नेपाली इतिहासमा विक्रम सम्बत्को सिङ्गो २१ औं शताब्दीकै “कल साइन” परिवर्तन हो भन्नुपर्छ– राजनीतिक परिवर्तन, सांस्कृतिक परिवर्तन, सामाजिक परिवर्तन, आर्थिक परिवर्तन, आकांक्षा तथा सम्भावनाहरुको परिवर्तन र प्रविधिक, अझ सूचना प्रविधिको त तीव्र गतिमा परिवर्तन । यस युगले नेपालका लागि पहिलो “कल साइन” रेडियो लिएर आयो । नेपालमा रेडियो प्रसारणको सुरुवातकालीन इतिहास रहस्य र जादुमयी कथा थियो । क्रमशः यो कथा लचकता र सापेक्षताको कथा बन्यो । राणा शासनकालमा प्रशारणको सुरुवातदेखि २००७ साल, २०१७ साल, २०३७ साल, २०४७ साल, २०६१÷६२ सालका जनआन्दोलन तथा क्रान्तिहरू र त्यसले समाजमा पु¥याएको योगदानसम्म रेडियो माध्यम परिवर्तनको उत्प्रेरक र साक्षी दुवै रहिआएको छ ।
नेपाली रेडियो प्रशारणले थुप्रै राजनीतिक उथलपुथल र दशक लामो सशस्त्रद्वन्द्व समेत पार गरेको छ । इतिहासको अधिकांश समय सूचना र एकताको अपरिहार्य संवाहकका रूपमा भूमिका खेलेको छ । नेपाल राणाशाहीबाट प्रजातन्त्र, प्रजातन्त्रबाट राजतन्त्र, राजतन्त्रबाट फेरि प्रजातन्त्र र प्रजातन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवर्तन हुँदाका संघर्ष, आकांक्षा र सांस्कृतिक विविधतालाई आत्मसात गर्दै राष्ट्रसँगै रेडियो पनि विकसित हुँदै आएको छ ।
रेडियोको यस इतिहास आलेखले नेपालमा रेडियो प्रशारणको सुरुवात कहिले र कसरी भयो, कसरी दूरदराजसम्म सूचना प्रवाह ग¥यो, कसरी नेपाली जनमानसमा जागरण ल्यायो, कसरी सीमान्तकृत आवाजहरूलाई सशक्त बनायो, कसरी स्थानीय भाषा तथा परम्पराहरूलाई संरक्षण ग¥यो र कसरी राष्ट्रिय पहिचान तथा एकतालाई प्रवद्र्धन ग¥यो भन्ने कथालाई अगाँलेको छ । साथै उबेला नेपालीका लागि अगम्य (पहुँचबाहिरको) तथा दुर्बोध प्रविधि, चुनौतीपूर्ण भूगोल र जटिल राष्ट्रिय राजनीतिक वातावरणमा रेडियो इतिहासले सँगालेका चुनौतीहरूको पनि लेखाजोखा गरिएकोछ । यस आलेखमा २००३ सालदेखि २००७ साल चैत अघिको अवधिलाई प्रशारण आरम्भ काल, २००७ साल चैत २० गतेदेखि २०१२ सालसम्मलाई प्रशारण पुनरुत्थान काल, २०१३ सालदेखि २०५४ सालसम्मलाई प्रशारण आधिपत्य काल र २०५४ सालदेखि हालसम्मको अवधिलाई प्रशारण बहुलता कालमा चरणबद्ध गरी नेपालमा रेडियो प्रशारणको इतिहासलाई समेट्ने प्रयास गरिएको छ ।
प्रशारण आरम्भ काल
