अतुलनीय स्रष्टा गोपाल योञ्जन

अकल्पनीय संयोगले बेस्सरी गिजोलेको एउटा विषम अनुभूतिबाट कुरा सुरु गर्दैछु । गर्वको चरम आनन्द र शोकको तीव्र व्याकुलताले एकै पटक मलाई गड्याप्प अँगालो मारेका थिए । प्रसङ्ग २०५४ जेठ ९ गते विहिवारको हो । दक्षिण एसियामै सरकारभन्दा बाहिरको ऐतिहासिक रेडियो प्रशारण रेडियो सगरमाथाको औपचरिक अनुष्ठानको शुभारम्भ हामीले कालधारा, काठमाडौंबाट गरेका थियौं । आफ्नै नेतृत्वमा हासिल यो सफलताले म (रघु मैनाली) लगायत घमराज लुइँटेल, उपेन्द्र अर्याल, जितेन्द्र राउत, मधु आचार्यमा गर्व, उमङ्ग र उत्साह मडारिएको थियो । मेरो शरीर चङ्गा थियो, शायद खुट्टा भुईमा थिएनन, मन गदगद भयो, छाती गर्वले फूलेको थियो, दिमागमा रोमाञ्चक सपनाहरु एकपछि अर्को गर्दै खेलिरहेका थिए, नव निर्माणको आकाक्षांले आनन्द भक्कानिएको थियो । बरिष्ठ संगीतकार, गीतकार र गायक गोपाल योञ्जनले यस ऐतिहासिक प्रशारणको “स्टेसन परिचय धुन” रचना गरिदिनु भएको थियो । योजना अनुसार विहान नौं बजेतिर हामीले त्यही परिचय धुनबाट रेडियोको ऐतिहासिक प्रशारण सुरु गर्‍यौं । तर विस मिनेट जति बजाएर हामीले त्यो ऐतिहासिक प्रशारण त्यस दिनलाई बन्द गर्‍यौं ।

ती स्वर्गीय आनन्दका अनुभूतिहरुलाई त्यही छोडेर म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीफर्त लम्किएँ । गोपाल दाइलाई भेट्ने भनेपछि सदा चुलबुल हुने शरीर अशुभ यथार्थले धर्मरायो, मन उदास भयो, छाती भारी र हृदय चिसो बन्यो, अनुहारको रङ एकाएक फुङ्ग उड्यो । म यस्तै मनोदशा लिएर शताब्दीकै एक महान सर्जक गोपाल दाइको पार्थिव शरीर अगाडि पुगें । नेपाल र नेपालीलाई शिर ठाडो पार्न सधैं खबरदारी र प्रेरणाको शङ्खघोष गर्ने गोपाल दाइका सामुन्ने मेरो शिर श्रद्धाले झुक्यो । जबरजस्ती लुकाउन खोजेका आँशु पत्तै नपाई मेरा आँखाबाट बरर्र झरे । शायद ती आँशु उहाँको आत्मको शान्तिका लागि मेरो हृदयका अटुट प्रार्थना थिए । दोहोर्‍याएर कामना गरें– गोपाल दाइ, तपाईको यो अपरिचत गन्तव्यको अनन्त यात्रा सहज रहोस्, जहाँ भएपनि तपाईलाई उत्तम स्थान हासिल होस् । अनि सम्मानमा शिर झुकाएर मौन आग्रह गरें– तपाई अब हामी नेपालीका आत्मा–आत्मामा मिल्न आउँनुहोस् । छेवैमा भाउजु रिञ्छेन हुनुहुन्थ्यो, उहाँतर्फ फुलुक्क हेरें । आँटले आत्मसमर्पण गरिसकेको थियो, दिमाग एकाएक रित्तो भयो केही बोल्न सकिन ।

