प्रशारण आधिपत्य काल : प्रशारणमा अभूतपूर्व प्रगति
२०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था नियन्त्रण गरी निर्दलीय पञ्चायती व्यवस्था सुरु गरे । प्रजातान्त्रिक संविधान निलम्वन भयो । राजा महेन्द्रको यस राजनीतिक कदमलाई जनतामा स्थापित गर्न पञ्चायती सरकारले रेडियोको महत्व बुझ्यो र रेडियो नेपालमाथि सरकारको विशेष ध्यान जानथाल्यो । यो राजनीतिक परिवर्तनले दोस्रो पञ्चवर्षीय योजना (२०१८–२०२२) दुई वर्ष ढिला भएर कार्यान्वयमा आयो । यस योजनामा रेडियोका स्रोता बढाउने क्रियाकलाप पनि तर्जुमा गरिएको थियो । रेडियो नेपालको प्रशारण सुन्न आम नेपालीलाई सहज बनाउन र रेडियो सुन्ने संस्कृतिको विकास गर्न देशका अधिकांश भागमा सार्वजनिक श्रवण केन्द्रको स्थापना गर्ने गतिविधिहरुलाई यस योजनामा समेटिएको थियो (हेर्नुहोस् अध्याय ४) । यसै योजना अनुसार न्यूरोड भूगोलपार्क लगायत काठमाडौंका केही स्थानमा सार्वजनिक श्रवण केन्द्रहरू स्थापना भए (ठाकुर, २०८१) । २०१८ साल चैतमा नेशनल ट्रेडिङको स्थापना भएको केही समयपछि तत्कालीन सोभियत संघले नेपालका लागि ठूलो संख्यामा रेडियो सेटहरु सहयोग स्वरूप प्रदान गर्यो । तर ती सेटहरुमा रेडियो नेपाल टिप्ने फ्रिक्वेन्सी नभएकाले गर्दा नेशनल ट्रेडिङले फ्रिक्वेन्सी ‘रिसेट’ गर्न टेन्डर निकाल्यो । रेडियो नेपालको स्थापनालाई प्राविधिक रुपमा सम्भव बनाउने बद्रीप्रसाद ठाकुरलाई टेन्डर पर्यो (ठाकुर, २०८१) । यसपछि नेपालमा रेडियो सेटहरुको समेत उल्लेख्य उपलब्धता सुरु भयो ।
स्थापना कालबाटै सुरु गरिएका हिन्दी समाचार वुलेटिन र नेवारी समाचार वुलेटिनलाई २०२२ साल वैशाख १ गतेदेखि बन्द गरियो (थापा, २०५६) । सम्बत् २०२० को दशक नेपाली रेडियो प्रशारणको इतिहासमा अभूतपूर्व रह्यो । रेडियो नेपालको सुधारका लागि औपचारिक प्रयासहरू भए । गृहपञ्चायत मन्त्रालय अन्तर्गतको प्रचार प्रसार विभागलाई २०२० सालमा प्रचार र प्रशार गरी दुइटा विभाग बनाएपछि रेडियो नेपाल प्रसार विभागको मातहत रह्यो । २०२२ सालमा सूचना तथा प्रशार मन्त्रालय स्थापना भयो र गृह पञ्चायत मन्त्रालयबाट अलग्याएर रेडियो नेपाललाई यसको मातहत राखियो (सञ्चार योजना, २०२८; शाह, २०५४) । रेडियो नेपालमा २०२३ सालदेखि प्राविधिकको रुपमा कार्यरत बसन्त केशर पण्डितका अनुसार २०२४ साल अघिसम्म गर्नै पर्ने भनी छानिएका केही नामी गायकका गीत मात्र रेकर्ड हुन्थ्ये (पण्डित, २०८१) । गीत रेकर्डका लागि उपयुक्त प्रविधि थिएन । यसबेला रेडियो नेपालसंग २०१८ सालमा अष्ट्रेलियन सरकारले उपलब्ध गराएको स्कली ओपन रिल टेप (स्पूल टेप) रेकर्डरमात्र थियो र एउटा गीत रेकर्ड गर्न बाध्यबाधक तथा गायकहरू बसेर पटकपटक पूर्वाभ्यास र पटकपटक रेकर्ड गर्नुपथ्र्यो (कार्की, २०८१) । त्यसबखत अडियो सम्पादन गर्न “कट एडिट” अर्थात् रिल काट्तै जोड्दै गर्ने गरिन्थ्यो ।