लामो समयसम्म कथ्य परम्परामा आधारित समाज भएर हुनसक्छ, नेपाली इतिहासको अधिकांश स्रोत किंबदन्ती हुन । सांस्कृतिक रुपमै पनि हामी तथ्य संग्रह नगर्ने जाति हौं । हामी सामान्यतया रेकर्ड नष्ट गर्छौं । व्यक्ति मरेपछि उसका चिना जलाउँछौैं, संस्था सुरु गर्दाका इतिहास र प्रमाण लिलाम गर्छौं, देशका घटनाका लिखतहरु लुकाउँछौं । अनुसन्धानका केन्द्र बन्नु पर्ने नेपालका विश्वविद्यालयहरुले शोधप्रबन्ध (थेसिस) नष्ट गरेको समाचार हाम्रा लागि नौलो होइन । त्यसैले कथ्य परम्पराबाट जेजति विवरण अर्कोपुस्तामा हस्तान्तरण हुन्छ, त्यही नै हाम्रो इतिहास हो । हाम्रो परम्परागत कथा भन्ने शैली पनि समयलाई होइन, स्थानलाई महत्व दिने भएकाले तिथिमितिको खासै आवश्यकता पर्दैन । नेपालमा रेडियो प्रशारणको इतिहास पढ्दा र लेख्न बस्दा पनि केही लेख्य र केही कहावतहरुकै सहारा लिनु पर्ने अवस्था छ ।
यहाँ केही लेख्य र केही कहावतहरुका आधारमा नेपाली रेडियो प्रशारण इतिहासको चर्चा गरौं । केही लेखकहरुले आग्रही भएर होस् वा अनभिज्ञतावस् जेहोस् विद्यमान रेडियो नेपालको प्रशारण सुरुवातलाई नै नेपाली रेडियो प्रशारणको थालनीका रूपमा उल्लेख गर्ने गरेका छन् । तर नेपालमा विभिन्न कालखण्डमा रेडियो प्रशारण सम्बन्धी जेजस्ता प्रयास भए ती सबै नेपाली रेडियो प्रशारणको ऐतिहासिक शृङ्खला भएकाले यस आलेखमा २००३ सालदेखि कै रेडियो प्रशारणको इतिहासलाई समेटिएको छ । विश्वमा १९७७ साल (सन् १९२०) देखि रेडियो प्रशारणको इतिहास सुरु भएपनि रेडियो ट्रान्जिष्टर समेतलाई जादुमयी चमत्कार ठान्ने र रेडियोमा मान्छे बोलेको सुन्दा आश्चर्यचकित हुने नेपाली समाज (राणा, २०५१; विकाल, २०५९; जोशी, २०६२; रेग्मी, २०६२; प्रश्रित, २०६२; पराजुली, २०६२) मा अपरिपक्व रूपमै भएपनि त्यसबेला रेडियो प्रशारण गरिनु आफैंमा अभूतपूर्व प्रयास हुन ।
पुराना व्यक्तिहरूका स्मृति र कुराकानी तथा त्यसमा आधारित भएर गरिएका केही अनुमानका आधारमा लेखिएका २००७ सालभन्दा पहिला नेपालमा रेडियो सुन्ने र प्रशारणका सन्दर्भहरुलाई सरसर्ती केलाउँदा कथाविवरण यस्तो छ– पहिलो विश्वयुद्धको अन्त्यसँगै १९७७ सालतिर भारतस्थित बेलायती सेनामा कार्यरत नेपालीहरुले स्वदेश फर्कदा श्री ३ चन्द्रशमशेरका पालामा रेडियो सेट नेपाल भित्र्याए रे, भीमशमशेरका पालामा राणा परिवारका सदस्यहरुले भारतबाट रेडियो ल्याउन थाले रे, १९९२ सालपछि जुद्धशमशेरका पालामा रेडियोको दर्ता गर्नु पर्ने र रेडियो कर तिर्नु पर्ने व्यवस्था गरियो रे, कर तिर्न अटेर गर्ने केहीलाई पक्राउ गरियो रे, १९९८ तिर दोस्रो विश्वयुद्धमा बेलायतलाई आफ्ना सेना पठाएर सहयोग गर्ने राणाशाही बेलायतले हार्दैछ भन्ने चर्चा हुन थालेपछि दुखी भए रे, रेडियो सेटहरु जफल गरियो रे (शाह, २०५४; सुनुवार, २०५६; वन्त, २०६१), जफत