मलाई फुरुङ्ग परेर सुनाउन मन थियो– गोपाल दाइ, तपाईले बनाइदिनु भएको “स्टेशन परिचय धुन”बाट आज हामीले रेडियो सरगमाथाको प्रशारण सुरु गर्‍यौं, दक्षिण एसियामै नयाँ इतिहासको रचना गर्‍यौं र यसमा तपाईको अमूल्य योगदान रह्यो । तर मेरो त्यो इच्छा स्वयं विस्मित बन्यो, अक्क न बक्क भयो । हामी केहीबेर पछि गोपाल दाइको पार्थिव स्वरुप लिएर स्वयंभूतर्फ लाग्यौं । उहाँले जीवनको पूर्णता प्राप्त गर्नुभयो । यो असाधारण विदाइको भावुक क्षणमा हामीले विधिपूर्वक महाप्रस्थानको हात हल्लायौं । गोपाल दाइले हामीलाई अनमोल सिर्जनाहरू दिनुभयो । तर खै किन हो जान अलि हतारिनु भयो । चउन्न वर्षकै उमेरमा एकलौटी जीवन विजय लिएर अचानक चिरप्रस्थात गर्नुभयो ।

गोपाल दाइलाई अलविदा गरेको झण्डै अढाइ दशक पछि अस्ति रिञ्छेन भाउजुले फोन गर्नुभयो– गोपाल योञ्जनको जीवन स्मृति ग्रन्थ प्रकाशन गर्न लागेका छौं, केही लेख्नु है । दिमागमा अनायाशै झट्का लाग्यो । स्मृतिका पानाहरु फरफर पल्टिन थाले । यादहरु ताजा भए । सबभन्दा पहिला हँसिलो मुहार तर रिसाएका बेला डरलाग्दो गरी आँखा बटारेर हेर्ने गोपाल दाइ सम्झें । सधैं सिर्जना र साधनामा व्यस्त रहने अनुशासित दिनचर्या, सटिक तर कम बोल्ने शालिन व्यक्तित्व, गम्भीर तर विनोदी र हार्दिक स्वभाव, साकाहारी आहारविहार, सकारात्मक र आशावादी मनोवृत्ति आदिइत्यादि छापहरु गोपाल दाइबारे मेरो स्मृतिमा कुँदिएका रहेछन् ।

सहकार्यका क्षणहरुको मिठो सम्झना आयो । सम्बत् २०५३ सालको चैततिर मैले रेडियो सगरमाथाको “स्टेशन परिचय धुन” बनाइदिन गोपाल दाइलाई प्रस्ताव गरेँ । उहाँले स्टेशनको लक्ष्य सोध्नुभयो । यसबारे गोपाल दाइसंग लामो छलफल भयो । हाम्रो निचोड थियो– “यो रेडियो राजधानी काठमाडौंमा छ, सिङ्गो देशको सङ्क्षिप्त स्वरुप हो काठमाडौं । मधेश, पहाड र तराई यहाँ छ, सबै जातजाति र भाषाभाषी, थरिथरिका संस्कृति र चालचलनहरु छन् ।” गोपाल दाइले सबै भूगोल र जातीका प्रतिनिधि संगीतहरुको संमिश्रण गरेर सिंगो नेपाल झल्काउने परिचय धुन (सिक्नेचर टिउन) रचना गरिदिनु भयो । मैले ल्याएर साथीहरुलाई सुनाएँ, हामी दङ्ग पर्‍यौं ।

रेडियो सगरमाथालाई अर्को एउटा रेडियो स्टेशन मात्र बनाउनु थिएन । अर्थपूर्ण र नयाँ गन्तव्यको साधक बनाउनु थियो । प्रशारणमा गीत संगीतलाई कसरी ग्रहण वा स्वीकार गर्ने भन्ने बारेमा गोपाल दाइबाट धेरै मार्गनिर्देशन म लिन्थे । गोपाल दाइले आफ्नो गीत संगीतको लाइव्रेरी रेडियो सगरमाथाका लागि खुला गरिदिनु भयो । मैले “डमी रेकर्ड” भएका र पूर्ण रेकर्ड भएका धेरै गीतहरु क्रोम टेपमा सारेर ल्याएँ । “मायालु हजार हुन्छन् तर मायाँ एक हुन्छ” बोलको गीत गोपाल योञ्जनको शब्द तथा संगीत र ध्रुव केसीको स्वरमा दशकौंदेखि लोकप्रिय थियो । गोपाल दाइले आफ्नै स्वरमा पनि यो गीत रेकर्ड गर्नु भएको रहेछ । मलाई त्यो रेकर्ड दिनुभयो र रेडियो सगरमाथा सुरुभएपछि हामीले गोपाल योञ्जनको स्वरको त्यो गीत बारम्बार बजायौं । गोपाल दाइको संगीत आर्काइभ उहाँको जीवन पर्यान्त हाम्रा लागि खुला रह्यो । अविछिन्न रुपमा रिञ्छेन भाउजुले महत्वपूर्ण सहयोग गरेर रेडियो सगरमाथालाई अपूरणीय गुन लगाउनु भयो ।