२०२३ साल अघि दिवा सेवामा कार्यरत प्राविधिक केदारलाल ठाकुर र रामवीर मालाकारले गीत रेकर्डका लागि सहयोग गर्दथे । र, ती गीतको ‘भिनायल डिस्क’ बनाउन चाहिँ कलकत्ता वा बम्बै पठाउने चलन थियो । २०२३ सालमा अमेरिकी सरकारको सहयोगमा अत्याधुनिक स्टुडियो निर्माण र वेलायती सरकारको सहयोगमा रेकर्डिङ र इडिटिङ उपकरणहरू उपलब्ध भएपछि रेडियो नेपालले व्यवस्थित रूपमा आफ्नै स्टुडियोबाट गीत रेकर्डिङ पनि सुरु गर्यो । २०२५ सालमा रेडियो प्रवद्र्धन सल्लाकार समित गठन गरियो । यसैसालदेखि रेडियो नेपालमा व्यापारिक कार्यक्रमहरू सुरु हुनथाले (सञ्चार योजना, २०२८; शाह, २०५४) । २०२७ सालदेखि रेडियो नेपालमा गीत सङ्ग्रहको थालनी भयो (मुकारुङ, २०५६) । २०२७ माघ १५ गते राष्ट्रिय सञ्चार योजना तर्जुमा गर्न समिति गठन भयो । यसले २०२८ साउन १५ गते प्रतिवेदन बुझायो (शर्मा, २०५६) । २०२८ साल साउनदेखि लागु गरिएको यस राष्ट्रिय सञ्चार योजना, २०२८ ले रेडियो नेपालको व्यवस्थापकीय संरचनामा समेत फेरबदल गर्यो । रेडियोमा निर्देशक रहने व्यवस्थालाई परिवर्तन गरी महानिर्देशक र उपममहानिर्देकको व्यवस्था अघिसार्यो । रेडियो नेपालको नीति, नियम र योजना तर्जुमा गर्न रेडियो सल्लाहकार मण्डलको परिकल्पना गर्यो । विभिन्न शाखाहरुको क्षेत्राधिकार र कार्यविभाजन स्पष्ट रुपमा उल्लेख गर्यो । विकासका लागि सञ्चारको नारा सहित राष्ट्रिय सञ्चार योजना लागु भएपछि यस अघिसम्म दैनिक आठ घन्टा भइरहेको प्रशारण अवधिलाई बढाएर दैनिक १२ घन्टा पुर्याइयो । केही राष्ट्रिय समाचार बुलेटिन थप भए र नौ वर्षअघिदेखि दैनिक पाँच मिनेट प्रशारण भइरहेको जिल्ला समाचार वुलेटिनलाई बढाएर विहान र वेलुकी १०/१० मिनेटका दुईवटा वुलेटिन बनाइयो । कार्यक्रमहरुमा पनि प्रसस्त फेलबदल गरी बाल कार्यक्रम, महिला कार्यक्रम, विशेष कार्यक्रम जस्ता विशेष समूह लक्षित कार्यक्रमहरूको थालनी गरियो (अधिकारी, २०५४; थापा, २०५६) ।