भएका रेडियो सेटको संख्या चार सय जति थियो रे, बेलायती पक्षले दोस्रो विश्वयुद्ध जितेपछि ती रेडियो सेटहरु फिर्ता गरियो रे, २००२ सालमा पद्मशम्शेर श्री ३ बनेपछि सर्वसाधारणले पनि रेडियो राख्न पाउने भए रे, त्यसबखत एक तोला सुनको मूल्य ६२ रुपिया र एउटा रेडियो सेटको मूल्य २५० रुपिया पथ्र्यो रे, आफूसंग रेडियो नहुनेहरु अरुकहाँ गएर सुन्ने गर्थे रे, रेडियो किनबेच गर्न व्यापारीहरुका लागि पनि केही सहज नियम बनाए रे, दोस्रो विश्वयुद्धबाट फर्केका सैनिकहरुले ल्याएका वायरलेसबाट रेडियो प्रशारण सुरु गर्ने जमर्को गर्दै छन् रे । २००२ सालतिर रेडियो सेटहरू आयात गरी व्यापार गर्न काठमाडौं, ठमेलका अजरप्रसाद प्रधान लगायत केही व्यापारीहरू सक्रिय भए रे । रेडियो आयात संगै प्रशारण “कार्यक्रमको तालिका पुस्तिका विक्री र रेडियो मर्मत सम्भारको कार्य पनि फष्टायो रे (वन्त, २०६१) ।
यस्ता चर्चाहरुकै वीचमा २००३ साल माघ १४ गते प्रकाशित गोरखापत्रको प्रथम पृष्ठमा “नेपालमा रेडियो प्रचारको सूचना” छापियो– “अबउप्रान्तलाई प्रतिदिन दिउँसो १ बजेदेखि १ः३० बजेसम्म नेपालबाट प्रचार हुने नेपाली ब्रडकाष्टलाई सज्जनहरुले आफ्नो रेडियोमा ३३ देखि ३५ मिटरसम्ममा सुन्नुहोला” (गोरखापत्र, २००३क) । अरु केही लेखकहरु (देवकोटा, २०३६; रेग्मी, २०४९; रेग्मी, २०५१; सत्याल, २०५६; भट्टराई, २०५७; वन्त, २०६१) ले पनि यस प्रशारण बारे उल्लेख गरेका छन् । काठमाडौं बागबजारस्थित चन्द्र बत्तिप्रकाश बिजुली अड्डाबाट २५ वाटको क्षमताबाट यो प्रशारण सुरु गरिएको थियो । काशी हिन्दु विश्वविद्यालयबाट इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङमा स्नातक काशिराज पाण्डे यही विजुली अड्डाका हाकिम थिए (रेग्मी, २०४९; भट्टराई, २०५७; रेग्मी र खरेल, २०५९) । उनले पद्मशमशेरको आदेशमा दोस्रो विश्वयुद्धमा भाग लिएर फर्किएका नेपाली सेनाले युद्धको बेलामा सञ्चार माध्यमका रुपमा प्रयोग गरेका वायरलेस सेटको सहायताले (रेग्मी, २०५४; भट्टराई, २०५७; वन्त, २०६१; श्रेष्ठ, २०७९) प्रशारण सुरुवात गरेका थिए । प्रशारणको कल साइन “नेपाल ब्रडकाष्टिङ” राखिएको थियो । यस प्रशारणलाई काठमाडौंको टुडिखेलमा दुई÷चार वटा विजुलीका ढ्वाङहरु (लाउड स्पीकर) राखेर पनि बजाइएको थियो (रेग्मी, २०५४; वन्त, २०६१) । यस प्रशारण बारे गोरखापत्रले २००३ साल माघ २१ गते “आजकाल प्रतिदिन नेपालको बिजुलीघरले रेडियोको प्रचार गर्दैछ । … रेडियो प्रचारले पनि नेपालको भविश्यलाई कुतकुत्याउन लाग्यो भन्ने आशय सहित “नेपालमा रेडियो स्टेसन” शिर्षकमा सम्पादकीय प्रकाशित ग¥यो (गोरखापत्र, २००३ख) ।
