परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

अविरल वर्षाले निम्त्याएको क्षति

सरकारको फितलो तयारी

समाचार विश्लेषण
काठमाडौँ । अहिले काठमाडौँ उपत्यका लगायत देशभर वर्षाको अवस्था छ । एक हप्ता यता कहीँ हल्का त कहीँ भारी वर्षा हुँदै आएकोमा विहीबारदेखि भने निरन्तर वर्षा भइरहेकछ  । यो वर्षाका कारण कहाँ कहाँ के कस्तो क्षति भयो भन्ने विवरणहरू अब आउन थाल्नेछन् । भक्तपुरमा त यो बर्खा दुई दुई पल्ट डुबान भएको छ । हिजो दिनभरि र रातभरि परेको पानीले भक्तपुरको थिमी तथा बालकोट क्षेत्र डुबानमा परेको छ । यसअघि पनि केही हप्ताअघिको भारी वर्षाका कारण यो क्षेत्र डुबानमा परेको थियो । तर अहिले पनि वर्षा कायम रहेकाले डुबानबाट स्थानीय बासिन्दाले तत्काल राहत पाउने सम्भावना देखिन्न । तराई सबैभन्दा बढी डुबानमा पर्ने गर्दछ । यसपल्ट पनि तराईका डुबानका खबर अब आउन थाल्नेछन् ।

नेपाल विभिन्न खाले प्राकृतिक विपद् र जोखिमका हिवाबले निकै संवेदनशील मानिन्छ । संयुक्त राष्ट्रसङ्घीय निकाय, विश्व बैङ्क तथा अन्य क्षेत्रबाट भएको अध्ययनअनुसार विश्वका १९८ मुलुकमध्ये नेपाल भूूकम्पीय जोखिमको ११ औँ र पानीजन्य प्रकोपको जोखिमको ३० औँ स्थानमा रहेको छ । यो अध्ययनले ९७ प्रतिशत नेपाली कुनै न कुनै प्रकारको जोखिममा रहेको पनि देखाएको छ । खडेरी, भूकम्प, महामारी, आगलागी, बाढी, पहिरो, चट्याङ, हुरी जस्ता प्रकोप नेपालमा हुने गरेका छन् ।
सामान्यतया, नेपालले प्रकोपका घटनाबाट वार्षिक करिब एक हजारभन्दा बढी नागरिक गुमाउनुका साथै औषतमा एक अर्ब २० करोड ८० लाख बराबरको आर्थिक क्षति व्यहोरिरहेको छ । पछिल्लो समयमा प्रकोपको प्रवृत्ति र आवृत्तिमा भएको परिवर्तन र वृद्धिले प्रकोपका घटना दोहोरिने र क्षतिको मात्रा बढ्ने क्रम निरन्तर रहेको छ ।
बर्खायाममा भने नेपाल बाढी, पहिरो र डुबानका कारण वर्षेनीजसो समस्यामा पर्दै आएको छ । केही दिनयता भइरहेको वर्षा अझै केही दिन जारी रहने मौसम भविष्यवाणीले बाढी, पहिरो र डुबानका समस्या देखिने निश्चितप्रायः भएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनका लागि आज (साउन २०, २०७५ मा) जारी गरेको भविष्यवाणीलाई आधार मान्दा अझै केही दिन वर्षा कायम रहनेछ ।

त्यसो त जाजरकोटको सदरमुकाम खलङ्गामा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा ९ जनाको ज्यान गएको दुःखद खबर मिडियामा छाएको छ । घटनाको पूर्ण विवरण अझै आउने क्रममै छ ।

मौसम पूर्वानुमान महाशाखाले आज (२०७५ श्रावण २० गते) बिहान ६:०० बजे जारी गरेको मौसम भविष्यवाणी

  •  श्रावण २० गते ९आइतबार० दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। आइतबार राती देशको पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
  •  श्रावण २१ गते (सोमबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । सोमबार राति मध्य र पश्चिमि क्षेत्रका एक दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
  •  श्रावण २२ गते (मगलबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ।

नेपाल सरकार, गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार २०७५ साल बैशाखदेखि अहिलेसम्म प्राकृतिक प्रकोपमा परी देशभरमा ४७० जनाको ज्यान गएको छ । ७६ जना वेपत्ता भएका छन् भने २२४६ जना भाइते भएका छन् । प्राकृतिक विपद्बाट झण्डै २ अर्बको क्षति भएको छ । तर यसपल्टको अविरल वर्षा कायमै रहेकाले अझै ठूलो जनधनको क्षति हुने अनुमान गर्न सकिन्छ ।


नेपाल सरकारसँग यो मनसुनमा पानीजन्य विपद्मा उद्धारका लागि देशभरमा ९ वटा मोटरबोट, २२ वटा रेस्क्यू र्याफ्ट, २५ वटा गोताखोर सामग्री र १३ वटा ह्याभी इकयुप्मेन्ट रहेको जानकारी गृह मन्त्रालयले दिएको छ । यसैगरी विपद् व्यवस्थापन तालिम केन्द्रबाट तालिमप्राप्त ११४२ जनशक्ति रहेको छ । देशका सातै प्रदेशमा गरी १३०५ जना सुरक्षाकर्मी २४ सै घण्टा सतर्क अवस्थामा खटाइएको समेत गृह मन्त्रालयले जानकारी दिएको छ । यो तथ्याङ्क विपद् व्यवस्थापनका लागि निकै सानो हो ।

पानीजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय सरकारले मनसुन आपत्कालीन कार्ययोजना, २०७५ जारी गरेको छ । यो योजनामा आपत्कालीन अवस्थाको सामना गर्न र उद्धारलाई प्राथमिकतामा राखेको भए पनि साधन र स्रोतको पर्याप्त व्यवस्था गर्न नसकेका कारण यो पूर्ण प्रभावकारी नहुने सङ्केत देखिएको छ । तर, बाढीको पूर्व जानकारी दिने प्रविधि भने प्रभावकारी देखिएको छ । मौसम विज्ञान विभाग र जल उत्पन्न प्रकोप नियन्त्रण विभागको संयुक्त प्रयासमा मौसम र बाढी भविष्यवाणी गर्ने प्रणालीले भने नदी किनारका बासिन्दाहरूको ज्यान र धन जोगिन मद्दत पुगेको देखिन्छ ।

तर हरेक साल आइरहने चक्रीय विपद्लाई पहिलेको अनुभव समेतका आधारमा सरकारका तर्फबाट व्यवस्थापन गर्न जुन कदम चाल्नुपर्ने हो, त्यस्तो भने हुन सकेको छैन । विपद् व्यवस्थापनका तीन वटा चरण हुन्छन्ः पूर्व तयारी, राहत उद्धार र पुनस्र्थापन । यी तीन चरणमध्ये पनि पूर्व तयारी महत्वपूर्ण हुने गर्छ जसको हामीकहाँ कमी छ । त्यसो त राहत उद्धार र पुनस्र्थापनामा पनि हामी कमजोर नै छौँ भन्ने विगतबाटै देखिँदै आएको छ । यसपल्टको आपत्कालीन कार्ययोजना २०७५ पनि साधन, स्रोत र दक्षताको अभावभित्रै निरन्तरता धान्न बनाइएको यसको अध्ययन गर्दा देखिन्छ ।

Facebook Comments