यसै दशकमा रेडियोले भौतिक क्षमता अभिवृद्धिमा पनि महत्वपूर्ण प्रगति गर्यो । २०२३ सालमा श्री ५ को सरकार, बेलायत र अमेरिकी सरकारवीच रेडियो नेपालको भौतिक क्षमता अभिवृद्धि गर्न त्रिपक्षीय सम्झौता भयो । यस अघि जावलाखेलमा प्रशारण केन्द्र थियो तर त्यहाँ थप विस्तारको सम्भावना थिएन । सिहंदरवार र खुमलटारमा प्रशारण केन्द्र स्थापना गर्न सरकारले जग्गा उपलब्ध गरायो । अमेरिकी सरकारले अत्याधुनिक स्टुडियो निर्माण तथा प्रशारण केन्द्रको स्थापनामा सहयोग गर्यो भने बेलायती सरकारले एकसय किलोवाटको अमेरिकन ह्यारिस कम्पनीको सर्टवेभ र बेलायती मार्कोनी कम्पनीको १० किलोवाटको मिडियम वेभ ट्रान्समिटर तथा अत्याधुनिक स्टुडियो उपकरणहरु उपलब्ध गरायो (अधिकारी, २०५४; शाह, २०५४; सिवाकोटी, २०५६; कार्की, २०८१) । यो परियोजना सम्पन्न भएपछि २०२४ सालदेखि रेडियो नेपालको सर्ट वेभ प्रशारण पहुँच देशैभरि पुग्नुका साथै सर्ट वेभ प्रशारण दुईवटा फ्रिक्वेन्सीबाट सुरु भयो । मिडियम वेभको प्रशारण पहुँचमा पनि उल्लेख्य सुधार भयो । २०२४ सालमै अष्ट्रेलियाको सहयोगमा थप स्कली ओपन रिल टेप रेकर्डर र भिनायल डिस्क रेकर्ड प्राप्त भए । यी व्यावसायिक प्रशारण तथा स्टुडियो उपकरणहरु जडान भएपछि रेडियोको सिर्जनशीलता, ‘सिग्नल’ गुणस्तर र व्यावसायिक जीवन सहज हुनुका साथै उत्पादन लागतमा उल्लेख्य कमी आयो । यस दशकमा रेडियोको लोकप्रियता राष्ट्रव्यापी भयो । गीतसंगीतको क्षेत्रमा राष्ट्रिय उभार आयो, केही वर्षअघिसम्म सार्वजनिक श्रवण केन्द्र खोल्नलाई राष्ट्रिय योजना ल्याउनु पर्ने देशमा अब रेडियो सुन्नु आम मानिसको दैनिकी बन्नपुग्यो ।
तीसको दशकमा रेडियो नेपाल मूलतः प्राविधिक क्षमता सुदृढीकरण गर्ने काममा केन्द्रित भयो । तीसकै दशकमा नेपालमा कार्टिज रेकर्डिङ प्रविधि भित्रियो (कार्की, २०८१) । नेपाल सरकारले पहल गरेपछि २०३२ सालमा जेनेभामा सम्पन्न इन्टरन्याशनल टेलिकम्यूनिकेशन यूनियन (आइटियू) ले आयोजना गरेको क्षेत्रीय न्यून/मध्यम प्रशारण फ्रिक्वेन्सी सम्मेलनबाट नेपाललाई मिडियम वेभका केही फ्रिक्वेन्सीहरू छुट्याइयो (अधिकारी, २०५४) । २०३४/३५ सालमा सरकारले आफ्नै स्रोतमा एक सय किलोवाटको एउटा सर्ट वेभ ट्रान्समिटर थप्यो । सर्टवेभ प्रशारणलाई मौसमले प्रभावित पार्ने हुँदा प्रशारणलाई थप भरपर्दो बनाउन मिडियम वेभको प्रशारण विस्तार गर्नु पर्ने आवश्यकता महसुस गरी रेडियो नेपालले २०३६/३७ सालमा पाँचैवटा विकास क्षेत्रका सदरमुकाममा प्रशारण केन्द्र स्थापना गरी मिडियम वेभ विस्तारको वृहत् योजना तयार पार्यो (अधिकारी, २०५४; सिवाकोटी, २०५६) । यो योजनालई सरकारले अनुमोदन गरी जापान सरकारसमक्ष अनुदानका लागि प्रस्ताव अघि बढायो । जापान सरकारले सरसहयोग गर्ने बचन दिएपछि प्रशारण केन्द्र स्थापनाका लागि