दैनिक आधा घन्टा प्रशारित नेपाल ब्रोडकाष्टिङ ‘घन्ट’को आवाजबाट प्रशारण सुरु हुन्थ्यो । यसका उद्घोषण काशिराज पाण्डे नै थिए । हनुमान स्तोत्र, भजन, गीत, स्थानीय बजार भाउ, कविता र गोरखापत्रमा प्रकाशित समाचार अशंहरु प्रस्तुत हुन्थ्ये (भट्टराई, २०५७; वन्त २०६१) ।
यो ब्रोडकाष्टिङ चलिरहेको थियो भन्ने प्रमाणका रुपमा २००४ जेठ ३ गते गोरखापत्रको पहिलो पृष्ठमा तीन कालमको बक्स समाचारलाई लिन सकिन्छ । समाचार शिर्षक थियो– “श्री ३ महाराजको भाषण” । श्री ३ पद्मशमशेरले विशालनगर दरवारबाट दिएको भाषण रेडियोबाट प्रसार गर्ने सम्बन्धमा लेखिएको थियो– “… जेठ ४ गतेका दिनको १ बजेर १५ मिनेट जाँदा नेपालबाट बोलिने रेडियोले पनि ३५ मिटरमा त्यही भाषणलाई दोहो¥याउनेछ… ।”
२००४ साल फागुनमा पद्मशमशेरले नेपाल छोडे । त्यसपछि मोहन शमशेरको हालीमुहाली चल्यो । पद्मशमशेरले २००५ साल बैशाखमा राजिनामा दिएपछि मोहन शमशेर श्री ३ भए । विजुली अड्डाका हाकिम काशिराज पाण्डेकै प्राविधिक तथा कार्यक्रमिक बलबुतामा नेपाल ब्रोडकाष्टिङ चलिरहेको थियो । मोहन शमशेर शक्तिमा आएपछि उनलाई विजुली अड्डाबाट सरुवा गरियो र प्रशारण पनि बन्द भयो (शाह, २०४५; भट्टराई, २०५७; वन्त, २०६१; श्रेष्ठ, २०७९) । केही समयपछि फेरि मोहन शमशेरले उनलाई रेडियो ब्रोडकाष्टिङको जिम्मेवारी दिए । २००५ साल साउन १८ गतेदेखि नेपाल ब्रोडकाष्टिङले प्रशारण पुनः सुरु ग¥यो । २००५ साल साउन २० गतेको गोरखापत्रमा पुनः प्रशारण सम्बन्धी “नेपाल–रेडियो–ब्रडकाष्ट” शिर्षकमा प्रथम पृष्ठमा एक कालमको समाचार छापियो – “काठमाडौं, श्रावण १९ गते । हिजो १८ गते बेलुका ७ बजे नेपाली टाइममा काठमाडौंबाट रेडियोको २० र ४० मिटरमा नेपाली ब्रडकाष्ट भएको थियो । सो नेपालको सबै रेडियोहरुबाट राम्रो र स्पष्ट सुनिएको थियो । यसै सिलसिलामा नेपाल राजधानीमा ब्रडकाष्टिङ स्टेशन खोल्नलाई चाइने मालसामान, तालिम पाएका कामदारहरुको प्रबन्ध पनि सरकारमार्फत छिट्टै हुने भएको छ भन्ने बुझियो” (गोरखापत्र, २००५) । २००५ साल माघ २७ गतेदेखि नेपालमा दुरदराजसम्म खबर पठाउन काठमाडौं सिंहदरबारमा मूख्यालय रहने गरी टेलिग्राम सुरु गरियो । सुरुमा काठमाडौं बाहिर विराटनगर, नेपालगञ्ज, भैरहवा, घनकुटा र इलाममा यसका स्टेशनहरु थिए (भट्टराई, २०५७), जसलाई मोहन आकाशवाणी नाम दिइएको थियो । मोहन आकाशवाणी सञ्चालनमा आएपछि मोहन आकाशवाणीकै मुख्य कार्यालय सिंहदरबारमा रहने गरी (वन्त, २०६१) आकाशवाणीकै उपकरण प्रयोगमा