वी पहाडी जिल्ला पाँचथरको सुभाङमा बुबा बद्रीप्रसाद ओझा र आमा गीता ओझाको माहिला छोराका रूपमा जन्मिएका खेम ओझाको वि. सं २०६७ साउन १९ गते उपचारका क्रममा निधन भएको थियो । सानैदेखि समाजसेवा, साहित्य र खेलकुदमा रुचि राख्ने खेम राजनीतिमा पनि सक्रिय थिए ।

उनै खेम ओझाका नाममा समाजसेवा, साहित्य, कला, संगीत, खेलकुद, शिक्षाका क्षेत्रमा विशेष कार्यहरू गर्ने उद्देश्यले खेम ओझा स्मृति प्रतिष्ठानको स्थापना गरिएको प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाले जानकारी दिए । प्रतिष्ठानबाट विगतमा पनि भूकम्पले विनाश गरेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका भूकम्पपीडितका लागि एक लाख रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको थियो भने अस्ट्रेलियामा भएको क्रिकेट प्रतियोगितामा सहआयोजकका रूपमा प्रतिष्ठान रहेको   थियो ।

प्रतिष्ठानले प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाको नाममा पाँचथरको सुभाङ– ६ मा रहेको दुई रोपनी जग्गा प्रतिष्ठानकै मार्फत् डाँडागाउँ आधारभूत विद्यालयलाई भवन निर्माणका लागि दानसमेत गरेको छ ।

Facebook Comments