गीत–सङ्गीत मानवीय हृदयको भाषा हो । समाजको संस्कृति र सभ्यताको प्रतिकृति हो । कुन समाज कति उन्नत छ भनेर मापन गर्ने एउटा बिधा गीत–सङ्गीत पनि हो । सिँधै बोलेर अभिव्यक्त गर्न नसकिने मनका भावना गीत–सङ्गीतबाट व्यक्त गर्ने गरिन्छ । गीत–सङ्गीत हृदयको गहिराइबाट प्रस्फुटित हुन्छन् । त्यस्ता भावना जसले लाखौँ मान्छेका अनुभूतिलाई साझा गर्छन् । तब त यस्ता कृतिमा उस्तै भावना भएका व्यक्तिले सुन्दा वा पढ्दा आफ्नै जीवनका भोगाइ पोखिएका, पोतिएका पाउँछन् । कहीँ निदरीका सपनी जोडिएर, कहीँ घामका किरण पोखिएर, कहीँ झरी परेर, कहीँ तरेली परेर र कहीँ झर्ना झरेर, कहीँ घाम-बादल खेलेर गीत–सङ्गीतले स्वरूप लिने गर्छन् ।
जनजीवनको अवलोकन, अनुभूति र अनुभवका जगमा सिप, कला र कौशलको कसी लगाएर लेखकले शब्दमार्फत साहित्य सिर्जना गरिरहेका हुन्छन् । त्यस्ता साहित्यका टुक्राबाट स्वयं गेयात्मक र ध्वन्यात्मक तत्त्व प्रकट भइरहेका हुन्छन् । सड्गीतकारले तिनै तत्त्वलाई समातेर विभिन्न थाट र सरगममा ढालेर उजिल्याउँदै प्राण प्रतिष्ठान गर्ने गर्छन् । यसपछि जनजीवनमा ती शब्द सुर, धुन र लयमार्फत गायकीका माध्यमबाट गहिरो गरी जिब्रो हुँदै कण्ठ र हृदयमा बस्ने गर्छन् । तब ती कवि र सङ्गीतकारका कृत्य र हर्कतहरू कृतिका रूपमा समाजमा स्थापित हुन्छन् । अनि तिनले समाज, समय, संस्कृति, देश र सभ्यताको प्रतिनिधित्व गर्ने गर्दछन् ।
यस्ता कृतिका लागि साधकहरूले दर्शनका साथै शब्द, भावना, अलङ्कार, लय, गति, यति, छन्द, ताल र सुरको वर्षौँ साधना गर्ने गर्छन् । चिन्तन, लेखन र साजको साधनाले प्रकृति र मानव हृदयसँग जोडिएका गहिरा, मधुरा र चहकिला गीत–सङ्गीतलाई जन्म दिन्छन् । ती त्यस्ता कृति बन्न पुग्छन्, जसले त्यो समय, देश र समाजको प्रतिनिधित्व गर्छन् ।
तर अहिले अधिकांश गीत–सङ्गीतले माथि चर्चा गरिएका गीत–सङगीतका मापन र मानकलाई छोडिदिएका छन् । अहिले फुर्का हालेपछि गीत हिट हुन्छ भन्ने व्यापारिक भावनाबाट प्रेरित भएर समाज, संस्कृति र कलाको मर्म नबुझेका व्यक्तिहरूले नचाहिने हर्कत गर्न थालेका छन् । यिनका यस्ता हर्कतले केबल ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको नाश’ भन्ने लोकोक्ति चरितार्थ गरेका छन् । गीत–सङ्गीत सिर्जनाका स्रोत हुन्छन् । जस्तै: लोक लय, लोक आचार, समकालीन समाजका प्रचलन, शास्त्रीय आधार वा विरासत अनि विश्वजनिन प्रवृत्ति र प्रचलन । कुनै केही छेउ–टुप्पो नसमाइकनै राँगाले भैँसीलाई गर्ने माया खोज्ने र पल्लाघरे साइला, माइलाले मलाई ढाल्यो भनेजस्ता गीतहरूलाई विकृतिको उत्कर्षका रूपमा लिन सकिन्छ ।