ल्याएर मोहन आकाशवाणी “कल साइन” मा रेडियो प्रसार गर्न थालियो । २००६ साल कार्तिक ३ गतेको गोरखापत्रको प्रथम पृष्ठमा “काठमाडौंमा ब्रडकाष्टिङ स्टेशन खुल्यो” शिर्षकको समाचारमा “काठमाडौंमा ब्रडकाष्टिङ स्टेशन खोली मलाया, बर्मा र भारतवर्षमा रहेका नेपाली र नेपाल मुलुकभरलाई यसबाट प्रोग्राम सञ्चार गराउनलाई काठमाडौंदेखि भवन स्टुडियो बनाउन श्री ३ बाट पाँच लाख निकासा भयो– प्रचार विभाग” भनिएको छ (गोरखापत्र, २००६क) ।” यसैगरी प्रशारणका लागि नयाँ र ‘प्रोफेसनल’ उपकरण मगाउन तीन लाख रुपिया निकासा गरी पाँच किलोवाटको एउटा शर्टवेभ ट्रान्समिटर तथा २५० वाटको एउटा मिडियम वेभ ट्रान्समिटर खरिदको प्रक्रिया अघि बढाएको र प्राविधिक जनशक्ति तयार पार्न कृष्णबहादुर केसीलाई तालिमका लागि बेलायत पठाएको (रेग्मी, २०४९; वन्त, २०६१) जस्ता गतिविधिले मोहनशमशेर व्यवस्थित रेडियो प्रशारणको सुरुवातका लागि क्रियाशील थिए भन्ने देखाउँछ । २००६ साल माघ १० गते गोरखापत्रमा रेडियो प्रशारण सम्बन्धी अर्को सामाचार “श्री ३ महाराजको भाषण रेडियोबाट पनि” शिर्षकमा यस्तो पनि छापिएको छ– “माघ ९ गतेको श्री ३ महाराजकोे भाषण माघ १० गते विहान ५ बजे मोहन आकाशवाणीद्वारा ४० मिटरमा बजाइने प्रबन्ध भएको छ (गोरखापत्र, २००६ख) ।” यस समाचारबाट पनि मोहनशमशेरले पहिलाको रेडियो कल साइन “रेडियो ब्रडकाष्टिङ” परिवर्तन गरी “मोहन आकाशवाणी” राखेको पुष्टि हुन्छ ।
टेलिग्राम पठाउन प्रयोग भएका सिङ्गल साइड व्याण्ड (एसएसबी) सर्टवेभ रेडियो “ट्रान्सरिसिभर” उपकरणलाई ‘मोडिफाइ’ गरी यी प्रशारणहरु गरिएका थिए । सिङ्गल साइड व्याण्ड सर्टवेभ रेडियो ट्रान्समिटरहरु सानै वाटले पनि टाढाटाढासम्म प्रशारण गर्ने क्षमता राख्छन् र यी एक विन्दुदेखि निर्दिष्ट अन्य विन्दुसम्म प्रशारित हुन्छन् । तसर्थ आम रुपमा बजारमा उपलब्ध रेडियो ट्रान्जिष्टरमा सुनिने बनाउन ती प्रशारण उपकरणहरुमा ‘फ्रिक्वेन्सी टिउन’ गर्नु पर्ने हुँदा यी उपकरणहरुलाई प्राविधिक रुपमा केही ‘मोडिफाइ’ गर्नु पर्ने हुन्छ र यो सजिलै सम्भव पनि छ (कार्की, २०८१) । यसरी हेर्दा त्यसबेलाका प्रशारणहरुमा स्वर सन्देश (भ्वाइस कम्युनिकेशन) पठाउने एमेचुअर रेडियो उपकरणको प्रयोग भएको थियो ।
