परिसंवाद
सार्थक चेतनाका लागि परिसंवाद

नारी आवाज

बालबच्चामा संस्कार हस्तान्तरण

केही समय पहिले काम विशेषका कारण काभ्रे पुग्ने अवसर मिलेको थियो । काभ्रेको उग्रचण्डी नाला पुगेपछि पानीको साह्रै तिर्खा लाग्यो । घरबाट लगिएको पानी सकिसकेको थियो । पसलहरु कतै देखिएका थिएनन् । बाटैको छेउको घरमा पानी मागेर खाने निर्णय गरियो । पानी माग्न जाँदा एउटी सानी बच्चीले यति नराम्ररी मुख छाडेर गाली गरिरहेकी थिइन् की सुन्नै अफ्ठ्यारो लाग्ने । एकजना महिला निस्केपछि हामीले पानी माग्यौ र यी बच्चीले कस्लाई गाली गरेकी भनेर सोध्यौं । ती महिलाले भनीन् उनको आमालाई । बज्यैले भातमारा, सुतुवाई काम गर्न अल्छी गर्छे भनेको सुनेपछि उनले पनि आफ्नी आमालाई यस्तै भनेर गाली गरेकी रहिछिन् ।

आफ्ना बालबच्चालाई के सिकाउने अनि कस्तो बातावरणमा हुर्काउने भन्ने कुरामा अभिभावकको ठूलो हात हुन्छ । धनी हुँदैमा त्यहाँ राम्रो वातावरण हुन्छ भन्ने  हुदैन । गरीव हुँदैमा त्यहाँ संस्कार नै हुदैन भन्ने पनि होइन । मुख्य कुरो बाबुआमाले घरभित्र गर्ने व्यवहार र संस्कारलाई नै केटाकेटीले प्रत्यक्ष अप्रत्यक्ष दुबै रुपमा अनुशरण गरिरहेका हुन्छन् । त्यसभित्र बोलीचाली, आफूभन्दा ठूलालाई गर्ने सम्मान अनि स्नेह सबै पर्ने गर्दछ । आफनो बाबुआमाले हजुरबुवा आमालाई दूरव्यवहार गरेको सानैमा कोही बच्चाले देख्छ भने त्यो बच्चाले पनि ठूलो भएर आफनो बाबुआमालाई त्यहि व्यवहार गर्छ । गीतामा त्यसै भनिएको होइन, – तिमी जस्तो वृक्ष रोप्छौ फल त्यस्तै हुने गर्छ ।

हिजोआज बच्चाले नराम्रो कुराको सिको नगरोस् भनेर शहर तिरका अभिभावकहरु बडो सचेत देखिन्छन् । बच्चा बोल्न थालेदेखि आउनुस, जानुस, खानुस भन्ने आदरार्थि शब्दको प्रयोग गर्ने गर्छन् र आफनै बच्चालाई समेत मान हालेर बोल्ने र बोलाउने गर्छन् । ताकी बच्चाले सानैदेखि सबैलाई आदर गर्न सिकोस । मन्टेश्वरी स्कूलमा पनि यस्तै अभ्यास गराइन्छ । छिमेकी देश भारतमा बच्चालाई निकै मान गरेर बोल्ने गरेको हामीले धेरै पहिले देखि सुन्दै आएका हौं । यसैको सिको अथवा प्रभाव जे भनिए पनि शहरका अभिभावकहरुले गरेका हुन सक्छन् भन्नेहरु पनि छन् । तर जे होस् बालबालिका भनेका काँचो माटो न हुन् यस्लाई जस्तो आकार दियो त्यस्तै बन्ने गर्छ । त्यसैले जे सिकायो त्यस्तै सिक्छन् । कतिपय अवस्थामा घरको वातावरणले पनि उनीहरुलाई प्रभाव पारिरहेको हुन्छ । घरका मानिसहरु जे गर्छन्, जे बोल्छन् उनीहरु त्यस्तै सिक्ने गर्छन् । त्यसैले त मानिसहरुले देखाउने व्यवहारले उ कस्तो परिवारमा जन्मेको छ भन्ने कुराको झल्को दिइरहेको हुन्छ ।

आफ्ना बालबच्चालाई के सिकाउने अनि कस्तो बातावरणमा हुर्काउने भन्ने कुरामा अभिभावकको ठूलो हात हुन्छ । धनी हुँदैमा त्यहाँ राम्रो वातावरण हुन्छ भन्ने हुदैन । गरीव हुँदैमा त्यहाँ संस्कार नै हुदैन भन्ने पनि होइन । मुख्य कुरो बाबुआमाले घरभित्र गर्ने व्यवहार र संस्कारलाई नै केटाकेटीले प्रत्यक्ष अप्रत्यक्ष दुबै रुपमा अनुशरण गरिरहेका हुन्छन् । त्यसभित्र बोलीचाली, आफूभन्दा ठूलालाई गर्ने सम्मान अनि स्नेह सबै पर्ने गर्दछ । आफनो बाबुआमाले हजुरबुवा आमालाई दूरव्यवहार गरेको सानैमा कोही बच्चाले देख्छ भने त्यो बच्चाले पनि ठूलो भएर आफनो बाबुआमालाई त्यहि व्यवहार गर्छ । गीतामा त्यसै भनिएको होइन, – तिमी जस्तो वृक्ष रोप्छौ फल त्यस्तै हुने गर्छ ।

