परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

इतिहासकै सर्वोत्कृष्ट ५ खेल

काठमाडौँ — १९५०विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो ।

उरुग्वे २–१ ब्राजिल
१९५०
विश्वकप १९५० को संरचना फरक थियो । चार समूहका विजेताहरूले अर्को चरणमा समूहमै रहेर खेलेका थिए र यसैबाट विजेताको चयन गरिएको थियो । उक्त फाइनल चरणमा ब्राजिलले स्वीडेनलाई ७–१ र स्पेनलाई ६–१ ले हराएको थियो । त्यसैले उसलाई विश्वकप च्याम्पियन बन्न अन्तिम खेलमा बराबरी नतिजा पनि पर्याप्त हुने थियो । धेरै पत्रिकाले पनि अबको च्याम्पियन ब्राजिल भनेर खबर नै प्रकाशित गरे ।
घरेलु टिम ब्राजिलको अन्तिम खेल उरुग्वेविरुद्ध थियो । माराकाना स्टेडियममा करिब दुई लाख दर्शकसामु ब्राजिलले फ्रियकाको गोलसँगै पहिलो हाफमै अग्रता लियो । जुआन अल्बर्टो सिफिनो र अल्सिडेस गिगियाले गोल गरेपछि उरुग्वे अन्तिम २५ मिनेटमा खेलमा फर्कियो र च्याम्पियन नै बन्यो । पेले मैदानमै ढलेर रोए । त्यसपछिका पाँचमध्ये तीन विश्वकपमा पेलेको टिम च्याम्पियन बन्यो ।

इंग्ल्यान्ड ४–२ पश्चिम जर्मनी
१९६६
यो विश्वकप सुरु हुनुपूर्व नै नाटकीय बनेको थियो । ट्रफी चोरियो, नक्कली बनाइयो र अन्त्यमा कुकुरले ओरिजिनल ट्रफी नै फेला पार्‍यो । बबी मुर बबी चाल्टर्न स्टार रहेको घरेलु टिम इंग्ल्यान्डले फाइनलमा पश्चिम जर्मनीको सामना गर्नुपर्ने भयो । यो खेल फुटबल इतिहासकै एक विवादास्पद बन्न पुग्यो र इंग्ल्यान्ड–जर्मन प्रतिद्वन्द्विता पनि चर्कियो । अतिरिक्त समयको एक क्षणले त्यस्तो बनाइदियो ।
ज्योफ हस्र्टले १०१ औं मिनेटमा बल क्रसबारमा प्रहार गरे र बल लाइनमा झर्‍यो । रुसी लाइन्समेन तफिक बरामोभले बलले लाइन क्रस गरेको मानेको निर्णय दिएपछि इंग्ल्यान्ड ३–२ ले अगाडि बढ्यो । समय कट्दै जाँदा जर्मनीले हरेक किसिमले प्रयास गर्‍यो । ज्योफ हस्र्टले नै ‘टप कर्नर’ मा उत्कृष्ट गोल गर्दै इंग्ल्यान्डलाई ४–२ ले जिताए ।

इटाली ४–३ पश्चिम जर्मनी
१९७०
इटालीले विश्वकपकै सबभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्‍यो । यस खेल शताब्दीकै उत्कृष्ट खेलका रूपमा पनि चर्चित छ । सेमिफाइनलमा पश्चिम जर्मनीविरुद्ध आठौं मिनेटमै इटालीले अग्रता लिएको थियो र त्यस बेला इटालीले सजिलै खेल जित्ने अनुमान गरिएको थियो । तर कार्ल हेन्ज सिलिंगरले गोल गर्दै ९० मिनेट बराबरीमा टुंग्याइदिए र खेल अतिरिक्त समयमा धकेले ।
अब के हुन्छ भन्ने निश्चित भएन । जर्मन लिजेन्ड फ्रान्ज बेकेनबाउरको काँधको चोट लागिसकेको थियो । तर दुई खेलाडी परिवर्तन गरिसकेकाले उनी अतिरिक्त समयको १३ मिनेट मैदानमै खेलिरहन बाध्य थिए । जियानी रिभेराले निर्णायक गोल गरेको त्यस अवधिमा ५ गोल भएको थियो र त्यसले इटालीलाई अर्को विश्वकपको फाइनल पुर्‍याएको थियो ।

अर्जेन्टिना २–१ इंग्ल्यान्ड
१९८६
यो विश्वकप महान् खेलाडी डिएगो म्याराडोनाको ‘चिटिङ’ समात्न नसकेको संस्करणका रूपमा प्रख्यात छ । उनले चार मिनेटभित्र विश्वकपमै दुई अविस्मरणनीय क्षण सिर्जना गरे । पहिलो हाफलगत्तै उनले हाते गोल गरे, जसलाई भगवान्को हात पनि भनिन्छ । उनले बल क्लियर गर्न अघि बढेका इंग्ल्यान्डका गोलकिपर पिटर सिल्टनलाई जिल्याउँदै हातले बललाई पोस्टको दिशा दिएका थिए । रेफ्रीले त्यसलाई गोलको मान्यता दिए ।अर्को क्षण चार मिनेटभित्रै भयो र यसलाई शताब्दीकै सर्वोत्कृष्ट गोल भनिन्छ । आफ्नै क्षेत्रमा लिएको बललाई उनले इंग्ल्यान्डका पाँच डिफेन्सलाई छक्याउँदै गोलमा परिणत गरेका थिए । म्याराडोनाको खेलले इंग्ल्यान्डलाई अवसरविहीन जस्तै बनाइदियो । गेरी लिनेकरले ८१ औं मिनेटमा सान्त्वना गोल गरे पनि त्यो निकै ढिला भइसकेको थियो । यसलाई इतिहासकै उत्कृष्ट खेल पनि भनिन्छ तर विवाद र आश्चार्य पनि रह्यो ।

जर्मनी ७–१ ब्राजिल
२०१४
घरेलु मैदानमा भइरहेको विश्वकपमा ब्राजिलले नेयमरबाट अत्यधिक आशा गरेको थियो । उनको टिमले उस्तै राम्रो खेल खेलिरहेको पनि थियो । सेमिफाइनल पुग्यो । उसको प्रतिद्वन्द्वी जर्मनी । यसमा राम्रै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो तर नतिजा ३० मिनेटभित्रै टुंगिएजस्तो भयो ।प्रतियोगिताको एक तहमा पुगेर विपक्षी कसरी ध्वस्त हुन्छ भन्ने विश्वकप इतिहासकै एक उत्कृष्ट प्रदर्शनले देखाउँछ । यसमा ब्राजिलको डिफेन्सलाई शंका गरिन्छ तर जर्मनी धेरै उत्कृष्ट
रहेको पनि हो । थोमस मुलरले ११ औं मिनेटमा गोलको खाता खोले । त्यसको ६ मिनेटभित्र जर्मनीले थप चार गोल गर्‍यो । आन्द्रे सर्लेले दोस्रो हाफमा दुई गोल गरे र जर्मनीले सात गोलको अग्रता लियो । ब्राजिलका लागि अन्त्यमा ओस्करले सान्त्वना गोल गरे तर त्यसअघि नै जे नहुनु थियो, त्यो भइसकेको थियो ।

कान्तिपुरबाट

Facebook Comments