यी यस्ता गीत-सङ्गीतका सर्जकलाई युट्युवमा भ्यू बढाउने तर्किबका रूपमा थरीथरीका यस्ता विकृत फुर्का त आउँछन् तर बिडम्बना, तिनलाई आफू बसेको समाज, त्यसको सुसम्पन्न सांस्कृतिक र भाषिक विरासत नै थाहा छैन । गीत–सङ्गीतका सर्जकलाई संस्कृतिका साथै भाषाको विशिष्ट तहसम्ममको प्रयोगको ज्ञान हुन आवश्यक हुन्छ । तर तिनलाई भाषाको आधारभूत तहको समेत ज्ञान हुँदैन । सांस्कृतिक पक्षका साथै कस्ता शब्द वा शब्द समूहको प्रयोगले कस्तो अर्थ दिन्छ र त्यो समाजमा स्वीकार्य हुन्छ वा हुन्न भन्ने हेक्का नै हुँदैन । न शब्दको अभिधा अर्थ थाहा छ, न लक्षणा न त व्यञ्जना अर्थ नै । कहाँ बान्की र कहाँ कस्तो अलङ्कार पर्छ भन्ने कुराको ज्ञान त अपवादलाई छोडेर निकै परको कुरा हो ।
उत्तर सत्य (Post truth) कालको प्रतिनिधित्व गर्ने यस्ता पत्रु पात्र वास्तवमा समाजका समकालीन कलङ्क हुन् । तर तिनलाई आफू पत्रु भएको अनुभूति भएकै छैन । यिनलाई त पश्चताप हुनुको सट्टा निकै ठूलो सिर्जना गरेको भ्रम पर्ने गरेको छ । अनि सकभर अश्लीलतालाई बढावा दिने द्विअर्थी पत्रु उत्पादनबाट कमाउन उद्यत बनिहरेका छन् । पूँजीवाद्ले संस्कृतिमाथि आक्रमण मात्रै गर्दैन अझ त्यसलाई पत्रु बनाइदिन्छ भन्ने ओडोर्नो, हर्खेइमर र मर्क्यूसहरूको भनाइ यहाँ पनि चरितार्थ भएकै छ । चलचित्रका गीतबाट छिरेको विकृति यस्ता पत्रुसम्म आइपुगेको छ ।
यसबाट के भइरहेको छ भने सस्ता र पत्रु गीत–सङ्गीतको उत्पादन र वितरण बढ्दो क्रममा छ । यस्ता दुई अर्थ लाग्ने तल्लो स्तरका पत्रु गीत-सङ्गीतले सुन्ने व्यक्तिको दिमाग मा गलत उद्दीपन गर्ने, प्रत्यक्ष र अप्रत्यक्ष रूपले यौन उत्तेजना बढाउने र मानवीय मूल्य र भावना मारेर जड-पशुवत अवचेतना र विकृत व्यवहारमा उतार्दै सांस्कृतिक विसर्जनसम्ममा लैजाने जस्ता प्रभाव पार्ने गर्छन् । यसले देश र समाजमा सांस्कृतिक विचलन बढ्दै जानु त सामान्य कुरा नै भयो । सडेगलेका रछ्यानमा मिल्काउनुपर्ने यस्ता विकृतिहरू कृतिका रूपमा स्थापित हुन खोजिरहेका छन् । यसले समग्र समाजको वास्तविक कला र संस्कृतिलाई ओझेलमा पारेको छ । गीत-सङ्गीतको श्रवण संस्कृति भत्किँदै पर्दा संस्कृति स्थापित हुँदै गइरहेको बेला पर्दामा समेत यस्तै पत्रु विकृतिको विगविगी हुनु भनेको झनै चिन्ताको विषय हो । यस्तो बेलामा सचेत समाजको जिम्मेवारी भनेको यस्ता विकृतिलाई बहिस्कार गरी विकृतिका बाहकलाई रछ्यानमा मिल्काउनुका साथै वास्तविक गीत-सङगीत र तिनका सर्जकलाई प्रोत्साहन दिँदै जगेर्ना गर्नु हो ।
समाजमा मानिसका दुःख-सुखका अनुभूति छन्, थिचोमिचो छन्, मानवीय र सामाजिक, सांस्कृतिक समस्या छन्, माया पिरती र भावनाका उत्कृष्ट अभिव्यक्ति छन् । यस्ता विषयवस्तुलाई स्तरीय शब्दशिल्पमा ढालेर लेख्न साधनाको आवश्यकता छ । यो कुरा बुझाउन सम्बन्धित प्रतिष्ठान र तिनका पदाधिकारी र वास्तविक सर्जकहरू अगाडि आएर हस्तक्षेप गर्न आवश्यक छ । राज्यको नीति पनि यतातिर आकर्षित हुन जरुरी छ । तब मात्रै राँगाले भैँसीलाई र गोरुले गाइलाई गरे जस्तो माया खोज्नेहरू रछ्यानमा थान्को लाग्नेछन् अथवा साधनाको बाटो समातेर आफ्नो स्तर उठाउँदै सही बाटो समात्ने छन् । अस्तुः