युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानको स्मारिका “युद्ध ३” प्रकाशनका बारेमा त्रिरत्न शाक्य (जो युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका संस्थापक संयोजक एवं हालका सल्लाहकार हुनुहुन्थ्यो) सँग मैले पाँच दिन अगाडि केही कुराकानी गरेँ। उहाँले एउटा संस्मरणात्मक लेख तयार गर्ने बारे पनि छलफल भयो र भन्नुभयो -“नन्दुजी प्रतिष्ठानको महासचिवका नाताले तपाईँले मलाई बहुत माया गर्नुहुन्छ, प्रतिष्ठानको तर्फबाट सम्झिरहनुहुन्छ, म केही काममा व्यस्त छु । अब बिहिबार बिहान यस बारेमा कुरा गरौँला है ।” हामीले कुराकानी अन्त्य गर्यौँ ।
बिहिबार बिहान सबेरै युद्धप्रसाद मिश्रकी नातिनी बुहारी कवि अस्मिता मिश्रले फोन गर्नुभयो र भन्नुभयो -“सर मिरमिरेमै यस्तो कुरा भनूँ कि नभनूँ भयो ।” मैले भने- जे भएपनि भन्नुस् । “त्रिरत्न शाक्य सर बित्नुभएछ अघि राति ” त्यसपछि उहाँ केहीबेर बोल्न सक्नु भएन । “म बुझ्छु अनि कुरा गरौँला है” भनेर मैले फोन राखेँ । उहाँसँग कुराकानी गर्ने भनेको बिहीबार आजैको बिहीबार थियो। अब यो बिहीबार कहिले नआउने भयो।
नेपाली प्रगतिवादी साहित्य, नेपाल भाषा साहित्य, बौद्ध दर्शन, कम्युनिस्ट विचारधारा, शैक्षिक उन्नयन र समाजसेवाका क्षेत्रमा फैलिएको त्रिरत्न शाक्यको बहुआयामिक व्यक्तित्व भौतिक रूपमा अन्त्य भएको खबरले अत्यन्तै स्तब्ध भएको छु। युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले संस्थापक संयोजक एवं हालका सल्लाहकार अत्यन्तै कुशल सशक्त अग्रज गुमाएको छ। भाषा साहित्य एवं बौद्ध दर्शनको क्षेत्रले एउटा सशक्त अभियन्ता गुमाएको छ। उहाँका सहपाठी सहयात्री र सहकर्मीहरूले अत्यन्तै मिलनसार, शालिन र बौद्धिक मित्र गुमाएका छौँ। अनुजहरूले एक अनुकरणीय अभिभावक अग्रज गुमाएका छन्। यस्तो दुःखद घडीमा प्रिय अग्रज मित्र त्रिरत्न शाक्यप्रति हार्दिक श्रद्धाञ्जली ! शोकाकुल परिवारजनमा गहिरो समवेदना !! त्रिरत्न सर तपाईँका योगदानहरू अजम्बरी रहनेछन्, काल जही रहनेछन् ।
बुद्ध दर्शनअनुसार त्रिरत्नको अर्थ बुद्ध, ज्ञान अथवा शिक्षा, धम्मको अर्थ नैतिकता अर्थात् धर्म, संघको अर्थ संगत अथवा संगठन । त्रिरत्न शाक्यलाई नाम अनुसारको व्यक्तित्वका रूपमा मैले चिन्ने गर्थेँ। जब म २०४६ सालतिर भक्तपुरमा शिक्षण पेशामा संलग्न भएँ त्रिरत्न शाक्यसँग परिचय भयो। उहाँ पनि शिक्षण पेशामै हुनुहुन्थ्यो। त्यति मात्र भएन भक्तपुरको त्यसबेलाको मेरो जीवन एउटा राजनीतिक जीवन पनि थियो। त्यसले राजनीतिक व्यक्तित्व त्रिरत्न र शाक्यसँग मलाई निकट बनायो। सँगसँगै साहित्यिक क्षेत्रमा पनि चासो राख्ने हुनाले साहित्यकार त्रिरत्न शाक्यसँग नजिक हुन पुगेँ।
