नेपालमा रेडियो प्रशारणको इतिहास : रोमाञ्चकतादेखि रूपान्तरणसम्म–७

प्रशारण बहुलता काल : ऐतिहासिक प्रशारण रेडियो सगरमाथाको सुरुवात

रेडियो सगरमाथा स्टेशनको सम्पूर्ण तयारी हामीले गरिसकेका थियौं । स्टुडियो निर्माण भइसकेको थियो, उपकरणहरु जडान गरिएका थिए र रेडियो सगरमाथाको दैनिक कार्यसञ्चालन गर्ने सानो संस्थापक टोली निश्चित भइसकेको थियो । जसमा समूहका कार्यकारी निर्देशक ओम खड्काको सरसल्लाह र रेखदेखमा रहेर कार्य गर्ने गरी व्यवस्थापन तथा कार्यक्रम निर्देशक रघु मैनाली, प्राविधिक निर्देशक उपेन्द्र अर्याल, कार्यक्रम निर्माता घमराज लुइँटेल, कार्यक्रम सह–निर्माताद्वय जितेन्द्र राउत र मधु आचार्य, रेकडिष्ट राजेन्द्र रिजाल र कार्यालय सहयोगी रामजी भट्टराई रहेको सात जनाको सानो टोली सम्लग्न थियो । इजाजत पत्रमा प्रशारण नियमावलीले तोकेको शर्तका अतिरिक्त २१ वटा स्वेच्छाचारी शर्तहरु राखिएका थिए । ती शर्तहरूमा प्रशारण ऐनमा समाचारमूलक, शिक्षाप्रद र स्वस्थ मनोरञ्जनात्मक कार्यक्रम चलाउने स्पष्ट व्यवस्था भएपनि समाचार प्रशारण गर्न नपाउने, विहान ७ बजेदेखि ९ बजेसम्म दिनको दुई घन्टामात्र प्रशारण गर्नु पर्ने, विज्ञापन बजाउन नपाइने, प्रत्येक हप्ता प्रसारण गरिने र प्रसारित कार्यक्रमको प्रतिवेदन सूचना तथा सञ्चार मन्त्रालयमा पेश गर्नुपर्ने, प्रशारण क्षमता १०० वाटमात्र हुने, मन्त्रालयले समयसमयमा दिने निर्देशन पालना गर्नुपर्ने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी शर्तहरु थिए । त्यसबेला सरकारी रबैयाप्रति स्वतन्त्र रेडियो अभियानका संस्थापकहरूको अनुभूति यस्तो थियो– “उनीहरु शुद्ध कर्मचारीमात्र होइनन्, अधिनायकवादी अवशेषबाट छुटकारा लिन नसकेका अघिल्लो व्यवस्थाका अविच्छिन्न र इमान्दार प्रतिनिधि समेत हुन” (मैनाली, २०५९, पृ. ३०)।

इजाजतको अधिनमा रहेर हामीले प्रशारणको तयारी अघि बढायौं । रेडियो सगरमाथालाई कसरी रेडियो नेपालभन्दा भिन्न बनाउने भन्नेबारेमा छलफल गर्‍यौं । रेडियो सगरमाथा र यसको फ्रिक्वेन्सी कसरी उच्चारण गर्ने भन्ने छलफलमा बरिष्ठ पत्रकार कनक दीक्षित र प्रत्यूत वन्त पनि सहभागी थिए । रेडियो सगरमाथाका लागि दिइएको फ्रिक्वेन्सी १०२.४ मेगाहर्ज थियो । ब्राण्डिङको विशिष्टतालाई समेत ध्यानमा राखेर हामीले १०२ थोप्लो ४ भनी उच्चारण गर्ने टुङ्गो लगायौं । रेडियो सगरमाथाको सुरुमा के उद्घोषण गर्ने र कसरी उच्चारण गर्ने भन्ने सम्बन्धमा प्रशारण सुरुवातको अघिल्लो दिन राती रघु मैनाली र घमराज लुइँटेलले छलफल गरी १६५ पटक “रेडियो सगरमाथा” उच्चारण गरेको स्वर उपेन्द्र अर्यालले स्पुल टेपमा रेकर्ड गर्नुभयो । अन्तत हामी ती रेकर्डमध्येबाट सुनेर एउटा उच्चारणलाई अन्तिम रूप दियौं ।