कल्पना, करुणा, सिर्जना, शालिनता, निष्ठा, धैर्य र जवाफदेही जस्ता उत्कृष्ट सर्जकमा हुनुपर्ने सम्पूर्ण गुण र मर्यादा गोपाल दाइमा थिए । उहाँसंग मेरो सङ्गत लामो थिएन, तर प्रगाढ बन्यो । न्यानो हार्दिकताले गर्दा होला म बेलाबेला काठमाडौं धापासीस्थित गोपाल दाइको घरमा जाने गर्दथें, उहाँले पनि मलाई बोलाउनु हुन्थ्यो । जाँदा आत्मीय स्वागत हुन्थ्यो । घरको ‘आन्तरिक सजावट’ सम्बन्धी नेपालमा भेटिने गिनेचुनेका विज्ञ मध्येमा पर्ने भाउजु रिञ्छेन सधैं काममा व्यस्त हुनुहुन्थो । घरभित्र छिर्दा नछिर्दै भाउजुको पहिलो सम्बोधन बाक्य सत्कारको हुन्थ्यो– के खाउँ ।

आफ्नै घरको दोस्रो तलामा त्यसबेलाको प्रविधि स्पुल रेकर्डर सहितको व्यवस्थित संगीत स्टुडियो थियो– गोपालय। भेट भएपछि गोपाल दाइसंग सन्दर्भ अनुसारका गफगाफ हुन्थ्ये, कुनै रचना सुनाउनु हुन्थ्यो । धेरै पछि मलाई बोध भयो त्यो उहाँको महानता रहेछ । म संगीतसंग टाढाको समेत साइनो नजोडिएको, पत्रकारितामा भरखरभरखर उत्रदै गरेको युवा । जोश चाहिँ भरपूर थियो । संगीतको गहनता, मर्म र अर्थका बारेमा म अबोध थिएँ । त्यसैले होला मलाई गोपाल दाइका रचनामा तर्क गर्ने आँट निसङ्कोच आउँथ्यो । मेरा ती निश्छल जिज्ञासा शायद उहाँलाई रमाइलै पनि लाग्थ्यो । एक दिन गोपाल दाइले हार्मुनियम र तवला बजाएर गाएको “सब जाग जाग भन्छन् ममात्र कसरी जागौं, क्षयरोगी आमासंग के दूधको हक म मागौं” यस्तै बोलको एउटा गीतको कोरा रेकर्ड बजाएर सुनाउनु भयो । उहाँकै अनुसार गीतको पृष्ठभूमि २०४६ सालको जनआन्दोलनताका कफ्र्यू जारी भएर केही दिन घरमै कोचिनु पर्दाको नैराश्य रहेछ । गीतको पुच्छारतिर एउटा हरफ आयो “स्वाभिमानको मलामी बन्दै म कति पछि लागौं ?” गीत सुनिसकेपछि अबोध आत्मविश्वासका साथ तर्क सुरु गरें । मैले जानेबुझेको दर्शन छाँटेर संगीतको परिभाषा लगाएँ र भने– मान्छेको मुद्रा र संवेग क्षणभरमै परिवर्तन गर्न सक्ने तागत संगीतमा हुन्छ । यो चार–पाँच मिनेटको गीतमा दुई वटा संवेग पाएँ । अझ हौसिदै व्याख्या थपेँ– “यो गीतमा सुरुदेखिनै विरही भाव छ तर अन्त्यतिर पुग्ने बेलामा फेरि सक्कली गोपाल योञ्जन जुरुक्क उठ्यो र वीर रसमा भन्यो– स्वाभिमानको मलामी बन्दै म कति पछि लागौं । त्यसैले यो गीतले मेरो दिमागमा घर्षण पैदा भयो, ततायो, आनन्द आएन ।” गोपाल दाइले फेरि सुनौं भन्नुभयो । दोस्रो पटक सुनिसकेपछि मुसुक्क हाँसेर भन्नुभयो– अर्कोहप्ता भेटौं ।