रेडियो प्रशारणमा विद्रोही प्रयास पनि सुरु भएको पाइन्छ । नेपाली कांग्रेसका मुक्ति सेनाका भोजपुर कमाण्डर नारदमणि थुलुङको नेतृत्वमा मुक्ति सेनाले भोजपुर कब्जा गरेको भोलिपल्ट २००७ साल मंसिर २५ गते मोहन आकाशवाणीकै सेट (मोडिफाइ समेत नगरी) लाई प्रचारप्रसारको साधान बनाएका थिए (थुलुङ, २०४५; वन्त, २०६१; भट्टराई, २०७७), जसलाई उनीहरुले ‘ब्रोडकाष्ट’ भनेका थिए । यसमा सबभन्दा पहिलो स्वर जयन्द्र बहादुर थपलियाको थियो । विहान वेलुका गरी दुई पटक मुक्ति सेनाका गतिवधिहरु प्रशारित हुन्थ्ये (थुलुङ, २०४५; वन्त, २०६१; भट्टराई, २०७७) । तर त्यो प्रशारण अन्य आकाशवाणीका स्टेसनहरु खुलेको अवस्थामा ती स्टेसनहरुमा मात्र सुन्न सकिन्थ्यो । भोजपुरबाट यसरी मोहन आकाशवाणीमार्फत विद्रोही सन्देश प्रवाह गर्ने कार्य २००७ साल माघ १९ गतेसम्म गरिएको पाइन्छ (थुलुङ, २०४५; रेग्मी, २०४९; वन्त, २०६१) । भोजपुरकै सन्देश प्रवाहको सिको गरेर विराटनगर मुक्ति सेनाले २००७ साल माघ २० गतेदेखि विराटनगर, जुटमिल परिसरबाट अर्को विद्रोही प्रशारण “प्रजातन्त्र नेपाल रेडियो” सुरु गरेका थिए । यो प्रशारण २००७ साल फागुन ७ गते राजा त्रिभूवनबाट प्रजातन्त्रको घोषणा भएपछि बन्द भयो (श्रेष्ठ, २०५६) ।
विराटनगरको रेडियो प्रशारणको नेतृत्व तारिणीप्रसाद कोइरालाले गरेका थिए । विराटनगरस्थित मोहन आकाशवाणीकै उपकरणबाट यो प्रशारण सुरु गरिएको थियो (भट्टराई, २०५७) । उनले २००७ साल माघ २० गते दिनको दुई बजे वायरलेस अपरेटरलाई तयार गर्न लगाई वायरलेरबाटै पहिलो बाक्य बोलेका थिए– यो प्रजातन्त्र नेपाल रेडियो हो, हामी मुक्ति संग्रामका कुनै अज्ञात स्थलबाट बोलिरहेका छौं (कोइराला, २०१६; थुलुङ, २०४५; रेग्मी, २०४९; रेग्मी, २०५१; वन्त, २०६१) । विराटनगरबाट प्रशारित यी सन्देशहरुका सम्बन्धमा पोखराका पत्रकार केशवराज पराजुली (२०६२) को संस्मरण छ– “आकाशवाणी यन्त्र चलाइएको अवस्थामा प्रायः प्रजातन्त्र रेडियोबाट प्रशारित क्रान्तिको गतिविधिका समाचार सुटुक्क त्यसका अपरेटरहरु सुन्ने गर्थे । चियो गरेर सुन्ने टोलका किशोरहरू पनि हुन्थे ।” यस भनाइले विराटनगरबाट प्रशारित यी सन्देशहरु आम रेडियो सेटमा सुन्न नसकिने कुरालाई इंगित गर्छ । अर्कोतिर केही लेखकहरुले (कोइराला २०१६; शाह, २०५६; वन्त, २०६१) काठमाडौंमा सुनिएको कुरा उल्लेख गरेका छन् । २०५६ सालमा प्रकाशित झङ्कार, वर्ष ४६, अङ्क ३÷४ स्वर्ण–महोत्सव स्मारिकामा प्रकाशित अन्तरवार्ता (पृ. ३९–४६) मा सरदार यदुनाथ खनालले विराटनगरबाट प्रशारित रेडियो आफैंले सुनेको भनी बताएका छन् । यसरी विराटनगरबाट प्रशारित “प्रजातन्त्र नेपाल रेडियो” रेडियो सेटहरुमा सुनिन्थ्यो कि सुनिदैनथ्यो भन्ने कुरा एकीन गर्न भने कठीन छ । किनभने प्राविधिक रूपबाट हेर्दा आकाशवाणी सेटमा सुनिने आवाज आम रेडियो ट्रान्जिस्टरमा सुन्न सकिदैन । यदि आम