२०५४ जेठ ९ गते दक्षिण एसियामै सरकारभन्दा बाहिरको पहिलो ऐतिहासिक रेडियो प्रशारण रेडियो सगरमाथाको औपचरिक अनुष्ठानको शुभारम्भ हामीले कालधारा, काठमाडौंबाट गर्‍यौं । बरिष्ठ संगीतकार, गीतकार तथा गायक गोपाल योञ्जनले रचना गरिदिनु भएको “स्टेसन परिचय धुन” बाट लगभग विहान ९ बजे हामीले रेडियोको ऐतिहासिक प्रशारण सुरु गर्‍यौं । रेडियो सगरमाथामा पहिलो प्रत्यक्ष प्रशारित स्वर घमराज लुइँटेलको थियो । प्रशारणमा बोलिएको पहिलो बाक्य उनी सम्झन्छन् : “नमस्कार ! एफएम ब्याण्डको १०२ थोप्लो ४ मेगाहर्जमा यो मुनाफा तथा विज्ञापनरहित स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथा हो’’ (लुइँटेल, २०७०, पृ. २०४) । करिव २० मिनेटजति बजाएर हामीले त्यो ऐतिहासिक प्रशारण त्यस दिनलाई बन्द गर्‍यौं । यस कार्यले झण्डै चार दशक लामो रेडियो नेपालको प्रशारण आधिपत्य अन्त्य गर्‍यो, स्वतन्त्र रेडियो सञ्चालनमा दक्षिण एसियामै नयाँ र स्वर्णीम इतिहासको रचना गर्‍यो र एसियाको सामुदायिक रेडियोको इतिहासमा रेडियो सगरमाथा अग्रणी रेडियोहरूको सूचीमा अङ्कित हुनपुग्यो । अर्थात् नेपाली प्रशारणले एसियाली रेडियो प्रशारण इतिहासमा परैबाट स्पष्ट देखिने एउटा कोशेढुङ्गा खडा गर्‍यो ।

स्थानीय चुनाव २०५४ सालको दोस्रो चरण जेठ १३ गते सम्पन्न गरी सूचना तथा सञ्चारमन्त्री झलनाथ खनाल काठमाडौं फर्किए । निर्वाचन आचारसंहिता समाप्त भएपछि इजाजत लिएर प्रशारण समेत सुरु गरेपनि दक्षिण एसियाकै इतिहासमा महत्वपूर्ण घटना भएकाले रेडियो सगरमाथाको इजाजत हस्तारण समारोह औपचारिक रूपमा आयोजना गर्ने सल्लाह भयो । जेठ १६ गते विहिबार सञ्चार मन्त्रालयकै सभाहलमा कार्यक्रम आयोजना गरी रेडियो सगरमाथाको इजाजत मन्त्री खनालले सार्वजनिक रुपमा नेवापसका अध्यक्ष तथा रेडियो सगरमाथा परियोजना सञ्चालन समितिका अध्यक्ष मुरारी सिवाकोटीलाई हस्तारण गरे ।

रेडियो सगरमाथाको प्रभावकारी प्रशारण नेपालमा रेडियो विस्तार अभियानको औचित्यलाई पुष्टि गर्न पनि उत्तिकै जरुरी थियो । तसर्थ रेडियो सगरमाथाको संरचनागत स्वरुपलाई अझ व्यवस्थित गर्ने आवश्यकता महशुस गरी समूहको २०५४ जेठ १६ गते बसेको (वैठक नं. १०२) कार्य समितिको बैठकले रेडियो सगरमाथा कार्यसञ्चालन विनियम सम्बन्धी मस्यौदा तयार पार्न ओम खड्का, राजेश घिमिरे र रघु मैनाली रहेको एक समिति गठन गर्‍यो । यस समितिले रेडियो सगरमाथाको बोर्डमा नेवापसको पूर्ववत नेतृत्वदायी भूमिका रहने गरी नेपाल प्रेस इन्स्टिच्युट, हिमाल एसोसिएन र वर्ड भ्यू नेपालका प्रतिनिधि पनि समावेश गर्ने र रेडियोको कार्यक्रम तथा व्यवस्थापनको विद्यमान जिम्मेवारीलाई पुनसंचना गरी स्टेसन मेनेजर, कार्यक्रम निर्देशक र प्राविधिक निर्देशक रहने व्यवस्था सहितको मस्यौदा समूहको कार्यसमिति समक्ष पेश गर्‍यो ।