आफूले जन्माएको बच्चा संस्कारी होस्, कुलतमा नलागोस् र राम्रो काम गरोस भन्ने चाहाना कुन चाहिं अभिभावकको हुदैन    र ? शहर तिर धेरै बच्चा, हिजो आज आफना बाबुआमालाई तिमी भनेर सम्वोधन गर्ने गर्छन । हाम्रो समाजमा तँ, तिमी भन्ने शब्द प्रायगरी आफूभन्दा सानोलाई प्रयोग गरिन्छ । सुन्दा कस्तो–कस्तो लागेपनि बच्चाले तिमी भन्दा निकै नै नजिकको अनुभव हुने गर्छ । एकजना छिमेकी दिदी सुनाउँदै थिइन् । रीस उठेपछि उनले बच्चालाई तँ,तँ मम गर्छु अरे । अनि बच्चाले पनि उनलाई तँ तँ मम नै गर्छ रे । हुँदा हुँदा हिजोआज बच्चाले उनलाई तँ र तिमी बाहेक अरु केही भन्दैनरे । एक दिन साह्रै चित्त दुखेपछि छोरीसँग भनिछन् , हेर छोरी तिमीले मलाई यसरी तँ भन्नुहुन्छ त ? ठूलो मान्छेलाई तँ भन्नुहुन्छ त ? तँ मेरो मम्मी भएर पो तलाई तँ भनेको अरुलाई त कहाँ भन्छुर भनेर जवाफ दिइछन् । छोरीको यस्तो जवाफ सुनेपछि छोरीले म नाजवाफ भएँ ! भनेर ती छिमेकी दिदीले सुनाएकी थिइन् ।

धेरै जसो बच्चाहरु हिजोआज शहरमा आफना आमाबाबालाई तिमी भनेर सम्वोधन गर्छन् । यस्को अर्थ हेला गरेको भन्ने   हुदैन । घरको कुनै सदस्यले तिमी भनेर बोलाएको सुनेर नै बच्चाले पनि तिमी भनेर आफना अभिभावकलाई सम्वोधन गरिरहेका हुन्छन् । फेरि हामीले पनि हाम्रो बच्चालाई तिमी नै भनेर सम्वोधन गरिरहेका हुन्छौं । मनोविद्का अनुसार, बच्चाले कहिल्यै आफूलाई सानो ठान्दैन, घरमा मेरो राजा मेरो प्यारा, मेरी राजकुमारी भन्ने विशेषण लगाएर उनीहरुलाई बोलाइने हुँदा बच्चाले म घरको विशीष्ट व्यक्ति नै भन्ने सम्झिन्छ । अर्को तर्फ वावुआमा त उनको लागि यति प्यारो हुन्छ की बाबुआमाको काख भित्र उस्ले स्नेह, संरक्षण लगायत सबै थोकको अनुभव गरेको हुन्छ । विशेष गरि आमासँग बोल्दा बच्चाले मैले जे भनेपनि आमा रिसाउँदिनन् भन्ने आभाष हुन्छ । त्यसैले सामिप्यको आधारमा उनले आफना बाबु आमालाई तिमी भन्ने गरेका हुन् । धेरै त, घरका ठूला मानिस कसरी बोल्छन् त्यस्को प्रभाव नै बच्चामा बढी पर्ने गर्छ ।

तँ, तिमी जस्ता सम्वोधन जे भनेर गरेपनि बच्चाको अगाडि कसैलाई गाली गर्ने काम भने पटक्कै गर्नु हुदैन । कुनै कुनै बच्चा भन्न नहुने, सुन्नै नसकिने गाली गर्छन् । यस्को मतलब घरका कुनै पनि सदस्य नराम्रो बोल्ने गर्छन् र त्यहि बोलेको सुनेर नै बच्चाहरुले त्यस्को सिको गरेका हुन् । फेरि बच्चामा लागेको यस्तो नराम्रो बानी हटाउन निकै मुश्किल पर्ने गर्छ । पछिसम्म पनि बच्चाले त्यस्ता शब्दको प्रयोग गरिरहन्छन् । र, बच्चामा गरिएका त्यस्ता क्रियाकलापहरु उनीहरुले विर्सन सक्दैनन् ।
केही विकसीत मुलुकहरुले त के पनि गर्न थालीसके भने आमा गर्भवती हुनासाथ बच्चामा सकारात्मक सोंच र व्यवहार आओस् भन्नाको खातिर राम्रो राम्रो स्टोरीका कथाहरु पढ्ने, राम्रो काम गर्ने,सकारात्मक सोंच राख्ने गर्छन् । नेपालमै पनि एकजना दिदीले गर्भवती भएपछि हरेक दिन रामायण गीता, गणेश चालीसा पढेकी देखेकी थिएँ । यसरी आमाले गर्ने हरेक क्रियाकलापको प्रभाव गर्भमा रहँदादेखि नै पर्ने गर्छ भन्ने विश्वास गरिन्छ । त्यसकारण बच्चाले देखाउने स्वभावले समेत उ कस्तो संस्कारबाट आएको हो भन्ने कुराको प्रर्दशन गरिरहेको हुन्छ । त्यसैले बच्चासँग मिठो बोलौं छुद्र भएर होइन ।