जनताका सुखदुख, जनताका पिर व्यथा, जनताका पीडासँग जोडिएर उनीहरूको सुख प्राप्ति र दुःखपीडा, उनीहरूमाथि हुने अन्याय अत्याचारबाट मुक्ति खोज्ने बाटोमा अविचलित धारणा राख्ने मार्क्सवादी दृष्टिकोण अँगालेका त्रिरत्न शाक्य भक्तपुर जिल्लाका अग्रज कम्युनिस्ट नेता हुनुहुन्थ्यो । २०३७ सालमा नेकपा मालेको भक्तपुर जिल्लाको संस्थापक नेताका रूपमा राजनीतिक जीवन अगाडि बढाएका त्रिरत्न शाक्यले त्यसबखत भूमिगत शैलीमा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन योगदान पुर्याउनुभयो । कम्युनिस्ट पार्टीका विभिन्न कमिटीहरूमा बसेर काम गर्नुभएका त्रिरत्नले २०३५ सालदेखि २०३७ सालसम्म जेल जीवन पनि व्यतीत गर्नुभयो। नेपाल बुद्धिजीवी परिषद्, नेपाल लोकतान्त्रिक नेवा: सङ्घ उहाँले महत्त्वपूर्ण योगदान गरेका संगठनहरू हुन्।
त्यस्तै उहाँ शिक्षण पेशामा अत्यन्तै इमान्दार, निष्ठावान र सरल शैलीका साथ लागिरहने असल शिक्षक, प्रधानाध्यापक र शिक्षक नेता हुनुहुन्थ्यो । मूल रूपमा उहाँले आफ्नो जीवनलाई शैक्षिक उन्नयनकै लागि समर्पित गराउनु भयो । भक्तपुर, दत्तात्रयमा उहाँले रामसुन्दर हाडा, प्रेमरत्न शाक्य, जयनारायण नेपाल लगायतका शिक्षासेवी व्यक्तित्वहरूसँग मिलेर कामदार बालबालिकाहरूका लागि नवज्योति विद्यालय स्थापना गर्नुभयो । सानोठिमी क्याम्पस भक्तपुरमा लगभग तीन वर्ष सहायक प्राध्यापकको रूपमा प्राध्यापन गर्नुभएका त्रिरत्नले जुद्धोदय मावि, क्षेत्रपाटी, काठमाडौँमा शिक्षक र प्राध्यापनाध्यापकको भूमिका निर्वाह गर्नुभयो । त्यसपछि उहाँ शिवपुरी माध्यमिक विद्यालय महाराजगंजको लामो समयसम्म प्रधान अध्यापकको रूपमा कार्यरत रहनुभयो। लगभग दुई दशक शिवपुरी माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर सेवा निवृत्त हुनुभएका शाक्य अहिले पनि सो विद्यालयको संरक्षक हुनुहुन्थ्यो । शिवपुरी माध्यमिक विद्यालयलाई शैक्षिक क्षेत्रमा स्तरीय सामुदायिक विद्यालयको रूपमा स्थापित गराउने व्यक्तित्वको रूपमा त्रिरत्नलाई चिन्ने गरिन्छ ।
उहाँ शिक्षकहरूको नेता पनि हुनुहुन्थ्यो । चर्चित शिक्षक आन्दोलनमा उहाँले काठमाडौँ जिल्लाको नेतृत्व गरेर नेपाल राष्ट्रिय शिक्षक संगठनका माध्यमबाट काठमाडौँ जिल्लाको शिक्षकहरूको नेतृत्व गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