बाटो, विजुली, टेलिफोन जस्ता पूर्वाधार तयार भएका स्थानमा विस्तारको कार्य सुरु गर्दै जाने र पूर्वाधार नभएका ठाउँमा पूवार्धार निर्माण गर्ने कार्य थालनी गर्ने गरी सहमती बन्यो । जापान सरकारको सहयोगमा पहिलो चरणमा २०४० सालमा काठमाडौंको सिंहदरवार तथा भैंसेपाटीमा र पश्चिमाञ्चल विकास क्षेत्रको पोखरामा प्रशारण केन्द्र स्थापनाको कार्य सुरुभयो ।
यस योजना अन्तर्गत काठमाडौं भैसेपाटीमा एक सय किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटर सुविधासहितको स्टेसन निर्माण भयो भने सिहंदरवार स्थित रेडियो नेपालको केन्द्रीय कार्यालय परिसरमा अत्याधुनिक स्टुडियो भवनको निर्माण सम्पन्न भयो । यसैसाल पोखराको मालेपाटनमा एक सय किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटर तथा एउटा सानो स्टुडियो सुविधासहितको स्टेसन स्थापना गरियो । यो विस्तार कार्यले मिडियम वेभबाट करिव ५५ प्रतिशत नेपाली जनतालाई प्रशारण सेवा पुर्याउन रेडियो नेपाल सक्षम भयो (अधिकारी, २०५४; सिवाकोटी, २०५६) । कार्यक्रमतर्फ बाल कार्यक्रमदेखि कृषि कार्यक्रम, विकास कार्यक्रमजस्ता सामाजिक जीवनका रहेक क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गर्दै रेडियो नेपालले प्रशारणमा पनि विविधता ल्यायो । विक्रम सम्बत् विस र तीसको दशकमा रेडियो नेपालले नेपाली गीत–संगीतको सिर्जना, विकास र प्रवद्र्धनमा अभूतपूर्व योगदान दियो । यी दुई दशकले नेपालभित्र मात्र नभइ दार्जिलिङ लगायत प्रवासी नेपालीहरूमाझ समेत सांगीतिक उभार ल्यायो, रेडियो नेपालले अनगिन्ती सांगीतिक प्रतिभाहरूलाई नेपालीमाझ लोकप्रिय बनायो ।समकालीन नेपाली गीतसंगीतका हिसाबले यस अवधिलाई अझै पनि स्वर्णीम युग मानिन्छ ।
चालिसको दशकमा रेडियो नेपालको कानुनी र व्यवस्थापकीय स्वरूपमा परिवर्तन भयो । गृह मन्त्रालय अन्तर्गतको प्रचार विभाग, सूचना मन्त्रालय अन्तर्गतको प्रशार विभाग हुँदै २०४१ साल भदौ १ गतेदेखि रेडियो नेपाल विकास समितिमा परिणत भयो । २०४१ सालमै रेडियो नेपाल सुधार तथा सुदृढीकरण योजना तर्जुमा गरियो । तर यस योजनाले रेडियो नेपाललाई दुविधाग्रस्त बनायो । सरकारले रेडियो नेपालको नियन्त्रणलाई कायमै राख्यो तर बाच्नलाई उसले आफैं खर्च जुटाउनु पर्ने भयो । यस योजनाले रेडियो नेपालको आधारभूत अवधारणामा नै आमूल परिवर्तन गरिदियो । २०४१ सालसम्म रेडियो नेपाललाई कार्यक्रम उत्पादन गर्न पैसा चाहिन्थ्यो तर अब पैसा कमाउन कार्यक्रम उत्पादन गर्नुपर्ने बाध्यता आइलाग्यो । पैसा कमाउनु पर्ने बाध्यता