२०५४ साल असार ४ गते मुरारी सिवाकोटीको अध्यक्षतामा बसेको नेवापसको कार्यसमिति बैठक (बैठक नम्बर १०४) ले रेडियो सगरमाथा कार्यसञ्चालन विनियम सम्बन्धी मस्यौदामाथि छलफल गरी पारित गर्‍यो र भारतदत्त कोइलाराको अध्यक्षतामा चारवटा संस्था सम्मिलित रेडियो सगरमाथा कार्य सञ्चालन समिति गठन गर्‍यो । जसका सदस्यहरूमा वर्डभ्यू नेपालको तर्फबाट आदित्यमान श्रेष्ठ, नेपाल प्रेस इन्स्टिच्यूटको तर्फबाट गोकुल पोखरेले र हिमाल एसोसिएसनको कनकमणि दीक्षित थिए । यसैवीच रेडियो सगरमाथाको स्टेसन मेनेजरका सम्भावित उमेदवार पनि हामीले खोज्यौं । नेवापसका सदस्य विनोद भट्टराई “फुलब्राइट फेलोसिप” सिध्याएर अमेरिककाबाट फर्केपछि नेवापसको श्रव्य–दृश्य विभागको निर्देशकमा २०५४ असार २ गतेदेखि नियुक्त भएका थिए । हामीले रेडियो सगरमाथाको स्टेशन मेनेजरका लागि उनलाई प्रस्ताव गर्‍यौं, उनले मञ्जुरीसहित श्रव्य–दृश्य विभागको निर्देशकबाट राजीनामा दिए । २०५४ साउन १६ गते रेडियो सगरमाथाको नवनियुक्त कार्य सञ्चालन समितिका अध्यक्ष भारतदत्त कोइरालाको अध्यक्षमा नयाँ समितिका सदस्य सहित रेडियो सगरमाथाको संस्थापक कार्य सञ्चालन समितिका अध्यक्ष मुरारी सिवाकोटी, सदस्यद्वय ओम खड्का र रघु मैनलीको संयुक्त बैठक बस्यो । बैठकमा रेडियो सगरमाथाको संस्थापक कार्य सञ्चालक समितिका तर्फबाट नयाँ सञ्चालक समितिका अध्यक्ष भारतदत्त कोइरालालाई कार्यभार तथा निर्णय पुस्तिका हस्तान्तरण र रेडियोको अवस्थाबारे व्रिफिङ गर्ने कार्य सम्पन्न भयो । यसै बैठकले विनोद भट्टराईलाई रेडियो सगरमाथाको स्टेसन मेनेजर तोक्ने निर्णय गर्‍यो । विनोद भट्टराईले श्रव्य–दृश्य विभागको निर्देशकबाट दिएको राजीनामा २०५४ साउन २० गते नवनिर्वाचित अध्यक्ष तीर्थ कोइरालाको अध्यक्षतामा बसेको नेवापसकोे कार्यसमिति बैठक (बैठक नं. १०९ र ११०) ले स्वीकृत गर्‍यो । रेडियो सगरमाथाको खाता सञ्चालन विनोद भट्टराई, रघु मैनाली र उपेन्द्र अर्यालको हस्ताक्षरमा चल्ने निर्णय पनि गर्‍यो । यसरी रेडियो सगरमाथाले संस्थागत रूपमा पूर्ण आकार लियो ।

२०५४ चैत ३० गते फेरि सरकार परिवर्तन भयो । २०५५ सालको सुरुमा विनोद भट्टराईले स्टेशन मेनेजरबाट राजिनामा दिएपछि रेडियो सगरमाथाको स्टेसन मेनेजर र कार्यक्रम निर्देशकको दुबै जिम्मेवारी फेरि रघु मैनालीले सम्हाले । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको अल्पमतको सरकारमा महन्थ ठाकुर सूचना तथा सञ्चार सञ्चारमन्त्री बने । उनको कार्यकालमा रेडियो सगरमाथाले २०५५ सालको सुरुमा दैनिक १० घन्टा प्रशारण अनुमति प्राप्त गर्‍यो । प्रधानमन्त्री कोइरालाले २०५५ साल भदौ १० गते मन्त्रीमण्डल पुनर्गठन गरेपछि राधाकृष्ण मैनाली सूचना तथा सञ्चारमन्त्री भए । उनकै कार्यकालमा रेडियो सगरमाथाले २४ सै घन्टा प्रशारणको अनुमति पायो । सामुदायिक रेडियो अभियान देशैभर फैलाउने लक्ष अनुसार नेवापसले रेडियो सगरमाथाकै फ्रिक्वेन्सी प्रयोग गर्ने गरी देशैभर मोवाइल रेडियो स्टेशन प्रदर्शनका लागि २०५६ साल साउन १३ गते इजाजत लियो । “वानटोक” कम्पनीबाट निर्मित २० वाट क्षमताको सुटकेस रेडियो युनेस्को दिल्लीले २०५५ सालको अन्त्यतिर रेडियो सगरमाथालाई पठाएको थियो । मोवाइल रेडियो स्टेशन प्रदर्शन गर्नुको प्रमुख उद्देश्य देशैभर रेडियो अभियान विस्तारका लागि आम मानिसमा रेडियो प्रविधिबारे विद्यमान आश्चर्यजनक रहश्यमयी धारणा तोड्नु थियो र समुदायका मानिसलाई हामी पनि रेडियो चलाउन सक्छौं भनी अग्रसर गराउनु थियो ।

Facebook Comments
Mainali
Comments (0)
Add Comment