साहित्यको क्षेत्रमा उहाँको योगदान उच्च कोटीको रहेको छ । प्रगतिशील-प्रगतिवादी चिन्तन मुखरित कविताका सर्जक उहाँ नेपाली र नेपाल भाषामा विचार र कलालाई मिहीन ढङ्गले पर्गेलेर कविता सिर्जना गर्ने स्रष्टा हुनुहुन्थ्यो । साहित्यिक क्षेत्रमा उहाँको योगदानको चर्चा गर्दा प्रगतिशील लेखक कलाकार सङ्घको संस्थापक केन्द्रीय सदस्य, जनसांस्कृतिक मञ्च नेपालको संस्थापक, युद्धप्रसाद मिश्र प्रतिष्ठानको संस्थापक संयोजक हाल उक्त प्रतिष्ठानको सल्लाहकार सदस्य, विराट नेपाल भाषा साहित्य गुठी लगायत नेपाल भाषाका विभिन्न साहित्यिक संघसंस्थाहरूको राष्ट्रिय एवं स्थानीय स्तरमा नेतृत्वदायी भूमिकामा संलग्न रहनुभएको थियो।
त्रिरत्नका नेपाली र नेपाल भाषामा कविता एवं अन्य विधाका थुप्रै फुटकर रचनाहरू प्रकाशित छन्। नेपाल भाषामा त न्ह्योलं पाचिने मफुगु विश्वास, जङ्गबहादुरया सल, ई व जि गरी तीनवटा कविता संग्रहहरू प्रकाशित छन्। कविता लेखनमा उहाँको गहिरो इच्छा थियो भन्ने कुरा यसले पनि झल्काउँछ कि आफ्नो फेसबुकमा उहाँले मृत्युभन्दा केही घण्टा अगाडि मात्रै अत्यन्तै सशक्त शैलीमा नेपाल भाषाको कविता “सिंहदरवारय् लिकुना च्वंगु समाजवाद (सिंहदरबारमा सिमित समाजवाद)” वाचन गरेर पोस्ट गर्नुभएको थियो ।
थेरवाद बुद्धधर्ममा स्नातकोत्तर गर्नुभएका त्रिरत्न बुद्ध दर्शनका असल अनुयायी एवं प्रखर व्याख्याता हुनुहुन्थ्यो । बौद्ध दर्शन त उहाँको नशा नशामा सञ्चारित जीवन दर्शनको अमूल्य निधि थियो। त्रिरत्न उहाँको नाम थियो त्रिरत्न उहाँको जीवन थियो।
चार दाजुभाई र एक बहिनीमध्ये माइलो त्रिरत्न दुई छोराका पिता हुनुहुन्थ्यो । उहाँकी धर्मपत्नी दान पारमिता शाक्यले लगभग १० वर्ष अगाडि हृदयघातकै कारण मृत्युवरण गर्नुभएको थियो भने २००८ साल श्रावण २७ गते जन्मनुभएका त्रिरत्नको जीवनले पनि २०८१ साल माघ ९ गतेको मध्यरात नजिकै आइपुग्दा हृदयघातकै कारण भौतिक रूपमा विश्राम लिएको छ । भौतिक रूपमा विश्राम लिनुभन्दा केही घण्टा अगाडिसम्म उहाँ भाषा, साहित्य एवं बौद्ध दर्शनक्षेत्रका सङ्घसंस्थाहरूमा सक्रियता जनाइराख्नुभएको थियो। नेपाल भाषा एकेडेमीको एउटा कार्यदलको बैठकमा कालिमाटी, काठमाडौँमा भएको एउटा बैठकमा सहभागी भएर साँझ साढे चार बजे भक्तपुर फर्किएका त्रिरत्न भक्तपुर मिनी बसपार्क स्थित बौद्ध संघ भक्तपुरको संयोजनमा बौद्ध समकृती बिहारमा जनसहभागितामा निर्माण भैरहेको थेरवाद बिहारको अवलोकन गरी साढे छ बजेतिर सूर्यविनायक स्थित आफ्नो निवासमा भित्रिनु भएको थियो । खाना खाएर विश्राम गर्नै लाग्दा त्रिरत्नलाई हृदयघात भयो। भक्तपुर सल्लाघारीस्थित युवामुरा अस्पतालमा पुर्याउने बित्तिकै अस्पतालले एउटा तेजस्वी, ओजस्वी समाज नायकले सदा सदाका लागि भौतिक रूपमा बिदा लिनुभएको घोषणा गर्यो। सधैँ सधैँ बाँचिरहने जीवन निर्माण गरेका त्रिरत्न शाक्य हार्दिक श्रद्धाञ्जली !