रेडियो ट्रान्जिस्टरमा सुन्नसक्ने गरी फ्रिक्वेन्सी ‘टिउन’ गरिएको थियो भने ती आवाज आकाशवाणी केन्द्रका ‘ट्रान्सरिसिभर’हरुमा सुन्न सकिदैनथ्यो । त्यसबखत नेपालमा रेडियो टान्जिस्टर (रिसिभर) अति महङ्गा र राणा शासकबाट इजाजत लिनु पर्ने भएकाले अपवाद मानिससंग मात्र हुन्थ्ये । तसर्थ रेडियो सेटमा सुनिने गरी वा आकाशवाणी केन्द्रहरुमा मात्र सुनिने गरी जे जसरी प्रसार गरिएको भएपनि विद्रोही रेडियो आम नागरिकले प्रत्यक्ष सुन्ने अवस्था खासै थिएन, तर “विद्रोही समूहले रेडियोबाट प्रशारण ग¥यो रे” भन्ने खानेखुसी चाहिँ धेरैतिर व्याप्त भएको भयो ।
मुक्ति सेनाले विराटनगरबाट प्रशारण गरेको रेडियोको प्रतिकारमा राणा प्रधानमन्त्री मोहनशमशेरले बेलुकी सात बजेदेखि साढे सात बजेसम्म तेजेन्द्र प्रताप राणलाई सञ्चालक बनाएर रेडियो प्रशारण गरेका थिए (शाह, २०४५; भट्टराई, २०५७; वन्त, २०६१) । त्यसबेला राण शासकले प्रशारण गर्ने रेडियोको भाषा यस्तो थियो– “बागी डाँकाहरूले अमुक जिल्लाको सदरमुकाममा हमला गरी लुटपाट गरी निमकको सोझो चिताई काम गर्ने कर्मचारीलाई थुनामा राखी अड्डा अदालत कब्जा गरे तापनि हाम्रा बहादुर फौजले उनीहरूलाई छिट्टै त्यहाँबाट धपाउने छन्” (सत्याल, २०५६, पृ.२५–२८) । यस प्रसङ्गबाट के कुरा स्पष्ट हुन्छ भने राणा शासकले सुरु गरेको नेपाल ब्रडकाष्टिङ (पछि मोहन आकाशवाणीमा बदलिएको) २००७ सालमा राणा शासन समाप्त हुनेबेलासम्म नै चलेको थियो (श्रेष्ठ, २०५६)।
यी सर्टवेभ आकाशवाणी उपकरणहरूमा वायर एन्टिना प्रयोग गरिन्थ्यो, जसले गर्दा अग्लो टावरको आवश्यकता पर्दैनथ्यो । यसले उपकरणहरूलाई सजिलै स्थानान्तरण गर्न र जडान गर्न सम्भव बनाउँथ्यो । वायरलेस प्रविधिमा प्रयोग हुने डाइपोल एन्टिनालाई समायोजन गरेर सामान्य रेडियो सेटहरूमा सङ्केत प्रसारण गर्न पनि त्यति गाह्रो हुँदैनथ्यो (कार्की, २०८१) । यद्यपि, यी उपकरणहरू मूलतः सिङ्गल साइड व्याण्ड एमेच्युअर रेडियो उपकरणहरू थिए, व्यावसायिक प्रसारणका लागि निर्मित होइनन् । विजुली अड्डाबाट प्रशारित रेडियो होस् या सिंहदरवार मोहन आकाशवाणीबाट प्रशारित अनि भोजपुरबाट प्रशारित विद्रोही “स्वतन्त्र नेपाल रेडियो” होस् या विराटनगरबाट प्रशारित “प्रजातन्त्र नेपाल रेडियो” यी प्रयासहरुलाई त्यसबखत अधिक उत्साह र जोशका बलमा रोमाञ्चित भएर गरिएका प्रशारण कार्य भन्नुपर्छ । ऐतिहासिक दृष्टिकोणबाट हेर्दा यी प्रयासहरू नेपालमा रेडियो प्रशारण इतिहासका आधारशीला हुन । तसर्थ यस अवधिलाई नेपालमा प्रशारण आरम्भ काल भन्नु उपयुक्त हुन्छ ।