भएपछि रेडियो नेपालले प्रशारण सयम विस्तार गर्यो, मूलतः विज्ञापन सेवाका कार्यक्रम थप्यो । २०४६ सालसम्म रेडियो नेपालको दैनिक प्रशारण अवधि साढे १३ घन्टा थियो । यस अवधिसम्म रेडियो नेपालले दैनिक विहान, वेलुकी र राती समाचार वुलेटिनहरू प्रशारण गर्ने गरेपनि आफ्नो रिपोर्टिङ शाखा थिएन । राष्ट्रिय समाचार समितिका वुलेटिनका आधारमा देशभित्रका समाचार तयार पार्ने गर्दथ्यो । अन्तर्राष्ट्रिय समाचारका लागि रेडियो नेपालको समाचार शाखाका समाचारकर्मीहरूले बिबिसी, भ्वाइस अझ अमेरिका, अल इन्डिया रेडियो आदि विदेशी रेडियो प्रशारण मनिटर गरेर नेपालीमा तयार गरेका समाचार र राससको अन्तर्राष्ट्रिय समाचार बुलेटिनबाट आउने एपी, एएफपी, सिन्ह्वा र पिटिआईका समाचार रेडियो नेपालले आफ्नो समाचारमा दिन्थ्यो ।
मिडियम वेभ प्रशारण क्षमता विस्तार गर्न जापान सरकारको सहयोगमा दोस्रो चरणको कार्यलाई अघि बढाइयो । यस योजना अन्तर्गत २०४६ साल भदौदेखि कार्य सुरु भयो । पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम धनकुटामा प्रशारण केन्द्र स्थापना गर्न चाहिने पर्याप्त समथर जग्गा नभएपछि धनकुटामा स्टुडियो निर्माण गरियो र प्रशारण केन्द्र सुनसरीको धरानमा एक सय किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटरसहित स्टेसन स्थापना गरियो (कार्की, २०८१) । धरान प्रशारण केन्द्रबाट २०४६ साल चैत २० गतेदेखि प्रशारण सेवा सुरु भयो । काठमाडौंको मिडियम वेभको प्रशारण नपुग्ने मध्यमाञ्चलका विभिन्न क्षेत्रहरुका लागि २०४५ सालमा महोत्तरीको वर्दीवासमा १० किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटरसहित मिडियम वेभ स्टेसन स्थापना गरियो । यस केन्द्रबाट २०४६ सालदेखि प्रशारण सेवा सुरु गर्यो । २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भइ पुनः प्रजातन्त्र स्थापित भयो । रेडियो नेपालले फेरि राजनीतिक परिवर्तनलाई भोग्नु पर्यो । अब नयाँ व्यवस्था अनुसार रेडियो नेपाल अघि बढ्नु पर्नेभयो । राजनीतिक उथलपुथलकै वीचमा पनि रेडियो नेपालले विस्तार योजनालाई जारी राख्यो र २०४६ सालमा निर्माण सुरु भएको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका लागि डोटीको दिपायलमा १० किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटरसहित स्टेसन स्थापना २०४७ सालको चैतमा सम्पन्न भयो । मध्यपश्चिमाञ्चल विकास क्षेत्रका लागि सुर्खेतमा एक सय किलोवाटको मुख्य ट्रान्समिटर र १० किलोवाटको स्टेण्डवाई ट्रान्समिटरसहित क्षेत्रीय स्टेसन स्थापना कार्य सम्पन्न गरी २०४९ वैशाख २० गतेदेखि औपचारिक सेवा सुरु गर्यो (सिवाकोटी, २०५६) । यी प्रयासबाट मिडियम वेभको प्रशारण ९० प्रतिशत जनतामा पुर्याउने योजना भौगोलिक बनावटका कारण हासिल हुन नसकेपनि लगभल ८० प्रतिसत जनताले मिडियम वेभ सेवा उपयोग गर्न पाएको आँकलन रेडियो नेपालले अघि सार्यो ।