योजना बमोजिम अर्कोहप्ता भेट भयो । गोपाल दाइले निचोड सुनाउनुभयो– “यो गीतलाई मैले बदल्न खोजेँ तर सकिन । अब यसलाई पूर्ण रेकर्डमा नलैजाने निधो गरेँ ।” लगभग सबै भाव र रसमा गीत लेख्न अनि संगीत भर्न सक्ने अद्भूत युग स्रष्टा गोपाल दाइमा शायद नैराश्य भावको योग्यता थिएन, त्यसैले परिमार्जन गर्न सक्नु भएन । हुनपनि गोपाल दाइ सधैं आशाको बहार ल्याउने स्रष्टा हुनुहुन्थ्यो, निराशाको होइन ।

सम्बत् २०५२ साल भदौमा बाउन्न वर्ष पुरा भएर त्रिपन्न वर्ष लागेकै दिन गोपाल दाइले “निसानी ५२” गीती एलबम आफ्नै निवास धापासीमा मित्र मण्डलीको समूहबीच विमोचन गर्नुभयो । त्यस कार्यक्रममा संगीत क्षेत्रका व्यक्तित्वहरुमा जनगायक रामेशदाइ, नगेन्द्रराज थापा, सन्तोष शर्माहरू हुनुहुन्थ्यो बाँकी पत्रकारहरू थिए । पत्रकार सुमन वस्नेत र म पनि आमन्त्रित थियौं । म त्यसबेला रेडियो नेपालको अति लोकप्रिय कार्यक्रम “घटना र विचार” मा कार्यरत थिएँ । कुन्दन अर्याल कार्यक्रमको संयोजक हुनुहुन्थ्यो । मैले कुन्दनजीलाई बताएर गएको थिएँ । नितान्त राजनीतिक घटना विश्लेषणको कार्यक्रम भएपनि हामीले सल्लाह गर्‍यौं, उहाँका गीतमा राष्ट्रिय अखण्डता, स्वाभिमान, जीवन, राजनीतिक चेतना र जागरण थिए । गोपाल दाइको गीती एल्बम “निसानी ५२” को समीक्षा रेडियो कार्यक्रम “घटना र विचार” मा दिल खोलेर समावेश गर्‍यौं । विमोचनकै सिलसिलामा गोपाल दाइले नेपाली संगीतप्रेमीका लागि उत्साह थप्ने केही महत्वपूर्ण भावि योजना पनि सुनाउनु भएको थियो ।

बेलाबेला भेटघाट भइरहन्थ्यो । कुरैकुरामा एकदिन गोपाल दाइले एउटा प्रसङ्ग सुनाउनु भयो । रेडियो सगरमाथा सञ्चालन भएपछि चाहिँ त्यसो नगर्न सावधान पनि गराउनु भयो । प्रसङ्ग रेडियो नेपालसंग जोडिएको थियो । रेडियो नेपालले “च्याङ्बा होइ च्याङ्बा” गीतलाई गोपाल योञ्जनको शब्द, संगीत र गोपाल योञ्जन अनि ज्ञानु राणाको स्वरमा रहेको लोक गीत भनी बारम्बार प्रशारण गर्ने गरेछ । उहाँले थुप्रै पटक लोक गीतको महानता छुट्टै छ, त्यो गीत लोक लयमा आधारित भएर मैले तयार पारेको हो । लोक गीतको गरीमा यसरी नघटाइ दिनुहोला भनी रेडियो नेपालको व्यवस्थापनलाई आग्रह गर्नु भएछ । पटक पटकको मौखिक आग्रहलाई वेवास्ता गरेपछि तीन पटक लिखित पत्र दिनु भएछ । त्यति गर्दा पनि सुधार नगरेपछि गोपाल दाइमा रेडियो नेपालप्रति नै निराशा छाएको रहेछ । गोपाल दाइले भन्नुभयो– गीत संगीतका आयामलाई पर्गेल्न नसक्ने प्रशारक भएसम्म समाजले गीतसंगतको आस्वादन सही ढङ्गले लिन पाउँदैन ।

गोपाल योञ्जनको गायकी अद्भूत थियो । मन्द्र सप्तकदेखि तार सप्तकसम्मका लगभग सबै स्वर निकाल्न सक्ने अद्वितीय गायक मध्येमा गोपाल दाइ हुनुहुन्थ्यो । गोपाल दाइले वंैशालु छेडखानी र उत्ताउला हर्कतहरुको वर्णन भएका मायापिरतीको नेपाली सांगीतिक चेतनालाई पर्लक्क पल्टाएर स्वाभीमानका लागि तड्पिएका र बहकिएका अनगिन्ति नेपाली मनहरु जगाउन राष्ट्रपिरतीका गीत धन्काउनु भयो । बजेड सर्जक गोपाल योञ्जनले मातृभूमि, स्वाभिमान, बहादुरी र गर्वका गीत संगीत लेख्नुभयो, इतिहास र भूगोलका गीतसंगीत लेख्नुभयो, प्रकृति, जीवन र संस्कारका गीतसंगीत लेख्नुभयो । उहाँका सिर्जनामा डाहा र ग्लानी छैन, आलस्य र दिक्दारी छैन, कुन्ठा, विरक्ती र आक्रोस छैन, बान्की मिलेका भावना छन्, चोखो पिरती छ, सगबगाउँदो स्वाभिमान छ, माटोको सुवास छ, निश्छल हृदय छ, युगिन चेतना र प्रेरणा छचल्किएका छन्, लालित्य र शृङ्गारले भरिपूर्ण छन्, जीवन दर्शन छन् ।

सजीव शब्द, जादुमयी धुन र सम्मोहक गायकीको दिव्य सामञ्जस्यले गीत संगीतमा अन्त्यहिन शौन्दर्य भर्ने अभूतपूर्व प्रतिभा गोपाल दाइ जिन्दगीका पवित्र इच्छाहरू साटासाट गर्दै नयाँ नयाँ सिर्जनासंगको प्रेमालापमा आजीवन मस्त रहनुभयो । नेपाली पन र मनभित्र डुबुल्की मार्नुभयो, नेपाली गर्व, गुदी र अनुभूतिमा विम्ब र उपमा खोज्नुभयो, अलङ्कर हाल्नुभयो र शृङ्गार भर्नुभयो । सबै समय, स्थान र सामाजिक सीमा पार गर्ने अनि जहाँ र जहिले सुने पनि दिल र दिमागलाई गदगद पार्ने अतुलनीय सिजर्नाहरू दिनुभयो । आफ्ना सिर्जनालाई मिहिन रूपमा असली कौशलले खिपेर हामीलाई मानवीय मर्म, जोश र भावनाका अवर्णनीय सुन्दरता र अलौकिक आनन्दको अनुभूति लिने अवसर प्रदान गर्नुभयो । सपना देख्न चाहनेहरुका मनमा मानव कल्पना शक्तीको असीमित ढोका खोल्नुभयो । र, आफू नेपाली संगीत जगत्मा अद्वितीय, अनुकरणीय तथा अनुपम यात्राको शिखरमा ठिङ्ग उभिन पुग्नुभयो ।

गोपाल दाइसंग सिर्जनाका अनगिन्ती सम्भावना र योजना थिए । रेडियो सगरमाथासंग सहकार्यका केही वचनहरू पनि थिए । गोपाल दाइको अनपेक्षित प्रस्थानले हामी यी सबै कुराबाट अचानक बञ्चित भयौं । गोपाल दाइ ! तपाईले अधुरा छोडेका सिर्जनाहरू समेटेर त्यो असामान्य अवस्थामा पनि असाधारण क्षमता विकास गरी रिञ्छेन भाउजुले चार महिना भित्रै “निसानी ५३” हामीलाई दिनुभयो । तर मसंग तपाईलाई सोध्न अझैपनि एउटा अवोध प्रश्न बाँकी छ– आखिर तपाई हामीलाई छोडेर किन त्यसरी वेठेगान फुत्त जानुभयो ?

साभार : गोपाल योञ्जन (स्मृति ग्रन्थ).पृष्ठ ४७०–४७५ ।

Facebook Comments
Mainali
Comments (0)
Add Comment