रेडियो नेपालले २०४४/४५ तिर फोनइन कार्यक्रम सुरु गर्यो । इन्जिनियर रामशरण कार्कीले बुद्धि लगाएर प्रशारणमा फोनबाट कुराकानी समावेश गराउन आफ्नै हिसाबले प्रविधिको विकास गरे र पाण्डब सुनुवारले कार्यक्रम सञ्चालन गरे । झट्ट हेर्दा एउटा कार्यक्रम जस्तो देखिएपनि स्टुडियोमा बसेर बोल्ने निश्चित मानिसको मात्रै स्वर प्रशारण भइरहेको रेडियो नेपालमा आम नागरिकको प्रशारणमा सहभागिता भयो, यस हिसावले हेर्दा यो घटना अर्को कोशेढुङ्गा सावित भयो ।
२०४७ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि रेडियो नेपालले आफ्ना कार्यक्रममा सापेक्ष रूपमा परिवर्तन गर्यो । लामो समयदेखि स्थगित गरिएको नेवारी भाषाको समाचार २०४७ साल असार १५ गतेदेखि पुनः सुरु गर्यो । यसको करिव अढाई वर्षपछि २०४९ पुष १७ गतेदेखि मैथिली भाषामा समाचार सुरु गर्यो । रेडियो नेपालबाट राष्ट्रिय भाषाहरूमा समाचार प्रशारण गर्ने बारे सुझाउ समितिले २०५१ बैशाख २५ गते प्रतिवेदन बुझायो । प्रतिवेदनले दिएको सुझाब अनुसार भाषिक विविधतालाई बढाएर रेडियो नेपालबाट २०५१ साल भाद्र १ गतेदेखि थप आठ वटा मागर, तामाङ्, गुरुङ, भोजपुरी, अवधि, थारु, राईवान्तवा र लिम्बू भाषामा समाचार प्रशारण सुरु भए (अधिकारी, २०५४) ।
वि.सं. २०५० को दशकको सुरुमै रेडियो नेपालले अर्को फड्को मार्यो । सबै प्रशारण केन्द्रबाट केन्द्रीय प्रशारण रिले भइरहेको अवस्थालाई परिवर्तन गरी २०५० साल चैत २० गतेदेखि पाँच विकास क्षेत्रस्थित मिडियम वेभ प्रशारण केन्द्रहरूबाट शनिबार बाहेक विहान ११ बजेदेखि १२ बजेसम्म दैनिक एक घन्टा क्षेत्रीय प्रशारण पनि सुरु गर्यो । यस समयमा आइपुग्दा रेडियो नेपालले विदाका दिन १७ घन्टा र अन्य दिनमा १५ घन्टा दैनिक प्रशारण अवधि पुर्याइसकेको थियो । रेडियो नेपालले रेडियो प्रविधिमा त्यसबेला उपलब्ध पछिल्लो आविष्कार एफएम रेडियो प्रशारण स्थापना गर्ने सम्भाव्यताको अध्ययन प्रतिवेदन २०५० साल फागुनमा तयार पार्यो । रेडियो नेपालले एफएम प्रशारण गर्ने सम्बन्धमा सुझाव समिति गठन गर्यो र यसले २०५२ साल असारमा प्रतिवेदन बुझायो । यसैसाल रेडियो नेपालले अर्को प्रशारण प्रविधि फ्रिक्वेन्सी मोडुलेसन (एफएम) लाई पनि ग्रहण गर्यो । २०५२ साल कार्तिक ३० गते विहिवारदेखि एक किलोवाटको ट्रान्समिटर राखेर काठमाडौं उपत्यका र आसपासका क्षेत्रलाई लक्षित गरी विना इजाजत एफएम व्याण्डको १०० मेगाहर्जबाट एफएम काठमाडौंको प्रशारण सुरु गर्यो । प्रशारण सुरु भएको करिव तीन महिनापछि २०५२ साल माघ २८ गते मात्र एफएम काठमाडौंले इजाजत प्राप्त गर्यो (अधिकारी, २०५४; सञ्चार मन्त्रालय, २०६५) । “सिङ्गल साइड व्याण्ड” टेलिग्राम शर्ट वेभको एमेचुअर प्रशारण प्रविधिबाट २००७ सालमा सुरु भएको रेडियो नेपाल लगभग आधा शताब्दीको जीवनकालमा एम्प्लिच्यूड मोडुलेसनको “डब्बल साइड व्याण्ड” प्रोफसनल शर्ट वेभ प्रशारण प्रविधि, मिडियम वेभ प्रशारण प्रविधि हुँदै फ्रिक्वेन्सी मोडुलेसनको एफएम प्रशारण प्रविधिको प्रयोग गर्न समर्थ बन्यो । यो अवधि रेडियो नेपालका लागि वास्तवमै स्वर्णीम काल थियो ।
यस प्रशारण आधिपत्य कालले रेडियो नेपालको इतिहासमा उल्लेखनीय र महत्वपूर्ण मोडहरू ल्याएको थियो । रेडियो नेपालको प्राविधिक क्षमता, प्रशारण अवधि, प्रशारण पहुँच र प्रसारण गुणस्तरमा उल्लेखनीय सुधार भयो । तर सम्बत् २०५० को दशक रेडियो नेपालका लागि अलि अप्रिय संदेश पनि लिएर आयो । रेडियो नेपालको २०१३ सालदेखि निर्वाध रूपमा कायम प्रशारण एकाधिकार २०५४ सालमा समाप्त भइछाड्यो । अर्थात् नेपालमा प्रशारण आधिपत्य कालको अन्त्य भयो ।
प्रशारण आधिपत्य कालमा रेडियो नेपाल सबै नेपालीका लागि प्राथमिक सञ्चार माध्यम बन्यो, देशैभर सन्देश तत्काल पुर्याउँथ्यो र यो निशुल्क थियो । रेडियो नेपालले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा प्राविधिक प्रभाव र उपलब्धिका दृष्टिकोणबाट हेर्दा अभूतपूर्व प्रगति हासिल गर्यो । रेडियो नेपाल लामो समय लगातार एकछत्र रूपमा नेपाली राजनीतिक, सामाजिक र साँस्कृतिक जीवनको केन्द्रमा रह्यो । तर रेडियो नेपालका आफ्नै सीमितता थिए । सबै शासन कालमा रेडियो नेपाल सरकार नियन्त्रित सञ्चार माध्यम रहिरह्यो । परम्परागत शक्ति संभ्रान्तहरुका गतिविधि बाहेक रेडियोबाट आम जनताका अपेक्षा र गतिविधि सम्बन्धी सामग्री प्रशारण हुने सम्भावना खासै थिएन । सबै कालका शासकहरू विपक्षी आवाज सुन्न चाहदैन थिए । बहुल अभिव्यक्ति विल्कुलै समावेश हुन सकेन । प्रशारणका क्षेत्रमा अत्यधिक प्रगति हुँदाहुँदै पनि अभिव्यक्ति स्वतन्त्रतालाई नेपाली जनताको वास्तविक जीवनको हिस्सा बनाउन हिड्नु पर्ने बाटो लगभग सुरु नै भएन । जसले बहुलवादी प्रसारण प्रणालीको आवश्यकतालाई थप बल पुर्यायो ।